आत्महत्या र मुक्ति

आत्महत्या र मुक्तिको विषयलाई लिएर हामीले सयौँ इमेल प्राप्त गर्ने गरेका छौँ । तर केही महिनादेखि यस विषयमा हामीलाई प्राप्त भइरहेको इमेल पास्टरको विषयमा पनि रहेको छ । जुम्लाबाट हाम्रा नियमित श्रोता, राजुले सोध्नु भएको छ, “पास्टर जोन, केही दिनअघि, स्थानीय चर्चका एक जना पास्टरले आत्महत्या गर्नुभयो । अब, नयाँ गरि जन्मिएका विश्वासीहरूको आत्मा के हुन्छ ? के यो अक्षम्य पाप हो ? के उनी विश्वासमा स्थिर नभएको कारण उनी कहिल्यै विश्वासी नै थिएनन् भन्ने कुरालाई जनाउँछ ? के आत्महत्या गर्ने मानिस स्वर्ग जान सम्भव छ ? पास्टर जोन यी कठिन प्रश्नहरू हुन् तर मलाई लाग्छ, यी प्रश्नहरूसँग तपाई अपरिचित हुनुहुन्न ।

मेरो जीवनमा आत्महत्याको केही घटनाहरू मैले नजिकबाट नियाँलेको र भोगेको छु । आफ्नो टाउकोमा गोली हानी आत्महत्या गर्ने व्यक्तिको मृत शरीरलाई प्रहरीले उठाए पछि मैले त्यो मृत शरीर फेला परेको कोठा सफा गरेको छु । ती व्यक्तिको श्रीमतीले यी सब नदेखुन् भनेर भुइँमा लत्पतिएका रगतलाई झाडु र कपडाले पुछेर ती कपडाहरू र रगत लागेका समानहरू बाहिर लगेर फालेको छु । र त्यसको ५ दिन पछि उनको अन्त्येष्टि गरेको छु । उनी आफ्नो विश्वासलाई स्वीकार गर्ने विश्वासी थिए । मेरो घर अघि रहेको मनोवैज्ञानिक अस्पतालबाट हामफालेर आत्महत्या गर्ने एक जवान युवतीको अन्त्येष्टि पनि गरेको छु ।

परमेश्वरमा भरोसा नगर्नु

हामी एउटा कुरामा स्पष्ट हौँ कि, आत्महत्या गम्भीर विषय हो । आफ्नै हत्या गर्नु भनेको आत्मिक र अनन्त रूपमा गम्भीर विषय हो, कुनै हल्का र साधारण विषय होइन । यदि मलाई सुनिरहनु भएकाहरूमध्ये कसैले आत्महत्याको बारे विचार गरिरहनुभएको छ भने, मैले भनी रहेको कुरालाई ध्यान दिएर सुन्नुहोस् । यस्तो जघन्य कार्य नगर्नुहोस् । त्यहाँ यो भन्दा अझ असल बाटोहरू छन् भनी म तपाईंलाई येशू ख्रीष्टको नाउँमा प्रत्याभूति दिलाउन चाहन्छु । हुनसक्छ, तपाईंले यो कुरा यस समयमा महसुस गरिरहनु भएको छैन र तपाईंको विचारहरू अडिग छैनन् । तर यो सत्य हो कि, परमेश्वरले तपाईंको निम्ति अर्को बाटो तयार गर्नुभएको छ । उहाँ जहिले पनि अर्को बाटो तयार गर्नुहुन्छ । परमेश्वरलाई पर्खनुहोस् र उहाँबाट सहायता लिनुहोस् । किनकि बाइबलले आत्महत्याको विषयलाई एकदमै गम्भीर विषयको रुपमा लिन्छ ।

१ यूहन्ना ३ः१५ ले भन्छ, “आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ ।” आफ्नो जीवनलाई आत्महत्या गरेर अन्त्य गर्ने सोच बनाइरहनुभएको मानिसहरूलाई यस कुराले भयभीत पार्नुपर्ने हो । अनन्त जीवन र हत्या एउटै धारमा बग्ने कुरा हैनन् । अब, के यूहन्नाले, हरेक मानिस जसले आफ्नो जीवनको कुनै क्षणमा घृणा गरेका छन् भने, उनी घृणास्पद व्यक्ति हुन् भनी भनिरहेका छन् ? अवश्य हैन । के उनले, हरेक व्यक्ति जसले कुनै क्षणमा हत्याको विचार गरेका थिए, ति व्यक्तिहरु हत्यारा हुन् भनी भनिरहेका छन् ? यो एकदमै महत्वपूर्ण प्रश्न हो ।

हो, बाइबलले हामीलाई बताउँछ कि उद्धार पाउनको लागि हामी अन्त्य सम्मै दृढ भइरहनु पर्छ, मर्कूस १३ः१३, हिब्रू ३ः१४– “यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्मै दृढतासाथ थामी राख्यौं भने, हामी ख्रीष्टको सहभागी भएका छौं ।” यो एकदमै गम्भीर चेतावनी हो । तर यसको अर्थ यो हैन कि– हाम्रो जीवनमा ख्रीष्ट प्रतिको हाम्रो भरोसा सधैँ स्थिर भइरहन्छ र हामीले कहिल्यै पनि पाप गर्दैनौँ । सबै मेरा पाप– यस बेलुकी वा भोलि मैले गर्न सक्ने पाप, हिजोको दिनमा मैले गरेको पाप, यी सबै केही तरिकामा परमेश्वरको सार्वभौमिकता माथिको हाम्रो अविश्वासमा जरा गाडिएको छ । र मैले पाप गर्दा अख्रीष्टियान र पाप नगर्दा ख्रीष्टियान भन्ने कुरा हुँदैन । यी दुवै अवस्थामा म ख्रीष्टियान हुन रोकिदिनँ ।

