हाम्रो दुःखकष्ट र हाम्रो पापबीच के सम्बन्ध छ ?

दुःखकष्ट र पाप
हामीले अनुभव गर्ने दुःख र पीडाहरूले अक्सर हामीलाई यस्तो प्रश्न गर्न बाध बनाउँछः कसरी परमेश्वरले यी कुराहरू हुन अनुमति दिन सक्नुहुन्छ ? यस प्रश्नलाई सम्बोधन गर्ने बाइबलका महत्त्वपूर्ण खण्डहरूलाई हामीले हेर्न सक्छौँ। हामीले अगमवक्ता हबकूकको कष्टलाई विचार गर्न सक्छौ । हामीले सिलोआममा धरहरा ढलेर अठार जना मरेको घटनालाई पनि हेर्न सक्छौ। हामीले मानवीय दुःख र पीडाको समस्यासम्बन्धी सबैभन्दा प्रसिद्ध र विस्तृत बाइबलीय जवाफ भेट्टाउने ठाउँ अय्यूबको पुस्तकलाई पनि हेर्न सक्छौ।
तर जब हामीले, परमेश्वरसँग “हामी किन दुःख भोग्छौं?” भनेर प्रश्न गर्छौँ, तब हामीले यो प्रश्नको अर्को पाटोसँग पनि जुध्नुपर्छ, हाम्रो दुःख र हाम्रो पापबीच के सम्बन्ध छ ?
मैले धेरै पटक यस्तो अनुभव गरेको छु कि मृत्युको मुखमा पुगेका मानिसहरूले मलाई बोलाएर आफ्ना पापहरू स्वीकार गरेका छन् । मृत्युको शय्यामा रहेका मानिसहरूको मुखबाट निस्किने स्वीकारोक्ति प्रायः गहिरा र अन्धकारपूर्ण पापहरू हुन्छन् – जसलाई उनीहरूले आफ्नो वर्तमान दुःख र हुनै लागेको मृत्युको कारण ठानेका हुन्छन् ।
एकपटक एक विद्यार्थीका अभिभावक एक ख्रीष्टियान विद्यालयको प्रशासक कहाँ आएर भने, “म चाहन्नँ कि मेरा छोराछोरीलाई परमेश्वरले कसैलाई दण्ड दिनुहन्छ भनेर सिकाइयोस् ।” प्रशासकले यसबारे मसँग सल्लाह मागेका थिए । मैले भनेंः “ठिक छ, यदि यस्तो हो भने, तपाईले उनका छोराछोरीलाई प्रायश्चित्तबारे, क्रूसबारे र अन्तिम न्यायबारे पनि नसिकाउनुहोस् । साँच्चै भन्नुपर्दा, तपाईले ख्रीष्टियान विश्वासका कुनै पनि विषयमा नसिकाउनुहोस्, किनभने त्यसो गर्दा त तपाईले परमेश्वरको धार्मिकता, उहाँको क्रोध, पवित्रता र न्यायको सारलाई नै हटाउनुपर्छ।” तर यथार्थ यही हो कि परमेश्वरले मानिसहरूलाई दण्ड दिनुहुन्छ । तर, हाम्रो आशा यो हो कि उहाँले हामीलाई त्यस दण्डबाट बचाउनुभएको होस्, र हामीलाई थाहा छ, यदि उहाँले हामीलाई दण्ड दिनुहुन्छ भने पनि, त्यो न्यायपूर्ण, पवित्र र धर्मी हुनेछ ।
बाइबलले अन्तिम न्यायको वर्णन गर्दा सधैं एउटै सत्यता प्रस्तुत गर्छ दोषीहरूको प्रतिक्रिया एउटै हुनेछ। यो पूर्ण मौनताको प्रतिक्रिया हुनेछ । तिनीहरूको ओठ बन्द हुनेछ। यो मौनता परमेश्वरप्रतिको शत्रुता हराएको कारण आएको मौनता होइन, बरु त्यो परमेश्वरको न्यायको विरुद्धमा बोल्न पूर्ण रूपमा व्यर्थ छ भन्ने बोधबाट आएको मौनता हो। परमेश्वरको न्यायको विरुद्धमा बोल्नु व्यर्थ हुनेछ, यसको कारण परमेश्वरको सामर्थ्यको कारण हामीले जित्न नसक्नु होइन, तर प्रमाण यति स्पष्ट हुनेछ र परमेश्वरको पवित्रता र हाम्रो पापबीचको भिन्नता यति प्रष्ट हुनेछ कि उहाँको सामु हरेक मुख बन्द हुनेछ ।
