चेला किन बनाउने?

किनकि, ख्रीष्टियान जीवन चेला बनाउने जीवन हो। चेलाहरूले अरू चेलाहरू बनाउँछन्। हामी ख्रीष्टलाई पछ्याउँछौँ र अरूलाई पनि उहाँलाई पछ्याउन आह्वान गर्छौँ। हामी यी सबै किन गर्छौँ? प्रेम र आज्ञाकारिताका कारण।
पहिलो, हामी यो प्रेमको खातिर गर्छौँ। अरूलाई चेला बनाउने हाम्रो प्रेरणा अरू कुनै कुराबाट नभई परमेश्वरको प्रेमबाट सुरु हुन्छ। उहाँले ख्रीष्टमा हामीलाई प्रेम गर्नुभएको छ, त्यसैले हामी उहाँलाई प्रेम गर्छौँ। अनि उहाँले हाम्रो वरिपरि राखिदिनुभएका मानिसहरूलाई प्रेम गरेर हामी उहाँप्रतिको आफ्नो प्रेम प्रकट गर्छौँ।
जब व्यवस्थाका शास्त्रीले येशूलाई सबैभन्दा मुख्य आज्ञा कुन हो भनी सोधे, तब येशूले यसरी उत्तर दिनुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर्” (मर्कुस १२:३०)।परमेश्वर चाहनुहुन्छ कि तपाईंले आफ्ना सबै महत्त्वाकाङ्क्षा र अभिप्रायहरू, इच्छा र आशाहरू, सोचाइ र तर्क, शक्ति र ऊर्जाद्वारा उहाँलाई सबैभन्दा बढी प्रेम गर्नुहोस्। अनि यी सबै उहाँको वचनद्वारा आकार दिइएका, शुद्ध पारिएका र निर्देशित भएका होऊन्।
वास्तवमा, परमेश्वरप्रतिको तपाईंको भक्तिको पूर्णता उहाँको स्वरूपमा बनाइएका मानिसहरूप्रतिको तपाईंको प्रेममा प्रकट हुन्छ। त्यस शास्त्रीले एउटा मात्र आज्ञा सोधेका हुन सक्छन्, तर येशूले उनलाई दुईवटा आज्ञा दिनुभयो। उहाँले भन्नुभयो, “दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।’ योभन्दा ठूलो आज्ञा अर्को छैन” (पद ३१)।दोस्रो आज्ञालाई हटाउनु भनेको पहिलो आज्ञालाई गुमाउनु हो। परमेश्वरप्रतिको प्रेम नै छिमेकीप्रतिको प्रेमको आधार हो। अनि परमेश्वरप्रतिको प्रेम छिमेकीप्रतिको प्रेममा प्रकट हुनुपर्छ। यसरी प्रेमको कर्तव्य पूरा हुन्छ।
हामीप्रति परमेश्वरको प्रेमले एउटा शृङ्खलाबद्ध प्रतिक्रिया सुरु गर्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, त्यसपछि हामी उहाँलाई प्रेम गर्छौँ, अनि अरूहरूलाई प्रेम गर्छौँ। यूहन्नाले यो कुरा यसरी व्यक्त गर्छन्: “हामी प्रेम गर्दछौँ, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। यदि कसैले ‘म परमेश्वरलाई प्रेम गर्छु’ भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झूटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौँ, कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ” (१ यूहन्ना ४:१९–२१)।
परमेश्वरलाई प्रेम गर्छु भन्ने हाम्रो दाबी छिमेकीप्रतिको प्रेममा प्रकट हुँदैन भने, त्यो परमेश्वरप्रतिको झूटो प्रेम हो र मूर्तिपूजाको अर्को रूप हो। यी पदहरूमा येशू र यूहन्नाले पतनका कारण टुटेका केही सम्बन्धहरूलाई पुनः जोड्ने प्रयास गर्नुहुन्छ।
अरूहरूलाई चेलापनमा हुर्काउनु, अर्थात् उनीहरूलाई ख्रीष्टलाई पछ्याउन मदत गरेर आत्मिक भलाइ गर्नु, परमेश्वर र अरूहरूप्रतिको प्रेम प्रकट गर्ने एउटा तरिका हो।
दोस्रो, हामी यो आज्ञाकारिताको खातिर गर्छौँ। हाम्रो प्रेम आज्ञाकारितासँग जोडिएको हुन्छ। येशूले यस्तो सिकाउनुभयो, “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ” (यूहन्ना १४:१५; साथै १४:२३; १५:१२–१४ पनि हेर्नुहोस्)।
अनि उहाँले के आज्ञा गर्नुभएको छ? “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” (मत्ती २८:१८–२०)।
हाम्रो आज्ञाकारिताको एउटा भाग भनेको अरूहरूलाई पनि आज्ञापालन गर्न डोऱ्याउनु हो।
येशूको अन्तिम आदेश आफ्ना चेलाहरूलाई रोमी साम्राज्यविरुद्ध हतियार उठाउन वा उहाँलाई मार्नेहरूविरुद्ध बदला लिन आग्रह गर्नु थिएन। बरु, उहाँले आफ्ना अनुयायीहरूलाई हेर्नुभयो र चेला बन्न मात्र होइन, अरूलाई पनि चेला बनाउन आज्ञा दिनुभयो।
येशूले यो महान् आदेश पाएका र नपाएका मानिसहरूबीच कुनै भिन्नता राख्नुभएको छैन। उहाँले आफ्नै उपस्थितिको प्रतिज्ञा सबै ख्रीष्टियानहरूलाई दिनुभयो, जसलाई चाँडै नै पेन्तिकोसको दिनले पुष्टि गर्नेछ। यो प्रतिज्ञा युगको अन्त्यसम्मै, प्रेरितहरूको जीवनभन्दा पनि परसम्म फैलिन्छ। नयाँ करारको बाँकी भागभरि नै, सबै ख्रीष्टियानहरू आफ्ना क्षमता, अवसर र बोलावटअनुसार यस काममा लाग्न तयार हुन्छन्। येशूका चेला हुने सबैलाई नै यो महान् आदेश दिइएको हो। यो आदेश सबै समयका प्रत्येक विश्वासीलाई दिइएको हो।
चेलापन ख्रीष्टियान जीवनको आधारभूत कुरा हो। यो कुरा स्पष्ट छ। यदि हामी अरूलाई चेला बनाउन परिश्रम गरिरहेका छैनौँ भने, हामी आफैँ पनि उहाँका चेला नहुन सक्छौँ।
–मार्क डेभर







