हरेक चर्चले किन स्वस्थ हुने इच्छा राख्नुपर्छ?

यदि तपाई एक ख्रीष्टियान अभिभावक हुनुहुन्छ भने, तपाई आफ्ना बच्चाहरूका लागि के चाहनुहुन्छ ? यदि तपाई एक ख्रीष्टियान बालक हुनुहुन्छ भने, तपाईं आफ्नो परिवारका लागि के चाहनुहुन्छ ?
पक्कै पनि तपाई प्रेम, आनन्द, पवित्रता, एकता र प्रभुप्रतिको आदर जस्ता गुणहरूले तपाईको परिवार चिनिएको चाहनुहुन्छ । तपाईले आफ्नो परिवारको बारेमा यस्तै थुप्रै कुराहरू सोच्न सक्नुहुन्छ । तर, यी सबै गुणहरूलाई एउटै तर कम रोचक शब्दले परिभाषित गरौंः स्वस्थ । तपाई एक स्वस्थ परिवार चाहनुहुन्छ त्यस्तो परिवार जसलाई परमेश्वरले जुन तरिकाले निर्माण गर्नुभएको छ, त्यसैअनुसार सँगै काम गर्छ, सँगै जिउँछ र एकअर्कालाई प्रेम गर्छ ।
हाम्रा चर्चहरूका हकमा पनि यही कुरा लागु हुन्छ। म यो प्रस्ताव गर्छु कि, ख्रीष्टियानहरू, चाहे तिनीहरू पास्टरहरू होऊन् वा चर्चका सदस्यहरू, तिनीहरूले एक स्वस्थ चर्च बनाउने इच्छा राख्नुपर्छ ।
चर्च कस्तो हुनुपर्छ भनी वर्णन गर्नको लागि “स्वस्थ” भन्दा अर्को कुनै उत्तम शब्द सायदै हुन सक्छ। जे भए पनि, हामी राजाहरूका राजा र प्रभुहरूका प्रभु, अनन्त पुत्रको रगतले किनिएका मानिसहरूका बारेमा कुरा गर्दैछौँ – के “स्वस्थ” नै मैले सोच्न सक्ने सबैभन्दा उत्तम शब्द हो र ? तर पनि मलाई स्वस्थ शब्द मन पर्छ, किनकि यसले जीवित शरीर जसरी बढ्नुपर्ने हो, त्यस विचारलाई सञ्चार गर्दछ । यसका आफ्नै समस्याहरू पनि हुन सक्छन् । यो अझैसम्म सिद्ध भएको छैन । तर, सिद्धतातर्फ बढिरहेको छ । यसले जे गर्नुपर्ने हो सो गरिरहेको छ, किनभने परमेश्वरको वचनले यसलाई अगुवाइ गरिरहेको छ।
म प्रायः आफ्नो चर्चलाई भन्छु कि, जब हाम्रो जीवनमा पापसँग सङ्घर्ष गर्ने कुरा आउँछ, ख्रीष्टियान र गैरख्रीष्टियानहरू बिचको भिन्नता यो होइन कि, गैरख्रीष्टियानहरूले पाप गर्छन्, र ख्रीष्टियानहरू गर्दैनन् । तर भिन्नता यस कुरामा पाइन्छ कि, यो सङ्घर्षमा हामी कसको पक्ष लिन्छौँ। ख्रीष्टियानहरू पापको विरुद्धमा परमेश्वरको पक्ष लिन्छन्, जबकि गैरख्रीष्टियानहरू परमेश्वरको विरुद्धमा पापको पक्ष लिन्छन् । अर्को शब्दमा भन्नुपर्दा, एक ख्रीष्टियानले पाप गर्छ, तर त्यसपछि ऊ परमेश्वर र उहाँको वचनतर्फ फर्किन्छ र भन्छ, “पापविरुद्ध लड्न मलाई मदत गर्नुहोस् ।” एक गैरख्रीष्टियानले आफ्नो पापलाई चिनेर पनि यसरी प्रभावकारी रूपमा जवाफ दिन्छ, “मलाई परमेश्वरभन्दा मेरो पाप बढी प्यारो छ।”
