उदयपुरबाट हाम्रा मित्र विशालले इमेलमार्फत यसरी सोध्नुभएको छ— प्रिय पास्टर जोन, मत्ती २२ अध्यायमा रहेको विवाह भोजको दृष्टान्तमा येशूले यसो भन्नुभएको छ “बोलाइएकाहरू धेरै छन् तर चुनिएकाहरू थोरै छन्” (मत्ती २२ः१४) । तथापि, रोमी ८ः२८–३० लाई हेर्ने हो भने, यी पदहरूले बोलाइएका सबैलाई परमेश्वरले अनन्त महिमातर्फ डोर्याउनुहुन्छ भनेझैँ देखिन्छ । के मत्तीको पुस्तकमा उल्लेख गरिएको “बोलाइएकाहरू” र रोमीको पत्रमा उल्लेख गरिएका “बोलाइएकाहरू” एउटै हुन् त ? आखिर “बोलाइएका” र “चुनिएका” बीचको भिन्नता के हो ?

मैले केही हप्ताअघि मात्र, बाइबललाई कसरी अलौकिक र लौकिक तरिकामा पढ्ने र यी दुवै कसरी एकअर्कासँग मेल खान्छन् भन्ने विषयमा एउटा पुस्तक लेखेर सिध्याएको थिएँ । त्यस पुस्तकमा एउटा यस्तो खण्ड छ जसले हाम्रा मित्र विशालले सोध्नुभएको प्रश्न, “बोलाइएका र चुनिएकाहरू” यी दुई बीचको भिन्नताको बारेमा बताउँछ । मलाई यस प्रश्नको उत्तर दिन सहज महसुस भइरहेको छ किनकि केही हप्ताअघि मात्रै मैले यस विषयमा विचार गरिरहेको थिएँ ।

शब्द एक अर्थ अनेक
हाम्रा मित्र विशालले जुन विचार प्रकट गर्नुभएको छ, ठिक त्यही विचार मभित्र पनि रहेकाले मैले यस खण्डलाई अध्ययन गरिरहेको थिएँ । यी दुई पदहरू मत्ती २२ः१४ र रोमी ८ः३० लाई हेर्ने हो भने, एउटा कुरा स्पष्ट छ कि, यी दुवै पदहरूले “बोलाइएका” शब्दलाई एकै अर्थमा प्रयोग गरेका छैनन् । यदि यी दुवै पदहरूले “बोलाइएका” शब्दलाई एकै अर्थमा प्रयोग गरेको भए, यी दुई कुरा एकआपसमा विवादास्पद देखिन्थ्यो ।

हामीले विचार गर्नुपर्ने कुरा, बाइबलमा विभिन्न लेखकहरूले आफ्नो पुस्तक वा पत्रहरूमा एउटै शब्द प्रयोग गरेको पाइए पनि तिनीहरूले ती शब्दहरूलाई फरक अर्थमा प्रयोग गरेका छन् । तपाईंले पढिरहेका पुस्तक वा पत्रमा प्रयोग गरिएको शब्द, सोही अर्थमा अन्य लेखकद्वारा लेखिएको पुस्तक वा पत्रमा प्रयोग गरिएको हुन्छ भनी अनुमान गर्नहुँदैन् । एउटै लेखकले पनि एउटै पुस्तकमा एउटै शब्दलाई विभिन्न अर्थमा लेखेको हुनसक्छ ।

उदाहरणको लागि, अक्सफोर्ड डिक्सनरीमा “सेट” शब्दको ४६४ वटा परिभाषा दिइएको छ । त्यसैगरी “रन” शब्दको ३९६ वटा परिभाषा दिइएको छ ।

यही कुरा बाइबलमा पनि लागू भएको छ । मोर्टिमर एड्लरले लेखेका एउटा पुरानो पुस्तक “हाउ टु रिड अ बुक” अर्थात “पुस्तक कसरी पढ्ने” मा यसो भनेका छन्, प्रयोग गरिएका शब्दको अर्थ बुझ्नको लागि पूरै सन्दर्भलाई जान्न जरुरी छ । तपाईं कुनै शब्दसँग
परिचित भए तापनि, त्यो शब्द कुन सन्दर्भमा प्रयोग गरिएको छ भन्ने कुरा छुट्याउन सकिएन भने गलत अर्थमा फस्न सक्नुहुन्छ ।

बोलाइएका र चुनिएका
अब, हाम्रो विषय तर्फ जाउँ । रोमी ८ः३० ले भन्छ, “जस–जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो” यस “बोलाउनुभयो” भन्ने शब्दमा हाम्रा मित्र विशालले चासो देखाउनुभएको छ । र जस–जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस–जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।”

पावलले यसो भनिरहेका छन् कि सबै बोलाइएकाहरू धर्मी ठहर्याइएका छन्– र धर्मी ठहर्याइएकाहरू– अर्थात् सबै बोलाइएकाहरू– महिमित पारिएका छन् । अर्थात, यदि तपाईं बोलाइएकाहरूमा पर्नुहुन्छ भने तपाईं सधैँको लागि बचाइनुभएको छ । तपाईंको मुक्ति गुम्नेछैन । परमेश्वरले त्यसो हुन दिनुहुने छैन किनकि तपाईं उहाँद्वारा बोलाइएकामध्ये हुनुहुन्छ ।

