
प्रत्युत्तर— विश्वास र पश्चाताप
मैले मेरो छोरालाई सानैदेखि पौडी खेल्न सिकाउन थालेँ । त्यो निक्कै पट्टयारलाग्दो र गाह्रो काम थियो । त्यतिबेला करिब एक वर्षजतिको त्यो सानो बच्चालाई बाथटबमा आफ्नो अनुहारमा पानी परेको समेत मन पर्दैनथ्यो भने, अब उसको अगाडि यो विशाल समुद्रजस्ता पोखरी झन् के मन परोस् । सुरुमा, “उसलाई पौडिन सिकाउनु” को मतलब हुन्थ्यो उसलाई माथिल्लो खुड्किलामा अलिकति छप्ल्याङछुप्लुङ गर्न लगाउने र उसमा आँट आएको भए उसको ओठलाई पानीमा राखेर बुलबुले फोकाहरू बनाउन लगाउने ।
अन्तमा मैले उसलाई गहिराइ कम भएको छेउतिर जान सिकाएँ, जतिबेला उसले आफ्नो हातलाई मेरो गर्दनमा कस्सेर बेर्हेको थियो । राम्ररी पौडिन थालेपछि छेउबाट हामफालेर देखाउने बेला आयो । बुबाको रूपमा परमेश्वरबाट पाएको कर्तव्य पूरा गर्दै, मैले उसलाई पोखरीबाट बाहिर उचालेँ, डिलमा उभ्याइदिए अनि भनेँ, “ल अब, हामफाल् !”
मलाई लाग्छ, त्यतिखेर, मेरो एक वर्षको छोराले मलाई पागल मान्छे भन्ठान्यो होला । उसको अनुहारको भाव, लगभग दुई सेकेन्ड जति अलमल्लमा परेकोजस्तो र रमाइलो मान्दै इन्कार गरेजस्तो भयो, अनि स्पष्ट रूपमा सक्दिनँ भन्न लाग्यो । उसले अनुहार बिगार्यो अनि भन्यो, “नाइँ । म आमाकहाँ जान्छु ।” फेरि पनि, पिताको रूपमा मैले आत्मसमर्पण गरिनँ बरु आफ्नो जिम्मेवारी उठाउँदै उसको पछि दौडिँदै गएँ र उसलाई विभिन्न तरिकाले आश्वस्त पार्दै फेरि पोखरीमा ल्याएँ । अनि हामी फेरि सत्य कुरा गर्ने समयमा आइपुग्यौँ ।
म फेरि पोखरीमा हामफालेँ । ऊचाहिँ पौडी खेल्दा लाउने डाइपरमा, हामफाल्न खोज्ने र डर पनि मानेको जसरी माथि–तल उफ्रिदै थियो जस्तो कि उसका उमेरका अरू बच्चाहरूले पनि गर्दछन् । म आफ्नो हात फैलाउँदै उभिएँ । “आऊ, बाबु,” मैले भनेँ । “म यहाँ छु । म तिमीलाई समात्छु, पक्का !” उसले मलाई अर्धविश्वासका साथ हेर्यो, घुँडा थर्थर पार्दै तयार भयो, अनि ज्यान भ्यात्त फालेर पोखरीमा खस्यो ।
अनि मैले उसलाई समातेँ । त्यसपछि हाम्रो दौड सुरु भयो । “फेरि गर्ने, बाबा ! फेरि गर्ने !” अनि सुरु भयो आधा घण्टासम्म हामफाल्ने, समात्ने, उचाल्ने, तयार हुने । हामफाल्ने, पक्रने, उचाल्ने, तयार हुने ।
जब यो प्रक्रिया सकियो, सायद हाम्रो छोरा अलि बढी नै पानीसँग सहज महसुस गर्दैछ कि भनेर म र मेरी श्रीमतीलाई चिन्ता लाग्न थाल्यो । कोही नभएको बेला ऊ पोखरीमा डुल्दै पुग्यो भने ? उसले पानीमा सधैँ सुरक्षासाथ हामफालेको सम्झेर म अब एकदम राम्ररी गर्न सक्छु भन्ने पो सोच्ने हो कि ? के उसले फेरि हामफाल्ला ?
त्यसपछि केही दिनसम्म हामीले उसलाई पोखरीको वरिपरि निगरानी गर्यौँ, अनि हामी दुवैले जे देख्यौँ त्यसले हामीलाई अभिभावकको रूपमा ढुक्क बनायो र एउटा पिताको रूपमा गहिरो गरी छोयो । मेरो छोराले एकपटक पनि पानीमा हामफाल्ने बारे सोचेन— कमसेकम म ऊभन्दा मुनि आफ्नो हात फैलाएर, उसलाई पक्रने वाचा गर्दै नउभिएसम्म । म त्यहाँ हुँदाचाहिँ ऊ उडेझैँ गरी हामफाल्थ्यो !
