चेला भनेको के हो ?

चेला भनेको पछ्याउने व्यक्ति हो। कसैले टाढाबाट पनि कुनै व्यक्तिको शिक्षा र उदाहरणलाई पछ्याएर उसको चेला बन्न सक्छ। उदाहरणका लागि, कसैले भन्न सक्छ, “म गान्धीको शिक्षा र उदाहरणलाई पछ्याउँछु।” त्यसरी नै, ख्रीष्टको चेला हुनुमा कम्तीमा पनि त्यति समर्पण त अवश्य हुनुपर्छ। येशूको चेलाले उहाँले सिकाउनुभएझैँ जिउँदै उहाँका पाइलाहरू पछ्याउँछ। तर, तर येशूलाई पछ्याउनु केवल उहाँको शिक्षा अनुकरण गर्नु मात्र होइन। येशूलाई पछ्याउनुको पहिलो अर्थ, तपाई उहाँसँग व्यक्तिगत र बचाउने सम्बन्धमा प्रवेश गर्नुभएको छ भन्ने हुन्छ । बाइबलमा भनिएजस्तै तपाई “ख्रीष्टसँगको एकतामा” आउनुभएको हुन्छ (फिलिप्पी २:१)। उहाँको रगतमा भएको नयाँ करारद्वारा तपाई उहाँसँग एक हुनुभएको छ । उहाँको मृत्यु र पुनरुत्थानद्वारा तपाईको पापको सबै दोषहरू उहाँको भएको छ, र उहाँको सबै धार्मिकता तपाईको भएको छ ।
अर्को शब्दमा भन्दा, ख्रीष्टको चेला हुने कुरा हाम्रो कामहरूबाट सुरु हुँदैन । यो ख्रीष्टले गर्नुभएको कामबाट सुरु हुन्छ । येशू असल गोठालो हुनुहुन्छ, जसले आफ्ना भेडाहरूको लागि आफ्नो जीवन अर्पण गर्नुभयो (यूहन्ना १०:११) । उहाँले चर्चलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो (एफिसी ५:२५)। उहाँले आफूले तिर्नु नपर्ने त्यो ऋण तिर्नुभयो, जुन हामीले तिर्नुपर्ने थियो र हामीलाई पवित्र जातिको रूपमा आफूसँग एक गराउनुभयो ।
तपाईंले देख्न सक्नुहुन्छ कि परमेश्वर असल हुनुहुन्छ, र उहाँले हामीलाई पनि असल रूपमा सृष्टि गर्नुभयो। तर हामी प्रत्येकले परमेश्वर र उहाँको असल व्यवस्थाविरुद्ध गएर पाप गरेका छौँ। परमेश्वर न्यायी र पवित्र हुनुभएकोले उहाँले पापलाई दण्ड दिनुहुन्छ।तर ख्रीष्टियानमतको असल खबर (सुसमाचार) यही हो—हामीले जिउनुपर्ने सिद्ध जीवन येशूले जिउनुभयो, र हामीले मर्नुपर्ने मृत्यु उहाँले मर्नुभयो ।
आफ्नो पापको पश्चात्ताप गर्ने र केवल उहाँमा भरोसा राख्नेहरूको लागि उहाँले आफैलाई प्रतिस्थापन र बलिदानको रूपमा अर्पण गर्नुभयो । येशूले भन्नुभएको रगतमा भएको नयाँ करार यही हो।
तसर्थ ख्रीष्टियान चेलापन अनुग्रह, कृपा, परमेश्वरसँगको सम्बन्ध, र अनन्त जीवनको प्रतिज्ञाजस्ता सित्तैंको दानहरूको; स्वीकारोक्तिबाट सुरु हुन्छ ।
यस दानलाई स्वीकार गरेर हामीले कसरी आफैलाई उहाँसँग एक गराउन सक्छौँ ? केवल विश्वासद्वारा ! हामी उहाँलाई उद्धारकर्ता र प्रभुको रूपमा भरोसा गर्दै आफ्ना पापहरूबाट फर्किन्छौँ र उहाँलाई पछ्याउँछौँ। येशूले आफ्नो सेवकाइको क्रममा भिडतिर फर्केर यसो भन्नुभयो, “कोही मानिस मपछि लाग्ने इच्छा गर्दछ भने त्यसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्” (मर्कुस ८:३४) ।
