येशू ख्रीष्ट साँचो परमेश्वर र साँचो मानिस हुनुहुन्छ

येशू को हुनुहुन्छ भन्ने प्रश्न पहिलो शताब्दीदेखि लिएर अहिलेसम्म उत्तिकै प्रख्यात रहँदै आएको छ । येशू आफैले आफ्ना चेलाहरूलाई यही प्रश्न सोध्नुभयो, “मानिसहरूले के भन्छन्, म को हुँ?” । उहाँको बारेमा मानिसहरूको बुझाइ निकै अन्योल रहेको देखिन्छ। चेलाहरूले उहाँलाई भने, “कसैले भन्छन्, ‘बप्तिस्मा-दिने यूहन्ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्छन्, ‘अगमवक्ताहरूमध्ये एक जना’।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई अझ व्यक्तिगत र विशेष रूपमा सोध्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” यस प्रश्नको जवाफमा पत्रुसले अत्यन्तै स्पष्ट र अकाल्पनिय उत्तर दिए । पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ।” (मर्कूस ८:२७–३०)। येशू र उहाँका चेलाहरूबीच भएको यो वार्तालापले एउटा महत्त्वपूर्ण सत्यता बुझ्न मदत गर्छ: सबै मानिसहरूले ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने कुरा जानेका र बुझेका हुँदैनन् । त्यसकारण, ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने विषयमा सही बुझाइ प्राप्त गर्न उहाँको बारेमा बाइबलले के शिक्षा दिन्छ भन्ने सत्यता बुझ्न आवश्यक छ ।
पुत्रको सर्वोच्चता (The Supremacy of the Son)
नयाँ करारका लेखकहरूले पुत्रको ईश्वरत्वलाई सर्वोच्च र सार्वभौम ढङ्गले वर्णन गरेका छन् । “उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन् । उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्” (कलस्सी १:१५–१७)। “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो । सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन” (यूहन्ना १:१–३)। “पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो । उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ” (हिब्रू १:२–३)।
ईश्वरीय पुत्र (The Divine Son)
नयाँ करारका विभिन्न धर्मशास्त्रीय खण्डहरूबाट पुत्रको सर्वोच्चताबारे हेर्दा यो कुरा स्पष्ट हुन्छ कि उहाँ केवल एक असल शिक्षक, अगमवक्ता वा आश्चर्यकर्म गर्ने व्यक्ति मात्र हुनुहुन्न । उहाँ अनन्त परमेश्वर, अदृश्य परमेश्वरको दृश्य प्रतिरूप, अनन्त वचन, परमेश्वरको महिमाको प्रतिविम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ। परमेश्वरको पुत्रको विषयमा प्रयोग गरिएको भाषा अत्यन्तै उल्लेखनीय र अर्थपूर्ण छ । नाइसियान विश्वासको सार (Nicene Creed) ले पुत्रलाई यसरी वर्णन गरिएको छ, “परमेश्वरको परमेश्वर, ज्योतिको ज्योति, साँचो परमेश्वरको साँचो परमेश्वर।”[1]यसरी पुत्र सर्वोच्च, महान्, सृष्टिकर्ता र सम्पूर्ण सृष्टिमाथि सार्वभौम अधिकार राख्नुहुने परमेश्वर हुनुहुन्छ ।
पुत्रको देहधारण (The Incarnation of the Son)