एक स्वस्थ चर्च सिद्ध र पापरहित चर्च होइन। यसले सबै कुराको समाधान पाइसकेको छैन । बरु, यो त्यस्तो चर्च हो, जसले संसारका ईश्वरहीन चाहनाहरू र छलहरू, हाम्रो शरीर र दियाबलसको विरुद्धको लडाइँमा निरन्तर परमेश्वरको पक्ष लिन सङ्घर्ष गर्छ। यो त्यस्तो चर्च हो, जसले निरन्तर आफूलाई परमेश्वरको वचनअनुरूप ढाल्न खोज्छ ।
म तपाईलाई अझ सटीक परिभाषा दिन चाहन्छु, र त्यसपछि हामी यस परिभाषालाई समर्थन गर्ने धर्मशास्त्रका केही खण्डहरूलाई हेर्नेछौंः एक स्वस्थ चर्च एउटा समुदाय हो, जसले परमेश्वरको वचनमा प्रकट गरिएको परमेश्वरको चरित्रलाई निरन्तर रूपमा प्रतिविम्बित गर्दछ ।
त्यसैले यदि कुनै पाष्टरले मलाई कस्तो चर्चको आकाङ्क्षा राख्नुपर्छ भनी सोध्छ भने, सम्भवतः म “एक स्वस्थ चर्च, जसले परमेश्वरको वचनमा प्रकट गरिएको चरित्रलाई प्रतिविम्बित गर्दछ” भनी भन्नेछु ।”
अनि एक ख्रीष्टियानलाई म कस्तो चर्चमा सामेल भएको, सेवा गरेको र धैर्यतापूर्वक काम गर्न सम्भवत प्रोत्साहन गर्छु होला ? एउटा स्वस्थ चर्च, जसले परमेश्वरको वचनमा प्रकट गरिएको चरित्रलाई प्रतिविम्बित गर्दछ ।
यदि तपाईले ध्यान दिएर पढ्नुभएको छ भने, मैले “सम्भवतः” भन्ने शब्दलाई दोहोऱ्याएको कुरालाई तपाईले विचार गर्नुभयो होला। मैले “सम्भवत” भन्ने शब्दलाई दुई अर्थमा भनेको छु। पहिलो, म यो सुझाव दिन चाहन्नँ कि, चर्चहरू कस्तो हुनुपर्छ भनेर वर्णन गर्ने यो नै एक मात्र तरिका हो । फरक अवसरहरू र उद्देश्यहरूले फरक वर्णनको आवश्यकताको माग गर्न सक्छ। एक लेखकले चर्चमा व्यवस्थावाद वा दुराचारितालाई सम्बोधन गर्दा, उसको वर्णनलाई, “हाम्रो चर्चहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको क्रूस-केन्द्रित हुनु हो” भनी घोषणा गर्दै सुरु गर्न सक्छ। म त्यसमा “आमेन” भन्छु । अथवा कुनै लेखकले हाम्रो चर्चमा भएको धर्मशास्त्रको कमीलाई सम्बोधन गर्न सक्छ, यस्तो अवस्थामा उसले बाइबल केन्द्रित चर्चहरूको आह्वान गर्न सक्छ। म फेरि “आमेन” भन्नेछु ।
दोस्रो, म यसरी पूर्वानुमान गर्न चाहन्नँ कि, मैले भन्न खोजेको कुरालाई मैले जसरी अरू कसैले व्यक्त गर्न सक्दैन। अहिलेको निम्ति म यो बताउन चाहन्छु, र यो कुरा एकदम सरल छ, म यो विश्वास गर्दछु कि, सामान्यतया चर्चमा हामीले राख्नुपर्ने आकाङ्क्षा भनेको – परमेश्वरको वचनले उहाँको चरित्रको बारेमा जे प्रकाश पारेको छ, त्यसलाई प्रतिविम्बित गर्नु हो।
कुन ख्रीष्टियानले त्यो चाहँदैन र ?
