
राज्य
मेरो चर्चको पार्किङ गर्ने प्रवेशद्वारमा, मिसनरी जिम एलियटका अमर शब्दहरू लेखिएका छन्— “त्यो मानिस मूर्ख होइन जसले आफूले गुमाउन नसक्ने चीज प्राप्त गर्नका लागि आफूले राख्न नसक्ने चीज अरूलाई दिन्छ ।” मलाई त्यो भनाई अत्यन्तै मनपर्छ किनभने त्यसले ख्रीष्टियान हुनुको मूल्य र इनाम दुवैलाई राम्ररी व्यक्त
गरेको छन् ।
ख्रीष्टियान हुँदा मूल्य चुकाउनुपर्छ भन्ने कुरामा कुनै दुबिधा छैन (लूका १४ः२८) । तर यो पनि साँचो हो कि ख्रीष्टियान हुँदा पाइने इनाम पनि व्यक्त गर्नै नसकिने सर्वोत्तम छन् । पापको क्षमादान, परमेश्वरका सन्तानको रूपमा ग्रहण गरिनु, येशूसँग सम्बन्ध, पवित्र आत्माको उपहार, पापको दासत्वबाट स्वतन्त्रता, चर्चको सङ्गति, अन्तमा शरीरको पुनरुत्थान र महिमा, परमेश्वरको राज्यमा सहभागिता, नयाँ स्वर्ग र नयाँ पृथ्वी, परमेश्वरको उपस्थितिमा अनन्तकाल, उहाँको मुहारलाई हेर्नु— यी सबै परमेश्वरले ख्रीष्टमा हामीलाई गर्नुभएका प्रतिज्ञाहरू हुन्। तब त पावलले यशैयालाई उद्धृत गर्दै भने,
“आँखाले नदेखेका र कानले नसुनेका
र मानिसले मनमा नसोचेका,
यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम
गर्नेहरूका निम्ति तयार पार्नुभएको छ” (१ कोरिन्थी २ः९) ।
विश्वासी जीवन भनेको परमेश्वरको क्रोधबाट बाँच्नको लागि तपाईंले गर्ने प्रयास होइन । विश्वासी जीवन त त्योभन्दा निकै परको कुरा हो ! यो त परमेश्वरसँग सही सम्बन्धमा रहनु हो, र अन्तमा सधैँको लागि उहाँमा आनन्दित हुनु हो । त्यसको मतलब, यो हामीले कहिले पनि गुमाउन नसक्ने कुरा प्राप्त गर्नु हो— उहाँको अनन्तको राज्यको नागरिक हुनु ।
कुनै व्यक्ति येशू ख्रीष्टमा विश्वासी भएको क्षणदेखि, उसको जीवनमा सबैथोक परिवर्तन हुन्छ । मलाई थाहा छ, मलाई थाहा छ— कहिलेकाहीँ त्यस्तो लाग्दैन । त्यहाँ कुनै स्वर्गीय उत्सव हुँदैन र कुनै तुरही बज्दैन, न त स्वर्गदूतहरूले गाइरहेका हुन्छन् (कमसेकम हामीले सुन्न सक्दैनौँ), तर जे भए पनि यो साँचो हो । सबथोक परिवर्तन हुन्छ । पावलले भनेका छन्, परमेश्वरले “हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ” (कलस्सी १ः१३) ।
परमेश्वरको राज्य के हो ?
परमेश्वरको राज्य नयाँ करारमा महत्वपूर्ण विषयवस्तु हो । येशू स्वयम्ले निरन्तर यसो भन्दै प्रचार गर्नुभयो, “पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ ।” प्रेरित २८ः३१ ले पावलको सेवकाइलाई संक्षेपमा यसरी प्रस्तुत गर्दछ— “तिनले खुलमखुल्ला र बिनारोकटोक परमेश्वरका राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे” । हिब्रूको पुस्तकका लेखक यो कुरामा आनन्द मनाउँछन् कि येशूमा विश्वास गर्नेहरूले “हल्लाउन नसकिने राज्य पाएका” छन् ( हिब्रू १२ः२८), र पत्रुस आफ्ना पाठकहरूलाई “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्य” भित्र भव्य स्वागतका साथ प्रवेश मिल्ने विचारले प्रोत्साहन दिन्छन् (२ पत्रुस १ः११) । प्रकाशको पुस्तकमा लेखिएको छ, स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनियो— “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र
उहाँका ख्रीष्टको अधिकार आएको छ” (प्रकाश १२ः१०) ।
तर राज्य भनेको के हो ? के यो एउटा क्षेत्र हो, कुनै घरजग्गाको हिस्सा जसमाथि परमेश्वरको विशेष अधिकार हुन्छ ? के यो चर्च हो ? के यो अहिले यहाँ छ ? अथवा के यो कुनै यस्तो कुरा हो जसको प्रतीक्षा हामी गरिरहेका छौँ ? कुनै यस्तो कुरा जुन भविष्यमा आउँछ ? त्यसो हो भने, परमेश्वरको राज्यमा ठ्याक्कै को हुनेछन् त ? येशूमा विश्वास गरे तापनि वा नगरे तापनि के परमेश्वरको राज्य सबै जनामाथि फैलिएको छैन र ? के हामी सबै त्यस राज्यमा छैनौँ र ?