तपाईंले देख्नुभयो, उसका सबै देखिने सफलताहरूको बाबजुद पनि, मेरो छोराको भरोसा पानी सम्हाल्न सक्ने उसको आफ्नो क्षमतामाथि थिएन । त्यो त उसको पिता अनि उसको पिताको प्रतिज्ञामाथि थियो, “आऊ, बाबु, म यहाँ छु । म तिमीलाई समात्छु, पक्का !”
विश्वास र पश्चात्तापको परिचय
मर्कूसका अनुसार येशूले आफ्नो सेवकाइलाई यसरी प्रचारगर्दै सुरु गर्नुभयो, “समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिक आइपुगेको छ । पश्चाताप गर, र सुसमाचारमा विश्वास गर”(मर्कूस १ः१५) । पश्चाताप गर र विश्वास गर भन्ने त्यही आज्ञालाई नै येशूको सुसमाचारको प्रत्युत्तरमा हामीले पालन गरेको परमेश्वर चाहनुहुन्छ ।
नयाँ करारभरी, चेलाहरूले मानिसहरूलाई यसै गर्न आह्वान गरेको पाइन्छ । येशूले उहाँलाई सुन्न आएकाहरूलाई पश्चाताप गर्न र सुसमाचारमा विश्वास गर्न आह्वान गर्नुभयो । पत्रुसले, पेन्तिकोसको दिनमा आफ्नो सन्देशको अन्तमा, मानिसहरूलाई “पश्चाताप गर र येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ” भनेका छन् (प्रेरित २ः३८) । पावलले प्रेरित २०ः२१ मा यसो भन्दै आफ्नो सेवकाइको बयान गरेका छन्, “यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चाताप गरेर परमेश्वरपट्टि फर्कनु र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नु भन्ने कुराको गवाही मैले दिएको छु” । र २६ः१८ मा, कसरी येशू स्वयम्ले तिनलाई पठाउनुभएको थियो भनेर पावलले याद गर्छन् :
“कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू
अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ
फर्कून् । यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन् ।”
विश्वास र पश्चाताप । यी कुराहरूले नै ख्रीष्टमा भएका मानिसहरू वा “ख्रीष्टियानहरू” लाई पृथक तुल्याउँछन् ।अर्को शब्दमा, ख्रीष्टियान भनेको त्यो हो जो आफ्नो पापदेखि फर्किन्छ र प्रभु येशू ख्रीष्टमा भरोसा राख्छन्—उसलाई पापदेखि र आउँदै गरेको न्यायदेखि बचाउने कुराहरू यिनै हुन् । विश्वास भरोसा होविश्वास त्यस्तो शब्द हो जसको लामो समयदेखि गलत प्रयोग गरिँदै आएको छ र प्रायः मानिसहरूलाई यसको खास अर्थ के हो भन्ने बारेमा पनि थाहा छैन । कसैलाई विश्वास भनेको के हो ? र व्याख्या गर्नुहोस् भनेर सोध्नुहोस् त, तपाईंले आदरार्थी जस्ता सुनिने शब्दहरू पाउनुहुनेछ । मूलभूत कुराचाहिँ विश्वास भनेको सबै प्रमाणहरूको विरुद्धमा हास्यास्पद कुरालाई पत्यार गर्नु हो, भन्ने हुनसक्छ । एक समय, म मेरो जेठो छोरासँग टेलिभिजनमा धन्यवाद दिवसको परेड हेरिरहेको थिएँ । त्यो कार्यक्रमको मूल विषयचाहिँ “विश्वास गर !” भन्ने थियो र आकर्षणको केन्द्रचाहिँ दर्शकदीर्घा माथि झुन्डिरहेको थियो जसलाई कार्यक्रम सञ्चालकले विश्वासको मिटर भनी बताएका थिए । हरेकपल्ट नयाँ ठूलो बेलुन आउँदा, वा