पूर्णरूपमा सुसज्जित
परमेश्वरको वचनमा प्रकट भएअनुसार उहाँको चरित्रलाई प्रतिविम्बित गर्नुको अर्थ, स्वाभाविक रूपमा, परमेश्वरको वचनबाट सुरु गर्नु हो। हामी किन हाम्रो चर्च कस्तो हुनुपर्छ वा चर्चले के गर्नुपर्छ भन्ने कुराहरूलाई निर्धारण गर्दा “कामचलाउ कुराहरूमा” होइन, तर परमेश्वरको वचनमा नै जानुपर्छ ? एफिससको चर्चका पास्टर तिमोथीलाई लेखेको दोस्रो पत्रमा, पावलले भनेका छन् कि, बाइबलले “उनलाई हरेक असलकामको लागि सुसज्जित पार्नेछ” । अर्को शब्दमा भन्नुपर्दा, त्यहाँ कुनै पनि असल कामहरू छैनन्, जसको लागि धर्मशास्त्रले तिमोथी वा हामीलाई सुसज्जित नगरेको होस् । यदि हाम्रा चर्चहरूले आफूले गर्नुपर्ने वा हुनुपर्ने कुनै कुरा सोच्छन्, जुन परमेश्वरको वचनमा पाइँदैन भने, त्यस अवस्थामा पावल गलत छन्, किनकि त्यस अवस्थामा धर्मशास्त्रले हामीलाई “हरेक असल कामको लागि सुसज्जित गर्छ भन्न सकिँदैन ।”
त्यसको अर्थ, के मैले परमेश्वरले हामीलाई दिनुभएको असल मस्तिष्कको प्रयोग गर्नुहुँदैन भनी भनिरहेको छु ? होइन, मैले त केवल यो भनिरहेको छु कि, आउनुहोस् धर्मशास्त्रबाट सुरु गरौं र हेरौं त्यहाँ हामी के पाउँछौँ ।
म बाइबलको कथाक्रममा भएका ६ वटा क्षणहरूलाई छोटकरीमा हेर्न चाहन्छु, जसले हामीलाई यो हेर्न मदत गर्नेछ कि, हामी यस्तो चर्च चाहन्छौं, जसले परमेश्वरको वचनमा प्रकट भएअनुसार उहाँको चरित्रलाई बढ्दो रूपमा झल्काओस् । हामीलाई थाहा छ, बाइबलले एउटा कथा बताउँछ। यस कथामा अनगिन्ती उपकथाहरू छन्, तर यी सबै उपकथाहरू एउटै महान् कथाका हिस्सा हुन् । यहाँ हाम्रो लक्ष्य भनेको यस महान् कथावस्तुमा परमेश्वरले चर्चको लागि के चाहनुहुन्छ, त्यसलाई पहिचान गर्नु हो।
स्वरूप नै सबैथोक हो
१) सृष्टि
उत्पत्तिमा, परमेश्वरले “हरेक आफ्नै प्रकारका” वनस्पतिहरू र पशुहरू सृष्टि गर्नुभयो । हरेक स्याउ, अर्को स्याउको स्वरूपमा बनेको छ, र हरेक घोडा अरू घोडाहरू जस्तै छ । तर मानव जातिको बारेमा, धर्मशास्त्रले यसरी भन्छ, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं’ (१:२६)। मानिस अरू मानिसहरूको ढाँचामा बनिएका छैन। ऊ परमेश्वरको स्वरूपमा बनिएको छ। उसले परमेश्वरलाई अद्वितीय रूपमा झल्काउँछ, र उहाँसँग मिल्दोजुल्दो छ ।
हामी परमेश्वरको स्वरूपमा विशेषरूपले सृष्टि गरिएकाले, हामी मानिसजाति विशिष्ट तरिकाले बाँकी सृष्टिको सामु परमेश्वर र उहाँको महिमाको प्रतिरूप बन्नुपर्छ । आफ्नो बुबाको नक्कल गर्ने छोरा जस्तै वा, आफ्नो बुबाको पेशालाई पछ्याउने छोराजस्तै (उत्पत्ति ५:१६; लूका ३:३८), मानिस परमेश्वरको चरित्रको प्रतिनिधित्व गर्न र सृष्टिमाथि अधिकार गर्न सृजिएको हो “… तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्” (उत्पत्ति १:२६)।
२) पतन