अनि हामी ख्रीष्टियान भए पनि वा नभए तापनि के हामी सबै त्यस राज्यलाई स्थापित गर्ने काममा लाग्न सक्दैनौँ ?
आउनुहोस्, परमेश्वरको राज्यको बारेमा धर्मशास्त्रले सिकाएका केही खण्डहरू हेरेर केही यस्ता प्रश्नहरूमाथि छलफल गरौँ ।
परमेश्वरको छुट्काराको राज्य
पहिलो, परमेश्वरको राज्य उहाँका मानिसहरूमाथि उहाँको उद्धारको शासन हो । राज्य एउटा यस्तो शब्द हो जसले आफूसँग निकै गहन अतिरिक्त अर्थहरू ल्याउँछ, र यो सन्दर्भमा ती अतिरिक्त अर्थहरूले अन्योल पैदा गर्न सक्छन् । सामान्यतया, जब हामी एउटा राज्यको बारेमा सोच्छौँ, हामी कुनै जमिनको टुक्रालाई बुझ्छौँ जसको स्पष्ट रूपमा परिभाषित सिमानाहरू हुन्छन् । राज्य हामीमध्ये धेरैका लागि भौगोलिक शब्द हो । तर, बाइबलमा त्यस्तो हुँदैन । बाइबलीय रूपमा भन्नुपर्दा, परमेश्वरको राज्यलाई, हामीले धेरैजसो प्रयोग गर्ने शब्द, राज्यभन्दा पनि एउटा राजाको शासनको रूपमा बुझ्दा उपयुक्त हुन्छ । त्यसैले परमेश्वरको राज्य भनेको परमेश्वरको शासन, प्रभुत्व
अनि अधिकार हो (भजन. १४५ः११,१३) ।
तर, हाम्रो परिभाषामा हामीले थुपार्ने अर्को एउटा महत्वपूर्ण शब्द छ । बाइबलले भनेजस्तै, परमेश्वरको राज्य केवल उहाँको शासन अनि प्रभुत्व होइन । यो उहाँको छुट्काराको शासन र प्रभुत्व हो; यो त उहाँले आफ्ना मानिसहरूमाथि अभ्यास गर्नुहुने प्रेमको सार्वभौमिकता हो । यो सत्य हो कि संसारको एक इन्च पनि र एकजना पनि परमेश्वरको शासनबाट स्वतन्त्र छैन वा उहाँको अधिकारबाट बाहिर छैन । उहाँले सबै सृष्टि गर्नुभयो, उहाँले सबैमाथि शासन गर्नुहुन्छ र उहाँले सबैको न्याय गर्नुहुन्छ । तर जब बाइबलले “परमेश्वरको राज्य” भन्ने वाक्यांश प्रयोग गर्छ, यसले खास तवरमा परमेश्वरका आफ्ना मानिसहरूमाथि उहाँको शासनलाई उल्लेख गरेको हुन्छ, तिनीहरूमाथि जो ख्रीष्टद्वारा बचाइएका छन् । ख्रीष्टियानहरू अन्धकारको राज्यबाट ख्रीष्टको राज्यमा सारिएको विषयमा पावलले बताएका छन् (कलस्सी १ः१२–१३) र अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने कुरालाई सावधानीपूर्वक उनले औँल्याएका छन् (१ कोरिन्थी ६ः९) । तसर्थ, परमेश्वरको राज्यलाई सरल रूपमा परिभाषित गर्नुपर्दा, येशूले उद्धार गरेकाहरू माथि परमेश्वरको छुट्काराको शासन, प्रभुत्व र अधिकार हो ।
राज्यको आगमन
दोस्रो, परमेश्वरको राज्य आएको छ । जब येशूले संसारमा सेवकाइ सुरु गर्नुभयो, उहाँले आश्चर्यजनक सन्देश प्रचार गर्नुभयो— “पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ” (मत्ती ३ः२) । खासमा, तपाईंले यसलाई यसरी उल्था गर्न सक्नुहुन्छ, “पश्चाताप गर, स्वर्गको राज्य आइसकेको छ !”
