धनसम्पत्तिप्रति बाइबलीय दृष्टिकोण के हो?

पैसाले जस्तो पृथ्वीमा अरू कुनै कुराले हाम्रो हृदय जाँच गर्दैन। चाहे त्यो गरिबीको जाँच होस् वा प्रशस्तताको पैसाले हामी भित्रको राम्रो र नराम्रो दुवै पक्षलाई बाहिर ल्याउँछ । मलाई लाग्छ कि तपाईं यसमा सहमत हुनुहुन्छ प्रायः हामी सबैलाई यो कुरा स्वीकार गर्न गाह्रो हुन्छ कि हामीले पैसा व्यवस्थापन गर्न जति जान्नुपर्ने हो, त्यति जान्दैनौँ। चर्चको सन्दर्भमा अझ पैसा व्यवस्थापनमा हाम्रो कमजोरी स्वीकार गर्न गाह्रो हुन्छ, किनकि हामी त बाइबल जान्ने मानिस हौं।र सबै कुराको जवाफ हाम्रो जिब्रोमै झुन्डिएको हुनुपर्छ भनी हामी सोच्छौँ। तर, वास्तविकता के हो भने, हामी सबै बारम्बार धनसम्पत्तिसम्बन्धी बाइबलीय सिद्धान्तमा फर्किनु आवश्यक छ र आजीवन पैसाको भण्डारेपनको विद्यार्थी बन्नुपर्छ। र त्यहाँ भएका गलत शिक्षाहरूको स्पष्ट भिन्नता छुट्याउन, यहाँ केही आधारभूत सिद्धान्तहरू प्रस्तुत गरिएको छ ।
सिद्धान्त १: सबै थोक परमेश्वरकै हुन् । जब हामी धनको बारेमा कुरा गछौँ, हामीले सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा यो हो कि सबै थोक परमेश्वरकै हुन् । उहाँ तपाईं र मप्रति ऋणी हुनुहुन्न। उहाँ यो संसारको अवस्थाबाट अचम्मित हुनुहुन्न । समृद्धिको प्रचारक र विश्वासको वचन (Word of Faith) का प्रचारकाले प्रचार गरेझैँ, आदमले पाप गर्दा उहाँले “पृथ्वीमाथिको आफ्नो स्वामित्व” गुमाउनुभएन । परमेश्वर जगतको स्वामी मात्र हुनुहुन्न, तर यसको सृष्टिकर्ता पनि हुनुहुन्छ ।
हजारौं डाँडाहरूका गाईवस्तु उहाँकै हुन् (भजनसंग्रह ५०:१०)। स्वर्गमुनिका सबै थोक उहाँकै हुन् (अय्युब ४१:११) । भजनकारले घोषणा गर्छन्, “पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्” (भजनसंग्रह २४:१)। सबै कुरा कसका हुन् भन्ने विषयमा बाइबल स्पष्ट छ । सबै कुरा परमेश्वरकै हुन् ।
यदि सबै कुराको मालिक परमेश्वर नै हुनुहुन्छ भने, हामी को हौं त ? जब हामीले यो पहिलो सिद्धान्त बुझ्छौँ, तब तुरुन्तै हामीले यो महसुस गर्छौं कि हामी केवल भण्डारे मात्र हौं। एक दिन हामी सबैले हामीलाई सुम्पिएको कुराको भण्डारेपन कसरी गयौँ भन्ने कुराको लेखा दिनुपर्छ (मत्ती २५:१४-३०)।
सिद्धान्त २ः यस पृथ्वीमा धनसम्पत्तिको कुनै ग्यारेन्टी दिइएको छैन । बाइबल यो कुरामा पनि स्पष्ट छ कि सबै थोक परमेश्वरकै हुन् भन्दैमा सबै मानिसलाई यस पृथ्वीमा धनसम्पत्तिको कुनै ग्यारेन्टी दिइएको छैन। येशूले आफ्ना चेलाहरूलाई गरिबहरू सधैं उनीहरूसँग हुनेछन् भनी भन्नुभयो (यूहन्ना १२:८)। यसबाट हामी यो बुझ्न सक्छौं कि पतित संसारमा मानिसहरूले आर्थिक रूपमा सङ्घर्ष गर्नेछन् । बाइबलले दृढ रूपमा गरिबहरूको हेरचाह गर्न लगाउँछ किनकि उनीहरू