१. के अभिभावकको अनुमति जरुरी छ?
२. के विवाहमा पश्चिमेली परम्परा पछ्याउनु पर्छ?
३. के चर्चमा कुनै किसिमको ख्रीष्टियान कार्यक्रम नराखी कानुनी रूपमा बिहे दर्ता गरेर पास्टरीय आशिष थाप्दा हुदैन र?

म यी प्रश्नहरूको एक एक गरी उत्तर दिन चाहन्छु।

अभिभावकीय आशिष
पहिलो, के विवाहको लागि अभिभावकको अनुमति जरुरी छ? मलाई लाग्छ यो प्रश्न सबैभन्दा महत्वपूर्ण छ, र यस प्रश्नको मसँग पाँच सुझावहरू छन्।

१) आफ्नो अभिभावकको मान गर्नुहोस्।
बाइबलीय आज्ञाहरूमध्ये सबैभन्दा आधारभूत आज्ञा भनेको “आफ्ना बुबा र आमाको मान गर” हो (एफिसी ६:२)। प्रभुमा आफ्ना आमाबुबाको आज्ञापालन गर्ने (पद १) आज्ञा भन्दा मान गर्ने आज्ञा झन वृहत र फराकिलो छ। त्यसकारण, विवाह गर्ने विचार गरिरहेका जोडीहरूलाई म प्रार्थना गर्न, कुरा गर्न र अभिभावको आशिष पर्खिन उत्साह दिन चाहन्छु। कहिलेसम्म पर्खिने भन्ने कुरा बिभिन्न कारणहरूमा भर पर्दछ भन्ने विषयमा म एकैछिनमा कुरा गर्नेछु, तर अहिलेलाई म यही भन्न चाहन्छु कि यदि लामो समयसम्म पर्खिनु पर्छ भने पनि पर्खनुहोस्, किनकि पर्खिनु उचित हुन्छ। तर, जिन्दगीभर पर्खिनुपर्छ भन्ने छैन। र हामीले आफ्नो अभिभावकलाई हामी उनीहरूबाटको आशिषको उत्कट चाह गर्छौँ भनी बताउनुपर्छ। यदि तपाईंको अभिभावकले तपाईं जिद्दी हुनुहुन्न तर उनीहरूको आशिषको उत्कट चाह गर्नुहुन्छ भन्ने कुरा महसुस गरे, र तपाईंले देखाउन सक्नुभयो भने, उनीहरू मञ्जुर हुनेछन्। यो मेरो पहिलो सुझाव हो।

२) आफ्ना बुबाआमा भन्दा ख्रीष्ट महान हुनुहुन्छ
ख्रीष्टियान जीवनमा हामी सबै भन्दा बढी आफ्ना बुबा र आमाको आज्ञापालन गर्दैनौँ, तर येशू ख्रीष्टको आज्ञापालन गर्छौँ। र यो म मत्ती १०:३५-३७ मा येशूले भन्नुभएको कुराको आधारमा भन्दैछु: “म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ…जसले मलाई भन्दा बढ़ी आफ्ना बुबा वा आमालाई प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन”। अर्को शब्दमा भन्नुपर्दा, हामी सबैभन्दा बढी आफ्ना बुबा र आमाको आदर गर्दैनौँ तर येशूको गर्दछौँ। तर यसको अर्थ यो होइन कि तपाईं आफ्नो बुबाआमासँग मनलाग्दी गर्न सक्नुहुन्छ, तर यसको अर्थ यो हो कि अब यस संसारमा येशूप्रति बफादारी हुने कुरा अभिभावकहरूप्रति बफादारी हुने कुरा भन्दा ठूलो छ।

३) सांस्कृतिक वास्तविकता
हामीले यो कुरा स्वीकार गर्नैपर्छ कि फरक जाति समुहहरूमा सांस्कृतिक वास्तविकताहरूले विवाहमा कसरी अगि बध्ने भन्ने कुरामा ठूलो भूमिका खेलेको हुन्छ। १ कोरोन्थी १३:५ मा पावलले भनेको कुरा म सम्झन्छु (यसको लागि म के. जे. भी. बाइबल प्रयोग गर्दैछु): “प्रेमले रुखो व्यवहार गर्दैन”। यहाँ प्रयोग गरिएको ‘रुखो’ शब्दको अर्थ ‘प्रेमले परम्परालाई तुच्छ ठान्दैन’ भन्ने हुन्छ। प्रेमले रीतिरिवाजलाई गोली मार्दैन। प्रेमले चलनचल्तीलाई तिरस्कार गर्दैन। प्रेमले अनावश्यक रूपमा सांस्कृतिक परम्पराहरूलाई तुच्छ ठान्दैन। त्यसकारण, यतिखेर मैले दिइरहेको सुझावहरूको कार्यन्वयन फरक संस्कृतिहरूमा एकदमै फरक देखिन सक्छ, र त्यो पूर्ण सापेक्षवाद होइन। यो त प्रेमको सिद्धान्तको एक विवेकशील कार्यन्वयन हो।

