हाम्रो दुःखकष्टमा परमेश्वरको योजना

हामीले अनुभव गर्ने दुःख र पीडाले अक्सर हामीलाई यस्तो प्रश्न गर्न बाध्य बनाउँछ: परमेश्वरले यी कुराहरू हुन किन अनुमति दिनुहुन्छ? यस प्रश्नबारे बाइबलमा धेरै महत्त्वपूर्ण खण्डहरू छन्। अगमवक्ता हबकूकले भोगेको कष्ट, सिलोआमको धरहरा ढलेर अठार जना मानिसको मृत्यु भएको घटना र मानवीय दुःखपीडाको समस्याबारे बाइबलले दिएको सबैभन्दा प्रसिद्ध र विस्तृत जवाफ प्रस्तुत गर्ने अय्यूबको पुस्तक यसका केही उदाहरण हुन्।
तर, जब हामी परमेश्वरलाई “हामी किन दुःख भोग्छौँ?” भनेर सोध्छौँ, तब हामीले यससँगै अर्को महत्त्वपूर्ण प्रश्नको पनि सामना गर्नुपर्छ: हाम्रो दुःख र पापबीच के सम्बन्ध छ?
मैले धेरै पटक यस्तो अनुभव गरेको छु कि मृत्युको मुखमा पुगेका मानिसहरूले मलाई बोलाएर आफ्ना पापहरू स्वीकार गरेका छन्। मृत्युशय्यामा रहेका मानिसहरूको स्वीकारोक्ति प्रायः गहिरा र अन्धकारपूर्ण पापहरूसँग सम्बन्धित हुन्छन्। उनीहरू ती पापलाई आफ्नो वर्तमान दुःख र नजिकिँदै गरेको मृत्युको कारण ठान्छन्।
एकपटक एक विद्यार्थीका अभिभावक ख्रीष्टियान विद्यालयका प्रशासककहाँ आएर भने, “म चाहन्नँ कि मेरा छोराछोरीलाई परमेश्वरले कसैलाई दण्ड दिनुहुन्छ भनेर सिकाइयोस्।” विद्यालयका प्रशासकले यस विषयमा मसँग सल्लाह मागेका थिए। मैले भनेँ, “यदि यस्तो हो भने, तपाईंले आफ्ना छोराछोरीलाई प्रायश्चित्त, क्रूस र अन्तिम न्यायबारे पनि नसिकाउनुहोस्। वास्तवमा, ख्रीष्टियान विश्वासका कुनै पनि विषयमा नसिकाउनुहोस्, किनभने त्यसो गर्दा तपाईंले परमेश्वरको धार्मिकता, क्रोध, पवित्रता र न्यायको सार नै हटाउनुपर्ने हुन्छ।”
यथार्थ के हो भने परमेश्वरले मानिसहरूलाई दण्ड दिनुहुन्छ। तर हाम्रो आशा यही हो कि उहाँले हामीलाई त्यस दण्डबाट बचाउनुभएको होस्। हामीलाई थाहा छ, यदि उहाँले हामीलाई दण्ड दिनुहुन्छ भने पनि त्यो न्यायपूर्ण, पवित्र र धर्मी हुनेछ।
बाइबलले अन्तिम न्यायको वर्णन गर्दा सधैँ एउटै सत्यता प्रस्तुत गर्छ: दोषीहरूको प्रतिक्रिया पूर्ण मौनता हुनेछ। तिनीहरूका ओठ बन्द हुनेछन्। यो मौनता परमेश्वरप्रतिको शत्रुता हराएर आउने होइन, बरु उहाँको न्यायको विरुद्धमा बोल्नु पूर्ण रूपमा व्यर्थ छ भन्ने बोधबाट आउनेछ। परमेश्वरको सामर्थ्यका कारण हामीले जित्न नसक्ने भएर उहाँको न्यायको विरुद्धमा बोल्नु व्यर्थ हुने होइन। बरु प्रमाण यति स्पष्ट हुनेछ र परमेश्वरको पवित्रता तथा हाम्रो पापबीचको भिन्नता यति प्रस्ट हुनेछ कि उहाँको सामु हरेक मुख बन्द हुनेछ।