कुनै ब्याण्डले बजाउँदा, वा नर्तकहरू नाच्दा, विश्वासको मिटरमा भएको सुई अलि माथि जान्थ्यो । तर पक्कै पनि, त्यस परेडको मुख्य आकर्षणचाहिँ सान्टा क्लजको प्रवेश थियो— तिनको आसनलाई एउटा भव्य हाँसको आकारमा सिँगारिएको थियो— त्यसपछि त्यो विश्वासको मिटर स्वाट्टै माथि गयो ! त्यस्तो बाजागाजा, नाच, रङ्गीचङ्गी कागजहरू, चिच्याईरहेका साना नानीहरू— अनि चिच्च्याईरहेका वयस्क मानिसहरू, यदी बाहिर अन्तरिक्षबाट आएको कुनै एलियनले यो देखेको भए पक्कै पनि यस्तो निष्कर्ष निकाल्ने थियो होला कि यी मानिसहरूले साँच्चै नै यी सब कुरामा विश्वास गर्दा रहेछन् ।
मेरो छ वर्षको छोरालाई ती सबै कुरा अति मूर्खतापूर्ण लाग्यो ।
तर विश्वासको बारेमा संसारले यस्तै सोच्छ । यो त एउटा नाटक हो, रमाइलो अनि सहज खेल जसमा मानिसहरू इच्छा लाग्यो भने भाग लिन सक्छन्, तर वास्तविक दुनियाँसँग यसको कुनै सम्बन्ध छैन । बालबालिकाहरू सान्टा क्लजमा अनि इस्टरको खरायोमा विश्वास गर्छन । रहस्यवादीहरू पत्थर र माणिक्याको शक्तिमा विश्वास गर्छन् ।
पागलहरू परीहरूमा विश्वास गर्छन् । तर ख्रीष्टियानहरूचाहिँ येशूमा विश्वास गर्छन् ।
बाइबल पढ्नुहोस्, तपाईंले भेट्टाउनुहुनेछ कि विश्वासचाहिँ त्यसरी नक्कल गरेजस्तो हुँदैन । विश्वास भनेको तपाईंले प्रमाणित गर्न नसक्ने कुनै कुरामा विश्वास गर्नु होइन, जस्तो कि धेरै मानिसहरूले यसलाई त्यसरी नै परिभाषित गर्छन् । बाइबलीय रूपमा भन्नुपर्दा, विश्वास भरोसा हो । पापबाट तपाईंलाई बचाउन, येशूमाथि एउटा चट्टानजस्तै बलियो, सत्यमा आधारित र प्रतिज्ञामा स्थापित भएको भरोसा हो ।
पावलले रोमी ४ अध्यायमा अब्राहामसम्बन्धी छलफलमा, विश्वासको प्रकृतिको बारेमा बताउँछन्, जहाँ उसले अब्राहामको विश्वासलाई यसरी वर्णन गर्छुन् :
“ तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्” भनेर परमेश्वरले
भन्नुभएअनुसार,आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा
राखी विश्वास गरे, र यसरी उनी धेरै जगतहरूका पिता बने । प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन् । परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमादह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए । प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो” (रोमी ४:१८–२१)
परमेश्वरको प्रतिज्ञाको विरुद्ध भएका कुराहरू जस्तै अब्राहामको उमेर, उनकी पत्नीको उमेर र बाँझोपना आदिको बाबजुद पनि अब्राहामले परमेश्वरले भन्नुभएको कुरामा विश्वास गरे । तिनले परमेश्वरमा नडगमगाइकन भरोसा राखे अनि उहाँको प्रतिज्ञा पूरा गर्न उहाँमा भर परे । पक्कै पनि, अब्राहाम विश्वासमा पूर्ण थिएनन्; हागारबाट इश्माएलको जन्मले प्रमाणित गर्छ कि अब्राहामले परमेश्वरको प्रतिज्ञा पूरा गर्न पहिला आफ्नो योजनामा भर पर्न खोजे । तर त्यो पापको प्रायश्चित गरेपछि अन्तमा अब्राहामले आफ्नो विश्वास परमेश्वरमा राखे । तिनी उहाँमा भर परे, जस्तो पावलले
भनेका छन्, “प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो ।”
येशू ख्रीष्टको सुसमाचारले हामीलाई येशूमा विश्वास राख्न, उहाँमा भरोसा गर्न अनि उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनी विश्वास गर्न लगाउँछ ।
धर्मी फैसलाको लागि विश्वास