नयाँ करारमा एउटा यस्तो घटना घट्छ, जसले यस प्रश्नलाई निकै महत्त्वपूर्ण तरिकाले सम्बोधन गर्छ। यो घटना यूहन्नाको सुसमाचारमा भेटिन्छः “जब [येशू यहाँबाट जाँदैगर्दा उहाँले एक जना जन्मैको अन्धालाई देख्नुभयो । उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्यो, यसले कि, यसका आमा-बुबाले र यो अन्धो जन्म्यो ?” (यूहन्ना ९:१-२)।
यस प्रश्नमा चेलाहरूले येशूलाई जे सोधिरहेका छन्, त्यसबारे लामो टिप्पणी गर्न सकिन्छ। यहाँ हामीलाई के भनिएको छ भने, येशू जाँदै गर्नुहुँदा उहाँले एक जना जन्मैको अन्धालाई देख्नुभयो र जसलाई सबैले अन्धो भनेर चिन्थे। हामी सोच्न सक्थ्यौँ कि चेलाहरूले येशूलाई यसरी प्रश्न गर्लान्ः “गुरुज्यू, यहाँ अर्को अन्धो मानिस छ। के तपाई उसलाई छुन जाँदै हुनुहुन्छ ? के तपाईले उसलाई निको पार्नुहुन्छ ? के तपाईले उसको दृष्टि फर्काउनुहुन्छ ?” तर त्यसो गर्नुको सट्टा, चेलाहरूले यस अन्धो मानिसलाई उनको दयनीय अवस्थालाई हेरे र येशूसँग त्यस मानिसको अन्धोपनको विषयमा केही गर्न अनुरोध गर्नुभन्दा पनि यसलाई एउटा ईश्वरशास्त्रीय शिक्षा सिक्ने मौका बनाए । तिनीहरूले भनेः “येशू, यो मानिस जन्मँदै अन्धो थियो। कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो ?”
दार्शनिक तर्कशास्त्रको विद्यार्थीहरूलाई “यस जटिल प्रश्नको त्रुटी” थाहा हुन्छ यो यस्तो प्रश्न हो, जसलाई केवल दुई विकल्पका रूपमा प्रस्तुत गरिन्छ, जबकि अरू सम्भावनाहरू पनि हुन सक्छन् । चेलाहरूले सोचिरहेका छन् कि त्यो मानिस अन्धो हुनुको विकल्प दुईवटा मात्र छन्ः या त यो मानिसले जन्मिनुअघि नै कुनै पाप गरेको हुनुपर्छ, या त उसका आमाबाबुको पापको परिणाम उसमा आएको हुनुपर्छ । तिनीहरूको धेरैजसो ईश्वरशास्त्रीय त्रुटिहरू र गलत मान्यताहरू तिनीहरूको प्रश्नबाट उत्पन्न हुन्छ। तर, तिनीहरूको प्रश्नले कम्तीमा पनि एउटा साँचो कुरा अवश्य प्रकट गर्छ । चेलाहरूले अन्धोपनाको सम्भावित कारणलाई दुईवटा विकल्पमा सीमित गरेका छन्ः या त उसको आफ्नै पाप या उसका आमाबाबुको पाप । तिनीहरूले सोचेका थिए कि कसैको पापले उसको दुर्बलता वा कमजोरी निम्त्याएको हो।
यो सही अनुमान हो। बाइबलले बारम्बार सिकाउँछ कि पापको कारणले गर्दा यस संसारमा मृत्यु र दुःख आएको हो। के हामी यो विश्वासका साथ भन्न सक्दैनौँ र, यदि पतन भएको थिएन भने, यदि संसारमा कुनै पाप नै आएको थिएन भने, यस संसारमा दुःख, पीडा र मृत्यु पनि हुने थिएन ? अदनको बगैंचामा, कोही पनि अन्धो थिएन । जब आदम बगैंचामा हिँड्थे, उनलाई कुनै धरहरा ढलेर टाउकोमा लाग्छ कि भन्ने चिन्ता थिएन, न त कसैले उनको रगत परमेश्वरको निम्ति चढाइएको बलिको रगतमा मिसाउँला कि भन्ने डर नै थियो। स्वर्गमा, कुनै अन्धोपना हुनेछैन। स्वर्गमा, कुनै दुर्घटना हुनेछैन, न त कुनै आँसु, मृत्यु, न कुनै पीडा नै हुनेछ । किन ? किनभने त्यहाँ पाप हुनेछैन; अदनको बगैंचामा कुनै पनि पीडा थिएन, किनभने त्यहाँ पाप थिएन ।