नयाँ करारका लेखकहरूले ख्रीष्टको देहधारणको विषयमा स्पष्ट रूपमा उल्लेख गरेका छन् । “वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो” (यूहन्ना १:१४)। “उहाँ स्वयम् शरीरमा प्रकट हुनुभयो” (१ तिमोथी ३:१६)। “आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो”(फिलिप्पी २:७)। “छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो” (हिब्रू २:१४)। “त्यो जीवन प्रकट भयो, र हामीले देख्यौं, र हामी गवाही दिन्छौं, र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो” (१ यूहन्ना १:१-२)।
पतित मानवजातिको उद्धारका निम्ति पुत्रको देहधारण अत्यन्तै महिमामय र रहस्यमय छ । उहाँ अनन्त परमेश्वर हुनुहुन्छ, जसले लगभग दुई हजार वर्षअघि आफ्नो ईश्वरत्वमा रहस्यमय ढङ्गले मानव स्वभावलाई जोड्नुभयो, र एकै समयमा पूर्ण ईश्वरीय र पूर्ण मानवीय स्वभावमा रहनुभयो । उहाँ त्रिएक परमेश्वरका दोस्रो व्यक्ति हुनुहुन्छ, जसले आशाहीन अवस्थामा रहेका पतित मानवजातिलाई छुटकारा दिन कन्या मरियमद्वारा आश्चर्यजनक रूपमा देहधारण गर्नुभयो । उहाँ एकै व्यक्तिमा पूर्ण परमेश्वर र पूर्ण मानिस, अर्थात् परमेश्वर-मानिस, हाम्रा प्रभु र मुक्तिदाता ख्रीष्ट येशू हुनुहुन्छ ।
साँच्चै मानिस (Truly a Man)
त्रिएक परमेश्वरको दोस्रो व्यक्ति, अनन्त पुत्रको देहधारण परमेश्वरको एक रहस्यमय र अलौकिक कार्य हो । अनन्त परमेश्वर मानिस बन्नुभयो भन्ने सत्यता मानवजातिको उद्धारका निम्ति परमेश्वरको असीमित र अगम्य दिव्य बुद्धिको रहस्य हो । प्रारम्भिक चर्चले येशू एकै समयमा परमेश्वर-मानिस, पूर्ण परमेश्वर र पूर्ण मानिस, तथा ईश्वर र मानव दुवै हुनुहुन्छ भन्ने सत्यता दृढतापूर्वक स्वीकार गर्यो ।
“हाम्रा प्रभु येशू ख्रीष्ट ईश्वरीय स्वभावमा पूर्ण र मानवीय स्वभावमा पूर्ण, साँच्चै परमेश्वर र साँच्चै मानिस हुनुहुन्छ । उहाँ दुई स्वभावमा रहनुभएको छ—कुनै मिश्रणविना, कुनै परिवर्तनविना, कुनै विभाजनविना र कुनै अलगावविना । यी दुई स्वभाव एउटै व्यक्ति र अस्तित्वमा एकताबद्ध भएका छन् । उहाँ दुई व्यक्तिमा छुट्टिनुभएको वा विभाजित हुनुभएको होइन, तर एउटै र उही पुत्र, एकमात्र जन्मनुभएका परमेश्वर वचन, हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।”[1]येशू साँच्चै मानिस हुनुहुन्थ्यो, किनकि उहाँले वास्तविक मानव शरीर धारण गरी जन्म लिनुभयो । पवित्र आत्माको शक्तिद्वारा उहाँ कन्या मरियमको गर्भमा रहस्यमय रूपमा गर्भधारण हुनुभयो ।
येशूको कुमारी जन्म एक अलौकिक घटना थियो, जुन सामान्य शारीरिक प्रजनन प्रक्रियाभन्दा पूर्ण रूपमा भिन्न थियो । मत्ती र लूकाले आफ्ना सुसमाचारहरूमा येशू ख्रीष्टको कुमारी जन्मको विषयमा स्पष्ट रूपमा उल्लेख गरेका छन् (लूका १:२७; मत्ती १:२३)। कुमारीबाट भएको यो जन्मले येशूलाई पापरहित मुक्तिदाता हुनुहुन्छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । पवित्र आत्माको अलौकिक शक्तिद्वारा उहाँ मूल पाप (Original Sin) को प्रभावबाट सुरक्षित रहनुभयो र यसरी पुत्र परमेश्वर पापरहित देहधारी हुनुभयो ।
