यदि परमेश्वर सार्वभौम हुनुहुन्छ भने, किन उहाँको संसार दुःखकष्टले भरिएको छ?

हामी एक बुबाको प्रश्नसँगै सुरु गरौँ । उनी यो संसार टुटेकोमा अत्यन्तै दुःखी छन् र यो टुटेको संसारको प्रभाव उनको घरसम्मै आइपुग्छ । नाम नखुलाई पठाइएको यस इमेलमा उनको कथा समावेश छ जुन यसप्रकार रहेको छ ।
प्रिय पास्टर जोन प्रभुले आफ्नो संसारलाई पूर्णरूपले शासन गरिरहनु भएको छ भनी विश्वास गर्न मैले सङ्घर्ष गर्नु परिरहेको छ । यो कुरा तपाईँ सामु म पूर्ण सत्यता र इमानदारीताका साथ लेखिरहेको छु । आजको संसारलाई हेरेर मात्र हामी यो विश्वास गर्न सक्दैनौँ अथवा म यसो भन्न सक्दिन आजको यो संसार पनि उहाँकै हो । हाम्रो राष्ट्र अनैतिक आत्मविश्वासको चिप्लो बाटो भएर गएको मात्र छैन हाम्रो अर्थतन्त्र पनि लडखडाइरहेको छ । राष्ट्रिय ऋण आकाशिएको छ । गर्भमा रहेका बच्चाहरूको दैनिक हत्या भइरहेको छ । शिकागोमा मात्र हेर्ने हो भने त्यहाँ अपराध दर यति उच्च स्तरमा बढेको छ कि मलाई लाग्छ दक्षिणतर्फको तुलनामा इराक वा अफगानिस्तान बरु अझ बढी सुरक्षित होलान् । धेरैजसो बालबालिकाहरू बन्दुकको आतंक र हिंसाको डरले खाटमुनि सुत्न बाध्य छन् ।
चार जनाको हाम्रो सानो परिवारमा पनि सङ्घर्ष र कष्टले आफ्नो घर बनाएको छ । हाम्रो एउटा छोरा ADHD लिएर जन्मिएको छ जसले गर्दा परिवारमा पीडा थपिएको छ र कहिलेकाहीँ यी कुराहरूले हाम्रो जीवनमा निराशा ल्याउँछ । एक रात भान्साकोठाको टेबलमाथि आफ्नो गृहकार्य गर्ने क्रममा मेरो छोराले भन्यो बुबा मलाई स्कूल जान मन पर्दैन किनकि शिक्षकहरूले पनि मेरो खिल्ली उडाउँछन् । मलाई ADHD र यो औषधी मन पर्दैन यसले मेरो पेट दुखाउँछ । पास्टर जोन यदि परमेश्वर यी सबै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ भने यस संसारमा किन यति धेरै दुःख छ ?
विश्वास गर्न असम्भव छ भन्ने यी व्यक्तिको कुरा अत्यन्तै दुःखद छ । त्यसकारण म प्रार्थना गर्छु अहिले नै म प्रार्थना गर्छु सायद मैले भन्ने कुराहरूको प्रयोग गरेर परमेश्वरले फेरि यस कुरालाई सम्भव बनाउनु सक्नुहुन्छ । Desiring God र APJ मा धेरै पटक हामीले यस प्रश्नलाई सम्बोधन गर्ने प्रयास गरेका थियौँ तर जब मैले पुनः यो प्रश्न देखें मैले यो विचार गरें कि यो प्रश्नलाई फेरि पनि सम्बोधन गर्नु आवश्यक छ ।
कष्टले भरिएको संसार
पेट दुखाइको समस्या कस्तो हुन्छ भनी म राम्रोसँग महसुस गर्न सक्छु । यो केवल यस मानिसले कस्तो किसिमले वर्णन गरेका छन् भन्ने कुराले मात्र नभई केही समय पहिले नोएल र मैले तीन वटा भाग भएको Pain Pus and Poison नामक वृत्तचित्र हेरेको कारणले गर्दा पनि हो । यसको दोस्रो भागमा पेनिसिलिनको खोज र बीसौं शताब्दीमा एन्टिबायोटिकको उदय हुनुअघिको इतिहास देखाइएको थियो । म यी कुराहरू सोचेर अचम्मित भएँ कि कति हजारौँ वर्षसम्म संसार कुनै पनि चिकित्सा प्रतिरक्षा विना नै भयानक रोगहरूसँग लडिरहेको थियो । र वास्तवमा त्यसबेला अपनाइने चिकित्सा प्रक्रियाहरूले परिस्थितिलाई झन् खराब बनाउँथ्यो ।