केका लागि हामी येशूमा भरोसा गरिरहेका छौँ ? सीधा भन्नुपर्दा, हामी न्यायाधीश पिताबाट दोषी ठहरिन होइन तर हाम्रो निम्ति गरिएको धर्मी फैसला सुरक्षित पार्न उहाँमा भरोसा गरिरहेका छौँ ।
मलाई बुझाउन दिनुहोस् । बाइबलले सिकाउँछ कि हरेक मानिसका निम्ति ठूलो आवश्यकता भनेको परमेश्वरको नजरमा दुष्ट होइन, धर्मी पाइनु हो । जब न्यायको समय आउँछ, हाम्रो फैसलामा “दोषी” होइन तर “धर्मी” भनी घोषणा भएको होस् भन्ने हामी चाहन्छौँ । परमेश्वरको नजरमा दोषी नभएर, धर्मी छौँ भन्ने परमेश्वरको घोषणालाई नै बाइबलले “धर्मी ठहरिएको” भन्छ ।
कसरी हामीले यो धर्मी फैसलालाई सुरक्षित पार्ने ? बाइबलले स्पष्ट रूपमा बताएको छ कि परमेश्वरलाई हाम्रो जीवनमा हेर्नुहोस् भनेर मात्र त्यसो हुन सक्दैन । अहँ, त्यो त मूर्खताको काम हो । यदि परमेश्वरले हामीलाई धर्मी ठहर्याउने हो भने, उहाँले हाम्रो पापपूर्ण अभिलेख बाहेक अरू कुनै कुराको आधारमा त्यसो गर्नुपर्ने हुन्छ । उहाँले अरू कसैको अभिलेखको आधारमा त्यसो गर्नुपर्ने हुन्छ, जो हाम्रो सट्टामा खडा भएको होस् । हो त्यहीँनेर येशूमा राखेको विश्वासको खाँचो हुन्छ । जब हामी येशूमा विश्वास राख्छौँ उहाँको खोटरहित जीवन र त्रूmसमा हाम्रो निम्ति तिरी दिनुभएको मृत्युको दण्ड दुवैमा, परमेश्वरको अघि हाम्रो सट्टामा उभिने ख्रीष्टमा हामी भर परीरहेका हुन्छौँ । अर्को शब्दमा भन्नुपर्दा, परमेश्वरले हाम्रो अभिलेखलाई येशूको अभिलेखसँग साट्नुहुनेछ भनी हामी विश्वास गर्नेछौँ, यसरी हामीलाई धर्मी घोषित गरिदिनुहुनेछ (रोमी ३ः२२) ।
यसलाई तपाईंले यसरी सोच्न सक्नुहुन्छ— जब हामी येशूले हामीलाई बचाउनुहुन्छ भनेर विश्वास गर्छौँ तब हामी उहाँमा एक हुन्छौँ र हामीबीच एक महिमित आदानप्रदान हुन्छ । हाम्रा सबै पाप, विद्रोह र दुष्टता येशूमा दण्डित हुन्छन् (अथवा उहाँको नाउँमा लेखिन्छन्) त्यसकारण उहाँ मारिनुहुन्छ (१ पत्रुस ३ः१८) । त्यसै घडी, येशूले जिउनुभएको खोटरहित जीवनको श्रेय हामीलाई दिइन्छ र हामी धर्मी घोषित हुन्छौँ । परमेश्वरले हामीतिर हेर्नुहुन्छ, अनि हाम्रो पापको सट्टामा येशूको धार्मिकतालाई देख्नुहुन्छ ।
रोमी ४ अध्यायमा पावलले यही भन्न खोजेका थिए, उनी लेख्छन् कि हाम्रा आफ्ना कामहरूबाट अलग गरेर परमेश्वरले हामीलाई “धार्मिकता ठहर्याउनुहुन्छ” र हाम्रा पापहरू “ढाकिएका” छन् (पद. ५,७) । सबैभन्दा महत्वपूर्ण र आश्चर्यजनक रूपमा, पावलले त्यही भन्न खोजेका थिए कि परमेश्वरले “भक्तिहीनलाई धर्मी ठहराउनुहुन्छ” (पद. ५)
परमेश्वरले हामी धर्मी भएको कारण हामीलाई धर्मी घोषित गर्नुहुन्न । धन्य परमेश्वर त्यो साँचो हो, किनभने हामीमध्ये कसैले पनि त्यो मानक भेट्न सक्ने थिएनौँ ! तर, परमेश्वरले हामीलाई धर्मी घोषणा गर्नुहुन्छ किनभने विश्वासद्वारा हामीले ख्रीष्टको धर्मी जीवन पहिरेका हुन्छौँ । परमेश्वरले हामीलाई विशुद्ध अनुग्रहद्वारा बचाउनुहुन्छ, हामीले गरेको कुनै कामको कारण होइन, तर येशूले हाम्रो निम्ति गर्नुभएको कामको कारणले ।
