“राज्य” को विषय येशूको निम्ति एउटा ठुलो विषय हो । इएसभी संस्करणको बाइबलमा, “राज्य” शब्दलाई १२६ पटक उल्लेख गरिएको छ। तर नयाँ करारको अरू पत्रहरूमा भने केवल ३४ पटक उल्लेख गरिएको छ । जसले हाम्रो मित्र क्रिष्टोफरलाई युकेबाट यो पत्र लेख्न प्रेरित गर्‍यो, “जय मसीह पास्टर जोन ! यस उत्कृष्ट पोड्कास्ट कार्यक्रमको लागि तपाईंलाई धन्यवाद ! म जस्ता कयौँ अपरिचित व्यक्तिहरूले सोध्ने गरेका जटिल र कठिन प्रश्नहरूको उत्तर दिनका लागि तपाईंले गर्नुहुने परिश्रम देखेर म चकित भएको छु । मेरो प्रश्न यसप्रकार छ, “मत्तीको पुस्तकमा मात्रै ख्रीष्टको आउनेवाला राज्यको बारेमा ५५ पटक उल्लेख गरिएको छ । तर प्रेरितको पुस्तक र अन्य पत्रहरूमा भने “राज्य” को बारेमा कमै मात्र उल्लेख गरिएको छ । यो “परमेश्वरको राज्य भनेको के हो ?” के यो चर्च हो वा अरू नै केही ?

हाम्रा मित्र क्रिष्टोफरले सोध्नुभएको प्रश्नमा म दुईओटा प्रश्न भेटाउँछु :

१) परमेश्वरको राज्य भनेको के हो ?
२) येशू ख्रीष्टको शिक्षामा किन यो विषय महत्वपूर्ण र स्पष्ट छ, तर अन्य पत्रहरूमा भने कमै मात्रामा उल्लेख गरिएको छ ?

प्रभुत्व र शासन
“राज्य” शब्दलाई विभिन्न तरिकाले प्रयोग गरिएको भए तापनि मानिसहरूलाई परमेश्वरको राज्यको बारेमा बुझाउनको लागि, मैले भन्नसक्ने सबैभन्दा महत्वपूर्ण कुरा यही हो कि “राज्य” शब्दले परमेश्वरको शासनलाई जनाउँछ, क्षेत्र, सिमाना वा मानिसहरूलाई होइन । राज्यले क्षेत्रको सिर्जना गर्दछ, राज्यले मानिसहरूको सिर्जना गर्दछ तर तिनीहरू नै परमेश्वरको राज्य भने होइन ।

उदाहरणको लागि, भजनसंग्रह १०३ः१९ “परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर गर्नुभएको छ, र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ । “राज्य” को मुख्य अर्थ भनेको “प्रभुत्व” हो भनी तपाईंले यस पदमा पाउनुहुन्छ । यसको अर्थ यो पनि हैन कि उहाँले आफ्नो क्षेत्राधिकारमा प्रभुत्व जमाउनुहुन्छ तर यसको अर्थ यही हो कि परमेश्वरले सबै कुरामाथि प्रभुत्व र शासन गर्नुहुन्छ ।

उहाँ ब्रह्माण्डको शासकको रूपमा आफ्नो सिंहासनमा बस्नुहुन्छ र उहाँको राजकीय प्रभुत्वमा— उहाँको राज्य र उहाँको शासनद्वारा— सबै कुरामाथि शासन गर्नुहुन्छ । बाइबलमा “राज्य” शब्दको मुख्य अर्थ भनेको उहाँको राजकीय प्रभुत्व— उहाँको शासन, उहाँको कार्य र उहाँको सार्वभौम प्रशासन हो ।