समाजका सबैभन्दा कमजोर मानिसहरूमध्येका हुन् । तर, उनीहरू अल्छीको कारण गरिब हुनुहुँदैन, (बाइबलले अल्छीपनको बारेमा धेरै कुरा भनेको छ, जुन कुरा हामी अर्को समयमा हेर्नेछौं) । परमेश्वरले खाँचोमा भएकाहरूको वास्ता गर्नुहुन्छ। हितोपदेशको पुस्तकले गरिबहरूलाई वास्ता गर्ने बारेमा धेरै कुरा भन्छ, किनकि संसारमा धनसम्पत्ति समान रूपले बाँडिएको छैन । त्यसैले, हामीलेः
- गरिबलाई थिचोमिचो गर्नुहुँदैन, बरु उनीहरूप्रति दयालु हुनुपर्छ (हितोपदेश १४:३१)
- गरिबलाई सापटी दिनुपर्छ र नतिजा परमेश्वरको हातमा छोड्नुपर्छ (हितोपदेश १९:१७)
- उदार बन्नुपर्छ र आफ्नो भोजन गरिबलाई बाँड्नुपर्छ (हितोपदेश २२:९)
- गरिबलाई दिनुपर्छ र उनीहरूलाई नजरअन्दाज गर्नुहुँदैन (हितोपदेश २८:२७)
- गरिबहरूको अधिकारको रक्षा गर्नुपर्छ (हितोपदेश २९:७)
गरिबहरूको हेरचाह गर्नु आवश्यक छ, किनभने सबैलाई धनसम्पत्तिको ग्यारेन्टी दिएको छैन । त्यो बाहेक, परमेश्वरले हामी सबैबाट के चाहनुहुन्छ भन्ने कुरा धर्मशास्त्रले स्पष्ट रूपमा बताउँछ । प्रत्येक विश्वासीको लक्ष्य धनसम्पत्ति होइन, सन्तुष्टि हुनुपर्छ। हामीले धनसम्पत्ति र अभावबीचको बुझाइमा सन्तुलन कायम राख्नुपर्छ। प्रेरित पावलसँग गहिरो ज्ञान, यहूदी धार्मिक तालिम (प्रेरित २६:५) र रोमी नागरिकता थियो (प्रेरित २२:२७), जसका आधारमा उनी धनी बन्न सक्थे। तर, उनले आजका समृद्धि प्रचारकहरूको जस्तो जीवन जिएनन् । पावल भन्छन्ः “कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु” (फिलिपी ४:१२)। धनी र गरिब दुवैमा परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ। अन्ततः सन्तुष्टि नै आनन्दित हृदयको चाबी हो (१ तिमोथी ६:८) ।
सिद्धान्त ३. धनसम्पत्ति सुसमाचार विस्तारको एउटा माध्यम हो। धनसम्पत्ति पृथ्वीमा ग्यारेन्टी गरिएको छैन, तर परमेश्वरले धन कमाउने अवसर दिनुहुन्छ । तपाई यसो भन्न सक्नुहुन्छ, “मलाई कसैले धन दिएको होइन, यो मैले आफैले कमाएको हो ।” इस्राएलको सन्तानले पनि यसरी नै सोचेका थिए, तर मोशाले तिनीहरूलाई याद गराए कि उहाँको सार्वभौम इच्छामा परमेश्वरले नै तिनीहरूलाई आशिष् दिइरहनुभएको थियो । व्यवस्था ८:१७-१८ ले भन्छः “हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला। तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ।” यदि परमेश्वरले तपाईलाई धनले आशिष् दिनुभएको छ भने, तपाईले नम्रतापूर्वक उहाँलाई धन्यवाद दिनुपर्छ र तपाईसँग ठुलो जिम्मेवारी छ भनी महसुस गर्नुपर्छ । धनीहरूसँग बोल्दै, यूहन्ना लेख्छन्, “कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं” (१ यूहन्ना ३:१७-१८) ।