उदाहरणको लागि जर्ज वाशिङ्टनको मृत्यु हुनुअघि उनीहरूको शरीरबाट करिब चार पिन्ट रगत बगाइएको थियो । चार पिन्ट । त्यो रगत उनको शरीरमा भएको कुल रगतको करिब चालीस प्रतिशत जति हो । दोस्रो भागमा मानिसहरू भयानक खुला सरुवा रोगको संक्रमणबाट मरिरहेका थिए र खटिराका घाउहरूले पुरै शरीर ढाकिएका स-साना बच्चाहरूको तस्बिर देखाइएको थियो जसै म त्यो दृश्य हेरिरहेको थिएँ उनीहरूका आमाहरू ती खटिरामा बस्ने झिँगाहरू धपाउँदै आफ्ना नानीहरूको मृत्यु पर्खिरहेका थिए । मैले उक्त दृश्य हेरिरहँदा मेरी श्रीमती भने अन्त कतै हेरिरहेकी थिइन् किनकि उनले त्यो विकराल दृश्यलाई हेर्न सकिनन् अनि लामो सास फेर्दै आफैंलाई यो प्रश्न गरेको महसुस मैले गरें यदि म त्यस ठाउँमा भएको भए के हुन्थ्यो होला यदि ती नानीहरूका आमाबाबु म भएको भए के हुन्थ्यो होला जसले यो भयानक रोग र खटिराहरूले ग्रसित आफ्ना बच्चाहरूको केवल दयनीय मृत्यु पर्खिरहेका थिए अनि यस्ता घटनाहरू विश्व इतिहासमा हजारौँ पटक घटेका छन् ।
हामी पश्चिमी क्षेत्रमा बसोबास गर्ने मानिसहरू माझ यस्ता किसिमका मृत्युका संक्रमणहरूबाट धेरै सुरक्षित छौँ अनि म यो प्रश्न सोध्न बाध्य भएँ प्रभु यस कुराले तपाईँको निम्ति के अर्थ राख्छ यसबाट तपाईँले के भनिरहनु भएको छ ।
अनि मलाई यी मानिसको प्रश्न र अरू हजारौँ मानिसहरूबाट यो थाहा छ कि अकल्पनीय पीडा र यस्ता घिनलाग्दा विकृत अनुभवले अनगिन्ती मानिसहरूलाई अविश्वासमा पारेको छ । यी प्रश्नकर्ताहरू मानिसले जस्तै तिनीहरूले यसो भन्नेछन् यो असम्भव छ पाइपर केवल आजको संसारको अवस्थाको कारणले गर्दा अब परमेश्वरमा विश्वास गर्न असम्भव छ । यो उनको भनाइ हो । म त केवल आजको समस्याहरू झन् खराब भएर गइरहेका छन् मात्र भनिरहेको छु । यो यतिविघ्न खराब छ कि १९०० र १९७७ बीचमा मात्र करिब तीस करोड मानिसहरू स्मलपक्सको महामारीबाट मरे । त्यसपछि १९७७ मा व्यापक रूपमा विश्वव्यापी खोप प्रयाससँग यसको निर्मूलन भयो । र आज यसको प्रभाव छैन । यसबारे सोच्नुहोस् कि तीस करोडबाट अहिले शून्य । आज कसैलाई स्मलपक्स हुँदैन । पोलियोको प्रभावले आज कसैलाई छुँदैन ।
दुःख लाग्दो समस्या यो होइन कि संसार झन् खराब भएको छ । हो यो धेरै खराब छ र उनले यी खराबीहरूको दस्तावेज पनि प्रस्तुत गरे । वास्तवमा यो संसार अति नै खराब छ । भयानक कष्टको अर्थमा हेर्ने हो भने आजभन्दा हजारौँ वर्ष अघिको संसार अहिलेको तुलनामा अझ धेरै खराब थियो । त्यसो भए म जोन पाइपर कसरी अझैसम्म एक विश्वासी भइरहन सक्छु जबकी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मैले भोगेका साना भन्दा साना कष्टहरूले मेरो सास नै रोक्न खोज्छ । यहाँ मेरा गवाहीहरू छन् । मलाई लाग्छ यसबारे मेरो तीन वटा विचारधाराहरू छन् ।