त्यसैले, हामी अन्त्यसम्मै दृढ भइरहनु पर्छ भन्नुको अर्थ, हामीले अन्त्य सम्मै पापरहित र सिद्ध भएर ख्रीष्टमा भरोसा गर्नुपर्छ भन्ने हुँदैन ।

हाम्रो अन्तिम कार्य

अब प्रश्न यो आउँछ कि, आत्महत्या गर्ने मानिस स्वर्ग जान्छ वा जादैन ? यस प्रश्नको निचोड यही हो किः यदि कोही व्यक्तिले ख्रीष्टलाई आफ्नो उद्धारकर्ता, प्रभु, धन र मुक्तिदाताको रूपमा विश्वास गरेको छ भने, के त्यस व्यक्तिले आफ्नो जीवनको अन्तिम क्षणमा गर्ने कार्यले उनी परमेश्वरको सन्तान हो वा होइन भन्ने कुराको निर्णय गर्दछ ? यो एउटा मुख्य प्रश्न हो । के अन्तिम कार्य हत्याले न्यायको दिनमा हामी ख्रीष्टमा छौ वा छैनौ भन्ने कुरालाई देखाउँछ ? के हामीले गर्ने अन्तिम कामले हाम्रो विश्वास साँचो भएको वा नभएको कुरालाई देखाउँछ ? वा हाम्रो जीवनका अन्य कार्यहरूलाई पनि हामी विश्वासको प्रमाणको रूपमा हेर्न सक्छौँ ?

म तपाईंलाई एउटा उदाहरण दिन चाहन्छु । यस उदाहरणले धेरै मानिसहरूलाई सहायता पुर्याएको छ, र तपाईंलाई पनि यसबाट सहायता मिलेको होस् भनी म आशा गर्दछु। मानौँ कि, कुनै रातको समयमा म मेरो श्रीमतीसँग धेरै क्रोधित भएँ र घर बाट निस्केँ । म आफ्नो कार भित्र पसी तिव्र गतिमा कारलाई झुक्याउदै अघि बढेँ । र म आफ्नो पापी स्वभावको कारण यति क्रोधित छु कि, मैले आफूलाई सम्हाल्न सकिरहेको छैन र ध्यान नदिई तीब्र गतिमा कार चलाइरहेको छु । तर केही पर पुगेपछि म जोडसँग विद्युतको पोलमा ठोकिन पुग्छु र मेरो भयानक दुर्घटना हुन्छ । विद्युतको पोल उछिट्टिएर धेरै पर पुग्छ र त्यसको केही घण्टा पछि मेरो निधन हुन्छ । मैले मेरो जीवनमा गरेको अन्तिम कार्य पाप थियो र पापको कार्यद्वारा नै आफैलाई मारें । आफ्नै हत्या गर्ने मेरो अभिप्राय थिएन तर दुर्भाग्यवस मैले आफैलाई मारें । के त्यो अन्तिम पापले म किन जन्मिएको थिए भन्ने कुराको निर्णय गर्दछ ?
मेरो उत्तर यही हो किः अवश्य रुपमा हैन । अर्को शब्दमा, परमेश्वरले मेरो जीवनलाई नियाल्नुहुन्छ । उहाँले मेरो सम्पूर्ण जीवनलाई नियाल्नुहुन्छ । मेरो जीवनमा मैले गरेको त्यो अन्तिम पाप र विगतमा गरेका ती अन्य पापहरू पनि । विगतका दिनहरूमा मैले गरेका पापहरू उतिकै भयानक र गम्भीर छन् भने मैले मेरो जीवनमा गरेको अन्तिम पापले म परमेश्वरको हो वा होइन भनी निर्धारण गर्न कसरी निर्णायक भूमिका खेल्न सक्छ र ?

निराशाको क्षणहरू


तब अन्तिम प्रश्न यो आउँछ कि, के एक ख्रीष्टियान आफ्नो जीवनमा यति धेरै निराश र केही क्षणको लागि सुसमाचारको आशाप्रति पूर्ण अन्धो हुन सक्छ कि उसले त्यस क्षणिक निराशाको कारण आफ्नो जीवनलाई नै मार्न पुग्छ ? मलाई लाग्छ यसको उत्तर– हो मार्न सक्छ ।
ख्रीष्टियान जीवनमा कठिन समयहरू आउँछन् र जान्छन् । तर हामीले भय मान्नु पर्ने एउटै कुरा भनेको येशूको अघि हत्याराको रूपमा भेटिनु हो । यो एकदमै भयानक रोजाइ हो । र आत्महत्याको जालमा फसेका व्यक्तिहरूको यस रोजाइ र निराशाको बीचमा पनि हामीले आशाको झन्डा फरफराउनु पर्दछ । साँचो विश्वासमा पनि यस्ता कठिन परिस्थितिहरू हुने गर्दछन् ।

Share your love
Default image
जोन पाइपर

जोन पाइपर desiringGod.org का संस्थापक तथा प्रमुख शिक्षक साथै मेनेसोटा, मिनियापोलिस USA मा अवस्थित बेथलेहेम कलेज र सेमिनरीका कुलपति हुन् । ३३ वर्षसम्म उनले बेथलेहेम बप्तिस चर्चमा पास्टरको रूपमा सेवा गरे । उनी जीवित पुस्तक साहित ५० भन्दा बढी पुस्तकहरूका लेखेक हुन् ।

Articles: 10