तर मानिसले परमेश्वरको अधिकारको प्रतिनिधित्व नगर्ने निर्णय गर्यो। उसले परमेश्वरको विरुद्ध विद्रोह गर्यो र आफ्नै अधिकारको प्रतिनिधित्व गर्यो। त्यसैकारण परमेश्वरले मानिसलाई उसले खोजेको कुरा दिनुभयो, र आफ्नो उपस्थितिबाट निकालिदिनुभयो । मानिसको नैतिक दोषको अर्थ यो थियो कि, ऊ आफ्नै सार्मथ्यमा कहिल्यै पनि परमेश्वरको नजिक जान सक्दैनथ्यो ।
के मानिसमा पतनपछि पनि परमेश्वरको स्वरूप बाँकी थियो ? पक्कैपनि थियो, किनभने उत्पत्तिले मानिसहरू अझै पनि परमेश्वरको “स्वरूपमा” सृजिएका हुन् भन्ने कुरालाई पुष्टि गर्दछ (५:१; ९:६) । तर, स्वरूप र प्रतिरूप गर्ने काम अब विकृत भएका छन् । ऐना बाङ्गिएको छ, त्यसैले तपाईले भन्न सक्नुहुन्छ कि, त्यसले झुटो स्वरूप प्रतिविम्बित गर्दछ। यद्यपि हाम्रो पापमा पनि हामीले परमेश्वरको बारेमा केही कुरा प्रतिरूप गरिरहेका हुन्छौँ- सत्य र झुटसँगै मिसिएका कुराहरू । ईश्वरशास्त्रीहरूका भाषा अनुसार, मानिस “दोषी” र “भ्रष्ट” दुवै भएको छ।
३) इस्राएल
परमेश्वरले, आफ्नो कृपामा, सृष्टिको लागि आफ्नो मौलिक उद्देश्य उहाँको महिमाको प्रदर्शन गर्न – मानिसहरूको एउटा समूहलाई बचाउने र प्रयोग गर्ने योजना बनाउनुभयो । उहाँले अब्राहाम नाउँका एक व्यक्तिलाई यो प्रतिज्ञा गर्नुभयो कि, उहाँले तिनलाई र तिनका सन्तानहरूलाई आशिष् दिनुहुनेछ । फलस्वरूप, तिनीहरू सबै जातिहरूका लागि आशिष् हुनेछन् (उत्पत्ति १२:१-३) । उहाँले तिनीहरूलाई “पवित्र जाति” र “पूजाहारीहरूको एक राज्य” भन्नुभयो (प्रस्थान १९:५-७), जसको अर्थ यो हो कि, तिनीहरू परमेश्वरले तिनीहरूलाई दिनुभएको व्यवस्था पालन गरेर, जातिहरू माझ परमेश्वरको चरित्र र महिमाको प्रतिरूप र मध्यस्थ गर्न विशेषरूपमा चुनिएका थिए (जुन कुरा आदमले गर्नुपर्ने थियो)। परमेश्वरले इस्राएललाई उहाँ कस्तो हुनुहुन्छ (म कस्तो छु) भनी संसारलाई देखाउन भन्नुभएको थियो। “पवित्र होओ, किनकि म पवित्र छु” (लेवी ११:४४; १९:२; २०:७) ।
उहाँले यस जातिलाई आफ्नो “छोरा” समेत भन्नुभयो, किनभने छोराहरूले आफ्नो बुबाको पाइला पछ्याउनु पर्ने हुन्थ्यो (प्रस्थान ४:२२-२३)। अनि उहाँले यस छोरा – आफ्नो जातिलाई एउटा देश दिने र तिनीहरूसँगै त्यहाँ बास गर्ने प्रतिज्ञा पनि गर्नुभयो, जहाँबाट यस जातिले परमेश्वरको महिमा प्रदर्शन गर्न सक्थ्यो (१ राजाहरू ८:४१-४३) ।
अनि परमेश्वरले यस छोरालाई यो चेतावनी पनि दिनुभयो कि, यदि ऊ आज्ञाकारी हुन र उहाँको पवित्र चरित्र प्रदर्शन गर्न असफल भएमा, उसलाई यो देशबाट निकाला गरिदिनुहुनेछ । लामो कथालाई छोटकरीमा भन्दा, यस छोराले आज्ञापालन गरेन, र परमेश्वरले उसलाई आफ्नो उपस्थिति र त्यस देशबाट निकालिदिनुभयो ।
४) ख्रीष्ट