मलाई आकर्षित गर्ने एउटा कुरा भनेको बाइबलको पूर्ण रूपमा सही छ। मैले Providence नामक पुस्तक लेख्न केही वर्ष लगाएँ त्यस क्रममा एक महीना पछि अर्को महीना गर्दै यो संसारमा विशेषगरी उहाँका आफ्नै मानिसहरूमाथि परमेश्वरको न्याय प्रस्तुत गर्न बाइबल कति धेरै स्पष्ट खुल्ला र रक्तपातपूर्ण छ भनी थाहा पाउँदा म स्तब्ध भएँ । व्यवस्था २८ अध्यायबाट यसबारे केवल एउटा उदाहरणलाई हेरौँ ।
क्षयरोग, ज्वरो, सूज, प्रचण्ड ताप, खडेरी साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्याएर तिमीहरू नष्ट नभएसम्म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ…. अनि पृथ्वीका सबै राज्यमा तिमीहरू तिरस्कृत हुनेछौ । तिमीहरूका मृत शरीरहरू आकाशका पंक्षी र जमिनका पशुहरूका आहार हुनेछन् । निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला गिर्खा छालामा जलजलाउने फोकाहरू र चिलाउने व्यथाले प्रहार गर्नुहुनेछ । परमप्रभुले तिमीहरूलाई बौलाहापन अन्धोपन र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ । परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञा र विधिहरू मानेर उहाँको वचन पालन नगरेका हुनाले तिमीहरू नष्ट नभएसम्म यी सबै श्राप तिमीहरूलाई सताएर उछिन्नेछन् । तिमीहरूसँग सबै चिज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ ।
अब मैले यहाँ भन्न खोजेको कुरा यो हो कि परमेश्वरको मार्गहरूप्रति हाम्रो आपत्ति यसकारण होइन कि हामीले बाइबलले देखेको भन्दा बढी स्पष्ट वा इमानदारीपूर्वक चिजहरू देखेका छौँ । बाइबल यस संसारमा कुनै पनि त्रास वा अन्यायबाट पछि हट्दैन । त्यो नै मेरो पहिलो कदम हो । म बाइबललाई त्याग्न सक्दिन किनकि यो भ्रम वा झुट होइन यो त परमेश्वर आफैंले आदेश दिनुभएको दुःखको सेतोपाटी हो ।
कष्टहरूले पापको साक्षी दिइरहेको छ
यहाँ दोस्रो कदम यो हो: म भन्छु कि संसारमा भएका भौतिक भयावह परिस्थितिहरूले यो अर्थ दिन सक्छन् र हामी तब मात्र अर्थपूर्ण र अनन्त धार्मिक समाधान पाउन सक्छौँ जब हामीले बाइबलीय वास्तविकतालाई अंगाल्छौँ कि एक असीमित बुद्धिमान न्यायी र असल परमेश्वर विरुद्धको पाप शताब्दीयौँ देखिको विश्वव्यापी पीडाको भौतिक आक्रोश भन्दा ठुलो नैतिक आक्रोश हो । म यो फेरि भन्न चाहान्छु किनकि हाम्रो विषयको मर्म नै यही हो र पवित्र आत्माको काम विना मानिसहरूलाई यो कुरा अंगाल्न र स्वीकार गर्न औधी गाह्रो छ।
मैले यो भनिरहेको छैन कि प्रत्येक दुःखको अनुभव हरेक व्यक्तिको विशेष पापसँग मेल खान्छ । यदि त्यसो हुँदो हो त हामी सबै नरकमा हुने थियौँ । जहाँसम्म म भन्न सक्छु र जहाँसम्म बाइबलले प्रकट गर्दछ यस संसारमा व्यक्तिको दुःखको हद र उनीहरूको दोषको हदबीच कुनै स्पष्ट सम्बन्ध छैन । पावलले रोमी ८:२० देखि २३ पदमा के भन्न खोजिरहेका छन् त्यसतर्फ म इशारा गरिरहेको हुन्छु जब उनी भन्छन् ।