बाइबल धनी व्यक्तिहरूले आफ्नो सबै पैसा कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरामा मौन छैन । हो, आफ्ना छोराछोरीहरूका निम्ति पैतृक सम्पत्ति छोड्नु बाइबलीय र बुद्धिमान कुरा हो (हितोपदेश १३:२२) कडा परिश्रम गरेर भविष्यको लागि बचत गर्नु पनि
असल हो (हितोपदेश ६:६)। तर, के तपाईलाई धनसम्पत्तिको सबैभन्दा ठुलो उद्देश्य के हो भन्ने थाहा छ ? धनसम्पत्तिको सबैभन्दा ठुलो उद्देश्य भनेको सुसमाचार फैलाउनु र परमेश्वरको इच्छाअनुसारको काम गर्नु हो। पावलले तिमोथीलाई धनी मानिसहरूले ठिक यही कुरा गर्नुपर्छ भनेर बताएका थिए। “यस संसारका धनीहरूलाई घमन्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून् । तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन् । यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो” (१ तिमोथी ६: १७-१९)।
धनसम्पत्ति हुनु पाप होइन । तपाईले यसको आनन्द लिन सक्नुहुन्छ। तर, एक क्षणको लागि पनि यसमा आफ्नो आशा नराख्नुहोस् । धनसम्पत्ति सेवकाइको साधन हो, भौतिकवादको होइन। येशूले आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन भनेर भनिरहनुहुँदा, उहाँले संसारकै सबैभन्दा उत्कृष्ट लगानी रणनीति बताउनुभएको थियो (मत्ती ६:१९-२१)। र तपाईले आफ्नो स्रोतसाधनहरू सुसमाचारको काममा प्रयोग गरेर आफ्नो धन स्वर्गमा थुपार्न सक्नुहुन्छ ।
तपाईं धनसम्पत्ति आफूसँगै लिएर जान सक्नुहुन्न ।
सिद्धान्त ४ः धनसम्पत्ति उच्च आत्मिक स्थितिको चिन्ह होइन । समृद्धिको प्रचारकहरूले तपाईलाई धन आत्मिक परिपक्वताको सङ्केत हो भनी बताउँछन् । उनीहरू भन्छन्ः “जब तपाई परमेश्वरले तपाईको लागि राख्नुभएको सम्पत्तिमा पाइला टेक्नुहुन्छ, तब तपाईले परमेश्वरको सन्तानको रूपमा आफ्नो पूर्ण पहिचान महसुस गर्नुहुन्छ।” वा अन्य यस्तै अर्थहीन कुराहरू ।
फेरि पनि, यस विषयमा बाइबलले के भन्छ भनी हेर्नुहोस्। बाइबलमा पैसासँग सम्बन्धित पदहरू लगभग दुई हजारभन्दा बढी छन्। येशूका करिब ५० प्रतिशत दृष्टान्तहरू पैसा र अन्य कुराको भण्डारेपनबारे रहेका छन् भने, केवल सुसमाचारका पुस्तकहरूमा मात्रै तीन सयभन्दा बढी पदहरू धनसँग सम्बन्धित छन्। के यसले तपाईलाई धनसम्पत्ति र स्वास्थ्य परमेश्वरको लागि गम्भीर विषय हुन् भन्ने बताउँदैन र ? यी सबै पदहरूले धनी हुनुलाई राम्रो मात्रै भन्दैन, बरु धनी हुनुको खतराबारे चेतावनी पनि दिन्छन्। प्रायः धनले वास्तवमा महत्त्वपूर्ण कुराबाट हाम्रो ध्यान भङ्ग गरिदिन्छ, त्यसैले धनको मोहबाट बच्न धेरै अनुशासन र बाइबलीय शिक्षा चाहिन्छ। धनी मानिसहरू प्रायः यस संसारका कुराप्रतिको मोह (फिलिप्पी ३:१९) र अनन्त जीवन बिचको तनावमा हुन्छन् । धनी विश्वासीहरूले पवित्र आत्माको शक्तिद्वारा पैसाप्रतिको मोहमाथि विजय पाउन सक्छन् र धनलाई असल कामको साधनको रूपमा प्रयोग गर्न सक्छन्। तर, अक्सर त्यहाँ उदारतापूर्वक दिने र बचत गर्ने स्वाभाविक चाहनाबीच सङ्घर्ष भइरहन्छ ।
