के परमेश्वर मैले गलत गरेको कारण, रिसउठाएको कारण वा मेरो गलत रोजाइले गर्दा क्रोधित हुनुहुन्छ ? हामीलाई यसप्रकारका प्रश्न धेरै मात्रामा प्राप्त हुने गर्दछ प्रायस् ती मानिसहरूबाट जसको जीवनमा तिनीहरुले सोचे जस्तो केहि पनि भइरहेको छैन । आजको यस शृङ्खलामा हामी रिताले सोध्नुभएको प्रश्नलाई हेर्नेछौँ ।

“जयमसीह पास्टर जोन ! कतै मैले परमेश्वरलाई सधैँको निम्ति गुमाएको छु कि भन्ने मलाई डर छ । कुनै समयमा म आफ्नो चर्चमा एकदमै सक्रिय थिएँ । म परमेश्वरमा आनन्दित थिएँ र मैले पवित्र आत्माको अनुभव गरेकी थिएँ । म हरसमय परमेश्वरको बारेमा गाइरहेकी र कुरा गरिरहेकी हुन्थेँ । ३ वर्षअघि मैले मेरो प्रेमीलाई भेटेँ । अहिले उसको र मेरो सम्बन्ध बिग्रिसकेको छ । उसले मलाई भन्ने गथ्र्योे कि, चर्चप्रति समर्पित हुनु र चर्चको विषयलाई लिएर आनन्दित हुनु भ्रम मात्र हो । त्यसैकारण, यी सब कुरामा बढी ध्यान नदेऊ । त्यस समयमा मलाई उसले छोड्ला कि भन्ने डर थियो । त्यसैले मैले विस्तारै चर्च जान छोडेँ । यसरी मेरो प्रार्थना र गायनको जीवन पनि कमहुँदै गयो । म प्रेम सम्बन्धमा रहँदा चर्चबाट टाढा भएँ । ऊसँग मेरो विवाह हुन्छ होला भनी मैले सोचेकी थिएँ ।

अहिले, मेरो प्रेम सम्बन्ध बिग्रिसकेको छ । परमेश्वर मसँग दुखी हुनुहुन्छ होला भन्ने महसुस गर्छु । किनकि विवाहपूर्व नै मैले शारीरिक सम्बन्ध राखेको थिएँ । म आफ्नै स्वास्थ्य समस्या र बुबालाई क्यान्सर भएको कारण क्रोधित थिएँ— अति दुखित पनि । म परमेश्वरतर्फ फर्कन चाहन्छु, तर कतै मेरो हृदय कठोर भएको छ कि भनी मलाई डरलाग्छ । जब म चर्च जान्छु तब म पीडा महसुस गर्छु । के म हराएको छु ? के मेरो लागि पुनर्मिलनको आशा छ ? मलाई लाग्छ कि मैले पुनः प्राप्त नहुनेगरी केही महत्वपूर्ण कुरालाई गुमाएको छु ।

रिता, मसँग तपाईंको निम्ति ठुलो आशा छ– जुन बलियो जग बसालिएको आशा हो । तर त्यस आशाको कारण दिनुअघि र त्यस आशामा तपाईंलाई आमन्त्रित गर्नुअघि, म तपाईंलाई केही कुरा स्पष्ट पार्न चाहन्छु । यो कुराले सायद तपाईंलाई नराम्रो महसुस गराउन सक्छ । म तपाईंलाई यो भन्न चाहन्छु कि यदि तपाईंले मेरो कुरालाई अन्त्यसम्मै सुन्नुभयो भने त्यो असल समाचार हुनेछ ।

झूटा अगमवक्तालाई पछ्याउनु
तपाईंलाई लाग्छ कि तपाईंले गर्नुभएको गल्तीहरूले गर्दा परमेश्वरले तपाईंलाई उहाँसँग पुनः मिलापमा ल्याउनुहुन्न । विवाहपूर्व नै तपाईंले शारीरिक सम्बन्ध राख्नुभयो, चर्च छोड्नुभयो र आफ्नो स्वास्थ्य समस्या र बुबालाई क्यान्सर भएको कारण तपाईं परमेश्वरसँग रिसाउनुभयो । तपाईंले ठिकै भन्नुभयो । तर, पहिला आत्मिक रूपमा बलियो हुनुहुन्थ्यो, चर्चमा सक्रिय र ख्रीष्टमा आनन्दित हुनुहुन्थ्यो भनी तपाईंले बताउनुभएको छ । तपाईंले पवित्र आत्माको वरदानहरूको अनुभव गर्नुभएको थियो । र परमेश्वरको बारेमा कुरा गर्ने र गाउने गर्नुहुन्थ्यो ।