येशूले ती शब्दहरूद्वारा कति आश्चर्यजनक दाबी गर्दै हुनुहुन्थ्यो भन्ने कुरा हामीले देखिसकेका छौँ । यहूदीहरूले शताब्दीऔँदेखि राज्यको प्रारम्भलाई पर्खिदै, त्यसका लागि आशा र प्रार्थना गर्दै आएका थिए, त्यस दिनलाई जब परमेश्वरको शासन पृथ्वीमा स्थापित हुनेछ र उहाँका मानिसहरूलाई आखिरीमा न्याय मिल्नेछ । अब येशू आउनुभएको थियो— सीकर्मीबाट शिक्षक भएका एक नाजरी— र उनीहरूले पर्खिरहेको दिन आइसकेको छ भनेर भन्दै हुनुहुन्थ्यो ।
त्यति मात्र होइन, उहाँले परमेश्वरको राज्य उहाँमा अभिषेक भएको दाबी गर्दै हुनुहुन्थ्यो ! त्यसैले मत्ती १२ः२८ मा, जब फरिसीहरूले येशूलाई शैतानको नाउँमा भूतहरू धपाएको आरोप लगाए, येशूले तिनीहरूलाई हकार्नुभयो र दाबी गर्नुभयो— “यदि परमेश्वरका आत्माद्वारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ” । उहाँले के भनिरहनु भएको छ भन्ने कुरा के तपाईंले देख्नुभयो ? स्पष्टरूपमा, येशूले भूतहरू धपाइरहनुभएको
थियो, र परमेश्वरको आत्माद्वारा उहाँले त्यसो गर्दै हुनुहुन्थ्यो । उहाँले यो दाबी गर्दै हुनुहुन्थ्यो कि परमेश्वरले उहाँका मानिसहरूलाई प्रतिज्ञा गर्नुभएको छुटकारा सुरु भएको छ । उहाँको राज्य आइसकेको छ । त्यो कति उत्तम विचार हो ! येशूको देह–धारण सृष्टिकर्ताले दया देखाएर भ्रमण गरेजस्तो मात्र होइन । त्यो त आदमको पतन हुँदा संसारमा प्रवेश गरेका मृत्यु, पाप र विनाशका विरुद्ध परमेश्वरको पूर्ण अनि अन्तिम प्रतिकार थियो ।
तपाईंले नयाँ करारमा येशूको जीवनका कथाहरूमा युद्ध नै भइरहेको देख्न सक्नुहुन्छ । राजा येशू शैतानको सामना गर्नका लागि एक्लै उजाडस्थानमा जानुभयो— र जसले आदमलाई परीक्षा लिएको थियो र धेरै वर्ष अगाडि संसारलाई भ्रष्टतामा फ्याँकिदिएको थियो— त्यसलाई निर्णायक रूपमा पराजित गर्नुभयो ! उहाँले जन्मजात अन्धो मानिसको आँखामा छुनुभयो र ती आँखामा प्रकाश प्रवेश गर्यो । उहाँले चिहानको निस्पट्ट अन्धकारमा हेर्नुभयो र बोलाउनुभयो “लाजरस, बाहिर आऊ !” र जसै त्यो मृत मानिस बाहिर आयो, मृत्युले मानवजातिमाथि आफ्नो पकड कमजोर हुँदै गएको महसुस गर्यो ।
र सबैभन्दा ठूलो कुरा, निश्चय नै पाप स्वयम् पराजित भयो जब येशूले क्रूसमा ठूलो स्वरले भन्नुभयो, “अब सिद्धियो !”
अन्तमा मृत्युको पकड पूर्णरूपमा समाप्त भयो जब स्वर्गदूतले मुस्कुराउँदै भने— “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ” (लूका २४ः५–६) । क्रमशः हरेक कदमका साथ, हरेक प्रहारका साथ, येशूले पापको पतनका असरहरूलाई निर्णायक रूपमा पछि धकेल्दै
हुनुहुन्थ्यो । यस संसारको न्यायोचित राजा आउनुभएको छ, र उहाँको राज्यको स्थापनामा बाधा बनेर खडा भएका सबै कुराहरू— पाप, मृत्यु, नरक र शैतान निर्णायक रूपमा पराजित भइरहेका छन् ।
यसको मतलब त्यस राज्यका आशिषहरू पहिले नै हाम्रा भइसकेका छन् । त्यसैले येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँले तिनीहरूलाई “अर्का सल्लाहकार”, पवित्र आत्मा पठाउनुहुनेछ, जसले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, उनीहरूको पापको दोष देखाउनु हुनेछ र तिनीहरूलाई शुद्ध पार्नुहुनेछ । त्यसैगरी, परमेश्वरको परिवारमा ग्रहण गरिनु र उहाँसँग मिलापमा आउनु भनेको के हो भनी ख्रीष्टियानहरूलाई थाहा छ । पावलले यो पनि भनेका छन्कि परमेश्वरको नजरमा हामी पहिले नै उठाइएका छौँ अनि ख्रीष्ट येशूसँग बसालिएका छौँ (एफिसी २ः६) ।
यो पत्याउनै नसकिने तर उत्साहजनक सत्य हो । तर अर्को कुरा पनि छ, त्यतिनै महत्वपूर्ण कुरा जसलाई हामीले बुझ्नुपर्छ ।
पूर्ण भइनसकेको एउटा राज्य
तेस्रो, परमेश्वरको राज्य पूर्ण भइसकेको छैन र राजा येशू नफर्किएसम्म त्यो पूरा हुनेछैन । दुष्टको शक्तिलाई नष्ट गर्नका लागि येशूले सबै कुराहरू गर्नुभए तापनि, उहाँले यस पृथ्वीमा परमेश्वरको पूर्ण अनि अन्तिम शासनचाहिँ स्थापित गर्नुभएन— कमसेकम अहिलेसम्म गर्नुभएको छैन । बलवान मानिस बाँधिएको थियो तर नास गरिएको