नयाँ करारमा एउटा यस्तो घटना छ, जसले यस प्रश्नलाई महत्त्वपूर्ण तरिकाले सम्बोधन गर्छ। यो घटना यूहन्नाको सुसमाचारमा उल्लेख गरिएको छ:“जब [येशू यहाँबाट जाँदैगर्दा उहाँले एक जना जन्मैको अन्धालाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, ‘रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा-बुबाले, र यो अन्धो जन्म्यो?’” (यूहन्ना ९:१–२)।
चेलाहरूले येशूलाई सोधेको यस प्रश्नबारे लामो टिप्पणी गर्न सकिन्छ। यहाँ हामीलाई भनिएको छ कि येशू जाँदै गर्नुहुँदा उहाँले जन्मैको अन्धो मानिसलाई देख्नुभयो, जसलाई सबैले अन्धो भनेर चिन्थे। हामी सोच्न सक्छौँ कि चेलाहरूले येशूलाई यसरी प्रश्न गर्थे होलान्: “गुरुज्यू, यहाँ अर्को अन्धो मानिस छ। के तपाईं उसलाई छुनुहुन्छ? के तपाईं उसलाई निको पार्नुहुन्छ? के तपाईं उसको दृष्टि फर्काउनुहुन्छ?” तर त्यसो गर्नुको सट्टा, चेलाहरूले त्यस अन्धो मानिसको दयनीय अवस्थालाई हेरे र येशूसँग उसको अन्धोपनबारे केही गर्न अनुरोध गर्नुको सट्टा यसलाई ईश्वरशास्त्रीय शिक्षा सिक्ने अवसर बनाए। तिनीहरूले भने, “येशू, यो मानिस जन्मँदै अन्धो थियो। कसले पाप गर्यो, यसले कि यसका आमाबुबाले, जसले गर्दा यो अन्धो जन्मियो?”
दार्शनिक तर्कशास्त्रका विद्यार्थीहरूलाई “यस जटिल प्रश्नको त्रुटि” थाहा हुन्छ। यो यस्तो प्रश्न हो, जसले केवल दुईवटा विकल्प प्रस्तुत गर्छ, जबकि अन्य सम्भावनाहरू पनि हुन सक्छन्। चेलाहरूले त्यो मानिस अन्धो हुनुका दुईवटा मात्र कारण हुन सक्छन् भन्ने सोचे: या त उसले जन्मिनुअघि नै पाप गरेको हुनुपर्छ, या त उसका आमाबुबाको पापको परिणाम उसले भोगिरहेको हुनुपर्छ। तिनीहरूका धेरैजसो ईश्वरशास्त्रीय त्रुटि र गलत मान्यताहरू यही प्रश्नबाट उत्पन्न हुन्छन्। तर, तिनीहरूको प्रश्नले कम्तीमा एउटा साँचो कुरा प्रकट गर्छ। चेलाहरूले अन्धोपनको सम्भावित कारणलाई दुईवटा विकल्पमा सीमित गरेका थिए: या त उसको आफ्नै पाप, या उसका आमाबुबाको पाप। तिनीहरूले कसैको पापले उसको दुर्बलता वा कमजोरी निम्त्याउँछ भन्ने सोचेका थिए।
यो अनुमान सही हो। बाइबलले बारम्बार सिकाउँछ कि पापकै कारण यस संसारमा मृत्यु र दुःख आएको हो। यदि मानिसको पतन भएको थिएन र संसारमा पाप प्रवेश गरेको थिएन भने, के हामी यस संसारमा दुःख, पीडा र मृत्यु पनि हुने थिएनन् भनेर विश्वासका साथ भन्न सक्दैनौँ र?