के बाइबलले धनसम्पत्तिलाई उच्च आत्मिक स्थितिको चिन्हको रूपमा देखाउँछ ? के बाइबलले तपाईको हृदयले चाहेको सबै चीजहरू पाउनुको खतराहरूबारे चेतावनी दिन्छ ? बाइबलले धनको बारेमा के चेतावनी दिन्छ, हेर्नुहोस् र आफैं निर्णय गर्नुहोस्ः
- तपाईले दुई मालिकको सेवा गर्न सक्नुहुन्न (मत्ती ६:२४)।
- धनको मोह फलवन्त हुँदैनन् (मर्कुस ४:१९) ।
- धनी मानिसहरूलाई पैसाभन्दा ख्रीष्टलाई रोज्नु गाह्रो हुन्छ (लूका १८:२२-२३) ।
- धनी मानिसहरूलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्नु अति गाह्रो हुन्छ (लूका १८:२५)।
- रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो (१ तिमोथी ६:१०) ।
- तपाईको प्राण नै तपाईको सबैभन्दा महत्त्वपूर्ण कुरा हो (लूका १२:२०) ।
- यदि तपाईसँग ख्रीष्ट हुनुहुन्न भने, तपाईले सारा जगत् हात पारेर पनि आफ्नो प्राण गुमाउन सक्नुहुन्छ (मर्कुस ८:३६) ।
बाइबलमा गरिब र दुःखी मानिसहरूलाई आत्मिक हेरचाहको विषयमा विशेष ध्यान दिइएको छ र धनको फन्दाबाट मुक्त भएकाले उनीहरूले बढी स्वतन्त्र रूपमा आराधना गर्न सक्छन् । प्रकाश २:९ ले यसलाई पूर्ण रूपमा चित्रण गर्छ र हामीलाई वास्तविक धन के हो भनी बताउँछ । स्मुर्नाको चर्च दरिद्रता र कष्टमा भएतापनि, येशूले त्यस चर्चलाई धनी छौ भन्नुहुन्छ, किनकि उनीहरू जस्तोसुकै मूल्यमा पनि आफ्नो विश्वासमा दृढ रहेका थिए। यस संसारमा भोगेको कष्ट र विश्वासयोग्यताको खातिर उनीहरूले एकदमै सम्मानित जीवनको मुकुट पाउनेछन् (प्रकाश २:१०) । पावलले पनि भनेका छन् कि उनले आफ्ना निम्ति लाभदायक कुरा ख्रीष्टको खातिर हानि ठाने। र ख्रीष्ट येशूलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई हानि ठाने (फिलिप्पी ३:७-८) । कति शक्तिशाली सत्यता! उच्च आत्मिक स्थितिको चिन्ह धनसम्पत्ति होइन, तर ख्रीष्ट हुनुहुन्छ ।
समृद्धिको प्रचारकहरूले बेच्ने झुट नकिन्नुहोस्। तपाई र म एक दिन आश्चर्य-चकित हुनेछौं, जब स्वर्गको “विश्वासको हल” ठुला व्यक्तित्वहरू र धनी मानिसहरूले भरिएको हुनेछैन । बरु, त्यो हल गरिबहरूले भरिएको हुनेछ, जसले आफूसँग जे थियो, त्यही दिए, र हामीसँग भएका कुरा कहिल्यै पाएनन् । उनीहरूले आफ्नो विश्वासको लागि खडा हुँदा आफ्नै जीवन गुमाए। उनीहरू यस पृथ्वीमा नामविहीन र अनुहारविहीन होलान्, अपरिचित र सामान्यजस्तै देखिएलान्, तर परमेश्वरले उनीहरूलाई विश्वासयोग्य भन्नुहुनेछ ।