थिएन । दुष्टता पराजित भएको थियो तर पूर्णरूपमा मेटाइएको थिएन, र परमेश्वरको राज्यको सुरुवात भएको थियो तर पूर्णरूपमा त्यसको समापन भएको थिएन ।
येशूले भविष्यको त्यस दिनको बारेमा बताउनुभएको छ जब अन्तमा परमेश्वरको राज्य पूर्ण हुन्छ । उहाँले भन्नुभयो, त्यस दिनमा स्वर्गदूतहरूले, “पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई उहाँको राज्यबाट बटुल्नेछन्…तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्” (मत्ती १३ः४१–४३) । साथै, उहाँ अन्तिम भोजको त्यस दिनको प्रतीक्षामा हुनुहुन्छ जब उहाँले फेरि आफ्ना चेलाहरूसँग दाखको फलबाट पिउनुहुनेछ । “तर म तिमीहरूलाई भन्दछु, कि दाखको यस फलबाट म तबसम्म पिउनेछैन, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँगरी पिउँदिन” (मत्ती २६ः२९) ।
पावल पनि अनन्तमा मृतकहरूको पुनरुत्थानको उत्कट प्रतीक्षा गर्छन् (१ कोरिन्थी १५), र एफिसीहरूलाई भन्छन् कि तिनीहरूलाई पवित्र आत्माको छाप लगाइएको छ जो “परमेश्वरको आफ्नो सम्पत्ति अर्थात् हाम्रो पूर्ण उद्दार नपाएसम्म हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ” (एफिसी १ः१४) । पछि गएर उनले भने कि परमेश्वरले हामीलाई “ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई” बचाउनु भयो (एफिसी २ः७) । पत्रुसले पनि “आखिर समयमा प्रकट हुन आँटेको मुक्ति” को बारेमा बोलेका छन् (१ पत्रुस १ः५), र हिब्रूको पुस्तकका लेखकले पनि आफ्ना पाठकहरूलाई भनेका छन् कि उनीहरू “पृथ्वीमा परदेशी र प्रवासी” हुन् (हिब्रू ११ः१३) र उनीहरूले “एउटा जग भएको सहरको” प्रतीक्षा गर्नुपर्छ, “जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ” (पद १०) ।
ख्रीष्टियानहरूको लागि महान् आशा जसको हामी प्रतीक्षा गर्छौँ र जसका लागि हामी शक्ति अनि उत्साहको खोजी गर्छौँ, त्यो त्यही दिन हो जब हाम्रा राजाले, सधैँको लागि आकाशलाई छिचोलेर उहाँको महिमित राज्य स्थापना गर्न आउनुहुनेछ । त्यो महान्क्ष णमा यस संसारको सबथोक ठीक पारिनेछ, दुष्टता सधैँको लागि फालिन्छ, र सधैँको लागि धार्मिकता स्थापना गरिनेछ । परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ :
“हेर, म नयाँ आकाश र
नयाँ पृथ्वी सृष्टि गर्नेछु ।
अघिअघिका कुराहरूको सम्झना हुनेछैन,
न त ती मनमा आउनेछन्. . .
म यरूशलेमदेखि हर्षित हुनेछु
र मेरो प्रजामा खुशी हुनेछु;
र त्यहाँ रुवाइ र कराइको आवाज
फेरि कहिल्यै सुनिनेछैन” (यशैया ६५ः१७–१९) ।
अगमवक्ताले हामीलाई भनेका छन्, अनि त्यस दिनमा,
“तिनीहरूले मेरा सबै पवित्र पर्वतमा
न त केही हानि न नोक्सानी गर्नेछन्;
किनकि समुद्र पानीले भरिएझैँ
पृथ्वी परमप्रभुको ज्ञानले परिपूर्ण हुनेछ” (यशैया ११ः९) ।
बालक छँदा म सोच्ने गर्थे कि ख्रीष्टियानको उद्देश्य भनेको कहिले अन्त नहुने अभौतिक चर्चको सेवा सङ्गतिमा अनन्त समय बिताउनु हो ।
त्यो एउटा भयभीत विचार थियो ! र त्यो पूर्णरूपमा गलत थियो । परमेश्वर आफ्ना मानिसहरूका लागि पाप, मृत्यु र रोगबिमार बिनाको नयाँ संसार सृष्टि गर्न चाहनुहुन्छ । युद्ध अन्त हुनेछ, अत्याचार रोकिनेछ र परमेश्वर आफ्ना मानिसहरूको साथमा सधैँको लागि बास गर्नुहुनेछ । फेरि कहिल्यै पनि, परमेश्वरको कुनै मानिसले मृत्यु
भोग्नुपर्ने छैन, कहिल्यै पनि कुनै चिहानको छेउमा आँशुले हाम्रा आँखा भिज्ने छैन । नवजात शिशु केही दिनको लागि मात्र जिएर मर्ने छैन । कहिल्यै पनि हामी शोक मनाउने छैनौँ, न दुःखी हुनेछौँ, न रुनेछौँ । फेरि कहिल्यै पनि हामी घर फर्किन प्रतीक्षा गर्नेछैनौँ । किनकि प्रकाशको पुस्तकले हामीलाई भनेझैँ, परमेश्वर स्वयम्ले हाम्रा आँखाबाट प्रत्येक आँशु पुछिदिनु हुनेछ, तब अन्तमा हामीले उहाँको मुहार देख्नेछौँ !