४) न्याय गर्न अयोग्य
अभिभावकको विषयमा मेरो चौथौँ सल्लाह यस प्रकार छ: यदि येशूप्रतिको बफादारीताले तपाईंलाई कसैसँग बिहे गर्न डोर्याइरहेको छ भनी तपाईं विश्वास गर्नुहुन्छ, तर तपाईंको अभिभावकले बिहे गर्ने अनुमति दिदैन भने, तपाईंले गम्भिर भएर यो प्रश्न गर्नैपर्छ: “के मेरा आभिभावकहरूले परमेश्वरको राज्यको मानिसहरूको रूपमा न्याय गर्न आफैलाई अयोग्य सावित गरेका हुन त? सायद, हुनसक्छ। सायद तपाईंको अभिभावकहरू ख्रीष्टियान नहुन पनि सक्छन्। तर यो कुरा राम्रोसँग पक्का गर्नुहोस्। यो प्रश्न एकदमै महत्वपूर्ण छ। “के मेरा अभिभावकले, उहाँहरूको सबै अनुभव र म प्रतिको प्रेम र बुद्धिको बावजुत, यस मामिलामा राज्यका मानिसहरूको रूपमा न्याय गर्न आफैलाई अयोग्य सावित गरेका हुन त, जुन न्यायसँग म असहमत छु?

५) अवज्ञा नगर्नुहोस्
अभिभावकको विषयमा मैले दिने अन्तिम सल्लाह भनेको, बिहे गर्ने कुरामा तपाईं अगाडि बढे तापनि, आफ्नो अभिभावकप्रति अवज्ञाको भावना नराख्नुहोस्, अथवा उनीहरूको विचारले खासै फरक पार्दैन जस्तो गरी उनीहरूसँग व्यवहार नगर्नुहोस्। नम्रताको आत्मा कायम राख्नुहोस् र प्रार्थना गर्नुहोस्, ताकि उनीहरूले तपाईं उनीहरूबाट केवल आशिष चाहनुहुन्छ भन्ने कुरा बुझ्न सकून्।

नयाँ परम्परा
र दोस्रो प्रश्न, के विवाहमा पश्चिमेली परम्परा पछ्याउनु पर्छ? जस्तै, सेतो गाउन, चर्चमा कार्यक्रम, दुलही सबैको बिचबाट हिडेर अगाडि जाने। यसको उत्तर एकदमै सजिलो छ: अहँ, पर्दैन। तर यदि तपाईं यस्ता परम्परा पछ्याउने संस्कृतिमा हुनुहुन्छ भने, चलिरहेको परम्परा भन्दा फरक किसिमले नयाँ परम्परा सुरु गर्दै) बिहे गर्न चाहनुहुन्छ भने, तपाईंले ख्रीष्टलाई उचाल्ने, असल, बाइबलीय कारणहरू जुटाउनुपर्ने हुन्छ।

विवाहको प्रमाणपत्रमा हस्ताक्षर
तेस्रो प्रश्न: चर्चमा बिहे गर्नुको सट्टा, के वडा कार्यालयमा विवाह दर्ता गरेर पास्टरलाई आशिषको प्रार्थना गरी मागे पुग्दैन र?

मैले यस प्रश्नको ठीक विपरित सुन्ने गर्थे भन्ने कुरा यहाँ उल्लेख गर्नु उपयोगी हुन्छ जस्तो लाग्यो मलाई। जस्तै, के कानुनी रूपमा बिहे दर्ता नगरी चर्चमा बिहे मात्र गर्दा हुँदैन र? कति कुराहरू परिवर्तन भइसकेको देखेर म छक्क पर्छु। यी दुवै प्रश्नहरूको उत्तरमा म जवान भाइबहिनीहरूलाई यही उत्साह दिन चाहन्छु कि विवाहको विषयमा कुरा र व्यवहार गर्दा, परमेश्वरले रचना गर्नुभएको र राज्यद्वारा स्वीकृति पाएको विवाह अब पुरानो, र कमजोर भयो, र धेरै पवित्र सुनियो भनेर यसलाई पुन: आविष्कार गर्न नखोज्नुहोस्। मलाई लाग्छ हिजो आज विवाहलाई लिएर व्यक्तिगत रचनात्मकताको नाउँमा मानिसहरू बढी नै तडकभडक गरिरहेका हुन्छन्। मेरो विचारमा विवाह गर्ने जोडीहरूले एकछिन रोकिएर परमेश्वरको विवाहको आदेश जस्तो यति भव्य र पवित्र र यति पुरानो कुरालाई लिएर तिनीहरू सृजनशील हुन योग्य छन् कि छैनन् भनेर विचार हुनुपर्छ।

