के म एउटै चर्चमा समर्पित हुनुपर्छ?

जीवराम:“पास्टर जोन, स्थानीय चर्चको बारेमा मेरो एउटा जिज्ञासा छ। मैले मेरै उमेरका धेरै मानिसहरू एकपछि अर्को हप्ता भिन्न-भिन्न चर्चहरूमा गएको देखेको छु (जसलाई चर्च होपिङ भनिन्छ)। म उनीहरूलाई एउटा विशेष स्थानीय चर्चसँग करारीय सम्बन्ध स्थापित गर्न र यो उनीहरूका लागि किन लाभदायक छ भन्ने बारेमा बताइरहन्छु। तर पनि उनीहरू भन्छन्, ‘हामी सबै ख्रीष्टका शरीर हौं, र हामी विश्वासीहरूको रूपमा जहाँ चाहन्छौं त्यहाँ जान स्वतन्त्र छौं।’ तपाईं मेरा त्यस्ता साथीहरूलाई के भन्न चाहनुहुन्छ?”
पास्टर जोन: सर्वप्रथम, म उनीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु: “तपाईंले ती दुई कुराहरू कसरी थाहा पाउनुभयो, कि हामी सबै ख्रीष्टका शरीर हौं र हामीले चाहेको चर्चमा जान हामी स्वतन्त्र छौं?”
यदि उनीहरूले यसो भने भने, म उनीहरूलाई सोध्नेछु, “त्यसो हो भने तपाईंहरू यो स्वीकार गर्नुहुन्छ कि चर्च सदस्यताको विषयमा बाइबलले जे सिकाउँछ, त्यसप्रति आफ्ना विचार र इच्छाहरूलाई समर्पित गर्न तपाईंहरू तयार हुनुहुन्छ, होइन त? अर्को शब्दमा भन्नुपर्दा, चर्च सदस्यताको बारेमा बाइबलले जे भन्छ, त्यही मान्न र त्यही गर्न तपाईंहरू इच्छुक हुनुहुन्छ, होइन त?”
यदि उनीहरूले “होइन” भने भने, त्यसो भए हामीसँग अझ गम्भीर समस्या हुनेछ, होइन र? किनकि त्यसले बाइबलले जे सिकाउँछ त्यसको अधीनमा बस्न उनीहरू तयार छैनन् भन्ने देखाउँछ।
जब परमेश्वर नै वास्तविकता सृष्टि गर्ने र हामीलाई यो के हो भनेर बताउने व्यक्ति हुनुहुन्छ भने, हामीले आफ्नै दिमागबाट आफ्नै वास्तविकता सृष्टि गर्ने र अनुमान गर्ने मूर्खताको बारेमा कुरा गर्नु आवश्यक पर्छ।
तर यदि उनीहरूले “हो” भने—जुन मलाई आशा छ कि उनीहरूले भन्नेछन्—तब म भन्न प्रयास गर्नेछु, “ठिक छ, यदि तपाईं बाइबलको अधीनमा आफ्नो जीवन बिताउन चाहनुहुन्छ भने, बाइबलमा जाऔं र चर्च सदस्यताको बारेमा यसले के भन्छ हेरौं।”
चर्च सदस्यतासम्बन्धी पाँच बाइबलीय तर्कहरू
१. अपश्चातापी पापीहरूका लागि चर्च नै त्यो अन्तिम अपिल हो।
म उनीहरूलाई यो उल्लेख गर्नेछु र एउटा प्रमाण दिनेछु। मानिसहरूले त्यसलाई अध्ययन गर्न सक्छन्। तर म भन्नेछु, “के तपाईंले मत्ती १८:१५–१७ को अर्थ विचार गर्नुभएको छ?”