अदनको बगैँचामा कोही पनि अन्धो थिएन। आदम बगैँचामा हिँड्दा कुनै धरहरा ढलेर आफ्नो टाउकोमा लाग्ला कि भनेर चिन्ता गर्नुपर्दैनथ्यो। न त कसैले उनको रगत परमेश्वरको निम्ति चढाइने बलिको रगतमा मिसाउला भन्ने डर नै थियो। स्वर्गमा पनि कुनै अन्धोपन हुनेछैन। त्यहाँ कुनै दुर्घटना, आँसु, मृत्यु वा पीडा हुनेछैन। किन? किनभने त्यहाँ पाप हुनेछैन। त्यसरी नै, अदनको बगैँचामा पनि कुनै पीडा थिएन, किनभने त्यहाँ पाप थिएन।
बाइबलले हामीलाई यो पनि सिकाउँछ कि हामी जन्मनुभन्दा अघिदेखि नै पापको अधीनमा हुन्छौँ। त्यसैले आदमसँगको हाम्रो सम्बन्धका कारण, हामीले केही नगरे पनि केही हदसम्म न्याय भोगिरहेका हुन्छौँ। चेलाहरूले त्यस मानिसको अन्धोपनमा पापको संलग्नता छ भन्ने कल्पना गर्नु उचित थियो। तर उनीहरूले ठुलो गल्ती त्यतिबेला गरे, जब त्यस मानिसको दुःख, पीडा र अन्धोपनलाई सीधै उसकै पापको परिणाम ठाने।
चेलाहरूको अर्को गलत धारणा के थियो भने, आमाबुबाले कुनै दुष्ट काम गरेमा त्यसको सजाय सन्तानले भोग्नुपर्छ। अवश्य पनि, बाइबलले पापका परिणामहरू पुस्तौँसम्म सर्छन् र परमेश्वरले पिता-पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी, नातिनातिना र तेस्रो तथा चौथो पुस्तासम्म दिनुहुन्छ भनेर सिकाउँछ (प्रस्थान ३४:७ हेर्नुहोस्)। तर इजकिएलको पुस्तकले स्पष्ट पार्छ कि कुनै बालकलाई अरूले गरेको पापका लागि सीधै सजाय दिइँदैन।
इतिहासमा केवल एकपटक यस्तो घटना घटेको छ, जहाँ एक निर्दोष व्यक्तिले अरूको पापका लागि दुःख भोग्नुभयो। त्यो घटना क्रूसमा भएको थियो र स्वेच्छाले भएको थियो। येशूले आफ्ना मानिसहरूको पाप स्वेच्छाले आफ्नै काँधमा लिनुभयो र त्यस पापका कारण हामीले भोग्नुपर्ने सजाय आफैँ भोग्नुभयो। त्यसैले इजकिएलको समयका मानिसहरूले जस्तै हामी यसो भन्न सक्दैनौँ: “हे परमेश्वर, यो त अन्याय भयो। अमिलो अङ्गूर खाने बुबा अनि दाँत कुँडिनेचाहिँ छोराछोरी” (इजकिएल १८:२ हेर्नुहोस्)।
चेलाहरूको गल्ती त्यतिबेला भयो, जब उनीहरूले त्यस अन्धो मानिसले वा अरू कसैले गरेको पापकै परिणामस्वरूप उसले दुःख भोगिरहेको छ भन्ने सोचे।
येशूले सिकाउनुभयो कि हामीले भोग्ने सबै दुःखकष्ट सजाय होइनन्। छुटकाराको बाटो पनि दुःखकष्टले भरिएको छ। येशू आफैँ दुःखित र कष्टसँग परिचित हुनुहुन्छ। हामी कष्ट र पीडाद्वारा पवित्रतामा बढ्छौँ र परमेश्वरसँगको सम्बन्धमा अझ नजिक हुन्छौँ। यसले हाम्रो चरित्र विकास गर्छ। येशूको छुटकाराको योजना यस्तो छ कि उहाँका मानिसहरूले कहिल्यै पनि व्यर्थमा दुःख भोग्नेछैनन्। उहाँका मानिसहरूको दुःख सधैँ छुटकारामूलक हुन्छ। यो विश्वास गर्न कठिन छ, किनभने हाम्रो शरीर र हृदय पीडामा हुँदा हामी प्रायः परमेश्वरको बुद्धिमत्तामाथि शङ्का गर्छौँ। त्यस्तो समयमा दुःखकष्ट छुटकारामूलक छ भन्ने महसुस हुँदैन।