म चाहन्छु कि तपाईंले एउटा सम्भावनाको बारेमा विचार गर्नुभएको होस् । मलाई लाग्छ, सायद मामिला यही हो कि ती दिनहरूमा तपाईंको आत्मिक अवस्था तपाईंले सोचे जस्तो थिएन । तपाईंले धार्मिक अनुभवहरू लिइरहनुभएको थियो जस्तैः चर्च, आनन्द, वरदान र गायन । तर, जब वास्तविक आज्ञाकारिताको कुरा आयो, तब तपाईंले आफैलाई ख्रीष्टबाट टाढा पुर्याउने प्रेमीको सट्टामा ख्रीष्टलाई रोज्नु पर्दथ्यो— तर तपाईंले प्रेमीलाई रोज्नुभयो । तपाईंको अवस्था ती इस्राएलीहरूको जस्तै थियो । जहाँ मोशाले भनेका छन,

“तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्वप्न–दर्शी चमत्कारी चिन्ह वा आश्चर्यकर्म देखाउन तत्पर हुन्छ, र त्यसले भनेको चिन्ह वा चमत्कार घटेपछि तिमीले नचिनेका “अन्य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्यसले भन्यो भने, तिमीहरूले त्यस अगमवक्ता वा स्वप्न–दर्शीका कुरा नसुन्नु । त्यो त तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो” (व्यवस्था १३ः१–३) ।

एक अर्थमा मैले तपाईंको निम्ति यी विषय झन् कठिन बनाइरहेको छु, हैन र ? मलाई थाहा छ यो राम्रो सुनिँदैन, तर सत्य यही हो कि तपाईं परीक्षामा असफल हुनुभयो । तपाईंले येशूको सट्टामा गलत अगमवक्ता रोज्नुभयो ।

सुन्दर उद्धार
म अब, यो किन तपाईंको निम्ति असल समाचार हुनसक्छ भनी बताउन चाहन्छु । तपाईंले आफ्नो जीवनका ती विगतका वर्षहरूलाई परमेश्वरसँगको घनिष्टताबाट अलग्गिएको वर्षको रूपमा बताउनुभएको छ । तर म यो भन्न चाहन्छु कि, सायद परमेश्वरले तपाईंको जीवनमा केही नयाँ काम गरिरहनुभएको छ । यी दिनहरूमा परमेश्वरले तपाईंलाई उहाँको घनिष्टताबाट टाढा जान दिइरहनुभएको छैन । तर उहाँसँगको देखावटी घनिष्टताबाट उद्धार गरिरहनुभएको छ । मैले भनेका यी कुरालाई तपाईंले फेरि पनि सुन्नु असल हुन्छ ।

मैले भन्न चाहेको कुरा यही हो कि, यी बितेका केही महिना वा वर्षहरूमा (मलाई थाहा छैन यी विचारहरू तपाईंभित्र कहिलेदेखि छन्) परमेश्वरले तपाईंलाई उहाँसँगको घनिष्टतालाई गुमाउन दिइरहनुभएको छैन, तर ती देखावटी घनिष्टताबाट उद्धार गरिरहनुभएको छ ।

तपाईंको यात्रा धेरै धार्मिक थियो, तर वास्तविक थिएन । तपाईंले ख्रीष्टलाई भन्दा आफ्नो प्रेमीलाई बढी महत्वको ठान्नुभयो र यसले यही जनाउँछ कि परमेश्वरसँग तपाईंको सम्बन्ध घनिष्ट थिएन । त्यो सम्बन्धको जे थियो, त्यसलाई परमेश्वरले तोड्नुभयो ।

एक असल योजना
त्यस भग्नावशेषको पीडाहरूद्वारा परमेश्वरले तपाईंको हृदयमा उहाँको निम्ति एउटा नयाँ इच्छाको थालनी गर्नुभएको छ । उहाँले तपाईंलाई त्यही पुरानो प्रकारको आनन्द, गीत र चर्च जीवनका निम्ति बोलाइरहनुभएको छैन।

उहाँले तपाईंलाई त्यही पुरानो प्रकारको विश्वासमा बोलाइरहनुभएको छैन, जसले हृदयलाई ढाकछोप गर्दछ । जुन हृदयले तपाईंलाई प्रेमी पाएपछि मूर्तिपूजातिर डोर्यायो । उहाँले तपाईंको निम्ति यी सबैभन्दा असल योजना बनाउनुभएको छ ।

उहाँले तपाईंलाई त्यस झूटो विश्वासबाट निकालिरहनुभएको छ । परमेश्वरले कुनै कमजोर र सतही विश्वासालाई पुर्नस्थापित गरीरहनुभएको छैन, जसले तपाईंलाई एक अख्रीष्टियानको हातबाट सुरक्षित राख्न सकेन । उहाँले त्यस सम्बन्धलाई तोड्नुभयो र तपाईंलाई बचाउनुभयो । उहाँले तपाईंलाई त्यस मानिससँग विवाह हुनबाट बचाउनुभयो । कति ठूलो उपहार ।