पापीहरूलाई बचाउनु
यस संसारको लागि परमेश्वरको उद्देश्य भनेको मानिसहरूलाई आफ्नो निम्ति बचाउनु र ती मानिसहरूको लागि यस संसारलाई नवीकरण गर्नु हो । किनकि उहाँको राजकीय शासनले ती मानिसहरूको हितको लागि तिनीहरूलाई बचाउने र उद्धार गर्ने कार्यको सङ्केत
गर्दछ । त्यसैकारण नयाँ करारमा परमेश्वरको राज्यको आगमनलाई असल समाचार भनिएको छ ।

पहिला, पाप, शैतान र मृत्युमाथि विजय प्राप्त गरी— उहाँको मानिसहरूको हृदयमा र उनीहरूसँगको सम्बन्धमा ख्रीष्टभित्र र ख्रीष्टद्वारा, परमेश्वर राजा, नवीन तरिकामा यस संसारमा उहाँको बचाउने शासन स्थापित गर्नको निम्ति आउँदै हुनुहुन्छ । त्यसपश्चात् उहाँले उहाँको शासनको अभ्यासद्वारा उहाँको मानिसहरूलाई नयाँ राज्यप्रति निष्ठा प्रकट गर्दै, जिउनको लागि नयाँ नागरिकको समूहको रूपमा भेला गर्नुहुनेछ । तब ख्रीष्ट दोस्रोपटक आउनुहुन्छ र नयाँ स्वर्ग र नयाँ पृथ्वी स्थापित गर्दै यस शासनलाई पूरा गर्नुहुनेछ ।

भइसकेको, तर अझै हुन बाँकी
सुसमाचारको पुस्तकमा येशू ख्रीष्टले “राज्य” को बारेमा सिकाउँदै गर्नुहुँदा, तपाईंले यस्तो चित्र पाउनुुहुन्छ कि उहाँको राज्य अहिले यस संसारमा छ, र त्यो भविष्यमा पनि हुन बाँकी छ । वास्तवमा, राज्यको रहस्यको बारेमा उहाँले भन्न खोज्नुभएको कुरा यही हो कि– उहाँको राज्य अहिले उपस्थित छ तर त्यो अहिले नै पूर्ण भइसकेको छैन ।

लूका १९ः११ मा यरूशलेमको नजिक हुँदा येशूले एउटा दृष्टान्त भन्नुभएको थियो, तर मानिसहरूले परमेश्वरको राज्य छिटै आउनेछ भनेर अनुमान गरेका थिए । तर येशूलाई थाहा थियो कि उहाँको राज्य छिटै आउनेवाला थिएन तापनि येशूले बारम्बार यसो भन्नुभयो, “परमेश्वरको राज्य नजिक छ। पश्चाताप गर, किनभने परमेश्वरको राज्य नजिक आएको छ ।”

वास्तवमा, लूका ११ः२० मा उहाँले अझ प्रष्टसँग बताउनुभएको छ— “तर परमेश्वरको औँलाले म भूतहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ ।” लूका १७ः२१ मा उहाँले अझ स्पष्ट रूपमा भन्नुभएको छ, “हेर परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ ।”

परमेश्वरको राज्य कसरी “अझै पनि नआएको” र “पहिल्यै आइसकेको” हुनसक्छ ? उहाँ भन्नुहुन्छ, “प्रार्थना गर । त्यो आइरहेछ । त्यो अझै पनि यहाँ आएको छैन । त्यो छिटै आउने छैन तर पनि हाम्रो माझमा, तिमीहरूकै माथि, तिमीहरूकै हातमा छ । उहाँले कसरी यी सब भन्न सक्नुहुन्छ ?

यसको उत्तर यही हो कि परमेश्वरको राज्य उहाँको शासन हो— उहाँको सार्वभौम कार्य— यस संसारमा उहाँको मानिसहरूलाई बचाउन र उद्धार गर्न, र भविष्यमा पनि उहाँको मानिसहरू र यस ब्रह्माण्डलाई पूर्णरूपमा नवीकरण गर्न ।

हामी पाउँछौ कि येशूको शिक्षामा “परमेश्वरको राज्य” वा “स्वर्गको राज्य” को बारेमा महत्वपूर्ण तरिकाले स्पष्ट रूपमा बताइएको छ । तर अरू पत्रहरूमा भने कमै मात्रमा समावेश गरिएको छ । यस विषयमा हामी के भन्न सक्छौँ ?