बोलाइएका र अस्वीकार गरिएका
जब हामी मत्ती २२ः१–१४ लाई हेर्छौँ, त्यहाँ एउटा विवाह भोजको दृष्टान्त पाउँछौँ । राजाले ठूलो विवाहभोजको आयोजना गरेका थिए र धेरै मानिसहरूलाई निमन्त्रणा पठाए, तर बोलाइएका मानिसहरू आएनन् । यस दृष्टान्तले यही कुरा देखाउँछ कि परमेश्वरको बोलावटलाई इन्कार गर्ने हामि कति भयानक स्थिति मानिसहरू हौँ।

त्यसैकारण ती राजाले आफ्ना नोकरहरूलाई भन्छन्, जाउ गएर बोलाऊ– यस बोलाऊ शब्दलाई निम्तो शब्दमा अनुवाद गरिएको छ । र दृष्टान्तको अन्त्यतिर बोलाऊ शब्दको प्रयोग गरिएको छ– जाओ र जतिलाई भेटाउँछौ तिनीहरूलाई विवाह भोजमा बोलाऊ ।
तब तिनको घर मानिसहरूले भरिए– तर ती मानिसहरूमध्ये एकजनाले विवाहको पोशाक पहिरिएका थिएनन् । हुनसक्छ ती मानिसले राजालाई असल पोशाक पहिरेर आदर देखाएनन् वा उसले राजाको निम्तोलाई अवहेलना गरे ।

दृष्टान्तको अन्त्य यसरी भएको छ— “त्यस बाहिरी अन्धकार” जहाँ ती व्यक्ति फालिएका थिए– “जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन् ।” “किनकि बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन्” (मत्ती २२ः१३–१४) । हामी यहाँ स्पष्ट देख्नसक्छौँ कि भोजमा “बोलाइएका” सबै बचाइएका छैनन् तर केवल चुनिएकाहरू मात्र बचाइनेछन् ।

मत्तीले प्रयोग गरेका “बोलाइएका” शब्दावलीको विषयमा हामी यसरी स्पष्ट हुनसक्छौँ कि, यो सारा मानिसहरूलाई भोजमा आउनको लागि दिइएको एउटा साधारण निम्तो थियो । र यस निम्तोलाई स्वीकार गर्दै भोजमा आउने सबैजना चुनिएका नहुन सक्छन् ।

प्रभावकारी बोलावट
अब म, पावलले चलाएको शब्दावली “बोलाइएका” लाई प्रयोग गर्न जाँदैछु जसलाई धर्मशास्त्रीहरूले “प्रभावकारी बोलावट” भनी भन्ने गरेका छन् । हामीलाई थाहा छ पावलले पनि यसरी सोच्ने गर्दछन् । पावल र ईश्वरशास्त्रीहरू बीच फरक धारणा छैन ।

१ कोरिन्थी १ः२३ मा पावलले भनेका छन्, “तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा र अन्यजातिहरूका निम्ति मूर्खता हो ।” अर्को शब्दमा, ख्रीष्ट क्रूसमा टाँगिएको सत्यताबारे सबै यहूदी र अन्यजातिहरूलाई प्रचार गरिएको छ र तिनीहरू सबैलाई उहाँकहाँ आउन निम्तो दिइएको छ । तिनीहरू सबैलाई साधारण बोलावटद्वारा बोलाइएको छ ।

१ कोरिन्थी १ः२४ मा पावलले फेरि यसरी भन्छन्, “तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होऊन् वा ग्रीकहरू होऊन्, ख्रीष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ ।”

साधारण बोलावटद्वारा सबै मानिसहरूलाई बोलाइएको छ— “आऊ, यदि तिमीले विश्वास गर्यौ भने तिमी बचाइन्छौ ।” त्यसैगरी अर्को प्रकारको बोलावट पनि छ जुन बोलावटद्वारा येशूले लाजरसलाई चिहानबाट बोलाउनुभएको थियो । “लाजरस, बाहिर आऊ” (यूहन्ना ११ः४३) । त्यस बोलावटले मृत लाजरसलाई जीवन दिएको थियो ।

यही अर्थमा रोमी ८ः३० मा पावलले बोलावट शब्दको प्रयोग गरेका छन् । यसप्रकारको बोलावटले आज्ञाकारिता र जीवनको सिर्जना गर्छ, जसले महिमातिर डोर्याउँछ ।

त्यसैकारण, बाइबल अध्ययन गर्नका लागि हामीले जान्नुपर्ने एउटा शिक्षा भनेको कहिलेकहीँ लेखकले एउटै शब्दलाई फरक अर्थमा प्रयोग गरेका हुन्छन्— हामीले सन्दर्भलाई ध्यान दिनुपर्दछ ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।