मानव जीवन कहिलेदेखि सुरु हुन्छ?

शिशुको गर्भधारणबाट सुरु हुन्छ कि जन्मबाट?
गर्भपतनको विरुद्धमा बाइबलीय तर्क यो हो कि मानव जीवन गर्भधारणबाटै सुरु हुँदछ । यस तर्कलाई तीनवटा बुँदामा स्पष्ट पार्न सकिन्छ ।
परमेश्वर नै गर्भधारणको परम कारण हुनुहुन्छ
पहिलो, धर्मशास्त्रले सिकाउँछ कि परमेश्वर नै गर्भधारणको परम कारण हुनुहुन्छ। उहाँ नै यसको कर्ता हुनुहुन्छ, उहाँले नै यसमाथि सार्वभौमिक रूपमा शासन गर्नुहुन्छ र उहाँको प्रबन्धद्वारा नै यो हुन आउँछ । उत्पत्ति १:२८ ले भन्छः
परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयोः “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
यो पदले परमेश्वरले नै मानव प्रजननको स्थापना गर्नुभयो भनी अप्रत्यक्ष रूपमा सिकाउँछ भने, उहाँको स्वरूपधारकहरूले “पृथ्वीलाई भर्न, आफ्नो वशमा पार्न र अधिकार गर्न” (जोर दिइएको) यसको प्रयोग गर्नुपर्छ भनी प्रत्यक्ष रूपमा सिकाउँछ । सुरुवातदेखि नै, परमेश्वरले पुरुष र स्त्रीबीचको सन्तानोत्पादन प्रक्रियालाई (procreation) मानिसहरूले पृथ्वीलाई भर्ने उहाँको आज्ञा पूरा गर्न माध्यम बनाउनुभएको थियो । यसको परिणामस्वरूप, परमेश्वरको स्वरूपधारकहरू संसारभरि उहाँको नाउँ प्रकट गर्दै र उहाँको महिमालाई फैलाउँदै बढनेवाला थिए। (मत्ती २८:१८-२०; रोमी ११:३६;एफिसी २:७) परमेश्वरले उहाँको आफ्नो उद्देश्य पूरा गर्न प्रजनन (reproduction) को प्रक्रियालाई प्रयोग गर्ने सार्वभौम निर्णय लिनुभयो । अनि उहाँ नै गर्भधारणको परम कारणको रूपमा रहनुहुन्छ ।
पुरानो करारका लेखकहरूले प्रायः कुनै व्यक्तिको गर्भधारण र जन्मको कारण परमेश्वर नै हुनुहुन्छ भन्ने कुरामा ध्यानाकर्षण गरेका छन् । रूथ ४:१३ मा, हामी पढ्छौँ, “परमप्रभुको कृपाले तिनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन् ।” “गर्भधारणको” पृथक हिब्रू शब्द (हेरायोन) पुरानो करारमा केवल तीन पटक मात्र प्रयोग भएको पाइन्छ (उत्पत्ति ३:१६; रूथ ४:१३; होशे ९:११) । यसलाई “गर्भधारण” वा “गर्भावस्था” भनेर अनुवाद गरिएको छ भने, यसको अर्थ “गर्भवती हुनु” भन्ने हुन्छ । बाइबलीय लेखकले यहाँ परमेश्वरलाई विशेष रूपले रूथलाई गर्भधारण हुन दिनुहुने, वा प्रदान गर्नुहुने व्यक्तिको रूपमा पहिचान गर्छन् । उही हिब्रू मुल शब्द पुरानो करारको अन्य ठाउँहरूमा प्रयोग भएको छ, जहाँ यसलाई “गर्भवती भइन्” (हारा) भनेर अनुवाद गरिएको छ। यसको अर्थ “गर्भधारण गर्नु, गर्भवती हुनु” भन्ने हुन्छ र सामान्यतया यो सन्तान जन्माउने कुरासँग सम्बन्धित हुन्छ (उत्पत्ति ४:१, १७; २१:२; २९:३२-३५; ३०:५, ७,१७,१९,२३; ३८:३) ।
बाइबलीय प्रकाशले परमेश्वर गर्भधारणमाथि सार्वभौम हुनुहुन्छ भन्ने सत्यताको निरन्तर घोषणा गर्दछ – केवल उहाँले नै गर्भ खोल्नुहुन्छ वा बन्द गर्नुहुन्छ। तल उल्लेख गरिएको पुरानो करारका खण्डहरूले यस शक्तिशाली सत्यतालाई प्रस्ट पार्दछ:
फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरो जन्माइन् र तिनको नाउँ यसो भनेर शेत राखिन, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्वरले एक जना अर्को बालक मलाई दिनुभयो” (उत्पत्ति ४:२५)।
(उत्पत्ति २१:१-२; १८; उत्पत्ति २५:२१; रूथ ४:१३; १ शमूएल २:५-६; १ शमूएल १:२०;१ राजा ३:६;२ राजा ५:७; भजनसंग्रह १२७:३; उत्पत्ति १६:२; उत्पत्ति २०:१८; उत्पत्ति ३०:१-२;१ शमूएल १:५-६)।
नयाँ करारमा हामी देख्छौं कि लूका १ अध्यायमा परमप्रभुका एक जना स्वर्गदूत जकरियाकहाँ देखा परे र तिनलाई भने, “नडराउ जकिरया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू” (पद १३)। उनीहरूको जीवनको परिस्थितिको कारण यो खबर जकरियाको लागि अचम्मलाग्दो थियोः “तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो”पदहरू ७; १८ हेर्नुहोस्) । जकरियाले स्वर्गदूतको खबरमाथि विश्वास गरेनन् र त्यसको परिणामहरू भोगे। ती स्वर्गदूतले उनलाई भने, “जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्” (पद २०)। उचित समयमा, एलीशिबा गर्भवती भइन् (पद २४) र पद ५७ अनुसार, उनले एउटा छोरो जन्माइन्, (जकरियाको मुख पनि खुल्यो; पद ६४) ।
केही महिनापछि, प्रधान स्वर्गदूत, गाब्रिएल एलीशिबाकी नातेदार मरियमकहाँ देखा परे र यो अगमवाणी घोषणा गरे, कि उनले एउटा छोरो जन्माउनेछिन् र उनको नाउँ येशू राख्नेछिन् । लूका १ ले उक्त दृश्यलाई यसरी लेखेको छः
नडराउ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन (लूका १:३०-३३) ।
मरियमले एउटा उचित प्रश्न गरेर स्वर्गदूतलाई प्रत्युत्तर दिइन्ः “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।” (पद ३४) स्वर्गदूतले मरियमलाई दिएको जवाफ बुझ्न अति महत्त्वपूर्ण छः “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (पद ३५)। यशैयाले करिब ७०० वर्षअगि लेखेको कुराको पूर्तिमा (यशैया ७:१४; मत्ती १:२२-२३), गाब्रिएलले पहिले नै बताइदिए कि कन्या मरियम, जसको योसेफसँग मगनी भएको थियो (मत्ती १:१८), उनले एक अद्भुत घटना-अर्थात् कन्या जन्म – को अनुभव गर्नेछिन् । कन्याको रूपमै मरियमले गर्भधारण गर्नेछिन् र कन्या छँदै उनले ती बच्चालाई जन्माउनेछिन् । कसरी एक कन्याको गर्भधारण सम्भव छ ? मत्ती १:१८ ले बताउँछ, “तर उनीहरूको (योसेफ र मरियम) विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो” (जोर दिइएको) । गर्भधारण सामान्य सन्तानोत्पादनको प्रक्रियाबाट होस्, वा हाम्रो प्रभुको मामिलामा जस्तै चमत्कारी रूपमा पवित्र आत्माको प्रत्यक्ष सृजनात्मक शक्तिबाट, प्रत्येक गर्भधारणको परम कारण सधैं परमेश्वर नै हुनुहुन्छ ।