साँच्चै, ती सबै कुराहरू चाँडो होस् भन्नका लागि तपाईं के गर्नुहुन्छ ? मलाई लाग्छ, एउटै कुरा— हे प्रभु येशू, छिट्टै आउनुहोस् ! जब मानिसहरू यी प्रतिज्ञाहरूको बारेमा कुरा गर्छन्, म जहिले पनि अलि अचम्मित हुन्छु— नयाँ स्वर्ग र नयाँ पृथ्वी, स्वर्गीय सहर जहाँ कुनै दुष्ट कुरा प्रवेश गर्दैन, मृत्यु, युद्ध अनि अत्याचारबिनाको संसार, र परमेश्वरका पुनर्जीवित मानिसहरू उहाँको मुहार अघि सधैँको लागि आनन्दसाथ जिउने ठाउँ— अनि तिनीहरू ती प्रतिज्ञाहरूबाट माथि हेर्छन् र भन्छन्, “ठिक छ, आऔँ हामी त्यसलाई वास्तविकता बनाऔँ !”
सत्य के हो भने मानवजातिको रूपमा हामीले परमेश्वरको राज्यको स्थापना र पूर्णता ल्याउन सक्नेछैनौँ । यस संसारलाई अझ असल ठाउँ बनाउने हाम्रो अथक र असल प्रयासहरूका बाबजुद पनि, बाइबलमा प्रतिज्ञा गरिएको राज्य तब मात्र आउनेछ जब राजा येशू स्वयम् त्यसलाई स्थापना गर्न फर्किनुहुनेछ ।
यो सम्झिनुपर्ने महत्वपूर्ण कुरा हो, कमसेकम केही कारणहरूका लागि । पहिलो, यस पतित संसारमा हामीले के उपलब्धि हासिल गर्न सक्नेछौँ भन्ने गलत अर्थात अन्तमा धोका दिने अपेक्षाबाट यसले हामीलाई जोगाउँछ । पक्कै पनि, ख्रीष्टियानहरूले समुदायमा केही परिवर्तनहरू ल्याउन सक्छन् । इतिहासमा, पहिले पनि यस्तो भएको छ, र अहिले पनि कतै भइरहेका छन् अनि भविष्यमा पनि त्यस्तो हुनेछ भन्ने कुरामा शङ्का गर्नुपर्ने केही कारण छैन । ख्रीष्टियानहरूले संसारमा अथाह असल कामहरू गरेका छन् र गर्न सक्छन्— असल कामहरू जसले संसारलाई परमेश्वर र येशू ख्रीष्टको गवाही दिन्छन् ।
तर मलाई लाग्छ, बाइबलले हामीलाई यो थाहा गर्न बाध्य पार्छ कि येशू नफर्किएसम्म, हाम्रा सामाजिक अनि सांस्कृतिक विजयहरू सधैँ सीमित समयको लागि मात्र हुनेछन्, कहिले पनि स्थायी हुनेछैन । ख्रीष्टियानहरूले कहिले पनि परमेश्वरको राज्य ल्याउने छैनन् । परमेश्वर स्वयम्ले मात्र त्यसो गर्न सक्नुहुन्छ । स्वर्गीय यरूशलेम स्वर्गबाट तल आउनेछ; जमिनबाट माथिसम्म निर्माण गरिने होइन ।
अझ महत्वपूर्ण रूपमा भन्नुपर्दा, राज्यको स्थापना तब मात्र हुन्छ जब येशू फर्किनुहुन्छ भन्ने कुरा याद गर्नाले हाम्रा आशाहरू, हाम्रो अनुराग अनि हाम्रो प्रतीक्षा स्वयम् येशूमा केन्द्रित हुन्छ । सबै कुरा ठिक बनाउनका लागि कुनै मानव शक्ति, कुनै मानवीय काम, कुनै मानवीय अधिकार वा हाम्रो आफ्नो प्रयासतिर हेर्नुको सट्टामा, हामी स्वर्गतर्फ हेर्छौँ र प्रेरित यूहन्नासँगै कराउँछौँ “त्यसो भए तापनि, आउनुहोस्, प्रभु येशू !” उहाँको आगमनको लागि हाम्रो उत्कट चाह बढ्नेछ, उहाँमा हाम्रा प्रार्थना झनै जोसिलो हुनेछन् र उहाँको लागि हाम्रो प्रेम झनै गाढा हुनेछ । छोटकरीमा भन्नुपर्दा, हाम्रा इच्छाहरू र आशाहरू दृढ रूपमा अनि सही ढङ्गमा राज्यमा भन्दा पनि राज्यको राजामा केन्द्रित हुनेछन् ।
राजालाई प्रत्युत्तर
चौथो, परमेश्वरको राज्यमा दाखिला हुनु–नहुनु राजाप्रतिको त्यस व्यक्तिको प्रत्युत्तरमा भर पर्दछ । यो विषयमा येशू एकदमै स्पष्ट हुनुहुन्छ । बारम्बार, उहाँ र उहाँको सन्देशप्रति एउटा व्यक्तिले दिने प्रत्युत्तरलाई नै, उहाँको राज्यमा त्यो व्यक्ति सहभागी हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारण गर्ने कारक बनाउनुभयो । एकजना धनी शासकको कुरा सम्झनुहोस् । “अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ ?” भनी तिनले सोधे । येशूको उत्तर थियो, “मेरो पछि लाग” जसको अर्थ त्यो मानिसले आफ्नो धनदौलतमाथिको विश्वासलाई त्यागेर येशूमा विश्वास गर्नु थियो (मर्कूस १०ः १७,२१)