जकरिया अगमवक्ताले प्रधान पूजाहारी यहोशूलाई नयाँ वस्त्र प्रदान गरिँदाको सुन्दर चित्रणको साथ यस बुँदालाई पेश गरेका छन् । जकरियाले यस्तो लेखेका छन् :
“तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो । परमप्रभुले शैतानलाई भन्नुभयो, “ए शैतान, परमप्रभुले तँलाई हकारून् । यूरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हकारून् ! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र ?” ब यहोशूचाहिँ स्वर्गदूत अगि फोहोर लुगा लगाएर उभेका थिए । तब ती स्वर्गदूतले आफ्नो सामुन्ने उभिरहनेहरूलाई भने, “त्यसको फोहोर लुगाहरू फुकालिदेओ” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, म तिमीलाई दामी–दामी लुगा लगाइदिनेछु ।”
तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्वर्गदूत नजिक उभिरहेका थिए” (जकरिया ३ः१–५)
ती बहुमूल्य, सफा र नयाँ लुगा यहोशूका थिएनन्, न त त्यो सफा फेटा नै । यहोशूसँग त उनले लगाइराखेका फोहोर लुगा मात्र थिए, तिनै लुगा जसलाई शैतानले उपहास गर्ने अनि दोष्याउने मनसायले औँल्याउन लाग्दै थियो । होइन, परमेश्वरको अगाडि यहोशूले आनन्द लिइरहेको धार्मिकता उनको आफ्नो थिएन । अरू कसैद्वारा उनलाई त्यो दिइएको थियो ।
यही कुरा हामी ख्रीष्टियानहरूको लागि पनि साँचो हो । परमेश्वरको अघि हाम्रो धार्मिकता हाम्रो आफ्नै धार्मिकता होइन । येशूबाट हामीलाई दिइएको हो । परमेश्वरले आफ्नो पुत्रलाई हेर्नुभयो र हाम्रो पाप देख्नुभयो, अनि उहाँले हामीलाई हेर्नुहुन्छ र येशूको धार्मिकता देख्नुहुन्छ । एउटा भजनले भनेझैँ, धर्मी परमेश्वर सन्तुष्ट हुनुभयो उसलाई हेरेर मलाई क्षमा दिन ।
मात्र विश्वास
मुक्तिको लागि तपाईं येशूमा कतिको निर्भर हुनुहुन्छ भन्ने कुरा जब तपाईंले महसुस गर्नुहुन्छ तब बुझ्नुहुनेछ कि बाइबलले किन उहाँमाथि विश्वास गर्नाले मात्र मुक्ति पाइन्छ भन्ने कुरामा धेरै जोड दिन्छ— तपाईंको पापको लागि उहाँको मृत्यु, तपाईंको धार्मिकताको लागि उहाँको जीवन । अरू कुनै उपाय छैन, कुनै उद्धारक छैन, नता हाम्रो आफ्नो कोसिसले न संसारको कुनै कुराले । अरू कोही मानिस छैन जसमा हामी मुक्तिको लागि भरोसा राख्न सक्छौँ ।
मानव इतिहासमा हरेक धर्मले, विश्वासद्वारा मात्र पनि हामी धर्मी ठहरिन्छौँ भन्ने विचारलाई नकारेको छ । अरू धर्महरूले दाबी गर्छन् कि नैतिक प्रयासहरू, राम्रा कामहरू अनि कुनै तरिकाले आफ्नो दुष्टताको दाँजोमा भलाइ गरेर आफ्नो खाताको हिसाबकिताब मिलायौँ भने मुक्ति प्राप्त गर्न सकिन्छ । खासमा, त्यस्तो सोच कुनै नौलो कुरा होइन । आफ्नो मुक्तिको लागी हामी आफैँले योगदान दिन सक्छौँ भनेर सोच्नु— र अझ दाबी गर्नु— मानवीय प्रवृत्ति हो ।
हामी आत्मनिर्भर मानिसहरू हौँ, होइन त ? आफ्नो आत्म–पर्याप्ततामा हामीलाई पूर्ण भरोसा छ, र हामी जे छौँ, अरू कसैको हस्तक्षेपको कारणले छौँ भन्ने थोरैमात्र सङ्केत पाउँदा पनि हामीलाई दुख लाग्छ । सोच्नुहोस् त, यदि कसैले तपाईंको काम वा तपाईंले महत्वपूर्ण ठान्ने कुनै कुराको बारेमा यस्तो भन्यो भने तपाईंलाई कस्तो महसुस होला, “तिमीले त्यो कमाएको होइन । अरूले तिमीलाई दिएको भएर मात्र त्यो आज तिमीसँग छ ।” र परमेश्वरको
