के मेरो वचन तयारीमा म AI को प्रयोग गर्न सक्छु ?

टोनी: पास्टर जोन, तपाईले ख्रीष्टियन हेडोनिजमले हामीलाई AI लाई हेर्ने एक अद्वितीय दृष्टिकोण प्रदान गर्छ भनी भन्नुभएको थियो, यो कुरालाई जोड दिदै कि, जब मानिसहरुले उहाँलाई बुझ्दैनन् मात्र तर हृदयबाट नै उहाँमा आनन्द पनि लिन्छन् तब परमेश्वरको महिमा हुन्छ। तर आध्यात्मिक स्नेह र अलौकिक हृदयको अभाव भएको AI ले यो सब गर्न सक्दैन। तपाईले यो पनि भन्नुभएको थियो कि मौलिक रूपमा AI परमेश्वरको अभिप्रेरित उद्देश्यबाट अलग छ। तपाईले गाओ सम्मेलन (Sing Conference) को आफ्नो सन्देशमा पनि किन हामी कृत्रिम भावनाको बारेमा कहिल्यै सुन्दैनौँ भनेर व्याख्या गर्नुभयो।
म ठान्दछु कि अझै धेरै कुराहरु छन् जसलाई सम्बोधन गरिनु आवश्यक छ। हामी दुई प्रश्नमाथि पुनः छलफल गर्नेछौँ: पहिलो, AI जस्तै GEMINI वा CHATGPT लाई प्रवचन, शिक्षण वा बाइबल अध्ययनमा प्रयोग गर्नु उचित हुन्छ कि हुँदैन, जब कि म समीक्षा गरेर परमेश्वरको वचनसँग मिलाउँछु। दोस्रो, सेवाकाईका पत्र लेखनमा AI प्रयोग गर्न सकिन्छ कि सकिँदैन, जब कि यसले काम सजिलो बनाउँछ तर भ्रामक हुने चिन्ता पनि छ। AI प्रयोग गर्ने पास्टरहरुको लागि सम्भावित जोखिमहरु के हुन्?
पास्टर जोन: एउटा परिभाषाबाट सुरु गरौँ। यो AI (कृत्रिम बुद्धिमत्ता) लाई परिभाषित गर्ने यो अर्को AI (कृत्रिम बुद्धिमत्ता) हो। यो परिभाषालाई मैले सिधै गुगलबाट प्राप्त गरेँ। AI एउटा प्रविधि हो, जसले कम्प्युटर र मेसिनहरु द्वारा मानव सिकाइ, समझ, समस्या समाधान, निर्णय क्षमता, रचनात्मकता र स्वायत्तताको अनुकरण गर्न हामीलाई सक्षम बनाउँछ।
टोनी, भर्खरै तपाईले प्रश्नमा उल्लेख गर्नुभएको गाओ सम्मेलन (Sing Conference)को मेरो वचनमा रहेको यो तथ्यमा मैले आफ्नो ध्यान आकर्षित गरेँ कि, त्यहाँ परिभाषा दिने क्रममा यसले अनुकरण गर्न सक्ने धेरै कुराहरुको सूचीमा बनाएको थिएँ तर त्यहाँ छुटेको एउटा कुरा भनेको भावना हो। त्यहाँ भावनाहरु समावेश छैनन्। तर किन? मैले त्यसबाट एउटा महत्त्वपूर्ण कुरा निकालें। किनभने यो सारा ब्रह्माण्डको अन्तिम उद्देश्य भनेको परमेश्वरको महिमा होस् भन्ने नै हो। र उहाँको महिमा केवल सही रूपमा सोचेर, र तार्किक ढंगबाट बुझेर मात्र हुँदैन तर सही रूपमा आनन्द लिएर, प्रशंसा गरेर, उहाँको कदर गरेर, उहाँलाई मूल्यवान ठानेर उहाँको महिमा हुन्छ। तब मात्र सबैभन्दा बढी परमेश्वरको महिमा गर्न सम्भव छ, जब हामी नै पहिले उहाँमा सबैभन्दा बढी सन्तुष्ट हुन्छौँ। यसको अर्थ कुनै पनि कृत्रिम कुराहरुले कहिल्यै पनि जीवित परमेश्वरको साँचो आराधना गर्न सक्दैन।