परमेश्वरले मानवजातिको बीचबाट एउटा स्पष्ट रेखा कोर्नुहुनेछ भनी येशूले बारम्बार भन्नुभयो; अर्थात् बचाइएकाहरूलाई नबचाइएकाहरूबाट अलग गर्नुहुनेछ । ती दुईको बीचमा भिन्नता ल्याउने एकमात्र कुरोचाहिँ तिनीहरूले राजा येशूप्रति कसरी प्रत्युत्तर दिन्छन्भ न्ने कुरामा भर पर्छ । मत्ती २५ मा, भेडा र बाख्राको दृष्टान्तले यही
भन्न खोजेको छ । अन्तमा, “आओ” र “मबाट दूर होओ” को बीचमा फरक भनेको प्रत्येक व्यक्तिले येशूप्रति कसरी जवाफ दियो भन्ने थियो ।
निश्चय नै, हामीलाई येशूका मानिसहरू हुन सम्भव तुल्याउने कुरा भनेको हाम्रो निम्ति उहाँको क्रूसको मृत्यु नै थियो । उहाँ राजा हुनुहुन्थ्यो र उहाँले प्रेम र दयाको राज्य अभिषेक गर्नुभयो भन्ने कुरा मात्र होइन तर येशूको बारेमा त्यो साँच्चै नै आश्चर्यजनक कुरा थियो । साँच्चै, त्यो खासै आश्चार्यजनक छैन; हरेक यहूदीलाई थाहा थियो कि कुनै दिन त्यसो हुनेछ । होइन, येशूको सुसमाचारसम्बन्धी आश्चार्यजनक कुरा त यो हो कि येशू राजा आफ्ना मानिसहरूलाई बचाउन मर्नुभयो, र यी मसीह क्रूसमा मारिएको मसीह भए ।
यहूदीहरूले शताब्दीऔँदेखि एक मसीह राजा आएर तिनीहरूको उद्धार गर्नेछन् भन्ने आशा गरेका थिए । तिनीहरूले एकजना कष्ट भोग्ने परमेश्वरको सेवकको पनि आशा गरेका थिए (यशैयाले अगमवाणी गरेका), र तिनीहरूमा एक ईश्वरीय “मानिसको पुत्र” को पनि अलि अस्पष्ट आशा थियो जो युगको अन्तमा देखा पार्नुहुनेछ (दानिएल) । तर, यी तीनै व्यक्तिहरू उही एकजना मानिस हुन आउनुहुनेछ भन्ने कुराचाहिँ तिनीहरूले बुझ्न सकेका थिएनन् । कसैले पनि ती तीन धागोहरूलाई सँगै ल्याउन सकेनन्— कमसेकम येशूको समयसम्म ।
तर, येशूले आफूलाई इस्राएलको मसीह आशाको परिपूर्णताको रूपमा मात्र घोषणा गर्नुभएन (अर्थात् राजा), तर उहाँले निरन्तर आफूलाई दानिएल ७ को ती ईश्वरीय “मानिसको पुत्र” पनि भन्नुभयो । साथै, येशूले मानिसको पुत्रको बारेमा भन्नुभयो कि उहाँ “धेरैका छुट्काराको मोलको निम्ति आफ्नो प्राण दिन” आउनुभयो (मर्कूस १०ः४५), जसले यशैया ५३ः१० मा उल्लेख भएको परमेश्वरको कष्ट भोग्ने सेवकतिर औँल्याएको छ ।
येशूले के दाबी गर्दै हुनुहुन्थ्यो भन्ने कुरा के तपाईंले देख्नुभयो ? उहाँ भन्दै हुनुहुन्थ्यो कि उहाँ आफैले— एकै पटकमा— दाऊदको वंशको मसीह, यशैयाको कष्ट भोग्ने सेवक र दानिएलको मानिसको पुत्र लगायतका सबै भूमिकालाई पूरा गर्नुभयो ! येशूले मानिसको पुत्रको ईश्वरीय स्वभावलाई लिनुभयो, सेवकको प्रतिस्थापनीय कष्टलाई जोडिदिनुभयो र अन्तमा यी सबैमा उहाँको मसीह भूमिकालाई जोड्नुभयो । येशूले यहूदी आशाका सबै धागोहरूलाई जोड्नुभएपछि, तिनीहरूले आशा गरेका सांसारिक तथा परिवर्तनकारी राजाभन्दा उहाँ असीमित रूपमा महान् राजा हुनुभयो । उहाँ ईश्वरीय सेवक–राजा हुनुहुन्थ्यो, जसले आफ्ना मानिसहरूका मुक्तिका लागि कष्ट भोग्नुभयो र मर्नुभयो, तिनीहरूलाई आफ्ना पिताको नजरमा धर्मी सावित गर्नुभयो, र तिनीहरूलाई उहाँको राज्यमा महिमाका साथ ल्याउनुभयो ।
ती कुराहरूको कारण, उहाँको राज्यमा प्रवेश गर्नको लागि एक व्यक्तिले आफ्नो पापको प्रायश्चित गर्छ या गर्दैन, र क्रूसमा उहाँले गर्नुभएको प्रायश्चितको काममा भरोसा राख्छ या राख्दैन भन्ने कुरामा निर्भर हुनु कुनै नौलो कुरा होइन । जब येशूले “राज्यको सुसमाचार” बारे बोल्नुहुन्छ, उहाँको आशय केवल यो होइन कि राज्य आइसकेको छ । उहाँको आशय हो, राज्य आइसकेको छ र यदि तिमीहरू म अर्थात् राजामा एकीकृत हुन चाहन्छौँ भने यसमा समावेश हुन सक्छौँ— मैले मात्र तिमीहरूलाई तिमीहरूका पापदेखि बचाउन सक्छु भन्ने विश्वासद्वारा ।