अघि हाम्रो मुक्तिको सवालमा पनि ठ्याक्कै यही परिस्थितिसँग मिल्दोजुल्दो हुन्छ । त्यो त हामीलाई अनुग्रहको उपहारको रूपमा दिइएको छ, र हामीले केहीपनि योगदान गरेका छैनौँ— न त हाम्रो आफ्नो धार्मिकता, न त हाम्रा पापहरूको लागि आफ्नै कुनै किसिमको भुक्तानी, न त हाम्रो खाताको हिसाब मिलाउन सक्ने कुनै असल काम (गलाती २ः१६) ।
येशूमा विश्वास गर्नुको अर्थ हुन्छ, तपाईंले परमेश्वरको अघि धर्मी गनिन गर्ने अन्य तरिकाहरूको प्रयासलाई त्यागिसक्नुभएको छ । के तपाईंले आफूलाई आफ्ना असल कामहरूमा भरोसा गरिरहेको पाउनुहुन्छ ? विश्वासको मतलब, ती सबै अति नै अपर्याप्त छन् भनेर स्वीकार गर्नु र ख्रीष्टलाई मात्र भरोसा गर्नु हो । के तपाईं आफूले असल सोचेको आफ्नो हृदयलाई भरोसा गरिरहेको पाउनुहुन्छ ? विश्वासको मतलब तपाईंको हृदय असल छँदैछैन भनेर मानिलिनु हो र ख्रीष्टलाई मात्र भरोसा गर्नु हो । अर्को शब्दमा भन्नुपर्दा, यसको मतलब पोखरीको डिलबाट हामफाल्दै यसो भन्नु हो, “येशू, यदि तपाईंले मलाई पक्रनु भएन भने, म बर्बाद हुन्छु । ममा अरू कुनै आशा छैन, कुनै अर्को उद्धारक छैन । मलाई बचाउनुहोस्, येशू, नत्रता म मर्नेछु ।”
त्यो हो विश्वास ।
पश्चाताप, सिक्काको अर्को पाटो
उहाँका कुरा सुन्नेहरूलाई येशूको सन्देश यो थियो कि, “पश्चाताप गर, र सुसमाचारमा विश्वास गर” (मर्कूस १ः१५) । यदि विश्वास भनेको येशूतिर फर्किनु र मुक्तिको लागि उहाँमा भर पर्नु हो भने पश्चाताप त्यो सिक्काको ठिक अर्को पाटो हो । पश्चाताप भनेको पापबाट फर्किनु हो, पापलाई घृणा गर्नु हो । र, जब हामी विश्वासमा उहाँतिर फर्कन्छौँ, त्यसबेला समेत त्यसलाई त्याग्न परमेश्वरको शक्तिद्वारा संकल्प गर्नु हो । त्यसकारण पत्रुसले आफ्नो अगाडिको
भीडलाई भने, “यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्” (प्रेरित ३ः१९) । र पावलले भनेका छन् “कि तिनीहरूले पश्चाताप गरेर परमेश्वरतिर फर्कनुपर्छ” (प्रेरित २६ः२०) ।
पश्चाताप भनेको विश्वासी जीवनमा इच्छा लाग्दा मात्र गर्ने कुरा होइन । यो त एकदमै महत्वपूर्ण छ, जसले परमेश्वरद्वारा बचाइएकाहरूलाई अरूहरूको माझमा अलग देखाउँछ ।
मैले धेरै मानिसहरूलाई चिनेको छु जसले यस्तै केही भन्छन्, “हो, मैले येशूलाई उद्धारकको रूपमा स्वीकार गरेको छु, त्यसैले म ख्रीष्टियान हुँ । तर उहाँलाई प्रभुको रूपमा स्वीकार गर्न म अझै तयार छैन । केही कुराहरू सुल्झाउन बाँकी छ” । अर्को शब्दमा, तिनीहरू दाबी गर्छन् कि येशूमा विश्वास गरेर तिनीहरू बचाइन सक्छन् तर पापको प्रायश्चित चाहिँ गर्नुपर्दैन ।
यदि पश्चातापलाई सही ढङ्गमा बुझ्यौँ भने, हामीलाई थाहा हुनेछ कि येशूलाई उद्धारकको रूपमा स्वीकार गर्ने तर प्रभुको रूपमा चाहिँ विश्वास नगर्ने विचार वाहियात हो । किनकि धर्मशास्त्रले भनेको कुरासँग यो विचार मेल खाँदैन । उदाहरणको लागि, येशूले चेतावनी दिनुभयो, “तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ” (लूका १३ः३) । जब प्रेरितहरूले कर्नेलियसको विश्वास बारे पत्रुसको गवाही सुने, अन्यजातिहरूलाई पनि “जीवनको निम्ति पश्चाताप” दिनुभएको लागि तिनीहरूले परमेश्वरको महिमा गरे (प्रेरित ११ः१८), र २ कोरिन्थी ७ः१० मा पावलले “मुक्तितिर डोर्याउने पश्चाताप” को कुरा गरेका छन् ।