निष्कर्ष (Conclusion)
परमेश्वर मानिस बन्नुभयो । अनन्त परमेश्वर स्वर्गबाट तल ओर्लनुभयो, मानवीय देह धारण गर्नुभयो र समयको सीमाभित्र जन्मनुभयो । परमेश्वर देहमा प्रकट हुनुभयो; अदृश्य दृश्य हुनुभयो, अछुत छुन सकिने हुनुभयो र पारलौकिक परमेश्वर मानवीय शरीर लिएर यस संसारमा प्रवेश गर्नुभयो । परमेश्वरका अनन्त पुत्रले आफ्नो ईश्वरीय स्वभावसँग मानव स्वभावलाई एकताबद्ध गर्नुभयो । देहधारण भनेको एउटै व्यक्तिमा ईश्वरीय र मानवीय स्वभाव एकताबद्ध हुने रहस्य हो । यस धर्मशास्त्रीय सत्यतालाई व्याख्या गर्न परम्परागत अर्थोडक्स ख्रीष्टियान धर्मशास्त्रमा प्रयोग गरिने प्राविधिक शब्द हाइपोस्टाटिक युनियन (Hypostatic Union) हो । यसले ख्रीष्टको एउटै व्यक्तित्वमा दुई स्वभाव अर्थात् उहाँको पूर्ण ईश्वरीय र पूर्ण मानवीय स्वभावलाई व्याख्या गर्दछ ।“उहाँ ईश्वरीय स्वभावमा पूर्ण ईश्वर र मानवीय स्वभावमा पूर्ण मानव हुनुहुन्छ । उहाँ साँच्चै ईश्वर र साँच्चै मानिस हुनुहुन्छ । उहाँका दुई स्वभावबीच कुनै मिश्रण, परिवर्तन, विभाजन वा अलगाव छैन । ख्रीष्टियान विश्वास येशू ख्रीष्ट परमेश्वर–मानिस हुनुहुन्छ भन्ने सत्यतामा अडिग हुनुपर्छ । उहाँ साँच्चै परमेश्वर र साँच्चै मानिस, परमेश्वरका अनन्त पुत्र र त्रिएक परमेश्वरका दोस्रो व्यक्ति हुनुहुन्छ । उहाँले उद्धारको कार्य पूरा गर्न आफ्नो ईश्वरीय स्वभावमा मानव स्वभाव धारण गर्नुभयो । उहाँका दुई स्वभाव एउटै व्यक्तिमा एकताबद्ध भएका छन्; उहाँ दुई अलग-अलग व्यक्तिमा विभाजित वा छुट्टिनुभएको छैन”[1] । “उहाँ vera homo र vera deus अर्थात्साँच्चै मानिस र साँच्चै परमेश्वर हुनुहुन्छ । उहाँमा साँचो मानवीय स्वभाव र साँचो ईश्वरीय स्वभाव एउटै व्यक्तिमा पूर्ण रूपमा एकताबद्ध भएका छन्”[1] ।
जोन फ्लेभल (John Flavel) सत्रौँ शताब्दीका प्रसिद्ध अंग्रेजी प्युरिटन धर्मशास्त्रीले ख्रीष्टको देहधारणबारे यसरी उल्लेख गरेका छन् “अनादिकालदेखि अस्तित्वमा रहनुभएका परमेश्वर एक शिशुको रूपमा देखा पर्नुभयो । सबै कुराका अनन्त महिमामय सृष्टिकर्ता सृष्टि हुनु भनेको मानवीय समझभन्दा बाहिरको रहस्य हो”[2] । यो वास्तविक सत्यता हो । बाइबलले येशूलाई साँचो परमेश्वर र साँचो मानिस, सारा सृष्टिको सर्वोच्च र सार्वभौम परमेश्वर, जसले पतन भएको मानवजातिलाई उद्धार गर्नको लागि मानव शरीर धारण गर्नुभयो र मानिस बन्नुभयो भनि प्रस्तुत गर्दछ । यसरी, येशू ख्रीष्टमा पूर्ण ईश्वरीय र पूर्ण मानवीय स्वभाव दुवै मौजूद छन् । उहाँ साँचो परमेश्वर र साँचो मानिस हुनुहुन्छ । यो कति अद्भुत कूरा हो ।
–अलाइभ तामाङ







