साँचो परिवर्तन सम्बन्धी बाइबलीय बुझाइ

एक पटक एक रिपोर्टरले प्रसिद्ध बास्केटबल खेलाडी स्याम पर्किन्सलाई सोधे, ‘तपाईको टोली ३५ अङ्कको ठुलो अन्तरले हार्यो, अब यसलाई कसरी सुधार्नुहुन्छ ?’ पर्किन्सले जवाफ दिए, “हामीले केवल आफ्नो निरन्तरतालाई कायम राख्नुपर्छ ।” तपाईले सोच्नुहोला, “कस्तो निरन्तरता, पर्किन्स ? तपाईहरू ३५ अङ्कले हार्नुभएको छ!” वास्तवमा, त्यो टोलीलाई निरन्तरताको होइन, बरु आफ्नो ‘हार्ने प्रवृत्ति’ बदल्नुपर्ने आवश्यकता थियो । ठिक त्यसरी नै, बाइबलले सिकाउँछ कि हामीलाई आमूल परिवर्तनको खाँचो छ । ख्रीष्टविना प्रत्येक मानिस आत्मिक रूपमा मृत छ र जन्मजात नै परमेश्वरको क्रोधमुनि छ । पर्किन्सकै शब्द सापटी लिने हो भने, यदि हामीले आफ्नो पापी स्वभावको ‘निरन्तरता’ मात्र कायम राख्यौं भने, हामी सधैं मृत अवस्थामै रहनेछौँ।
यदि यो कुरा अलि बढाइचढाइ गरिएजस्तो लाग्छ भने, निकोदेमससँग रातको समयमा भएको येशूको कुराकानीलाई फेरि विचार गर्नुहोस् । मानिसको स्वाभाविक अवस्थाबारे येशूले भन्नुभयोः “ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन् ।” (यूहन्ना ३:१९-२०)। जब हामी आफ्नै भरमा छोडिन्छौँ, तब हाम्रो अवस्थाप्रति येशू पटक्कै आशावादी हुनुहुन्न । प्रेरित पावल पनि यसमा स्पष्ट थिए; उनले एफिसीका ख्रीष्टियानहरूलाई यसो भन्दै सम्झाए कि साँचो परिवर्तन हुनुअघि तिनीहरू आफ्ना अपराध र पापहरूमा मरेका थिए (एफिसी २:१)। उनले रोमीका विश्वासीहरूलाई पनि उस्तै कुरा भनेः “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०)।
यो गम्भीर वास्तविकतालाई अक्सर “पूर्ण भ्रष्टता” (Total Depravity) भनिन्छ। यसको अर्थ हो – परमेश्वरविरुद्धको हाम्रो विद्रोहले हाम्रो अस्तित्वको प्रत्येक पक्षलाई प्रदूषित बनाएको छ । हामीमा पूर्ण रूपमा पापको दाग लागेका छ र हामी परमेश्वरका आज्ञाहरू पालन गर्न असमर्थ छौँ। त्यसैले पावलले भने, “व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन” (रोमी ३:२०) । छोटकरीमा भन्नुपर्दा, बाइबलले सिकाउँछ कि हामी ऋणमा छौं, दासत्वमा छौँ र आत्मिक रूपमा मृत छौँ। हामीलाई यस्तो परिवर्तनको खाँचो छ जुन केवल येशू र उहाँको आत्माले मात्र ल्याउन सक्नुहुन्छ ।
यी दुईवटा सत्यलाई मनन गर्नुहोस्ः हामीलाई परमेश्वरको अनुग्रहको नितान्त खाँचो छ, तर परमेश्वर हामीलाई अनुग्रह दिन बाध्य हुनुहुन्न । त्यसैले त यसलाई “अनुग्रह” भनिन्छ किनकि यो सित्तैमा पाइने उपहार हो । न्यायको सिद्धान्तअनुसार परमेश्वरले पापीलाई दिनुपर्ने सजाय मात्र हो। तापनि, येशूले हाम्रा पापहरूका निम्ति ‘प्रतिनिधि’ बनेर परमेश्वरको न्यायको मागलाई पूरा गरिदिनुभयो, ताकि जो कोही पापबाट फर्केर उहाँमाथि विश्वास गर्छ, उसले मुक्ति पाओस् ।
पापबाट ‘फर्किनु’ र ख्रीष्टमा ‘भरोसा राख्नु’ नै साँचो परिवर्तनको सार हो। परमेश्वरको आत्माले हामीभित्र यो कार्य गर्नुहुन्छ। उहाँले नै हामीलाई हाम्रो पापको कुरुपता र ख्रीष्टको सुन्दरता देख्ने आँखा दिनुहुन्छ । अनि मात्र हामी दाऊदले झैँ हृदयदेखि प्रार्थना गर्न सक्छौं, “तपाईको विरुद्धमा, केवल तपाईकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाई ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाई न्यायी ठहरिनुहुन्छ ।” (भजनसंग्रह ५१:४)।