मेरो सुझाव यही हो कि, आफ्नो जीवनकालभरि नै येशूले एकतर्फी आफैलाई परमेश्वरको पुत्र र देहधारी परमेश्वरको रूपमा चिनाइरहनुभएको थियो । अर्कोतर्फ, आफ्नो वास्तविकतालाई मानिसहरूबाट लुकाउनुभयो । ताकि मानिसहरूले उहाँलाई यस पृथ्वीको राजा नबनाओस् (जसरी तिनीहरूले यूहन्ना ६ मा गर्न चाहेका थिए) ।

तिनीहरू उहाँलाई राजा बनाउन तयार थिए । हामी देख्न सक्छौँ कि येशूले बारम्बार मानिसहरूलाई उहाँको बारेमा तिनीहरूले देखेको कुरा अरूलाई नबताउनु भनी भन्नुभएको थियो (मत्ती १७ः९; मर्कूस ७ः३६) । किनकि उहाँको राज्याधिकारको विषयेमा यी कुराहरूले व्यापक असमझदारी पैदा गर्न सक्थ्यो, जसले गर्दा राजनैतिक विद्रोहको सिर्जना हुनसक्थ्यो ।

तर उहाँ यस संसारको राजा बन्नको निम्ति हैन, क्रूसमा टाँगिनको निम्ति आउनुभयो । उहाँ सिंहासनमा बस्नको निम्ति हैन, मर्नको निम्ति आउनुभयो । उहाँ केवल क्रूसको मृत्यु र पुनरुत्थानद्वारा मात्र राजा बन्न सक्नुहुन्थ्यो । जुन कुरालाई चेलाहरूले बुझेका थिएनन् ।

जीवित भइ उठ्नुभएको प्रभु हुनुहुन्छ
पुनरुत्थान पश्चात, उहाँको जीवनकालभरि नै चेलाहरूले उहाँको बारेमा नबुझेको कुरालाई बुझ्ने मौका पाए । परमेश्वरको राज्य ख्रीष्टको क्रूसीकरण र पुनरुत्थानद्वारा अझ बढी महिमित प्रकारले प्रकट हुन्छ । ख्रीष्टको मृत्यु र पुनरुत्थानले, उहाँले आफ्नो जीवनकालमा राज्यको बारेमा सिकाउनुभएको शिक्षाको महत्वलाई घटाउँदैन । तर यसले त क्रूसमा टाँगिएको येशू जीवित भइ उठ्नुभएको महत्वलाई अझ बढाउँछ ।

पत्रहरूले स्पष्ट रूपमा यही बताइरहेको छ कि, “येशू प्रभु हुनुहुन्छ ।” अर्को शब्दमा भन्नुपर्दा, “राज्य आएको छ” र “येशू प्रभु हुनुहुन्छ” भन्नु एउटै हो । “येशू प्रभु हुनुहुन्छ” र “राजा आउनुभएको छ” भनेर भन्नु पनि एउटै कुरा हो ।

जब हामी परमेश्वरको राज्यको महत्वलाई हेर्न थाल्छौँ तब हामीले यो कुरालाई हाम्रो मनमा राख्नु पर्दछ कि, उहाँ आउनुभएको मात्र होइन, उहाँ फेरि आउनुहुनेछ । हाम्रो शिक्षामा चर्च र संसारमा येशूको शासनको बारेमा प्रेरितीय प्रयोगको सुनिश्चित गरिएको हुनुपर्दछ । क्रूसमा टाँगिनुभएको र पुनरुत्थान हुनुभएको ख्रीष्टको प्रभुत्वलाई महत्वपूर्ण रूपमा हेरिनुपर्दछ ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।