पश्चाताप नगरेको पापको मामिलालाई विचार गर्दा येशूले चर्चलाई अन्तिम अपिल बनाउनुहुन्छः “यदि तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। तर त्यसले सुनेन भने, आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ। यदि उसले तिनीहरूको कुरा सुन्न अस्वीकार गर्छ भने, चर्चलाई भन।”
यदि त्यहाँ निश्चित समूह नभएको भए, त्यो चर्चले कसरी कुनै निर्णय गर्थ्यो? जसले आफूलाई चर्च ठान्थे? यस्तो संवेदनशील बैठकमा सडकबाट फुत्त चर्चभित्र छिरेर तपाईं यसो भन्न सक्नुहुन्न कि, “म पनि एक ख्रीष्टियान हुँ, त्यसैले म यो समूहको हुँ, जसले यो व्यक्ति भित्र रहन्छ वा बाहिर रहन्छ भन्ने कुराको निर्णय गर्न सक्छ।”
त्यसैले मलाई लाग्छ कि चर्चलाई त्यस प्रकारको संवेदनशील कुरालाई समाधान गर्न बोलाउनु भनेको त्यहाँ कुनै प्रकारको निश्चित समूह छ, जसलाई त्यसो गर्न भरोसा गर्न सकिन्छ। यो पहिलो तर्क हो।
२. अपश्चातापी पापीहरूलाई सदस्यताबाट हटाउन चर्च जिम्मेवार छ।
दोस्रो खण्ड १ कोरिन्थी ५:१२–१३ हो, जहाँ पावलले कसैलाई मण्डलीबाट निकाल्ने आवश्यकताको बारेमा कुरा गर्छन्:
“किनकि बाहिरकाहरूको इन्साफ गर्नु मलाई के खाँचो? के तिमीहरूले मण्डलीभित्रकाहरूको न्याय गर्नुपर्दैन र? बाहिरकाहरूको न्याय परमेश्वरले नै गर्नुहुन्छ। तिमीहरूले आफ्ना बीचबाट दुष्ट मानिसलाई निकालिदेओ।”
म त्यहाँ कम्तीमा दुई अर्थहरू देख्छु। एउटा यो हो कि त्यहाँ मण्डलीभित्रको समूह र मण्डलीबाहिरको समूह छ, जसको बारेमा उनले उल्लेख गरेका छन्। मण्डलीमा हुनु निश्चित छ। त्यसो भए सदस्यताजस्तो कुनै कुरा त्यहाँ थिएन भने यो कसरी सम्भव भयो?
अर्को व्यावहारिक प्रयोग यो हो कि कुनै व्यक्तिलाई चर्चबाट हटाउन सकिन्छ। त्यसैले म जीवरामका साथीहरूलाई सोध्न चाहन्छु, “के तपाईं विश्वासीहरूको शरीरको हिस्सा हुनुहुन्छ? ताकि यदि तपाईं खुला पापमा लाग्नुभयो र पश्चाताप गर्नुभएन भने तपाईंलाई हटाउन उनीहरूका लागि अर्थपूर्ण होस्? के तपाईं त्यस्तो समूहप्रति जवाफदेही हुनुहुन्छ, जहाँ त्यो हुन सक्छ?”
किनभने यदि तपाईं केवल यताउता दौडिरहनुभएको छ भने, मलाई थाहा छैन कि त्यो कसरी सम्भव हुन सक्छ। जवाफदेही समूहबाट बहिष्कारको कुनै अर्थ रहनेछैन।
३. ख्रीष्टियनहरूलाई परमेश्वरले चर्चका अगुवाहरूको अधीनमा बस्न आज्ञा दिनुहुन्छ।
तेस्रो खण्ड हिब्रू १३:१७ हुनेछ, जहाँ यसले भन्छ, “तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्।”
यदि तपाईंले सदस्यताको महत्त्वलाई कम महत्त्वको ठान्नुभयो भने, अगुवाहरूको अधीनमा बस्न यी आदेशहरूलाई तपाईंले कसरी गम्भीर रूपमा लिन सक्नुहुन्छ भनेर बुझ्न मलाई गाह्रो हुन्छ।
यदि हामी तिनीहरूको अधीनमा बस्न गइरहेका छौं भने, हाम्रा अगुवाहरू को हुन् भनेर हामीले जान्नुपर्छ। तर यदि हामी एक चर्चबाट अर्को चर्चमा दौडिरहेका छौं भने, हामी यस प्रकारको नेतृत्वमा आउने र आफूलाई त्यस्तो प्रकारको अधीनमा दिने सम्भावना कम हुन्छ जस्तो मलाई लाग्छ।
४. परमेश्वरले चर्चका अगुवाहरूलाई उनीहरूको जिम्मामा दिनुभएको बगालका लागि जवाफदेही बनाउनुहुन्छ।
अनि यहाँ चौथो तर्क छ। अगुवाहरूले कसका लागि जवाफदेही छन् भनेर कसरी थाहा पाउने भन्ने प्रश्न मलाई अझ महत्त्वपूर्ण लाग्छ।
किनकि बाइबलले हामी पास्टरहरूका लागि धेरै गम्भीर कुरा बताउँछ, जब प्रेरित २०:२८ मा पावल भन्छन्:
“तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मेवार बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्।”
बेथलेहेममा बिताएका मेरा सबै वर्षहरूमा यो मेरा लागि सबैभन्दा ठुलो संघर्षहरूमध्ये एक थियो। अन्तिम दिनमा जब प्रभुले मलाई भन्नुहुन्छ, “के तिमीले आफ्नो बगालको हेरचाह गर्यौ?” तब म कसका लागि जवाफदेही हुन्छु होला?
