हाम्रो स्रोता अमरले सोध्नुभएको छ, “प्रिय पास्टर जोन, जब कोही व्यक्ति कठिन परिस्थितिबाट गुज्रिरहेको हुन्छ, वा कठिनाइ र  परीक्षाको सामना गरिरहेको हुन्छ तब त्यस्तो समयमा, ‘परमेश्वरले हामीलाई हामीले सम्हाल्न सक्नेभन्दा बढी दिनुहुन्न’ भन्ने वाक्यांशको प्रयोग गरिन्छ । के यो बाइबलीय आधारमा सही प्रयोग हो ?”

दुई अपरिहार्य शब्दहरू 

“परमेश्वरले हामीलाई हामीले सहन सक्ने भन्दा बढी दिनुहुन्न” यो वाक्यांश सही छ वा छैन भनेर जान्नको लागि, “हामी” र “सहनु” भन्ने शब्दको बुझाइले फरक पार्छ ।

हामी भन्नुको अर्थ के हो ? के हामी  भन्नुको अर्थ यो हो कि, परमेश्वरले समस्याहरूको हल गर्न सक्ने हाम्रो सामर्थ्य र क्षमताको अभिलेख राख्नुहुन्छ र हाम्रो क्षमताअनुसार हाम्रो जीवनमा परीक्षाहरूको निर्धारण गर्नुहुन्छ ? ताकि ती सबै कुराहरू हामीले आफ्नो सामर्थ्यमा  सहन सक्नेभन्दा बढी नहोस् । के हामी को अर्थ यही हो ?

वा हामी  भन्नुको अर्थ यो हो, यदि हामीले विश्वासद्वारा ईश्वरीय सहायतामा परीक्षाहरू ग्रहण गर्यौँ भने ती परीक्षाहरूको सामना गर्न सक्छौँ किनकि परमेश्वरले हाम्रो जीवनमा विभिन्न परिस्थितिहरू ल्याउनमात्रै हुन्न तर उहाँको अनुग्रहद्वारा हामीलाई त्यसको सामना गर्न पनि सक्षम बनाउनुहुन्छ । 

यी दुई भनाइमध्ये हामी भन्नुको अर्थ कुनचाँहि हो ?

त्यसैगरी सहनु भनेको के हो ? के सहनुको अर्थ, तपाईं कहिल्यै ढल्नु हुनेछैन, तपाईं कहिल्यै विफल हुनेछैन, तपाईंले कहिल्यै गल्ति गर्नुहुनेछैन वा आफ्नो जीवनको परीक्षाहरूमा अनुत्तीर्ण हुनेछैन भन्ने हो  ?

वा सहनु भनेको, तपाईं कहिल्यै असफल हुनेछैन, त्यसैले तपाईंले कहिल्यै निको हुनुपर्दैन  वा पश्चाताप र पुनर्मिलन गर्नु पर्दैन भन्ने हो ? यदि तपाईं हार्नुभयो भने तपाईं असफल हुनुभयो । यी दुईमध्ये सहनु भन्नुको अर्थ कुन हो ?

अनुग्रहमा निर्भर

यी सबै प्रश्नहरूको उत्तर दिनका लागि यस विषयको मुख्य पदलाई हेर्न चाहन्छु । १ कोरिन्थी १०ः१३,

“मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ । तर परमेश्वर विश्वासयोग्य
हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन,
तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ ।
यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ ।”

“परमेश्वरले तिमीहरूलाई सहन सक्नेभन्दा बढी दिनुहुन्न” भनेर पावलले भन्नुको अर्थ यही हो कि परमेश्वरले उहाँको सहायताद्वारा सहन सक्नेभन्दा बढी दिनुहुन्न । पावलले यसरी पनि भनेका छन्, २ कोरिन्थी ९ः८ “परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक ।”

हरेक जाँच र परीक्षाहरूमा हामीमा यो प्रश्न आउँछ कि, के म यो परीक्षामा सफल हुनसक्छु ? पावल भन्छन्, “त्यहाँ अनुग्रह हुनेछ” । उनले यसरी भनेका छैनन् कि, “म विश्वास गर्छु कि तिमीले आफ्नै क्षमतामा यी सब कुरालाई पार गर्नेछौ । तिमीलाई अनुग्रहको आवश्यकता पर्नेछैन ।” परमेश्वरले भनिरहनुभएको छ, “म तिमीहरूलाई अनुग्रह दिनेछु ताकि अनुग्रहले नै सबै कुराहरू गर्नेछ ।”

