आफूले चाहेजस्तो मण्डली कसैले पाउदैनन्

पछिल्ला केही दिनदेखि म ओछ्यानमा नै सीमित छु । मेरो ढाडको तल्लो भागमा देखिएको समस्याको कारण बेला बखत यसले मेरो स्वास्थ्यमा समस्या ल्याउने गर्दछ ।  म २७ वर्षीय स्वस्थ जवान भएको कारण कमै मात्र मेरो जीवनमा यस्तो हुने गर्दछ । 

मेरो चर्चको एक सदस्यले सामना गरिरहेको क्यान्सर, वा अन्य सदस्यहरूले दिन प्रति दिन कमजोर हुँदै गइरहेको स्वास्थ्य अवस्थाको  सामना गरिरहेकोे तुलनामा यो एक सानो समस्या हो । तथापि यसले यस हप्ताको मेरो योजनाहरूलाई विफल पारिदिएको छ । मैले मेरा कक्षा छुटाउनु परेको छ, मेरो वैवाहिक वार्षिकोत्सवलाई पछाडि सार्नु परेको छ, र साँझको समयमा मेरो बालबच्चासँग खेल्नुको सट्टा ओछ्यानमा सुत्नुपरेको छ ।

यी सबैद्वारा परमेश्वरले मलाई ती पाठहरू सिकाउँदै हुनुहुन्छ, जुन म सिक्न चाहँदिन थिएँ । उहाँले मलाई मेरो निराशाहरू मेरी श्रीमती माथि कडा जवाफको रुपमा नबदल्न, आगामी दिनहरूमा यो अवस्थाले कस्तो रूप लिन्छ भनी चिन्ता नगर्न सिकाउँदै हुनुहुन्छ र उहाँमा म कति निर्भर छु भन्ने कुरा देखाउँदै हुनुहुन्छ ।

म यी पाठहरू सिक्न चाहँदिन थिएँ, तर परमेश्वर जान्नु हुन्छ कि मलाई यी कुराहरूको आवश्यकता छ । र म विश्वस्त छु कि उहाँले मलाई मैले चाहे जस्तो जीवन नदिनु पछाडिको कारणहरूमध्ये यो एक हो ।

मैले बताएको यी मेरा कुराबाट हामी चर्च जीवनको एउटा पाठ सिक्न सक्छौ । स्पष्ट रूपमा भन्नुपर्दा, कसैले पनि आफूले चाहेजस्तो मण्डली पाउँदैन ।

चर्च आउँदा तपाईं आफ्ना अपेक्षासँग आउनुहुन्छ । हुनसक्छ, तपाईं एक विशिष्ट प्रकारको संगीत र  आराधना चाहनुहुन्छ । सायद, तपाईं बाइबलका खण्डहरूमा डुब्न सक्ने प्रचारक चाहनुहुन्छ । वा तपाईं  क्यारिस्मेटिक र उदार चित्त भएको अगुवाहरू चाहनुहुन्छ जसले, जो कोहीसँग सम्बन्ध बनाउन र बोल्नमा सिपालु हुन्छन् । तपाईंको सूचीमा अन्य धेरै कुराहरू हुनसक्छ, तर म यो कुरा दाबी गर्न सक्छु कि तपाईंको सूचीमा भएका सबै कुराहरू परमेश्वरको सुचीमा नहुन पनि सक्छ ।

मुख्य रूपमा, मैले भन्न चाहेको कुरा यही हो कि तपाईंको विचारहरू परमेश्वरको प्रकट भएको इच्छा भन्दा बाहिर छ । मलाई मनपर्नेे एक प्रचारकले यसरी भन्नुभएको छ  “मसँग कुनै विचार छैन, म केवल बाइबलमा विश्वास गर्छु ।” यो भनाई र विचार प्रशंसनीय छ, तर सँगै असम्भव पनि छ । प्रत्येक मानिससँग आफ्ना विचार र इच्छाहरू हुन्छन् । तपाईं चाउमिन वा मःम के खान चाहनुहुन्छ ? तपाईं “महान ईश्वर” गाउन चाहनुहुन्छ वा  “सारा सृष्टिको मालिक” ? यी सबै तपाईंको रोजाई र इच्छामा भरपर्छ ।

तपाईंको सूची परमेश्वरको सूचीसँग मेल नखानुको अर्को मुख्य कारण भनेकोः परमेश्वरले पवित्र धर्मशास्त्रमा चर्चको लागि प्रकट गर्नुभएको उहाँको इच्छालाई कुनै पनि चर्चले पूर्ण रूपमा पूरा गर्दैनन् । कुनै पनि मण्डली परमेश्वरको वचनले भनेजस्तो परिपक्व र पवित्र छैन किनकि हरेक चर्च प्रगतिशील अवस्थामा छ । कहिलेकाहीँ वृद्धि हुँदै गरेको चर्चको सदस्य हुने तपाईंको इच्छाले तपाईंलाई अपरिपक्व ढङ्गमा अधैर्य र आफ्नै समूहसँग संघर्ष गर्ने बनाउँछ । 

