चर्च अनुशासन भनेको कसैको पाप देखाइदिनु हो, साथै पश्चातापको लागि चर्चले गर्ने आव्हान हो । 
यस अभ्यासमा पाप गरेको व्यक्तिले पश्चाताप गर्न नचाहेको खण्डमा उसलाई चर्चको सदस्यताबाट निस्कासन गर्ने र प्रभु–भोजबाट वञ्चित गराउने कार्य पनि पर्दछ ।

वृहत अर्थमा भन्नुपर्दा, अनुशासन भनेको चर्चले आफ्ना सदस्यहरूलाई पवित्रताको पछि लाग्न र पापसँग लड्न मद्दत गर्न गर्ने सबै कुरा हो । प्रचार, शिक्षण, प्रार्थना, सामूहिक आराधना, जवाफदेही सम्बन्धहरू, पास्टर र एल्डरहरूले गर्ने ईश्वरीय हेरचाह र अनुशासनका रूपहरू हुन् ।      

कहिलेकाहीँ मानिसहरूले अनुशासनलाई “सुधारात्मक अनुशासन” र “निर्माणात्मक अनुशासन” भनी यी दुई प्रकारका अनुशासनबीच भिन्नता देखाउने गर्दछन् ।  

सुधारात्मक अनुशासनः मत्ती १८ः१५–१७; १ को ५ः१–१३; २ को २ः६; र २ थे ३ः६–८ जस्ता नयाँ करारको खण्डहरूमा सुधारात्मक अनुशासनसम्बन्धी आज्ञा र उदाहरणहरू भेट्टाउन सकिन्छ ।  

निर्माणात्मक अनुशासनः पवित्रतालाई पछ्याउने र विश्वासमा एकअर्कालाई निर्माण गर्ने विषयमा लेखिएको नयाँ करारका अनगिन्ती खण्डहरूले निर्माणात्मक अनुशासनको विषयमा बताएको छ । उदाहरणको लागि, एफिसी ४ः११–३२ र फिलिप्पी २ः१–१८ । वास्तवमा, हामी नयाँ करारका पत्रहरूलाई निर्माणात्मक अनुशासनको ज्वलन्त उदाहरणको रूपमा लिन सक्छौँ, किनकि प्रेरितहरूले ती पत्रहरूलाई केमा विश्वास गर्ने र कसरी जिउने भनी मद्दत गर्न चर्चहरूका लागि लेखेका थिए ।  

(यस लेखका केही अंशलाई मार्क डेभरले लेख्नुभएको एक स्वस्थ चर्च भनेको के हो ? नामक पुस्तकबाट लिइएको छ)