पवित्र आत्माको व्यक्तिगत स्वभाव

पवित्र आत्मा व्यक्ति हुनुहुन्छ भन्ने तथ्यलाई धर्मशास्त्रमा अनेकौँ तरिकाबाट हेरिएको छ । यसको एउटा प्रमुख प्रमाण भनेको बाइबलले बारम्बार र निरन्तर पवित्र आत्मालाई व्यक्तिगत सर्वनामद्वारा गरिएको सम्बोधन हो । पवित्र आत्मालाई “उहाँ,” “उहाँलाई,” अनि यस्तै अरू शब्दहरूद्वारा सम्बोधन गरिएको छ, तर कहीँकतै पनि “त्यो” भनी सम्बोधन गरिएको छैन । त्यसैगरी, उहाँले गर्नुहुने कामहरूसँग हामी व्यक्तिगत रूपमा सम्बन्धित हुन सक्छौँ ।
उहाँले सिकाउनुहुन्छ, प्रेरणा दिनुहुन्छ, मार्गनिर्देशन गर्नुहुन्छ, डोर्याउनुहुन्छ । उहाँले बिलौना गर्नुहुन्छ, हामीलाई पापको दोषी ठहराउनुहुन्छ र यस्तै धेरै कामहरू गर्नुहुन्छ । अवैयक्तिक थोकले यस तरिकाको काम गर्न सक्दैन ।
केवल व्यक्तिले मात्रै यस्तो काम गर्नसक्छ ।
तर पवित्र आत्मालाई धर्मशास्त्रमा एक व्यक्तिको रूपमा मात्रै नभई पूर्ण ईश्वरको रूपमा पनि हेरिएको छ । यो कुरा हामी प्रेरितको पुस्तकमा भएको रोचक कथाबाट हेर्नेछौँः
तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी
सफीराले एक टुक्रा जमिन बेचे, र त्यसको मोलबाट तिनकी
पत्नीकै जानकारीमा केही हिस्सा आफूसँग राखे, र केही
हिस्सा ल्याएर प्रेरितहरूका चरणमा राखिदिए । तर पत्रुसले
भने, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको
बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले
कसरी तिम्रो मनमा भरिदियो ? त्यो बिक्री नभइञ्जेल के
त्यो तिम्रो आफ्नै थिएन ? र त्यो बिक्री भएपछि पनि त्यो
तिम्रै अधिकारमा थिएन र ? यस्तो काम गर्ने विचार तिम्रो
ह्दयमा कसरी आयो ? तिमीले मानिसहरूलाई त होइन, तर
परमेश्वरलाई नै ढाँटेका छौ ।” – प्रेरित ५ः१–४
हननिया र सफीराको पाप उनीहरूले आफूले दिएकोभन्दा ज्यादा दान चर्चलाई दियौँ भनी लगाएको धाक थियो । उनीहरूले परमेश्वरलाई अपर्ण गरेको उपहारको बारेमा झुट बोले । मेरो विचारमा प्रेरित पत्रुसले उनीहरूले दिएको दानमा भन्दा बढी उनीहरूको आत्माको अवस्थाको बारेमा ज्यादा चासो राखेका थिए । हननिया र सफीरालाई हप्काउँदा पत्रुसले प्रयोग गरेको शब्दहरूलाई विचार गर्नुहोस् । उनले यसरी सुरु गरे, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो ?” अनि यसरी आफ्नो भनाइ पूरा गर्दछन्, “तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ ।” निष्कर्षमा, हननियाले पवित्र आत्मा विरुद्ध बोलेको झुट वास्तवमा परमेश्वर विरुद्ध थियो । यहाँबाट यो प्रष्ट हुन्छ, कि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ ।