त्यसकारण, ख्रीष्टको राज्यको नागरिक हुनु “एउटा राज्यको जीवन जिउनु” वा “येशूको उदाहरण पछ्याउनु” वा “येशूले जसरी जिउनु” मात्र होइन । सत्य यो हो कि कुनै व्यक्तिले “येशूको अनुयायी” वा “राज्यको जीवन जिउने व्यक्ति हुँ” भनी दाबी गरे तापनि ऊ राज्यभन्दा बाहिर हुनसक्छ । तपाईंले येशूजस्तै भएर जिउन सक्नुहुन्छ,
तर क्रूसमा चढाइएका राजाको सामुन्ने पश्चाताप गरेर विश्वासमा नआएसम्म; पापको लागि सर्वोत्तम बलिदान र मुक्तिको लागि तपाईंको एकमात्र आशाको रूपमा उहाँमा भरोसा नराखेसम्म, तपाईं न त ख्रीष्टियान हो न त उहाँको राज्यको नागरिक नै ।
ख्रीष्टको राज्यमा सहभागी हुने बाटो भनेको राजाकहाँ आउनु हो, हामीलाई जीवन जिउन सिकाउने महान् उदाहरणको रूपमा उहाँको प्रशंसा गरेर मात्र होइन, तर विनम्रताका साथ त्रूmसमा चढाइएका र पुनरुत्थान भएका प्रभुको रूपमा उहाँमा भरोसा गरेर । उहाँले मात्र तपाईंलाई मृत्युको दण्डदेखि मुक्त पार्न सक्नुहुन्छ । अन्तमा, राज्यभित्र जान सकिने एक मात्र बाटो भनेको राजाको रगत हो ।
राजाको निम्ति जिउने बोलावट
पाचौँ, राज्यको नागरिक हुनु भनेको राज्यको जीवन जिउन बोलाइनु हो । रोमी ६ अध्यायमा, पावल ख्रीष्टियानहरूलाई यो थाहा गर्न आह्वान गर्छन् कि तिनीहरूलाई पापको राज्यबाट उद्धार गरेर परमेश्वरको राज्यमा ल्याइएको छ । “यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं । यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं । हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं । किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ । तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं । हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन । अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन । जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखि सधैँको लागि एकै पल्ट मर्नुभयो । तर जुन जीवनमा उहाँ जिउनुहुन्छ, त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ । यसै गरी तिमीहरूले पनि आफू–आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ” (रोमी ६ः४–११) ।
जब हामी विश्वासद्वारा परमेश्वरको राज्यमा ल्याइन्छौँ, पवित्र आत्माले हामीलाई नयाँ जीवन दिनुहुन्छ । हामी नयाँ राज्यको नागरिक हुन्छौँ, र एक नयाँ राजाको प्रजा हुन्छौँ । त्यसकारण, हामीले ती राजाको आज्ञापालन गर्नुपर्ने हुन्छ र उहाँलाई आदर हुने किसिमले जिउनु हाम्रो कर्तव्य हुन आउँछ । त्यसैले पावलले भनेका छन् :
यसकारण शरीरका अभिलाषा अनुसार चल्नु नपरोस्
भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न
नदेओ । आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको
रूपमा पाप गर्नलाई समर्पण नगर । तर मृत्युबाट जीवनमा
ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल
(रोमी ६ः१२–१३) ।