धर्मशास्त्रले गर्भधारणलाई नयाँ मानव जीवनको सुरुवातको रूपमा पहिचान गर्छ
मानव जीवन गर्भधारणबाटै सुरु हुन्छ भन्ने बाइबलीय तर्कको अर्को पाटो यो तथ्य हो कि बाइबलले प्रत्यक्ष रूपमा गर्भधारणलाई नयाँ मानव जीवनको सुरुवातको रूपमा पहिचान गर्छ । पावल फोलर लेख्छन्, “बाइबलका लेखकहरूले कहिल्यै पनि ‘जीवन गर्भधारणबाट सुरु हुन्छ’ भन्ने जस्ता शब्दहरू प्रयोग गरेका छैनन्, तर उनीहरूले गर्भधारणलाई सधैं व्यक्तिको जीवनको सुरुवाती बिन्दुको रूपमा उल्लेख गरेका छन् ।” फोलरको भनाइले धर्मशास्त्रको स्पष्ट शिक्षालाई सही रूपमा प्रस्तुत गर्छ। उत्पत्तिमा मोशाले ११ पटक हिब्रू शब्द “गर्भधारण गर्नु” (हारा) र “जन्म दिनु” (यालाद) लाई एकसाथ प्रयोग गरेका छन् ।
यी दुई शब्दहरूलाई एकसाथ प्रयोग गरेर प्रत्येक व्यक्तिको उत्पत्तिको वर्णन गर्दा गर्भधारण गर्नुले कोखभित्र नयाँ जीवनको सुरुवातलाई जनाउँछ भने, जन्म दिनुले कोख बाहिर त्यही बच्चाको जीवनको निरन्तरतालाई जनाउँछ। उत्पत्ति २१:२-८ मा, अब्राहाम र साराको गर्भधारण र इसहाकलाई दिएको जन्मले यस वास्ताविकताको एउटा उपयोगी चित्रण प्रदान गर्छ:
सारा गर्भवती भइन् (हारा) र अब्राहामको वृद्धावस्थामा, परमेश्वरले अब्राहामलाई भन्नुभएको समयमा तिनले एक जना छोरा जन्माइन् (यालाद) । साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहामले इसहाक राखे । अब्राहामको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञाअनुसार त्यसको खतना गरे। तिनको छोरा इसहाक जन्मँदा अब्राहाम एक सय वर्ष पुगेका थिए। साराले भनिन्, “परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो। यो सुन्ने जति सबै मसँगै हाँस्नेछन्।” तिनले फेरि भनिन्, “साराले बच्चालाई दूध खुवाउँछे भनेर कसले अब्राहामलाई भन्नेथियो ? तापनि तिनको बुढेसकालमा मैले तिनीबाट एक जना छोरा जन्माएँ।” बालक बढ्दैगयो, र त्यसले दूध खान छोड्यो। र इसहाकले दूध खान छोड़ेको दिन अब्राहामले एउटा ठूलो भोज दिए।
ध्यान दिनुहोस्, सारा “गर्भवती भइन्, र छोरा जन्माइन् (पद २)। गर्भमा भएको त्यही बच्चालाई उनको जन्ममा “इसहाक” नाम दिइयो (पद ३)। आठ दिनपछि, अब्राहामले इसहाकको खतना गरे (पद ४)। त्यसपछि, इसहाक “बढ्दैगयो र दूध खान छोड्यो” (पद ८)। यो खण्डले देखाउँछ कि मानव जीवन गर्भधारणमा सुरु हुन्छ र त्यही जीवन नै विकासका हरेक चरणमा निरन्तर हुन्छ ।
धर्मशास्त्रका लेखकहरूले गर्भधारणपछि गर्भमा भएको बच्चालाई उल्लेख गर्न व्यक्तिवाचक सर्वनामहरू पनि प्रयोग गर्छन् । परमेश्वरले अगमवक्ता यर्मियाको बारेमा भन्नुहुन्छ, “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ” (यर्मिया १:५; जोर दिइएको) । दाऊदले आफ्नो पाप स्वीकार गर्दा यसरी लेख्छन्, “साँच्चै, म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ” (भजनसंग्रह ५१:५; जोर दिइएको) । जब एक स्वर्गदूत योसेफकहाँ उनकी पत्नी, मरियम, पवित्र आत्माद्वारा गर्भवती भएकी छिन् भने खबर दिन देखा परे, तब उनले भनेः
योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ । तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ (मत्ती १:२०-२१; जोर दिइएको) ।
जब येशू ख्रीष्ट, परमेश्वरको अनन्त पुत्रले मानव शरीर धारण गर्नुभयो (यूहन्ना १:१४; फिलिप्पी २:५-८), उहाँ मरियमको गर्भमा हुनुहुन्थ्यो र येशू एक मानव बालक हुनुहुन्थ्यो भनी ती स्वर्गदूतले स्पष्ट रूपमा बताउँछन् ।
प्रत्येक व्यक्तिलाई गर्भधारणको क्षणमा नैतिक रूपमा दोषी ठहराइन्छ
मानव जीवन गर्भधारणबाटै सुरु हुन्छ भन्ने बाइबलीय तर्कको अन्तिम पाटो यो हो कि धर्मशास्त्रले हरेक व्यक्तिलाई गर्भधारणको क्षणमा नै नैतिक रूपमा दोषी ठहराउँछ । भजनसंग्रह ५१ मा, दाऊदले उनको व्यभिचार र हत्याको पापलाई स्वीकार गर्दै यसरी लेखे, “साँच्चै म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ” (पद ५) । दाऊदले यहाँ उनको गर्भाधरण उनको आमाको पापको परिणाम थियो भनी तर्क गरिरहेका छैनन । न त उनले उनकी आमा उनका बुबाभन्दा महान् पापी थिइन भनेर नै भनिरहेका छन् । बरु, दाऊदले केवल आफ्नो पापीपनको सुरुवाती बिन्दु व्यक्त गरिरहेका छन् – उनको पापीपन उनको गर्भधारणसँगै सुरु भएको थियो। डेरेक किड्नर लेख्छन्ः
दाऊदले (परमेश्वर विरुद्धको) यो अपराध कुनै आकस्मिक घटना थिएन भन्ने कुरा बुझ्छन्ः यो त उसकै स्वभावअनुसारको कार्य थियो; यो उसले सधैं बोकेर हिँडेको विकृत प्रवृत्तिको एक चरम अभिव्यक्ति र ऊ दोषपूर्ण वंशबाट जन्मिएको प्रमाण थियो।
जोन क्याल्भिन भन्छन्, “(गर्भधारण गरिएको) यो अभिव्यक्तिले हामी आमाको गर्भमा भएको पहिलो क्षणदेखि नै पापमा लिप्त भएको कुरालाई सङ्केत गर्छ ।” त्यसपछि उनी लेख्छन्ः
दाऊदले परमेश्वरको फैसलाबाट बच्न कुनै चलाखी गर्दैनन्, बरु आफ्नो दोषलाई अझ गम्भीर बनाउन उनले मूल पापको उल्लेख गर्छन् । उनी स्वीकार गर्छन् कि उनले त्यो पाप पहिलो चोटि गरेका होइनन्, बरु उनी हरेक अधर्मको बिउ लिएर नै यस संसारमा जन्मिएका थिए ।
स्प्रौलले दाऊदको पापीपनको उत्पत्ति कसरी उनको व्यक्तिको सुरुवातसँग सम्बन्धित छ भनेर व्याख्या गर्छन्ः
भजनसंग्रह ५१ मा, दाऊदले आफ्नो व्यक्तिगत नैतिक इतिहासलाई गर्भधारणसम्म पुऱ्याउँछन् । एक अमूर्त प्राणी, “जीवद्रव्यको पिण्ड” (blob of protoplasm) नैतिक प्राणी हुन सक्दैन। यदि दाऊदको नैतिक इतिहास गर्भधारणदेखि सुरु हुन्छ भने, उनको व्यक्तिगत इतिहास पनि त्यही बिन्दुबाट सुरु भएको हुनुपर्छ । गर्भधारणको क्षणदेखि केवल उनको जैविक अस्तित्व मात्र सुरु भएको थिएन, तर उनको नैतिक प्रवृत्ति पनि सुरु भइसकेको थियो।