प्राचीन इस्राएलबाट सिक्न सक्ने मुख्य शिक्षा भनेको यो हो कि, पतित मानिसहरूसँग सबै लाभ जस्तै परमेश्वरको व्यवस्था, परमेश्वरको देश र परमेश्वरको उपस्थिति भएता पनि, उनीहरू आफ्नै सामर्थ्यमा कहिल्यै पनि परमेश्वरको प्रतिरूप बन्न सक्दैनथे । इस्राएलको कथाले हामी प्रत्येकलाई कति नम्र बनाउनुपर्छ ! केवल परमेश्वर मात्र परमेश्वरको साँचो प्रतिरूप हुनुहुन्छ, र केवल उहाँले मात्र हामीलाई पाप र मृत्युबाट बचाउन सक्नुहुन्छ।
त्यसैले परमेश्वरले आफ्नो एक मात्र ईश्वरीय पुत्रलाई “मानिसको स्वरूपमा जन्मन पठाउनुभयो” (फिलिप्पी २: ७), यी पुत्र जोसँग पिता अति प्रसन्न हुनुहुन्थ्यो, उहाँले आफैलाई परमेश्वरको शासन वा राज्यमा पूर्णरूपमा समर्पित गर्नुभयो । उहाँले आदमले गर्न नसकेको काम गर्नुभयो शैतानको परीक्षामा विजय हुनुभयोः उहाँले उजाडस्थानमा उहाँको उपवासको समयमा आफ्नो परीक्षा गर्नेलाई यसो भन्नुभयो “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ” (मत्ती ४:४) ।
अनि उहाँले इस्राएलले गर्न नसकेको काम गर्नुभयो । उहाँले पिताको इच्छा र व्यवस्थाअनुसार जिउनुभयोः “म आफ्नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्दछु” (यूहन्ना ८:२८; र ६:२८; १२:४९ पनि हेर्नुहोस्) ।
आफ्नो पिताको स्वरूपलाई पूर्णरूपमा पूरा गर्नुहुने यस पुत्रले आफ्ना चेला फिलिपलाई भन्नुभयो, “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ” (यूहन्ना १४:९)।
पिताजस्तै पुत्र ।
पछि फर्केर हेर्दा, नयाँ करारका पत्रहरूका लेखकले उहाँलाई “अदृश्य परमेश्वरको स्वरूप” (कलस्सी १:१५) र “परमेश्वरको महिमाको प्रतिविम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप” (हिब्रू १:३) भनेका छन् । अन्तिम आदम र नयाँ इस्राएलको रूपमा, येशू ख्रीष्टले मानिसमा परमेश्वरको स्वरूपलाई पूरा गर्नुभयो ।
येशूले व्यवस्थाको आज्ञापालनद्वारा केवल परमेश्वरको महिमित पवित्रताको प्रतिविम्ब मात्र गर्नुभएन; उहाँले क्रूसको मृत्युद्वारा पापीहरूले पाउनुपर्ने दण्डको मोल तिरेर परमेश्वरको दया र प्रेम पनि प्रदर्शन गर्नुभयो (यूहन्ना १७:१-३) । यो प्रतिस्थापनको बलिदानलाई नै पूरानो करारले सुरुदेखि औंल्याइरहेको थियो। आदम र हव्वाले पाप गरेपछि तिनीहरूको नग्नता ढाक्न मारिएका पशुहरूलाई विचार गर्नुहोस् । परमेश्वरले इसहाकलाई बचाउन कसरी अब्राहाम र इसहाकको लागि झाडीमा थुमा जुटाउनुभएको थियो, त्यसलाई विचार गर्नुहोस्। योसेफको बारेमा सोच्नुहोस्, जो आफ्ना भाइहरूद्वारा त्यागिए र बेचिए, ताकि एक दिन उनले एउटा जातिको लागि मध्यस्थता गर्न सकून् । इस्राएली मानिसहरूले आफ्ना घरको ढोकाहरूको दलिनमा थुमाको रगत दलेर इस्राएलका जेठा छोराहरूलाई बचाएको घटनालाई सम्झनुहोस् । इस्राएली परिवारहरूले मन्दिरको आँगनमा आफ्ना पाप बलिको रूपमा, पशुहरूलाई ल्याएर “पशुको रगत सट्टामा मेरो रगत हुनुपर्थ्यो” भनी त्यस पशुको शिरमाथि आफ्ना हातहरू राखेर त्यसको घाटी काट्ने कुरालाई विचार गर्नुहोस् । सबै मानिसहरूका पापको प्रायश्चितको बलि चढाउनका लागि वर्षको एक पटक महापवित्र-स्थानमा प्रवेश गर्ने पूजाहारीलाई विचार गर्नुहोस् । यशैया अगमवक्ताको प्रतिज्ञालाई विचार गर्नुहोस् “ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं” (यशैया ५३: ५) ।