ख्रीष्टसँगको हाम्रो चेलापन यी तीन शब्दहरूको सुनुवाइ र तिनीहरूको पालनबाट सुरु हुन्छः “मेरो पछि लाग”।
मित्र, यदि तपाई ख्रीष्टियान हुन चाहनुहुन्छ भने, तपाईले चिन्नुभएको अरू शिक्षकहरूले जस्तोसुकै सिकाए तापनि, तपाईले येशूलाई सुन्नुपर्छ । ख्रीष्टियान हुनु भनेको आफैलाई इन्कार गर्नु, आफ्नो क्रूस उठाउनु र उहाँलाई पछ्याउनु हो भनी उहाँ भन्नुहुन्छ । हामीप्रतिको परमेश्वरको अतुलनीय प्रेमको आधारभूत प्रतिक्रिया भनेको अतुलनीय रूपमा हामीले उहाँलाई प्रेम गर्नु हो।
ख्रीष्टियान हुनु भनेको चेला हुनु हो । त्यहाँ चेला नहुने कुनै पनि ख्रीष्टियान हुँदैन । अनि येशूको चेला हुनु भनेको येशूलाई पछ्याउनु हो। त्यहाँ येशूलाई नपछ्याउने येशूका चेलाहरू हुँदैनन् । तपाईले कुन धर्म मान्नुहुन्छ भनी सोधिएको कुनै पनि सर्वेक्षणको प्रश्नावलीमा ख्रीष्टियान विकल्पमा चिन्ह लगाउनु, वा आफ्नो अभिभावकहरूको धर्मलाई अपनाउनु, वा अरू धर्महरूको सट्टा ख्रीष्टियान धर्म रुचाउनु जस्ता कुनै पनि कुराले तपाईलाई ख्रीष्टियान बनाउँदैन । ख्रीष्टियानहरू ती मानिसहरू हुन्, जसले ख्रीष्टमाथि साँचो विश्वास गर्छन्, र आफ्ना आशा, भय र जीवन पूर्ण रूपमा उहाँमा निर्भर गरेर यो विश्वास प्रदर्शन गर्छन् । उहाँले जता अगुवाइ गर्नुहुन्छ, तिनीहरू उहाँलाई त्यतैतिर पछ्याउँछन् । तपाईले आफ्नो जीवनको एजेन्डा आफै तयार पार्नुहुन्न; येशू ख्रीष्टले तयार पार्नुहुन्छ। अब तपाई उहाँको हुनुहुन्छ। पावल भन्छन्, “तिमीहरू स्वयम् आफ्नै होइनौ । तिमीहरू मोल तिरेर किनिएका हौ” (१ कोरिन्थी ६:१९-२० हेर्नुहोस्) । येशू हाम्रो उद्धारक मात्र हुनुहुन्न, उहाँ हाम्रो प्रभु पनि हुनुहुन्छ ।
पावल यसलाई यसरी व्याख्या गर्छन्ः “उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन, तर उहाँको निम्ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो” (२ कोरिन्थी ५:१५) । आफ्नो लागि मर्नु र उहाँको लागि जिउनु भनेको के हो ? डन कार्सनले यस्तो भनेका छन्, “कामुक हुनुभन्दा मर्नु असल हो; ढाँट्नुभन्दा मर्नु असल हो; ……भन्दा (खाली ठाउँमा आफ्नो पापलाई उल्लेख गर्नुहोस्) मर्नु असल हो भनी विचार गर्नु नै आफ्नो लागि मर्नु हो।”
ख्रीष्टियान जीवन चेला हुने जीवन हो। यो ख्रीष्टको चेला हुने कुराबाट सुरु हुन्छ ।
–मार्क डेभर