साथै, येशूमाथि विश्वास राख्नु भनेको, उहाँले आफू जो हुँ भनेर भन्नुभयो, उहाँ त्यही व्यक्ति हुनुहुन्छ भनेर विश्वास गर्नु हो—क्रूसमा मारिएका र बौरी उठेका राजा जसले मृत्यु र पापमाथि विजय हासिल गर्नुभएको छ र जोसँग बचाउने शक्ति छ । एक व्यक्तिले यी सबै कुरामा विश्वास र भरोसा गरेर पनि “तर तपाईं मेरो राजा हुनुहुन्छ भनेर म स्वीकार गर्दिनँ” भनेर भन्न सक्छ ? त्यो अर्थहीन हुन्छ । येशूमा राखिने विश्वासले नै येशूले जित्नुभएको त्यो विरोधी शक्ति अर्थात पापलाई परित्याग गर्दछ । जब पापलाई त्यागिँदैन, त्यसलाई पराजित गर्नुहुनेप्रति साँचो विश्वास पनि त्यहाँ हुँदैन ।
मत्ती ६ः२४ मा येशूले भन्नुभए जस्तै— “कसैले दुई मालिकको सेवा गर्न सक्दैन । किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ । अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कोलाई तुच्छ ठान्नेछ ।” येशूमा आफ्नो विश्वास राख्नु भनेको उहाँका शत्रुहरूलाई त्याग्नु हो ।
पश्चाताप, सम्पूर्णता होइन तर पक्ष लिनु हो
ती कुराहरूको मतलब ख्रीष्टियानले कहिले पनि पाप गर्दैनन् भन्ने होइन । पापको प्रायश्चित गर्नुको अर्थ, तपाईंले पूर्णरूपमा पाप गर्न छोड्नुहुन्छ या कुनै विशेष क्षेत्रमा पाप गर्नुहुन्न भन्ने पनि होइन । परमेश्वरले ख्रीष्टियानहरूलाई नयाँ आत्मिक जीवन दिनुभएपछि पनि हामी पतित पापीहरू नै हौँ र येशूसँग महिमित नबनाइएसम्म हामी पापसँग नै सङ्घर्ष गरिरहनेछौँ (हेर्नुहोस् उदाहरण, गलाती ५ः१७; १ यूहन्ना २ः१) । पश्चातापको अर्थ हाम्रो पाप कार्यको अन्त्य तत्काल नभए तापनि, हामी आफ्नो पापसँग अबदेखि शान्तिमा जिउने छैनौँ भन्ने हुन्छ । हामी त्यस विरुद्ध घातक युद्ध घोषणा गर्नेछौँ र हाम्रो जीवनको हरेक मोर्चामा परमेश्वरको शक्तिद्वारा त्यसको प्रतिरोध गर्न आफूलाई समर्पित गर्नेछौँ ।
धेरै ख्रीष्टियानहरू पश्चातापको यो विचारसँग सङ्घर्ष गर्दछन्कि नभने उनीहरू यसरी आशा राख्छन्; यदि उनीहरूले साँच्चै पश्चाताप गरे भने, पाप हट्नेछ र परीक्षा आउन रोकिनेछ । जब त्यसो हुँदैनन्, ख्रीष्टमा उनीहरूको विश्वास वास्तविक हो कि होइन भनेर प्रश्न गर्दै, उनीहरू निराशामा पर्छन् । यो साँचो हो कि जब परमेश्वरले हामीलाई पुनर्जीवित पार्नुहुन्छ, उहाँले हामीलाई पाप विरुद्ध लड्न र त्यसलाई जित्न शक्ति दिनुहुन्छ (१ कोरन्थी १०ः१३) । तर हामी महिमित नभइन्जेल पापसँग सङ्घर्ष गरिरहनु पर्ने भएकाले गर्दा, हामीले याद राख्नुपर्छ कि साँचो पश्चाताप केवल आचरणको परिवर्तनभन्दा पनि बढी आधारभूत रूपमा चाहिँ पापप्रति हृदयको दृष्टिकोण अथवा मनोवृत्तिको कुरा हो । हामी पापलाई घृणा गर्छौँ र त्यसविरुद्ध युद्ध गर्छौँ, कि त्यसलाई प्यारो सम्झिन्छौँ र त्यसको प्रतिरक्षा गर्छौँ?