यो हुन सक्छ कि वैवाहिक कार्यक्रमले विवाह हुने जोडीको अद्वितीयपना व्यक्त गर्नु हुँदैन। कसैले, “हामीले हामी अरूहरूभन्दा कति फरक छौँ भनी देखाउनु पर्छ” भन्छन्। तर, किन? सायद ठीक यसको उल्टो हुनसक्छ। तपाईं हजारौं वर्षदेखि चलिआइरहेको र स्वर्गमा उत्पति भएको कुरामा सामेल हुनुहुदैछ, र तपाईंले सोच्नु पर्ने अन्तिम कुरा भनेको रचनात्मकता र अद्वितीयपनाको बारेमा हो, बरू तपाईं यसरी सोच्नुहुन्छ: ”हामीलाई यहाँ परमेश्वरले सृष्टि गरिरहनुभएको कुरामा हामीलाई प्रवेश दिइएको छ। आऔं हामी यसलाई सकेसम्म पवित्र, अलग, आनन्दमय, र दृढ बनाऔँ”। म विवाहको बारेमा यसरी सोच्ने सन्दर्भमा धेरै मानसिकताहरू परिवर्तन गर्न चाहन्छु।

बाइबलले हामीलाई ख्रीष्टियान वैवाहिक कार्यक्रम राख्नैपर्छ र विवाह दर्ता गर्नै पर्छ भनेर आज्ञा गरेको कारण हामी यो सब गर्दैनौँ, तर ख्रीष्टियान चेलापनको पक्षहरूले यी दुवैलाई विवेक प्रयोग गर्नुपर्ने विषयको रूपमा प्रस्तुत गरेको छ। एकातिर, हामी यस संसारको नागरिक हौँ, र हामी रोमी १३ र १ पत्रुस २ मा पाइने प्रशासकहरूको अधीनमा बस्न बोलाइएका छौँ। यसको अर्थ, यदि पाप संलग्न छैन भने, ख्रीष्टियानहरूले विवाहको कानुनी मागहरूबाट उम्किने कोसिस गर्नुहुँदैन्।

तर अर्कोतर्फ, राज्यले विवाह सृजना गर्दैन। परमेश्वरले विवाह सृजना गर्नुहुन्छ। येशूले भन्नुभयो, “यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले छुट्याओस्” (मत्ती १९:६)। राज्यले होइन, पास्टर वा पूजाहारीले होइन, अभिभावकले पनि होइन, न त विवाहित जोडीले नै, तर केवल परमेश्वरले विवाहमा दुई जनालाई एक बनाउनुहुन्छ। परमेश्वरले विवाह स्वर्गमा बनाउनुहुन्छ र यो मृत्यु बाहेक कुनै पनि कुराले तोड्न सक्दैन। विवाह परमेश्वरले बनाउनुभएको हो। त्यसकारण, कुनै मानिसले नछुट्ट्याओस्।

त्यसैले, मेरो लागि यो एकदमै सुहाउँदो लाग्छ कि मृत्युले मात्र तोड्न मिल्ने विवाह जस्तो पवित्र, अलग, र ईश्वरीय कार्यको गम्भीरता व्यक्त गर्ने कुनै ख्रीष्टियान समरोह होस्। तसर्थ, ग्लोरीयालाई मेरो अन्तिम शब्द यो छ: येशूप्रति पूर्ण बफादारिताको बाइबल-संतृप्त नम्र आत्मा बिकाश गर्नुहोस्, र बुबाआमा वा परम्पराप्रतिको अवज्ञा गर्दै आफैलाई उचाल्ने कुनै पनि परीक्षाबाट आफूलाई सुरक्षित राख्नुहोस्। पहिले राज्यको खोजी गर्नुहोस्, र परमेश्वरले तपाईंलाई बाटो देखाउनुहुनेछ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।