सिद्धान्त ५ः धनसम्पत्ति ठुलो जिम्मेवारी हो। यदि तपाईं धनी हुनुहुन्छ भने, तपाईले परमेश्वरको राज्य निर्माण गर्नुपर्छ, नकी यस पृथ्वीमा आफ्नै राज्य। येशूले कुनै पनि कुरालाई लिएर फिक्री नगर्न, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्न लगाउनुहुन्छ र सबै कुराको हेरचाह गरिनेछ भनी भन्नुहुन्छ (मत्ती ६:३१-३३)। हामीसँग जे छ, त्यसैमा हामी उदारचित्तले जिउन बोलाइएका छौं। जब गरिब विधवाले दुई पैसा भेटी चढाइन्, तब येशूले भन्नुभयो कि उनले ठुलो भेटी चढाउने धनी मानिसहरूले भन्दा बढी चढाइएकी छिन् (लूका २१:१-४)। उहाँले हाम्रो भेटीको आकार होइन; तर हाम्रो हृदयको अवस्था हेर्नुहुन्छ। जब हामी दिन्छौँ, हामीले स्वेच्छाले दिनुपर्छ, करकापमा परेर होइन (२ कोरन्थी ८:१२; ९:७) । हामीले धनको असल भण्डारेपन गर्नुपर्छ, यही विश्वास गरेर कि हामी अरूहरूको लागि आशिष् बन्न सकौँ भनेर उहाँले हामीलाई आशिष् दिनुभएको हो र उहाँले उपयुक्त ठान्नुभएसम्म हामीलाई आशिष् दिइरहनुहुनेछ । हाम्रो काम धन जम्मा गर्नु होइन, तर कडा परिश्रम गर्नु, लगानी गर्नु र उदारचित्तले दिनु हो (मत्ती २५:१४-३० हेर्नुहोस्) ।
समृद्धिको प्रचारकहरू तपाईले उनीहरूलाई दिएको चाहन्छन्, ताकि उनीहरू धनी बन्न सकून्, तर परमेश्वर तपाईले सुसमाचारको विश्वासयोग्य सेवकाइहरूलाई दिएको चाहनुहुन्छ, ताकि उनीहरूले मानिसहरूकहाँ उद्धारको सुसमाचार पुऱ्याउन सकून् । संसार घायल र टुटेका मानिसहरूले भरिएको छ र धनले त्यस्तो ठुलो प्रभाव पार्न सक्छ, जुन तपाईको मृत्युपछि पनि रहिरहनेछ। परमेश्वरले तपाईलाई दिनुभएको धनको भण्डारेपन कसरी गर्नुभयो भन्ने कुराको लागि तपाई जवाफदेही हुनुहुनेछ । यो अत्यन्तै ठुलो जिम्मेवारी हो। ख्रीष्टको सिंहासनको अगाडि तपाईको कुराकानी कस्तो हुनेछ ? के तपाई बर्बराउँदै र अकमकिँदै यसो भन्नुहुन्छ, मैले यहाँ-त्यहाँ अलिअलि दिएको थिएँ, जबकि तपाईले धेरैजसो पैसा आफ्नै सुखविलासमा खर्च गर्नुभयो र गरिबहरूलाई कष्टमै र चर्चलाई सङ्घर्षमै छोड्नुभयो ? वा तपाईले आनन्दसाथ प्रभुलाई यसो भन्नुहुन्छ, “प्रभु, कहिलेकाहीँ तपाईको कामको लागि बलिदानीपूर्ण साथ दिनु संसारको प्रवृत्तिको विपरित थियो, तर पनि तपाईलाई प्रसन्न पार्नु नै मेरो निम्ति अमूल्य धन थियो!” यदि हामी यसरी जिउँछौँ भने, मलाई विश्वास छ कि हामीले यसो भनेको सुन्नेछौँ, “स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु । तँ आफ्ना मालिकको खुसीमा सहभागी हो” (मत्ती २५:२३)।
केही वर्षअघि, मलाई मिसनको काम गर्न र चरम गरिबी सामना गरिरहेका एक परिवारका लागि घर बनाइदिन हाम्रो चर्चको समूहसँग मेक्सिको जाने मौका मिलेको थियो । पाँच जनाको त्यो परिवार एउटा सानो झुपडीमा बसिरहेका थिए। जब हामी परियोजना सुरु गर्न त्यो ठाउँमा पुग्यौँ, उनीहरूको जीवनशैली देखेर म स्तब्ध भएँ-तर पनि तिनीहरू खुसी थिए । त्यहाँ कतै शौचालय थिएन र हामीलाई प्रयोग गर्न भनिएको शौचालय जमिनमा पारिएको खाल्टो मात्र थियो