पावलले १ कोरिन्थी १५ः१० मा भनेका छन्, “तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन । बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरेँ । तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो ।” अर्को शब्दमा, यदि मैले कुनै जाँचको सामना गरेँ वा परीक्षामा सफल भएँ भने त्यो अनुग्रहको कारणले गर्दा हो । केवल अनुग्रहको कारणले ।

सम्हाल्ने शक्ति 

तब प्रश्न यो आउँछ कि सहनु भनेको के हो ? के यसको मतलब परमेश्वरबाट आउने जाँचमा कहिल्यै नढल्नु वा कहिल्यै असफल नहुनु भन्ने हो ? हैन ।

त्यसोभए, उहाँले हामीलाई हरेक परीक्षामा उम्कने बाटो दिनेछु  र  हरेक असल कामको निम्ति अनुग्रह हुनेछ भनी किन प्रतिज्ञा गर्नुभयो ? मलाई लाग्छ उहाँले प्रतिज्ञा गर्नुभएको कुरा यही हो— परमेश्वरले हामीलाई कहिल्यै पनि हामी पुनः खडा हुन नसक्नेगरी, हामी पुनः निको नहुनेगरी परीक्षामा पर्न दिनुहुन्न । हाम्रो विश्वासलाई त्याग्नुपर्ने गरी वा मृत्युसम्मै पुग्ने गरी पापमा फस्न दिनुहुन्न । तर उहाँले हामीलाई साँचो विश्वासको फल फलाउन सक्षम बनाउनुहुनेछ र अन्त्यसम्मै दृढ रहन मद्दत गर्नुहुनेछ ।

यहाँ केही पदहरू छन् जसले मलाई यी कुराहरू विचार गर्न लगाउँछ ।

फिलिप्पी १ः६ “मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ ।”

रोमी ८ः३० जसजसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जसजसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहर्याउनुभयो, र जसजसलाई धर्मी ठहर्याउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।”

लूका २२ः३१–३२ “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहुँ जस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरेँ, र फेरि तिमी म तर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।” अर्को शब्दमा, मैले तिम्रो निम्ति प्रार्थना गरेको छु । तिमीले आज राति मलाई इन्कार गर्नेछौ तर म तिमीलाई फेरि खोजेर फिर्ता ल्याउनेछु । तिमी आज राति परीक्षामा अनुत्तीर्ण हुनेछौ तर म तिमीलाई जिन्दगीको परीक्षामा उत्तीर्ण गराउनेछु ।

१ पत्रुस १ः५ “आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा
परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ ।”

१ कोरिन्थी १ः८ “हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्न उहाँले
तिमीहरूलाई अन्त्यसम्मै सुदृढ राख्नुहुनेछ ।”

“परमेश्वरले कहिल्यै पनि हामीलाई हामीले सहन सक्ने भन्दा बढी दिनुहुन्न ।” के यो बाइबलीय रूपमा सही छ ? यदि हाम्रो भनाइको तात्पर्य, परमेश्वरले आफ्ना मानिसहरूलाई कहिल्यै पनि त्यस्तो परीक्षामा पार्नुहुन्न, जहाँ उहाँले हामीलाई थाम्नुहुन्न भन्ने हो भने, हो यो सही छ । हामी उहाँको महिमासम्म पुग्नको लागि हरेक कार्य गर्न सक्षम पारिने छौँ ।

आफ्नो माया साझा गर्नुहोस्
जोन पाइपर
जोन पाइपर

जोन पाइपर desiringGod.org का संस्थापक तथा प्रमुख शिक्षक साथै मेनेसोटा, मिनियापोलिस USA मा अवस्थित बेथलेहेम कलेज र सेमिनरीका कुलपति हुन् । ३३ वर्षसम्म उनले बेथलेहेम बप्तिस चर्चमा पास्टरको रूपमा सेवा गरे । उनी जीवित पुस्तक साहित ५० भन्दा बढी पुस्तकहरूका लेखेक हुन् ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।