एकजना लेखकले यसलाई सुन्दर ढङ्गमा उतारेका छन् :
एउटा अपरिवर्तित र परिवर्तित मानिसको बीचमा भएको
भिन्नता, एउटासँग पाप छ र अर्कोसँग छैन भन्ने कदापि
होइन; तर यो हो कि एउटा आफ्नो पापहरूको पक्ष लिएर
भययोग्य परमेश्वरको विरुद्दमा लाग्छ, र अर्को मिलापमा
परमेश्वरको साथ लिएर आफ्ना घृणित पापहरूको विरुद्दमा
लाग्छ ।
त्यसोभए तपाईं कसको पक्ष लिनुहुन्छ— आफ्नो पापको वा परमेश्वरको ? साँचो परिवर्तन, साँचो फल जब कुनै व्यक्तिले साँच्चै पश्चाताप र येशूमा विश्वास गर्छ, बाइबलले भन्छ कि उसलाई नयाँ आत्मिक जीवन दिइन्छ । पावल भन्छन् “तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो,” । “तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो” (एफिसी २ः१, ४–५) । जब त्यसो हुन्छ, हाम्रो जीवन परिवर्तन हुन्छ— तुरुन्तै होइन, अचानक होइन, निरन्तर रूपमा पनि होइन । तर यो निश्चय नै परिवर्तन हुन्छ । हामी फल फलाउन थाल्नेछौँ ।
बाइबलले भन्छ कि ख्रीष्टियानहरू येशू स्वयम्को स्वभाव चित्रण गर्ने किसिमको प्रेम, करुणा र भलाईले छाप लगाइएका हुन्छन् । साँचो ख्रीष्टियानले “पश्चाताप योग्यका काम” पूरा गर्नेछ (प्रेरित २६ः२०) । “हरेक रूख त्यसको फलबाट चिनिन्छ,” येशूले भन्नुभयो । “किनभने काँढाको झाँगबाट कसैले अञ्जीर बटुल्दैन, न त पोथ्राबाट अंगूर बटुल्दछ” (लूका ६ः४४) । अर्को शब्दमा भन्नुपर्दा, जब मानिसहरूलाई नयाँ आत्मिक जीवन दिइन्छ, तिनीहरूले यस खालको काम गर्न थाल्नेछन् जो येशूले गर्नुभयो । तिनीहरू येशूले जसरी नै जिउनेछन् र फल फलाउन थाल्नेछन् ।
ती फलहरू हाम्रो मुक्तिको कारणहरू हुन् भन्ने विचारको विरुद्ध हरपल होसियार रहनुपर्छ । जहिले पनि एउटा खतरा रहन्छ कि जब हामी आफ्नो जीवनमा फल देख्न थाल्छौँ, तब विस्तारै आफ्नो मुक्तिको लागि येशूको सट्टामा त्यस फलमा भरोसा राख्न थाल्छौँ । विश्वासीहरू, त्यस परीक्षाको विरुद्ध सतर्क रहनुहोस् । बुझ्नुस् कि त्यो फल केवल फलमात्र हो— त्यो फल जसको रूख पहिले नै ख्रीष्टमा परमेश्वरको अनुग्रहले असल बनाइएको छ । परमेश्वरको अनुग्रह प्राप्त गर्न आफ्नो ख्रीष्टियान फलमा भर पर्नु भनेको अन्तमा आफ्नो विश्वास येशूबाट आफैँमा सार्नु हो । र त्यसमा कुनै मुक्ति छैन ।
तपाईं कता देखाउनुहुन्छ ?
न्यायको समयमा परमेश्वरको सामुन्ने उभिँदा आफूलाई धर्मी ठहर्याउन र उहाँको राज्यका आशिषहरू पाउनका लागि; परमेश्वरलाई विश्वास दिलाउन तपाईं के गर्न चाहनुहुन्छ ? तपाईं आफ्नो खल्तीबाट असल कामहरू निकालेर वा परमेश्वरको भक्त जस्तो बनेर उहाँलाई प्रभावित पार्न खोज्नुहुन्छ कि ? के तपाईं चर्च गएको हाजिरी निकाल्नुहुन्छ ? तपाईंको पारिवारिक जीवन ? तपाईंले सोचेको तपाईंको खोटरहित जीवन ? तपाईंको नजरमा कुनै जघन्य कुरा तपाईंले गर्नुभएको छैन भन्ने तथ्य ? परमेश्वरको अगाडि तपाईंले “हे प्रभु ! यसको आधारमा, मेरो न्याय गर्नुहोस् !” भन्नुहुँदा त्यस्तो के निकाल्नुहुन्छ होला ?
परमेश्वरको कृपाद्वारा ख्रीष्टमा विश्वास गर्ने हरेक ख्रीष्टियानले के गर्नेछ भनी म तपाईंलाई बताउँछु तिनीहरूले सहज रूपमा चुपचाप येशूतिर देखाउनेछन् । र उनीहरूको बिन्ती यो हुनेछ— “हे परमेश्वर, मेरो जीवनमा धार्मिकता नखोज्नुहोस् । आफ्नो पुत्रलाई हेर्नुहोस् । मैले गरेका कुनै कामको कारणले वा म जे छु त्यसको कारणले होइन तर उहाँको कारणले मलाई धर्मी ठहर्याउनुहोस्। मैले जिउनुपर्ने जीवन उहाँले जिउनुभयो । मैले पाउनु पर्ने मृत्यु उहाँले भोग्नुभयो । मैले अरू सबै भरोसा त्यागेको छु, र मेरो बिन्ती केवल उहाँ हुनुहुन्छ । हे परमेश्वर, येशूको कारण मलाई धर्मी ठहर्याउनुहोस्।”
– ग्रेग गिल्बर्टद्वारा लिखित सुसमाचार के हो ? नामक पुस्तकबाट साभार गरिएको।