चर्च कस्तो हुनुपर्छ र चर्चले के गर्नुपर्छ भनी परमेश्वरले प्रकट गरिदिनुभएको छ । बगालको गोठालो गर्ने र वचन प्रचार गर्ने मानिसहरूले चर्चहरूको नेतृत्व गर्नुपर्छ, (१ तिमोथी ३ः१–७; २ तिमोथी ४ः१–५) । यदि तपाईं  एल्डरहरू बिनाको चर्चमा हुनुहुन्छ भने तपाईंले के गर्नुपर्छ ? अवस्था अनुसार यसका धेरै र फरक जवाफहरू छन् । तर एउटा सम्भावित विकल्प भनेको तपाईंले उहाँका असिद्ध मानिसहरूप्रति परमेश्वरको धैर्यतालाई प्रकट गर्नु हो ।

यदि परमेश्वरले आफ्ना मानिसहरूको अपरिपक्वता र अनाज्ञाकारिता धैर्यपूर्वक सहन सक्नु हुन्छ भने, तपाईंले पनि सक्नुहुन्छ । यदि तपाईं प्रभावशाली व्यक्ति हुनुहुन्छ भने, तपाईंको प्रभावलाई नम्रतापूर्वक र बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस् । र तपाईंले गर्ने हरेक काम र तपाईंको चर्चले हरेक अवस्थामा पवित्र धर्मशास्त्रको पालना गरोस्, भन्ने तपाईंको असल इच्छालाई निराशामा परिणत हुन नदिनुहोस् ।

कसैले पनि, हो कसैले पनि– आफ्नो इच्छा अनुसारको मण्डली पाउदैनन् । हामी सबैसँग विचार, प्राथमिकताहरू, र विश्वासहरू छन्, जुन परमेश्वरका जनहरू वा अन्य विश्वाससँग पूर्ण रूपमा मेल खाँदैन । तरै पनि हामी सबैले अरूको हितलाई आफ्नो भन्दा पहिले राख्नुपर्छ, र सम्पूर्ण शरीरलाई चाहिने कुराको खातिर आफूले चाहेको कुरा त्याग गर्नुपर्छ । यही नै चर्च जीवनको मुख्य बिन्दु हो । परमेश्वरले हामीलाई शरीरको अङ्ग बनाउनुभएको छ ताकि हामीले शरीरमा ध्यान दिन सिक्न सकौं, (१ कोरिन्थी १२ः१२–२७) । परमेश्वरले हामीलाई सुसमाचारमा सहकर्मी बनाउनुभएको छ ताकि हामीले अरूलाई आफूभन्दा अगाडि राखेर सुसमाचारलाई चित्रण गर्न सकौं, (फिलिपी २ः३–४) । ख्रीष्टले हाम्रो सेवा गर्न आफ्नो अधिकारलाई त्याग्नु भयो, र तपाईंले प्रत्येक चोटि शरीरको वृद्धि गर्न आफ्ना प्राथमिकतालाई त्याग्नु हुँदा ख्रीष्टले झैँ गर्नु हुन्छ ।

अरूलाई आफूभन्दा उच्च ठान्दा मूल्य चुकाउनुपर्छ । उपभोक्तावादको संस्कृति र चर्च विकल्पहरूले भरिएको यस संसारमा, हामीले सामान्यतया गर्न चाहेको अन्तिम कुरा भनेको हाम्रो प्राथमिकताहरू त्याग्नु हो । र सुसमाचारले हामीलाई ठ्याक्कै त्यहि कामको निम्ति बोलाउँछ ।

त्यसोभए मानौं, तपाईंको चर्चमा तपाईंलाई मन नपर्ने गीत गाइन्छ । गीतका शब्दहरू परम्परागत छन् र तपाईं ती गीतको धुन र शब्दमा खिसी गर्नुहुन्छ । तर तपाईं खिसी गर्नुको सट्टा, गहिरो रूपमा त्यस गीतको अर्थ बुझ्ने प्रयास गर्नुहोस् र ती नकारात्मक कुराहरूलाई आफ्नो जीवनबाट हटाउनुहोस् । किनकि तपाईंको चर्चको अर्को सदस्यले यही भजनलाई मन पराइरहेको हुनसक्छ । तिनीहरू जोसुकै भए तापनि, उनीहरूलाई त्यो भजन वा गीतद्वारा (कलसी. ३ः१६–१७) प्रोत्साहन दिनुहोस् ।

आफ्नो प्राथमिकताहरू त्याग्ने बानीमा बसाल्नुहोस् ताकि तपाईंले सम्पूर्ण शरीरको भलाईलाई अंगाल्न सक्नुहोस् । आफ्नो हृदय, दिमाग, जिब्रो र हातहरूलाई आफ्ना प्राथमिकताबाट हटाउँदै सुसमाचारको खाँचोमा दौडन तालिम दिनुहोस् ताकि अरूले लाभ लिन सकून् ।

परमेश्वरले तपाईंलाई तपाईंले चाहे अनुसारको चर्च नदिन सक्नुहुन्छ, तथापी उंहाले तपाईंलाई आवश्यक चर्च दिन सक्षम हुनुहुन्छ । त्यसैले विचार गर्नुहोस् कतै उहाँले पहिले नै पो दिई सक्नुभएको छ कि ?

– बबी जेमिसन

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।