बलियो हुन बोलाइएको
परमेश्वरले त्यो भन्दा गहिरो र असल कुरा गरिरहनुभएको छ । यो साँच्चै परमेश्वरबाट हो वा हैन भनी तपाईंले जाँच गर्नुपर्छ । उहाँले गहिरो, बलियो र सैद्धान्तिक रूपमा साँचो ख्रीष्टलाई महिमा दिने, बाइबल सम्बद्ध र हल्लाउन नसकिने नयाँपनको लक्ष्य राख्नुभएको छ । तपाईंको त्यही पुरानो धार्मिकपनको लक्ष्य होइन, जसले ख्रीष्टलाई यहूदाले झैँ ३० चाँदीको सिक्काको निम्ति बेचिदिन्छ ।

रिता, म, तपाईं यसो भनिरहेको कल्पना गर्नसक्छु, “ओहो ! पास्टर जोनले मलाई कति कडा रूपमा भन्नुभएको ।” रिता, यी शब्दहरू कडा छन् भनी जान्दाजान्दै पनि मैले यो लेखेको हुँ । किनकि म तपाईं बलियो भएको चाहन्छु ।

म चाहन्छु कि, तपाईं ख्रीष्टप्रतिको निष्ठा र उहाँलाई नै सर्वोच्च धन मान्ने कुरामा बलियो, अटल र मजबुत हुनुभएको होस् । कुनै कमजोर, चर्च जाने तर सजिलै बहकिने कमजोर मनोभावना भएको मानिस नबन्नुस् । म तपाईंको राजा र सर्वोच्च धनतर्फ तपाईंको प्रमुख, गहिरो, अटल, वास्तविक निष्ठाको बारेमा कुरा गरिरहेको छु । तपाईंलाई कमजोर बनाउने मेरो इच्छा होइन । म तपाईं बलियो भएको चाहन्छु ।

परमेश्वरले तपाईंको जीवनमा गरिरहनुभएको कार्यको बारेमा मैले गर्नसक्ने सकारात्मक अनुमान यही नै हो ।

सिद्ध धैर्य
म तपाईंलाई नैराश्यको बदलामा आशाको अनुभव गर्नका लागि केही बाइबलीय कारणहरू दिन चाहन्छु । मलाई लाग्छ जब तपाईंले यी सत्यताहरूलाई पक्रिनुहुन्छ र त्यस सत्यताले शैतानलाई ढाल्नुहुनेछ, तब तपाईंको हृदयमा भएको पीडा हराउनेछ । इजकिएल १६ पढ्नुहोस् भनी म तपाईंलाई सुझाव दिन चाहन्छु । यस अध्यायले इस्राएल र उसका पति र परमेश्वरको बीचमा रहेको अविश्वासलाई देखाएको छ । यस अध्यायमा परमेश्वरले इस्राएललाई त्याग्नुभएको कुरालाई देखाएको छ । उहाँले इस्राएललाई भयानक, डरलाग्दो न्यायमा छोडी दिनुभएको छ । यो ६३ वटा पदहरू रहेको एकदमै लामो अध्याय हो । तर, म तपाईंलाई यही भन्न चाहन्छु कि, ती अन्तिम ५ पदमा नपुगेसम्म पढीरहनुहास् । ती पदहरू एकदमै आश्चर्यपूर्ण र चकित पार्ने अनुग्रही क्षमाको रूपमा देखा पर्नेछन् । म ती पदहरू तपाईंको निम्ति पढ्न चाहन्छु ।

“यसरी म तँसित मेरो करार बाँध्नेछु र तैँले जान्नेछस्, कि म नै परमप्रभु हुँ । जब तैँले गरेका सबै कामका निम्ति म प्रायश्चित गर्छु तब तैँले सम्झनेछस्, र त लज्जित हुनेछस् , अनि तेरो अपमानित अवस्थाको कारणले तैँले आफ्नो मुख फेरि कहिल्यै उघार्नेछैनस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ इजकिएल ” (१६ः६२–६३ ) ।

अझ स्पष्ट रूपमा भन्नुपर्दा, परमेश्वरले पावललाई किन उनले गरेको ख्रीष्टियानको हत्या र चर्चको सतवाटपछि मात्र बचाउनुभयो ? भन्ने कुरालाई विचार गर्नुहोस् । पावल यसरी यी कारणहरू दिन्छन् जुन तपाइले सुन्नैपर्छ— “तर यस कारण मैले कृपा पाए, कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशू ख्रीष्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकुन्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्न सकूँ” (१ तिमोथी १ः १६)।
रिता, परमेश्वरले पावललाई व्यवस्थावादी र ख्रीष्टियानहरूको हत्यारा हुँदाहुँदै पनि बचाउनुभयो, ताकि तपाईंले ख्रीष्टको सिद्ध धैर्यलाई महसुस गर्न सक्नुभएको होस् र उहाँमाथि विश्वास गर्नुभएको होस् । म यही प्रार्थना गर्छु कि परमेश्वरले तपाईंलाई यी सबै कुरालाई देख्न र महसुस गर्नसक्ने बनाउनुभएको होस्, र आनन्दित भइ घर फर्काउनुुभएको होस् l

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।