तर प्रेरितहरूले हामीलाई दुःख र आपत्ति आइपर्दा केही अनौठो घटना भएजस्तै छक्क नपर्न सिकाउँछन्, किनभने यिनै दुःखदायी कष्टहरूद्वारा परमेश्वरले हाम्रो जीवनमा छुटकाराको काम गर्नुहुन्छ (१ पत्रुस ४:१२)। हामीले केही समयका लागि ठुलो कष्ट सहनुपरे पनि प्रेरित पावल भन्छन् कि यस संसारमा शरीरले भोग्ने दुःखलाई परमेश्वरले हाम्रा निम्ति स्वर्गमा राख्नुभएको महिमासँग तुलना गर्न सकिँदैन (रोमी ८:१८)।
तर जब हाम्रो ध्यान पीडामा मात्र केन्द्रित हुन्छ, तब हामी वर्तमानमै सीमित हुन्छौँ। त्यस अन्धो मानिसले पनि त्यतिबेला आफ्नो वरिपरि निस्पट्ट अन्धकारबाहेक केही देख्न सक्दैनथ्यो। सम्भवतः उसलाई येशू र चेलाहरूबीच भएको कुराकानीबारे थाहै थिएन होला। उसले तिनीहरूलाई देख्न सक्दैनथ्यो। उसका कानहरू अत्यन्त संवेदनशील भएका हुनाले पाइलाको आवाज सुनेर को आउँदैछ भन्ने अनुमान गर्थ्यो होला।
येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्।मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन। म संसारमा रहुञ्जेल म संसारको ज्योति हुँ” (यूहन्ना ९:३-५)।
चेलाहरूका ईश्वरशास्त्रीय प्रश्नहरूको जवाफ दिइसकेपछि, “उहाँले भूइँमा थुक्नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो। अनि उहाँले त्यसलाई भन्नुभयो, ‘जाऊ, सिलोआमको तलाउमा गएर पखाल।’ त्यसले गएर पखाल्यो, र देख्ने भएर फर्क्यो” (पद ६-७)।
मलाई अचम्म लाग्छ, जब उसले आफ्ना आँखाअगाडि भएका मानिसहरू र वस्तुहरू देख्न थाल्यो, तब उसलाई त्यो अन्धकार बिर्सन कति समय लाग्यो होला। उसले क्षणिक पीडा सहनुपर्यो, तर अब उसले अनन्तकालसम्म परमेश्वरको महिमाको मिठासलाई बाधारहित दृष्टिद्वारा हेर्न पाउनेछ ।
जब हामी न्यायको दिन परमेश्वरको सामु उभिन्छौँ र पुस्तकहरू खोलिन्छन्, तब स्वर्गमा मौनता हुनेछ । यसको मतलब हामीसँग आफ्नै बचाउमा बोल्ने केही पनि बाँकी रहनेछैन। हामीले स्पष्ट रूपमा देख्नेछौँ कि परमेश्वरका सबै कामहरू केवल अद्भुत मात्र होइनन्, तर पूर्ण रूपमा धर्मी पनि छन् र उहाँको योजना वा प्रबन्ध कुनै पनि हिसाबले अन्यायपूर्ण छैन। यो कुरामा विश्वास गर्नु कहिलेकाहीँ ख्रीष्टियानहरूका लागि सबैभन्दा गाह्रो हुन्छ- विशेष गरी जब हामीले दुःख, रोग, मृत्यु र आपत्तिको सामना गछौँ। त्यहाँ, हामी मौन रहनुपर्ने हुन्छ । पक्कै पनि, हामी उहाँका मार्गहरू बुझ्नका लागि धर्मशास्त्र अध्ययन गर्छौँ। तर कहिलेकाहीँ उत्तरहरू आउँदैनन् र त्यहाँ परमेश्वरको सार्वभौमिकताको सामु मौन बस्ने समय र स्थान पनि छ।
–आर.सी.स्प्रौल