बाइबलले हामीलाई यो पनि सिकाउँछ कि हामी जन्मनुभन्दा अगिदेखि नै पापको अधीनमा हुन्छौँ, र त्यसैले आदमसँगको हाम्रो सम्बन्धको कारण हामीले केही नगर्दा पनि केही मात्रामा न्याय भोगिरहेका हुन्छौँ। चेलाहरूले यस मानिसको अन्धोपनामा कतै न कतै पापको संलग्नता छ भन्ने कुरा कल्पना गर्नु उचित थियो। तर, तिनीहरूले एकदमै ठुलो त्रुटि त्यो बेला गर्छन्, जब उनीहरूले यो मान्छेको दुःख, पीडा र अन्धोपना सिधै उसकै पापको परिणाम हो भनेर ठान्छन् ।
चेलाहरूले अनुमान गरेको अर्को गलत कुरा यो थियो, यदि आमाबाबुले कुनै दुष्ट कार्य गरे भने, सन्तानले त्यसको सजाय भोग्नेछ । अवश्य पनि बाइबलले पापका परिणामहरू पुस्तौँसम्म सर्छन् भनेर सिकाउँछ; र परमेश्वरले पिता-पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी, नातिनातिना र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ पनि भनिएको छ (प्रस्थान ३४:७ हेर्नुहोस्) । तर पनि इजकिएलको पुस्तकले स्पष्ट पार्छ कि कुनै बालकलाई अरूले गरेको पापको लागि सिधै सजाय दिइँदैन । इतिहासमा केवल एकपटक मात्रै यस्तो घटना घटेको छ, जहाँ एक निर्दोष व्यक्तिले अरूको पापका लागि दुःख भोग्यो, र त्यो घटना क्रूसमा भएको घटना हो र त्यो स्वेच्छापूर्ण थियो। येशूले आफ्ना मानिसको पाप स्वेच्छाले आफ्नै काँधमा लिनुभयो र त्यो पापको कारण हामीले भोग्नुपर्ने सजाय भोग्नुभयो । हामी इजकिएलको समयका मानिसहरूले जसरी कराएर यसो भन्न सक्दैनौंः “हे परमेश्वर, यो त अन्याय भयो । अमिलो अङ्गुर खाने बुबा अनि दाँत कुँड़िनेचाहिँ छोराछोरी” (इजकिएल १८:२ हेर्नुहोस्) ।
चेलाहरूले गल्ती त त्यो बेला गर्छन्, जब तिनीहरूले सोच्छन् कि अन्धो मानिसले, वा अरू कसैले जुन पाप गर्यो, त्यसको परिणामस्वरूप उसले दुःख भोगिरहेको छ ।
येशूले भन्नुभयो कि हामीले भोग्ने सबै दुःखकष्ट सजाय होइन। छुटकाराको बाटो पनि दुःखकष्टले भरिएको छ। येशू दुःखित, कष्टसित परिचित मानिस हुनुहुन्छ । हामी कष्ट र पीडामार्फत पवित्रतामा बढ्छौँ र परमेश्वरसँग अझ नजिक हुन्छौँ। दुःखले हाम्रो चरित्रलाई परिपक्व बनाउँछ, र येशूको छुटकाराको योजनामा उहाँका मानिसहरूको दुःख कहिल्यै व्यर्थ हुँदैन—परमेश्वरले त्यसलाई उनीहरूको भलाइ र आत्मिक वृद्धिको लागि प्रयोग गर्नुहुन्छ। उहाँका मानिसहरूको दुःख सधैं छुटकारामूलक हुन्छ । यो विश्वास गर्न कठिन कुरा हो, किनभने जब हाम्रो शरीर र हृदय पीडामा हुन्छ, हामी प्रायः परमेश्वरको बुद्धिमत्तामाथि शङ्का गछौँ, त्यो समयमा दुःखकष्ट छुटकारामूलक लाग्दैन ।