तपाईंले तिनीहरूका आत्माका लागि लेखा दिनुपर्नेछ। तिनीहरू को हुन् भन्ने कुराले करारीय सदस्यता हाम्रो लागि साँच्चै महत्त्वपूर्ण बन्यो। किनभने धेरै मानिसहरू बेथलेहेम चर्चका ढोकाहरूबाट भित्र आएका र गएका थिए। चर्चका ढोकाहरू वरिपरि घुमिरहेका ती हजारौँ मानिसहरूका लागि म यो आज्ञा पूरा गर्न सक्दिनथेँ।
तर मलाई लाग्छ कि त्यहाँ त्यस्ता विश्वासीहरूको समूह पनि थियो जसले भने, “हामी यहाँ छौं। हामी तपाईंका बगाल हौं। तपाईं हाम्रो गोठालो हुनुहुन्छ। हामी तपाईंका मानिसहरू हौं। हामी आशा गर्छौं कि तपाईंले हामीलाई जवाफदेही बनाउनुहुनेछ। हामी तपाईंलाई विश्वासी गोठालो हुन जवाफदेही बनाउनेछौं।”
त्यसपछि त्यस्तो सम्बन्ध परिभाषित हुन्छ, र मैले ती मानिसहरूको हेरचाह गरेको छु कि छैन भनेर जवाफदेही हुन सक्छु।
५. विश्वासीहरू स्थानीय चर्च निकायको एक भाग हुन्।
अन्तिममा म १ कोरिन्थी १२ लाई औँल्याउनेछु, जहाँ शरीरका अङ्गहरूलाई स्थानीय शरीर (स्थानीय मण्डली) का भागहरूको रूपमा वर्णन गरिएको छ। यदि कोही व्यक्तिले यसो भन्छ, “तर एफिसी १ र ४ मा ख्रीष्ट विश्वव्यापी शरीरको शिर हुनुहुन्छ, र त्यो शरीरको म एक भाग हुँ,”
म भन्छु, “ठिक छ, हो! तपाईं त्यो शरीरको एक भाग हुनुहुन्छ। तर १ कोरिन्थी १२ मा यो फरक र अझ विशिष्ट छ। किनभने हामीलाई थाहा छ कि १ कोरिन्थी १२ को पद २१ मा यसले भन्छ, ‘आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्न सक्दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्न सक्दैन।
यसको अर्थ हामी सबै स्थानीय निकायको भाग हौं, र हामी खुट्टा, हात, आँखा वा कानको रूपमा काम गरिरहेका छौं। र त्यो शरीरमा हामीलाई त्यो वरदान र त्यो जिम्मेवारी पूरा गर्न बोलाइएको छ।
समुदायमा अर्थ
त्यसैले मलाई लाग्दैन कि येशू ख्रीष्ट स्वतन्त्र रूपमा जता पनि घुमिरहने ख्रीष्टियानहरू बनाउन मर्नुभयो। बरु, उहाँ चर्च स्थापना गर्न मर्नुभयो, जहाँ प्रत्येक विश्वासीको साँचो, वास्तविक र व्यक्तिगत पहिचान प्रकट हुन्छ।
त्यसकारण हामी स्थानीय चर्चबाट जति धेरै अलग हुन्छौं, त्यति नै हामी को हौं र परमेश्वरले हामीलाई किन बनाउनुभयो भन्ने कुरामा भ्रमित हुन्छौं।
हामी अरूसँगको सम्बन्धमा (चर्चमा) आफ्नो वास्तविक व्यक्तिगत पहिचान पाउँछौं।
–जोन पाइपर