सृष्टि व्यर्थताको वशमा पारियो त्यसको आफ्नै इच्छाले होइन तर उहाँको इच्छाले जसले त्यसलाई वशमा पार्नुभयो यसै आशामा कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ । हामी जान्दछौँ सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसव वेदनाको आर्तनाद गरिरहेको छ । सृष्टि मात्र होइन तर हामी आफैं पनि जसमा पवित्र आत्माको पहिलो फल छ सन्तानको रूपमा ग्रहण गरिनलाई अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतिक्षा गरेर हामी आफैं पनि भित्र भित्रै आर्तनाद गर्दछौँ ।
सृष्टिको विश्वव्यापी सुस्केरा सबै सृष्टिको पीडादायी पीडा पद २० ले अधीनता भनेको सृष्टिको अधीनता र पद २१ ले भ्रष्टताको बन्धन भनेको कारणले हो । यो अधीनता र भ्रष्टता सृष्टिको आफ्नै इच्छाले होइन, तर त्यसलाई आशासहित अधीनमा राख्नुहुने परमेश्वरको कारणले भएको हो।
आदममार्फत संसारमा आएको र सबै मानिसहरूमा फैलिएको पाप दुःखको शारीरिक आक्रोश भन्दा ठुलो नैतिक आक्रोश हो भनी जब म भनिरहेको हुन्छु तब म यही कुरा सङ्केत गरिरहेको हुन्छु जसको अर्थ परमेश्वरको भलाई र न्यायलाई देख्नु र विश्वास गर्नु हाम्रो मन र हृदयको कोपर्निकन क्रान्ति हो।
हामीले आफ्नो सोच्ने तरिका (मानसिकता) र विश्वास (आध्यात्मिकता) मा एउटा ठूलो परिवर्तन ल्याउनुपर्छ। हामीले यो सोच्न छोड्नुपर्छ कि “परमेश्वर हाम्रा आवश्यकता र इच्छाहरू पूरा गर्नका लागि हुनुहुन्छ।” यसको सट्टा, हामीले यो स्विकार्नुपर्छ कि “परमेश्वर नै ब्रह्माण्डको केन्द्र हुनुहुन्छ र हामी सबै उहाँको वरिपरि घुम्छौँ।” जब हामी परमेश्वरलाई आफ्नो जीवनको केन्द्रबिन्दु बनाउँछौँ, तब मात्र हामी उहाँको वास्तविक न्याय, बुद्धि र महिमालाई बुझ्न सक्छौँ।
यसरी मात्र पापको नैतिक आक्रोशलाई पीडाको शारीरिक आक्रोश भन्दा पनि खराब देखिनेछ । व्यावहारिक रूपमा यसको अर्थ यही हो कि जब म वृत्तचित्रमा देखाइएका घिनलाग्दा तस्बिरहरू हेरेर आफैं भित्र यसो भनिरहेको पाउँछु हे परमेश्वर, हे परमेश्वर यसको अर्थ के हो मैले सुनेको जवाफ यही हो सबै मानव कष्टहरू मानव पापको ठुलो भयानकताको चिच्याइरहेको साक्षी हो ।
पापीहरूको निम्ति ख्रीष्ट मर्नुभयो
अन्त्यमा तेस्रो विचार जसले मलाई परमेश्वरमाथि विश्वास दिलाउँछ त्यो यही हो कि परमेश्वरले आफ्नो पुत्र यस संसारमा पठाउनुभयो ताकि उहाँका सबै मानिसहरूले आफ्नो पापमा उहाँको पिता विरुद्ध गरेको आक्रोश भन्दा ठुलो नैतिक आक्रोशको सामना गर्न सकून् । किनकि परमेश्वरको पवित्र असल बुद्धिमान बलियो पुत्र रोमी क्रूसमा टाँगिनु र त्यो चरम यातनामा ओर्लनु भनेको विश्वास गर्ने सबैको सबै पापको आक्रोश ढाक्न पर्याप्त पीडा र पर्याप्त अपमान हो ।
त्यसकारण ती सबै जसले विश्वास गर्छन् , तिनीहरूले अनन्त जीवन प्राप्त गर्नेछन् र ती सबै जसले विश्वास गर्छन् तिनीहरू अनन्त आनन्दमा प्रवेश गर्नेछन् तर परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनु हुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । त्यसैले म यो दाबी गर्दिन कि यस्तो विश्वास सरल र सजिलो विश्वास हो । यो त एक उपहार हो र यसो भनिरहँदा म अहिले पनि म एक ख्रीष्टियान हुँ भन्ने कुराको गवाही दिइरहेको छु ।
–जोन पाइपर