आराधना भनेको कम्प्युटरले गर्न सक्ने सही सोच मात्र होइन। आराधना भनेको परमेश्वरको बारेमा सही भावना हो। र यो एकदमै महत्त्वपूर्ण छ। जबसम्म हामी ब्रह्माण्डमा ईश्वरीय उद्देश्य पूरा गर्न कृत्रिम कुराहरूले वा बुद्धिले मानिसको स्थान लिन सक्छ भन्ने कुरा सोच्दैनौँ। यो हुन सक्दैन। मानव हृदयको स्नेह मौलिक रूपमा मानव मस्तिष्कको तार्किक सोच प्रक्रियाभन्दा फरक प्रकृतिको हुन्छ। कम्प्युटरले मानिसको तार्किक विचारहरुको अनुकरण गर्न सक्छ भन्ने कुरामा मलाई अथवा हामीलाई कुनै चिन्ता वा द्विविधा छैन। तर जब कुनै मेसिनले आनन्दित वा खुशी हुने, शोक गर्ने वा हर्षित हुने अथवा दुःखसाथ छक्क परी उभिने वा डर वा भयको महसुस गर्न प्रयास गर्छ हामी यसलाई हाँस्यास्पद ठान्छौँ। हामीलाई थाहा छ, कि यी सबै कुराहरु मानव आत्मालाई यति धेरै विशिष्ट बनाउने कुराहरु हुन् कि मेसिनहरुले तिनीहरुलाई कहिल्यै प्रतिस्थापन गर्ने छैनन्। “कृत्रिम भावना” भन्ने वाक्यांश नै आफैमा अक्सिमोरोन अर्थात् विरोधाभास हो।
त्यसैले गाओ सम्मेलन (Sing Conference) मा प्रचार गरिएको वचनको मुख्य विषय यही थियो। र मलाई लाग्छ कि कृत्रिम बुद्धिमत्ता र कृत्रिम भावना बीचको भिन्नताले हामीलाई AI ले के गर्न सक्छ र के गर्न सक्दैन भन्ने बारेमा हाम्रो भयपूर्ण प्रतिक्रियाबाट हामीलाई मुक्त गर्छ।
AI को बारेमा नयाँ कुरा के छ ?
मूलतः AI को रूपमा हामीसँग विभिन्न प्लेटफर्महरु छन्, विशेषतः म यहाँ ChatGPT मा आफ्नो ध्यान केन्द्रित गर्दैछु, किनकि सबैभन्दा बढी परिचित म यहीसँग छु र धेरै जसो काम यहीँ गरेको छु। यहाँ हामीसँग AI आफैले आफ्नो बारे परिभाषित गरी तयार गरेको उदाहरण छ: यदि तपाईले ChatGPT मा what are you ? टाइप गर्नु भयो भने यसले तपाईलाई भन्नेछ। ” म एक सहायक हुँ, मैले प्राप्त गर्ने इनपुटको आधारमा पाठ बुझ्न र उत्पन्न गर्न म एक सहायक हुँ । प्रयोगकर्ताहरु यसमा प्रश्न सोध्न, जानकारी खोज्न वा कुराकानीमा संलग्न हुन सक्छन्, र ChatGPT ले सन्दर्भिक र सुसंगत तरिकाले प्रश्नको जवाफ दिन्छ। जुन कुरा महत्त्वपूर्ण छ ।
अब यो कुरा चाहिँ नौलो छ कि ChatGPT ले निबन्ध र कविताहरु पनि लेख्न सक्छ। गुगलले भने सो गर्न सक्दैन। तपाईले गुगलको सहयोगबाट धेरै कुराहरुको जानकारी प्राप्त गर्न भने सक्नुहुन्छ, विभिन्न प्रकारका प्रश्नहरु सोध्न सक्नुहुन्छ, अनि तपाईले चाहे अनुसारका जवाफहरु भेट्टाउन सक्नुहुन्छ। तर ChatGPT ले जस्तो यसले तपाईको लागि कविता भने लेख्ने छैन। यसको मतलब यहाँ कम्तिमा दुई वटा मुख्य भिन्नताहरु छन्: जानकारी प्रदान गर्नु साथै केही कुरा सिर्जना/उत्पन्न (बनाउनु) गर्नु। उदाहरणको लागि तपाईले ChatGPT लाई पार्किन्सन रोगका लक्षणहरु बताउन अनुरोध गर्न सक्नुहुन्छ, तपाई यसलाई यसो भन्न सक्नुहुन्छ, ” पार्किन्सन रोगका लक्षणहरु वर्णन गर्ने एक सय शब्दको अनुच्छेद लेख्नुहोस्” । र यसले तुरुन्तै तपाईलाई अत्यन्तै सुन्दर ढंगबाट पार्किन्सन रोगका लक्षणहरु वर्णन गर्ने एक सय शब्दको अनुच्छेद मात्र लेख्ने छ र तपाईलाई यसको सूची दिनेछ।
यो अर्थमा ChatGPT हामीले नियमित रूपमा प्रयोग गर्ने अन्य स्रोतहरु जस्तै: शब्दकोश, लेख, पुस्तकहरु, गुगल खोजहरु र अन्य यस्तै अन्य प्रविधि भन्दा धेरै परिस्कृत प्रविधि हो।
हामीलाई के जान्न आवश्यक छ भनेर जान्नको लागि वा के बुझ्न आवश्यक छ भनेर बुझ्नको लागि अन्य व्यक्तिहरुबाट सहयोग लिने काम हामीले हजार वर्षअघि देखि गर्दै आएका छौँ।
यदि ChatGPT लाई पनि तपाईले त्यसरी नै प्रयोग गर्नु भयो भने त्यो पूरानै तरिका भयो।
नयाँ कुरा के छ भने यदि तपाईले लुका १५ अध्यायमा भएको उडन्ते पुत्रको दृष्टान्तमा दुई हजार शब्दको प्रवचन तयार गर भनी ChatGPT लाई निर्देशन गर्न सक्नुहुन्छ। वास्तवमा तपाईले यस्तो भनेर टाइप गर्न सक्नुहुन्छ – ” कृपया मलाई लुका १५ अध्यायबाट उडन्ते पुत्रको बारेमा जोन पाइपर, जोन क्याल्भिन वा आर. सी. स्प्रोलको शैली र भाषामा दुई हजार शब्दको एउटा प्रवचन तयार गर”। आश्चर्यजनक रूपमा तुरुन्तै तपाईले सोध्नु भएको ईश्वरस्शास्त्रीहरुको भाषा शैलीमा नै त्यस खण्डमा रहेर लेखिएको सुन्दर प्रवचन तपाईले पाउनुहुनेछ। अथवा GPT लाई तपाईले आफ्नो मासिक न्यूजलेटर लेख भन्न सक्नुहुन्छ, उसलाई केही तथ्यहरु दिनु भयो र केही निश्चित शब्द भित्र लेख भनेर भन्नुभयो भने मलाई लाग्छ सायद तपाईले लेख्ने भन्दा राम्रो पत्र तपाईको लागि केही समयमा नै यसले तयार पारिदिनेछ।
अब यहाँ तपाईले सोच्नु पर्ने केही कुरा छ। टोनी तपाई मैले AI को बारेमा कुरा गरेको चाहानु हुन्थ्यो तर म ChatGPT तर्फ गएँ र त्यहाँ मैले टाइप गरेको कुरा यही थियो; AI को प्रयोग गर्ने पास्टरहरुको सम्भावित खतरा वा जोखिमहरु के हुन सक्छन् कृपया ईश्वरशास्त्री जोन पाइपरको ईश्वरशास्त्रीय अडान र उहाँकै भाषाशैलीमा आठ सय शब्दमा जवाफ दिनुहोस्। यो गर्न उसलाई करीब पाँच सेकेण्ड जति लाग्यो र यसले करिब ८५७ शब्दको निबन्ध लेख्यो जुन यति राम्रो थियो कि यदि म त्यही जवाफ अहिले पढिरहेको थिए भने पनि टोनी मलाई लाग्दैन कि तपाई वा तपाईका श्रोताहरुलाई यो कुरा थाहा हुनेछ कि म ChatGPT बाट पढिरहेको छु। यो अद्भुत थियो।