तर पनि प्रेरितहरूले हामीलाई बताउँछन् कि हामीहरूमाथि दुःख र आपत्ति आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर किनभने त्यही दुःखदायी कष्टहरूद्वारा परमेश्वरले हाम्रो जीवनमा छुटकाराको कार्य गर्नुहुन्छ (१ पत्रुस ४:१२)। हामीले केही समयको लागि ठुलो कष्ट सहनुपर्छ, तैपनि प्रेरित पावल भन्छन् कि हामीले शरीरमा र यस संसारमा भोग्ने दुःखलाई त्यो महिमासँग तुलना गर्नै मिल्दैन, जुन महिमा परमेश्वरले हाम्रा निम्ति स्वर्गमा राख्नुभएको छ (रोमी ८:१८) । तर, जब हाम्रो ध्यान केवल पीडामा मात्र केन्द्रित हुन्छ, तब हाम्रो ध्यान वर्तमानमा मात्र अडिन्छ । त्यस अन्धो मानिसले त्यो क्षणमा देख्न सक्ने कुरा भनेकै केवल निस्पट्ट अन्धकार मात्र थियो । सम्भवतः उसले त येशू र चेलाहरूबीच भएको कुराकानीको बारेमा थाहा पनि पाएको थिएन होला। उसले तिनीहरूलाई देख्न सक्दैनथ्यो। उसका कानहरू अत्यन्त संवेदनशील भइसकेका थिए होला र पाइलाको आवाज सुनेर को आउँदैछ भन्ने कुरा उसले अनुमान गर्थ्यो होला।
येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस् । मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन । म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ” (यूहन्ना ९:३-५)। येशूले चेलाहरूको ईश्वरशास्त्रीय प्रश्नहरूको उत्तर दिइसकेपछि, “उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो । अनि उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको तलाउमा गएर पखाल । त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो” (पद ६-७) ।
मलाई अचम्म लाग्छ, जब उसले आफ्नो आँखा अगाडि भएका मानिसहरू र वस्तुहरूलाई देख्न थाल्यो, तब त्यो अन्धकारलाई बिर्सन उसलाई कति समय लाग्यो होला। उसले क्षणिक पीडा सहनुपर्यो, तर अब उसले अनन्तकालसम्म परमेश्वरको महिमाको मिठासलाई बाधारहित दृष्टिद्वारा हेर्न पाउनेछ ।
जब हामी न्यायको दिन परमेश्वरको सामु उभिन्छौँ र पुस्तकहरू खोलिन्छन्, तब स्वर्गमा मौनता हुनेछ । यसको मतलब हामीसँग आफ्नै बचाउमा बोल्ने केही पनि बाँकी रहनेछैन। हामीले स्पष्ट रूपमा देख्नेछौं कि परमेश्वरका सबै कामहरू केवल अद्भुत मात्र होइनन्, तर पूर्ण रूपमा धर्मी पनि छन् र उहाँको योजना वा प्रबन्ध कुनै पनि हिसाबले अन्यायपूर्ण छैन। यो कुरामा विश्वास गर्नु कहिलेकाहीँ ख्रीष्टियानहरूका लागि सबैभन्दा गाह्रो हुन्छ विशेष गरी जब हामीले दुःख, रोग, मृत्यु र आपत्तिको सामना गछौँ। त्यहाँ, हामी मौन रहनुपर्ने हुन्छ । पक्कै पनि, हामी उहाँका मार्गहरू बुझ्नका लागि धर्मशास्त्र अध्ययन गछौँ। तर कहिलेकाहीँ उत्तरहरू आउँदैनन् र त्यहाँ परमेश्वरको सार्वभौमिकताको सामु मौन बस्ने समय र स्थान पनि छ।
-डा. आर. सी. स्प्रौल