र नुहाउनका लागि एउटा बाल्टिनभन्दा बढी केही थिएन। बच्चाहरू धुलोमा फुटबल खेलिरहेका थिए। चारैतिर टिन र काठहरू जस्ता सामग्रीले बनेका झुपडीहरू थिए। ती बच्चाहरूलाई थाहा पनि थिएन कि हामी अमेरिकाको धनी प्रदेशबाट आएका थियौँ। उनीहरूले भिडियो गेम खेल्ने डिभाइस (Xbox) खोजिरहेका थिएनन्, उनीहरूले आफ्नो आइप्याड (iPads) चार्ज गर्नुपर्ने गुनासो गरिरहेका थिएनन्, उनीहरूले आफ्नो जुत्ताको फेसन सकिएको कुरा आफ्नो आमालाई सुनाइरहेका थिएनन्। साँच्चै भन्ने हो भनेता, उनीहरू धेरैसँग जुत्ता नै थिएन।
दिन बित्दै जाँदा, हामीले यस्ता धेरै परिवार र बच्चाहरूलाई भेट्यौँ, जसले साँच्चै खुसी र सन्तुष्टि हुनुको अर्थ देखाए। जब हामीले त्यो घर बनाइसिध्यायौं, त्यो कंक्रिटको जगमाथि बनाइएको एउटा काठको बाकसभन्दा केही थिएन, तर पनि उनीहरूको प्रतिक्रिया यस्तो थियो कि हामीले उनीहरूका लागि रिट्ज-कार्लटन (Ritz-Carlton) जस्तो आलिसान होटल नै बनाइदिएका छौँ!
त्यो परिवारले हामीलाई हरेक दिन राजालाई जस्तो सत्कार गर्यो। यात्राको अन्त्यमा, हाम्रो समूहको अगुवाले बताउनुभयो कि हामीलाई खुवाउन त्यो परिवारले आफ्नो एक महिनाको तलब खर्च गरेको थियो। यो सुनेपछि हाम्रो समूहका केही सदस्यहरू भावुक हुँदै रुन थाले र त्यो खर्च फर्काउन अनुरोध गरे। तर त्यो परिवारले पैसा लिन मानेन । किन ?
त्यो अन्तिम दिन, हामी सबै घरभित्र भेला भई हात समातेर प्रार्थना गर्न लाग्दा, त्यस परिवारकी आमाले स्पेनी भाषामा बोल्न थालिन् । अनुवादकलले हामीलाई भने कि उनीहरूका लागि अतिथिसत्कार गर्न पाउनु र दिन पाउनुको आनन्द त्यसको निम्ति उनीहरूले गरेको खर्च वा बलिदानभन्दा धेरै ठुलो थियो। त्यो दिन प्रार्थनामा हामी कसैको आँखा ओभानो थिएन। यहाँ स्पष्टै छ कि उदारचित्त भएर दिने कुरा धनीहरूको लागि मात्र होइन ।
यसैले अगि बढ्नुहोस्! कडा परिश्रम गर्नुहोस्, जीवनको आनन्द लिनुहोस् र परमेश्वरले तपाईलाई दिनुभएका आशिषहरूको उत्सव मनाउनुहोस् । सन्तुष्ट रहनुहोस्, पहिले उहाँको राज्य खोज्नुहोस्, अरूको वास्ता गर्नुहोस्, र उहाँले तपाईलाई जसरी सक्षम पार्नुभएको छ, त्यसरी नै उदारचित्तले दिनुहोस् । तपाईको सम्पूर्ण काम, जीवन, सङ्घर्ष, दियाई र वास्ताको कार्यहरूमा सधैं बाइबलीय सन्तुलन कायम राख्नुहोस् र अनन्ततालाई ध्यानमा राख्नुहोस् ।
परमेश्वरले तपाईसँग भएको सबै कुरा खोस्ने प्रयास गरिरहनुभएको छैन । तपाईलाई ती सबै कुरा दिनुहुने पनि उहाँ नै हुनुहुन्छ। उहाँले तपाईको हृदयको मोहलाई जाँच गर्दै हुनुहुन्छ र यो संसारले दिन सक्ने भन्दा पर महिमामा उहाँसँग रहन पाउँदाको आनन्द प्रदान गर्दै हुनुहुहुन्छ ।
धनसम्पत्ति पाप होइन; यो जिम्मेवारी हो। त्यसैले, यसको राम्रो उपयोग गर्नुहोस् ।