परमेश्वरविना हाम्रो अवस्था कस्तो छ भन्ने कुरा नबुझी हामीलाई ‘साँचो परिवर्तन’ को आवश्यकता किन छ भन्ने कुरा बुझ्न सकिँदैन । यो वास्तविकतालाई स्वीकार नगर्दा, हामी आफ्नो अवस्था कति नाजुक छ भन्ने कुरालाई कम आकलन गछौँ। साथै, ख्रीष्टमा भरोसा राख्ने पापीहरूलाई परमेश्वरले दिनुहुने अचम्मको अनुग्रहलाई चिन्न पनि हामी चुक्छौँ। येशूले ल्याउनुभएको सुसमाचार हामीभित्रको ‘क्षमता’ खोज्ने बारेमा होइन। बरु, यो त हाम्रो पुरानो स्वभावलाई त्यागेर ख्रीष्ट हाम्रा लागि जो हुनुहुन्छ, त्यसतर्फ फर्कने बारेमा हो।
हामीलाई आफ्नै पुरानो स्वभावको अलि सुध्रिएको रूप चाहिएको होइन, बरु पूर्ण रूपमा नयाँ जीवन चाहिएको हो ! साँचो परिवर्तनमा, हामी आफ्नो जीवनको मालिक र न्यायकर्ता आफै बन्ने जिद्दी त्यागिदिन्छौँ र त्यो अधिकार केवल परमेश्वरको मात्र हो भन्ने स्वीकार गर्छौँ। हाम्रा विगतका पापहरू क्षमा हुन, वर्तमान जीवनको दिशा बद्लिएर परमेश्वरतर्फ निर्देशित हुन, र हाम्रो भविष्यको गन्तव्य पनि ‘नरकको न्याय’ बाट बलिएर ‘स्वर्गको अनुग्रह’ मा परिणत हुन आवश्यक छ। संसारका अन्य धर्महरूले ‘स्व-मुक्ति’ (मुक्तिको लागि आफैले गर्ने प्रयत्न) को प्रचार गर्छन्, तर ख्रीष्टियान धर्मले हामी आमूल रूपमा परिवर्तित हुनुपर्छ भन्ने सिकाउँछ ।
परमेश्वरको अनुग्रह पाएर परिवर्तन भएपछि के हुन्छ ? के हामी आफ्नै पापमा असहाय अवस्थामा छोडिन्छौँ त ? पटक्कै होइन! जब परमेश्वरले हामीलाई परिवर्तन गर्नुहुन्छ, उहाँले हाम्रो हृदय र सोचाइ पनि परिवर्तन गर्नुहुन्छ। ख्रीष्टमा पाएको नयाँ पहिचानबाट नयाँ कार्यहरू जन्मिन्छन् । परिवर्तन भएदेखि नै हाम्रो जीवन क्रमशः परमेश्वरको इच्छा र मार्गअनुसार चल्न थाल्छ। यही परिवर्तनले नै हामीलाई साँच्चै हाम्रो जीवन परिवर्तन भएको छ भन्ने कुराको प्रमाण दिन्छ । वास्तवमा, यदि हाम्रो स्वभाव र व्यवहारमा परिवर्तन देखिँदैन भने, हाम्रो जीवन परिवर्तन भएको छ भनेर ढुक्क हुनु हुँदैन (याकूब २:१४)।
साँचो परिवर्तन भएका मानिसहरू नै बद्लिएका मानिसहरू हुन्, र यस्ता मानिसहरूबाटै स्वस्थ चर्चको निर्माण हुन्छ। यस्ता व्यक्तिहरूले भरिएको चर्चले यो प्रमाणित गर्छ कि येशूले वास्तवमै मानिसहरूलाई बदल्नुहुन्छ र उहाँको सुसमाचारले साँच्चै मुक्ति दिन्छ । त्यसैले म सधैँ यो प्रार्थना गर्छु कि हाम्रो चर्चको सामूहिक गवाही, कुनै एक व्यक्तिको गवाहीभन्दा पनि गैरख्रीष्टियानहरूका लागि अझ बढी प्रभावशाली बनोस् ।
परमेश्वरको आत्मा हामी प्रत्येकमा व्यक्तिगत रूपमा कार्य गरिरहनुभएको हुनुपर्छ। तैपनि, म प्रार्थना गर्छ कि हाम्रो चर्चको आपसी प्रेम देखेर हाम्रा गैरख्रीष्टियान साथीहरू छक्क परून् । उनीहरूले हाम्रो एकता र एक-अर्काप्रतिको वास्ता देखून् र हाम्रो जीवनमा केही अचम्मको ईश्वरीय कार्य भएको छ भन्ने कुरा महसुस गरून् । यद्यपि हामीमध्ये कोही पनि सिद्ध छैनौँ, तैपनि म प्रार्थना गर्छु कि चर्चको रूपमा हाम्रो सामूहिक गवाहीद्वारा अझ धेरै मानिसहरू ख्रीष्टतर्फ फर्कन सकून् ।
एउटा स्वस्थ चर्च हुनका लागि साँचो परिवर्तनको यो बाइबलीय बुझाइ हुनु अपरिहार्य छ। हामीलाई परिवर्तनको खाँचो छ र केवल परमेश्वरले मात्र हामीलाई बदल्न सक्नुहुन्छ भन्ने सत्यलाई हामीले बिर्सनु हुँदैन । तर परमेश्वरले मात्र परिवर्तन गराउनुहुन्छ भन्नुको अर्थ यो होइन कि हामीले सुसमाचार सुनाउन छोड्नुपर्छ ! बरु यसको ठिक उल्टो, यो बुझाइले त सुसमाचार प्रचार गर्ने हाम्रो उत्साहलाई अझ बढाउँछ ।
–मार्क डेभर