यी सबै र अरू कुराहरूले येशू ख्रीष्टतर्फ नै औंल्याउँछ, जो परमेश्वरको बलि हुने थुमाको रूपमा क्रूसमा जानुभयो। उहाँले माथिल्लो कोठामा आफ्ना चेलाहरूलाई भन्नुभएजस्तै, पश्चाताप गरी विश्वास गर्नेहरू सबैका निम्ति “आफ्नो रगतमा नयाँ करार” स्थापना गर्नुभयो ।
५) चर्च
हामी जो पापमा मरेका थियौँ, ख्रीष्टको मृत्यु र पुनरुत्थानमा बप्तिस्माद्वारा जीवित बनाइएका छौँ। त्यसैले पावल घोषणा गर्छन, “विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ, किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौं” (गलाती ३:२६-२७) । र “तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रा हृदयमा पठाइदिनुभयो, जसले ‘हे अब्बा पिता’ भनेर पुकार्नुहुन्छ” (गलती ४: ६-७) ।
परमेश्वरका यति धेरै पुत्रहरूले के गर्नुपर्ने हो त ? हामीले स्वर्गमा हुनुहुने पिता र पुत्रको चरित्र, प्रतिरूप, स्वरूप र महिमा प्रदर्शन गर्नुपर्छ !
पिताले पुत्रको बलिदानद्वारा हामी र उहाँबीच मिलाप गराउनुभएको कारणले गर्दा, येशूले हामीलाई मेलमिलाप गराउनेहरू हुन आज्ञा दिनुभएको छ (मत्ती ५:९)।
स्वर्गमा हुनुहुने हाम्रा पिताले, हामी शत्रु हुँदा नै हामीलाई प्रेम गर्नुभएकोले गर्दा, येशूले हामीलाई “शत्रुहरूलाई प्रेम” गर्न भन्नुहुन्छ (मत्ती ५:४६; रोमी ५:९) ।
येशूले हामीलाई “एक-अर्कालाई प्रेम गर” भन्नुहुन्छ, किनकि उहाँले हामीलाई प्रेम गर्न आफ्नै जीवन दिनुभयो, र यसैद्वारा संसारले उहाँ कस्तो हुनुहुन्छ भनी थाहा पाउनेछ (यूहन्ना १३:३४-३५) ।
जसरी पिता र उहाँ एक हुनुहुन्छ, येशूले हामी पनि “एक होऔं’ भनी प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:२०-२३) ।
येशूले हामीलाई “सिद्ध हुने” आज्ञा दिनुभएको छ, जसरी हाम्रा स्वर्गीय पिता सिद्ध हुनुहुन्छ (मत्ती ५:४८) ।
येशूले हामीलाई सारा जातिहरूमाझ “मानिसहरूका मछुवा” र चेला बनाउनेहरू हुन आज्ञा गर्नुहुन्छ (मत्ती ४:१९; २८:१९) । जसरी पिताले उहाँलाई पठाउनुभयो, त्यसरी नै उहाँले हामीलाई पठाउनुहुन्छ (यूहन्ना २०:२१)।
जस्तो पिता, त्यस्तै पुत्र, र त्यस्तै पुत्रहरू ।
येशू ख्रीष्टको कामद्वारा आफ्ना पापबाट शुद्ध पारिएका, पवित्र आत्माको कामद्वारा नयाँ-सृष्टि, नयाँ जन्मको हृदय पाएका उहाँका मानिसहरूले परमेश्वरको सिद्ध स्वरूपलाई पुनः प्राप्त गर्न सुरु गरेका छन्। ख्रीष्ट हाम्रो अगौटे फल हुनुहुन्छ (१ कोरिन्थी १५:२३) । उहाँले घुम्टो हटाइदिनुभयो र चर्चको निम्ति पिताको महिमा देख्ने बाटो खोलिदिनुभयो (२ कोरिन्थी ३:१४, १६) । हामी अहिले उहाँको स्वरूप विश्वासद्वारा देख्दछौं, र “एउटा महिमा देखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिंदैजान्छौं” (२ कोरिन्थी ३:१८)।