दाऊदले यो कुरामा जोर दिन्छन् कि उनको पापी र भ्रष्ट स्वभाव विगतका कनै पाप वा अपराधहरूको परिणाम थिएनः बरु उनको व्यक्तिगत भ्रष्टता गर्भमा हुँदादेखि नै थियो।
नयाँ करारमा, प्रेरित पावलले रोमी ५ अध्यायमा स्पष्ट पार्छन् कि आदमको पापी र भ्रष्ट स्वभाव सम्पूर्ण मानवजातिमा सो र परिणामस्वरूप सबै मानिसमा मृत्यु आयो। उनी लेख्छन्, “एक जना मानिसद्वारा (आदम) संसारमा पाप आयो, र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो” (पदहरू १२-२१ हेर्नुहोस्) । यस पदले दुई महत्त्वपूर्ण सत्यहरू सिकाउँछ। पहिलो, आदमको पाप सबै मानवजातिमा अध्यारोपित गरियो वा सारियो, जसको मतलब हामी सबै परमेश्वरको अधि कानुनी रूपमा दोषी र दण्डका योग्य छौं। दोस्रो, उनको पाप सम्पूर्ण मानवजातिमा सर्यो, जसको मतलब सबै मानिसहरू नैतिक रूपमा दूषित र भ्रष्ट छन् । तर कहिले र कसरी आदमको पाप र नैतिक दोष सबै मानिसमा सर्यो ? यो त्यही माध्यमबाट सर्यो, जुन माध्यमबाट परमेश्वरको स्वरूप सबै मानवजातिमा सर्छ, अर्थात्, सन्तानोत्पादन (अध्याय ५ हेर्नुहोस्) । प्रारम्भिक चर्चका पिता अगस्टिनले लेखेः
सबैले, साना बालकहरूले समेत, परमेश्वरको करारलाई तोडेका छन्, आफ्नो व्यक्तिगत कार्यका आधारमा होइन, तर सबै मानवजातिको साझा उत्पत्तिको आधारमा, अर्थात् त्यो एउटै पूर्वज (आदम) मा, जसमा सबैले पाप गरेका छन् ।
उनले यो पनि भनेका थिए कि “जब एक मानिस जन्मन्छ, ऊ मृत्यु लिएर जन्मन्छ, किनभने उसले आदमबाट पाप ग्रहण गर्छ।”
प्रभु येशूले कहिल्यै पनि मानवजातिको पाप र नैतिक दोषलाई परिवार, मित्र, सहकर्मी, संस्कृति, सहर, सामाजिक परिवेशजस्ता बाहृय कारणहरूसँग जोड्नुभएन । बरु, उहाँले घोषणा गर्नुहुन्छ कि यो दुष्ट र भ्रष्ट हृदयबाट आउँछ, जुन हृदय लिएर हामी जन्मिएका हुन्छौँ। उहाँ भन्नुहुन्छ,
मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ । किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् । यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन्, र मानिसलाई अशुद्ध पार्छन् (मर्कुस ७:२०-२३) ।
निष्कर्ष
धर्मशास्त्रको स्पष्ट शिक्षा यो हो कि मानव जीवन गर्भधारणबाट सुरु हुँदछ । परमेश्वर गर्भधारणको परम कारण हुनुहुन्छ- यो उहाँको कार्यविना सम्भव छैन । अनि धर्मशास्त्रले यो पनि स्पष्ट पार्छ कि गर्भधारणले मानव जीवनको सुरुवातलाई सङ्केत गर्छ । त्यस क्षणदेखि नै हामी पूर्ण रूपमा परमेश्वरको स्वरूपधारक बनिसकेका हुन्छौँ। यसबाहेक, आदमको पाप र नैतिक दोष प्रत्येक व्यक्तिमा सन्तानोत्पादनमार्फत गर्भधारणको समयमा नै सर्ने तथ्यले यो प्रमाणित गर्छ कि प्रत्येक मानव जीवनको सुरुवात गर्भधारणबाट नै हुन्छ ।
– टम पेनिङ्टन