त्यहाँ एउटा परिचय थियो, त्यसपछि केही बुँदाहरु पहिलो बुँदा ईश्वरीय सम्बन्धबाट विछेदनको खतरा जसमा १ कोरिन्थी २ बाट गरिएको उद्धरण पनि समावेश थियो। र दोस्रो बुँदा अवैयक्तिक सेवाको जोखिम जहाँ यूहन्ना १० लाई उद्धृत गरिएको थियो। ChatGPT यहाँ धर्मशास्त्र उद्धृत गरिरहेका छन् किनभने जोन पाइपरले पनि त्यसै गर्छन् हैन र? तेस्रो बुँदा: धर्मशास्त्रीय इमानदारिताको चुनौती जसमा हिब्रू ४ बाट उद्धरण गरिएको थियो। चौथो बुँदा नैतिक सम्झौताको खतरा। र पाँचौ बुँदा आफ्नो कार्यक्षमतामा मूर्तिपूजाको खतरा जहाँ भजनसंग्रह १२७ लाई उद्धृत गरिएको थियो। र यसको निष्कर्षमा यस्तो भनिएको थियो “विवेकको लागि आह्वान” मेरो विचारमा यो एकदमै अविश्वसनीय र उत्कृष्ट छ।
अनि यदि मैले तपाईलाई यो मेरो आफ्नै हो भनी पढेर सुनाएको भए, यो अत्यन्तै खराब र दुष्ट काम हुनेथियो। मानिसहरूले यही कुरा सुनुन् भन्ने म चाहन्छु। हो, खराब र दुष्ट काम। यहाँ दुष्ट भनेर मैले खरो शब्द प्रयोग गरिरहेको छु किनकि यसलाई म दृढताका साथ महसुस गर्न सक्छु। किनभने यो सिधै परमेश्वरको हृदय, ख्रीष्टियान विश्वासको अर्थ, चर्च र यसका सेवकहरुको इमानदारीतासँग जोडिएको विषय हो। न त परमेश्वर न त उहाँका मानिसहरुले त्यस्तो तरिकाले बोल्छन् जसले गर्दा अरु मानिसहरूको मनमा हाम्रो बारेमा वा हामीले भन्ने कुराको बारे असत्य विचारहरु वा तिनीहरुमा हाम्रो बारेमा उपयुक्त नभएका भावनाहरु उत्पन्न होऊन्। अर्थात् हामी अरु मानिसहरुलाई धोका दिदैनौँ । हामी सत्य, पारदर्शी र इमानदार मानिसहरु हौँ। नत्रता हामी केही पनि होइनौँ।
सारांशमा मेरो आह्वान :
त्यसकारण मेरो जवाफ यही हो, कि जबसम्म उक्त पत्रको शीर्षकमा यो पत्र ChatGPT ले तयार गरेको हो भनी तपाई लेख्नुहुन्न। तब तपाईको पत्र लेखनमा ChatGPT को प्रयोग नगर्नुहोस्। यो नै इमानदारीता हो। मलाई लाग्छ कि तपाईको सेवकाइका सहयोगीहरुले यसलाई मनपराउने छैनन्। यदि तपाई विना कुनै इसाई प्रतिबद्धता अर्थात्, द सिकागो म्यानुअल अफ स्टाइल यसको प्रयोग गर्नुहुन्न भने यो संसारले पनि यस प्रकारको झुटलाई समर्थन गर्ने छैन। द सिकागो म्यानुअल अफ स्टाइल भनेको के हो तपाईलाई थाहा छ? यसले तपाईलाई फुटनोटहरु कसरी गर्ने र अरु सबै कुराहरु कसरी राख्ने भन्ने बारे सिकाउँछ। द सिकागो म्यानुअल अफ स्टाइलमा पहिले नै ChatGPT का स्रोतहरुलाई कसरी उद्धृत गर्ने भन्ने बारे दिशानिर्देशनहरु छन्। जब तपाई ChatGPT बाट सिर्जना गरिएको कुनै कुरा उद्धृत गर्दै हुनुहुन्छ भने द सिकागो म्यानुअल अफ स्टाइलले तपाईलाई यसलाई कसरी श्रेय दिने भनेर बताउँछ। यदि संसारले त त्यसो गर्छ भने एक ख्रीष्टियानको रुपमा हामी झन पूर्ण इमानदार हुन कति धेरै चिन्तित हुनु पर्ने हो ?