के तपाईं चर्चको लागि परमेश्वरको उद्देश्य दुई पदमा समेटिएको हेर्न चाहनु हुन्छ ? पावल यसरी भन्छन्,
ताकि यसरी चर्चद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस् । योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो (एफिसी
३:१०-११)।
चर्चले परमेश्वरको महान् बुद्धिलाई कसरी प्रदर्शन गर्छ ? केवल सर्वज्ञानी परमेश्वरले मात्र उहाँ र एक-अर्काबाट बिराना भएका पापी मानिसहरूलाई बचाउन उहाँको न्याय र उहाँको प्रेमलाई मिलाप गराउन सक्नुहुन्थ्यो । र केवल सर्वज्ञानी परमेश्वरले मात्र ढुङ्गाका हृदयहरूलाई उहाँलाई प्रेम र प्रशंसा गर्ने मासुको हृदय बनाउन सक्नुहुन्थ्यो । ब्रह्माण्डका सबै शक्तिहरूले यो कुरालाई देखून् र अचम्मित होऊन् ।
६) महिमा
हामी उहाँलाई सबैभन्दा सिद्ध रूपमा तब प्रतिविम्बित गर्नेछौँ, जब हामी उहाँलाई महिमामा सिद्ध रूपमा देख्नेछौंः “हामी यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं” (१ यूहन्ना ३:२) । उहाँजस्तै पवित्र । उहाँजस्तै प्रेमिलो । उहाँ जस्तै एकताबद्ध । यो पदले हामी ईश्वरजस्तै बन्नेछौँ भनी प्रतिज्ञा गर्दैन। बरु, यसले यो प्रतिज्ञा गर्छ कि, हाम्रा आत्माहरू उहाँको चरित्र र महिमाले त्यसरी नै चम्कनेछ, जसरी सूर्यतर्फ फर्किएको ऐना चम्किन्छ ।
कथाको सारांश
के तपाईले कथालाई पछ्याउनुभयो ? यहाँ यसको सारांश छ । परमेश्वरले संसार र मानवजातिलाई उहाँ को हुनुहुन्छ भन्ने कुराको महिमा प्रदर्शन गर्नका लागि सृष्टि गर्नुभयो। आदम र हव्वा, जसले परमेश्वरको चरित्रलाई प्रतिविम्बित गर्नुपर्थ्यो, उनीहरूले त्यसो गरेनन् । न त इस्राएलका मानिसहरूले नै गरे। त्यसैले परमेश्वरले आफ्नो पवित्र र प्रेमिलो चरित्रको प्रतिरूप गर्न र संसारको पापविरुद्धको उहाँको क्रोधलाई हटाउन आफ्नो पुत्र पठाउनुभयो। ख्रीष्टमा, परमेश्वर नै परमेश्वरलाई प्रतिविम्बित गर्न आउनुभयो । अनि ख्रीष्टमा, परमेश्वर हामीलाई बचाउनका लागि आउनुभयो । अब चर्च, जसले ख्रीष्टको जीवन र पवित्र आत्माको शक्ति पाएको छ,
आफ्नो वचन र व्यवहारद्वारा उहाँको महान् बुद्धि र मुक्तिको कामको गवाही दिँदै, सारा ब्रह्माण्डसामु परमेश्वरको चरित्र र महिमा प्रदर्शन गर्नलाई बोलाइएको छ । मित्र, तपाईं चर्चमा के खोज्दै हुनुहुन्छ ? मिठो, सुरिलो सङ्गीत ? रमाइलो वातावरण ? सेवाको परम्परागत शैली ? वाः
क्षमा पाएका विद्रोहीहरूको एउटा समूह….
जसलाई परमेश्वर आफ्नो महिमा प्रदर्शन गर्नका लागि प्रयोग गर्न चाहनुहुन्छ…..
सबै स्वर्गीय प्राणीहरूका अघि…
किनभने तिनीहरूले उहाँको बारेमा सत्य कुरा बताउँछन्…
र उहाँजस्तै देखिन्छन् – पवित्र, प्रेमिलो, एकताबद्ध ?
–मार्क डेभर







