व्याख्यात्मक प्रचार

यदि एउटा स्वस्थ चर्च परमेश्वरको वचनमा प्रकट गरिएको उहाँको चरित्रलाई प्रगतिशीलरूपमा प्रदर्शन गर्ने समुदाय हो भने, स्वस्थ चर्च निर्माण गर्ने सबैभन्दा स्पष्ट सुरुवात भनेको ख्रीष्टियानहरूलाई परमेश्वरको वचन सुन्नलाई आह्वान गर्नु हो । परमेश्वरको वचन सबै जीवन र स्वास्थ्यको स्रोत हो। यसले सुसमाचार सम्बन्धी चर्चको बुझाइलाई पोषण दिन्छ, विकास गर्छ र सुरक्षित राख्छ ।
व्याख्यात्मक प्रचार के हो ?
आधारभूत रूपमा, यसको अर्थ पास्टरहरू र चर्च समुदाय दुवै व्याख्यात्मक प्रचारप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने हो। व्याख्यात्मक प्रचार यस्तो प्रचार हो, जसले सामान्य रूपमा, परमेश्वरको वचनलाई उदाङ्गो बनाउँछ । यसले धर्मशास्त्रको एउटा विशेष खण्डलाई लिन्छ, त्यस खण्डलाई व्याख्या गर्छ, र त्यसको अर्थलाई चर्च समुदायको जीवनमा लागु गर्छ। यो त्यस्तो प्रचार हो, जसले परमेश्वरले आफ्ना मानिसहरूलाई, साथै जो उहाँका होइनन्, तिनीहरूलाई पनि के भन्नुहुन्छ भन्ने कुरा सबैभन्दा स्पष्ट रूपमा उजागर गर्छ । व्याख्यात्मक प्रचारप्रतिको प्रतिबद्धता भनेको परमेश्वरको वचन सुनाइप्रतिको प्रतिबद्धता हो।
त्यहाँ अरू धेरै प्रकारका प्रचारहरू पनि छन् । उदाहरणको लागि विषयगत प्रचार, जसले कुनै निश्चित विषय (जस्तै प्रार्थना वा भेटी) मा रहेर एक वा सोभन्दा बढी पदहरू सङ्कलन गर्छ। जीवनीमूलक (Biographical) प्रचारले बाइबलमा भएको कुनै एक चरित्रलाई लिन्छ, र उसको जीवनलाई परमेश्वरको अनुग्रह र आशा र विश्वासयोगताको उदाहरणको रूपमा प्रस्तुत गर्छ। यस प्रकारका प्रचारहरू कहिलेकाहीँ उपयोगी हुन सक्छन् । तर चर्चको नियमित भोजनमा परमेश्वरको वचनको निश्चित खण्डको व्याख्या र अनुप्रयोग समावेश हुनुपर्छ ।
व्याख्यात्मक प्रचारको अभ्यास यो विश्वासमा आधारित छ कि, परमेश्वरले जे भन्नुहुन्छ त्यही नै उहाँका मानिसहरूका लागि आधिकारिक छ । यसले उहाँका मानिसहरूले यसलाई सुन्नैपर्छ र सुन्नु आवश्यक छ भन्ने कुरालाई जोर दिन्छ, नत्र भने हाम्रो चर्च समुदाय परमेश्वरले हामीलाई उहाँको स्वरूपमा बनाउन प्रयोग गर्न चाहनुभएको कुराबाट वञ्चित हुन्छ । व्याख्यात्मक प्रचारले यो विश्वास राख्छ कि, चर्चले दुवै करारको साथै धर्मशास्त्रका हरेक विधा- व्यवस्था, इतिहास, बुद्धि, अगमवाणी, सुसमाचार र पत्रहरूबाट सिकेको परमेश्वर चाहनुहुन्छ। म विश्वास गर्छु कि, बाइबलका पुस्तकहरूलाई क्रमशः प्रचार गर्ने, र नियमित रूपमा धर्मशास्त्रका फरक-फरक करार र विधाहरूमा घुम्ने व्याख्यात्मक प्रचारक, त्यो आमाजस्तै हो, जसले आफ्नो सन्तानलाई, उनीहरूको मनपर्ने दुई वा तीनथरी परिकार मात्र नभएर हरेक खाद्य समूहबाट पौष्टिक खाना खुवाउँछिन् ।
व्याख्यात्मक प्रचारकको अधिकार धर्मशास्त्रबाट सुरु हुन्छ र धर्मशास्त्रमै अन्त्य हुन्छ। जसरी पुरानो करारका अगमवक्ताहरू र नयाँ करारका प्रेरितहरूले केवल गएर प्रचार गर्ने मात्र होइन, तर निश्चित सन्देश प्रचार गर्ने आदेश पाएका थिए, त्यसरी नै आजका ख्रीष्टियान प्रचारकहरू पनि परमेश्वरबाट बोल्ने अधिकार त्यतिबेलासम्म मात्र राख्छन्, जतिबेलासम्म उनीहरू उहाँको वचन बोल्छन् ।
-मार्क डेभर