दोस्रो कुरा, तपाईको वचनको रूपरेखा तयार गर्न पनि ChatGPT को प्रयोग नगर्नुहोस्। जसलाई तपाईले पछि जाँच गर्नुहुन्छ, मिलाउनु हुन्छ र आफु अनुकूल बनाउनु हुन्छ। खुल्लारूपमा सोच विचार गरेर नै म तपाईलाई यो अपील गरिरहेको छु। वास्तवमा मलाई यो राम्रोसँग थाहा छ, कि विभिन्न स्रोत सामग्रीहरु, वेबसाइटहरु सधैँ तपाईको रूपरेखा सिर्जना गर्न, उदाहरणहरु प्रदान गर्न, अनुसन्धान कसरी गर्ने भनी बताउन साथै यस्तै अन्य धेरै कुराहरुको समस्या समाधान गर्न अस्तित्वमा छन्। यसमा केही नयाँ कुरा छैन, मलाई यसकारणले गर्दा यो डरलाग्दो भएको छ कि बाइबलमा एल्डर पास्टर प्रचारक हुनको लागि स्पष्ट रूपमा नै योग्यताहरु दिइएको छ, जसमध्ये एक भनेको सिकाउन सक्ने वरदान वा क्षमता हो (१ तिमोथी ३:२)। यसको अर्थ यही हो कि यदि तपाईं पास्टर हो भने तपाईंसँग धर्मशास्त्रको अंश पढ्ने, यसले सम्बोधन गरेको वास्तविकतालाई राम्रोसँग बुझ्ने, यसले उत्पन्न गरेको भावनाहरुलाई महसुस गर्ने, अरुलाई स्पष्ट रूपमा व्याख्या गर्ने, उदाहरणहरु प्रस्तुत गर्न सक्ने र उनीहरुको सुधारको लागि यसलाई लागु गर्न सक्षम हुने क्षमता वा वरदान हुनुपर्छ। यो तपाईसँग अनिवार्य रूपमा हुनै पर्ने वरदान हो। यो नै तपाईको पहिलो काम हो। यदि तपाईसँग यी क्षमताहरु छैनन् भने तपाई पास्टर हुनु हुँदैन ।
ChatGPT र अन्य यस्ता स्रोतहरुको प्रयोग केवल जानकारी प्राप्त गर्नको लागि मात्र गर्ने गरौँ। जसरी तपाई विभिन्न ईश्वरशास्त्रीहरुको टिप्पणीहरु, लेखहरु, पुस्तकहरु, गीत र कविताहरु प्रेरणा प्राप्त गर्न प्रयोग गर्नुहुन्छ। तर जबसम्म यसलाई श्रेय दिनुहुन्न तबसम्म आफ्नो रचनाको लागि भने AI को प्रयोग नगर्नुहोस् । यदि तपाईले ChatGPT लाई आफ्नो वचनको पहिलो रूपरेखा लेख्न लगाउनुहुन्छ र यसलाई आफ्नोपन दिन केही कुराहरु थपघट गर्दै हुनुहुन्छ भने तपाईले आफ्ना मानिसहरुलाई यो भन्नु बुद्धिमानी हुन्छ कि, ” आज बिहान तपाईको लागि AI, ChatGPT ले परमेश्वरको वचन तयार गरेको छ”।
–जोन पाइपर