ख्रीष्ट नफर्किदासम्म, हामी पापमय युगमा जिइरहनेछौँ, र हाम्रा राजाले उहाँको राज्यको योग्य जीवन जिउन हामीलाई बोलाउनुभएको छ (१ थेसलोनिकी २ः१२), टेढा र बरालिएका पुस्ताको बीचमा “ताराहरू झैँ चम्किन” बोलाउनुभएको छ (फिलिपी २ः१५) । राज्यको जीवन जिउनुले हामी राज्यभित्र पुग्ने होइनौँ । जब हामीलाई राजामाथिको विश्वासद्वारा राज्यभित्र ल्याइन्छ, तब हामीले आफैलाई नयाँ मालिक, नयाँ व्यवस्था, नयाँ अधिकार र नयाँ जीवनमा पाउनेछौँ— त्यसकारण हामी राज्यको जीवन जिउने चाहना गर्न थाल्छौँ । बाइबलले हामीलाई बताउँछ कि यस युगमा राज्यको जीवनलाई मुख्य रूपमा चर्चभित्र अभ्यास गर्न सकिन्छ । के तपाईंले कहिल्यै यस विषयमा सोच्नुभएको छ ? यस युगमा परमेश्वरको राज्य प्रकट गरिने ठाउँ चर्च हो । एफिसी ३ः१०–११ मा हेर्नुहोस् :
“ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका
ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारावालाहरूका
माझमा प्रकट गरियोस् । योचाहीँ ख्रीष्ट येशू हाम्रा प्रभुमा
उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो ।”
चर्च यस्तो स्थल हो जसलाई परमेश्वरले आफ्नो ज्ञान र सुसमाचारको महिमा प्रदर्शन गर्न छान्नुभएको छ । पहिला नै धेरैले व्यक्त गरेजस्तै, चर्च भनेको यस संसारमा परमेश्वरको राज्यको बाहिरी चौकी हो । चर्च नै परमेश्वरको राज्य हो भन्नु सही हुँदैन । जस्तो हामीले देख्यौँ, त्यहाँ त्योभन्दा अझ धेरै कुराहरू छन् । तर यो सत्य हो कि चर्च त्यस्तो ठाउँ हो जहाँ परमेश्वरको राज्य यस युगमा प्रकट गरिन्छ ।
के तपाईं खोटरहित अनि सिद्ध बनाइनु अघिको परमेश्वरको राज्य कस्तो थियो भनी हेर्न चाहनुहुन्छ ? के तपाईं राज्यको जीवन यस युगमा हेर्न चाहनुहुन्छ ? चर्चलाई हेर्नुहोस् । चर्चमा नै परमेश्वरको बुद्धिमत्ता प्रदर्शन भएको छ, जहाँ येशूको कारण पहिले टाढा भएका मानिसहरू अहिले मिलाप र एकतामा छन्; जहाँ परमेश्वरका पवित्र आत्मा फेरि मानव जीवन बनाउन र निर्माण गर्न लाग्नुभएको छ । चर्चमा नै परमेश्वरका मानिसहरूले एकअर्कालाई प्रेम गर्न, एकअर्कोको बोझ र पीडाहरू थामिदिन, सँगै रुन अनि सँगै आनन्द मनाउन र एकअर्कालाई जवाफदेही बनाउन सिक्छन् । पक्कै पनि, चर्च पूर्णरूपमा उत्तम छैन, तर चर्च त्यहाँ हुन्छ जहाँ राज्यको जीवन जिउने गरिन्छ
र मुक्तिको खाँचो भएका संसारलाई त्यस्तो जीवन प्रदर्शन गरिन्छ ।
अन्धकारबाट भएर जानु
संसारले उद्धार पाउनु पर्ने आवश्यकताको कारणले गर्दा नै यस युगमा ख्रीष्टको राज्यको नागरिक भएर जिउन गाह्रो भएको छ । संसारको लागि, ख्रीष्टियानहरू पहिलेदेखि नै खतरामूलक छन् । चर्चका सुरुवाती दिनहरूमा, “येशू नै प्रभु हुनुहुन्छ !” भनी घोषणा गर्नु भनेको सम्राटको अधिकारको इन्कार र ईश्वरनिन्दा गर्नु भन्ने अर्थ लाग्थ्यो, त्यसो भनेकै कारण ख्रीष्टियानहरूलाई मारिन्थ्यो । आज, “येशू नै प्रभु हुनुहुन्छ” भन्ने घोषणा गर्दा बहुलवादप्रति असहिष्णु भएको र कट्टरपन्थी बनेको भन्ने अर्थ लाग्छ, र त्यसैको कारण संसारले हाम्रो निन्दा गर्दछ ।
धर्मशास्त्रमा कतै पनि राज्यको जीवन अर्थात् राजाप्रति बफादार रहने सङ्घर्ष सजिलो छ भनिएको छैन । येशूले प्रतिज्ञा गर्नुभयो कि उहाँलाई पछ्याउनेहरूले सतावटको सामना गर्नेछन्, तिनीहरूको निन्दा गरिनेछ, उपहास गरिनेछ र तिनीहरू मारिन पनि सक्नेछन् । तर यी सबै कुराको बाबजुद पनि हामी ख्रीष्टियानहरू अघि बढिरहन्छौँ किनभने हामी जान्दछौँ कि परमेश्वरले हामीले कल्पना नै गर्न नसक्ने उत्तराधिकार हाम्रो निम्ति राखिदिनुभएको छ ।
जे. आर. आर. टोल्किनको अद्भूत महाकाव्य “दि लोर्ड अफ द रिंग्स” को अन्तिम पुस्तकमा, कथाका नायकहरू तिनीहरूको यात्राको सबैभन्दा अँध्यारो भागमा आइपुग्छन् । तिनीहरूले एक हजार माइल यात्रा गरेका हुन्छन् र अन्तमा एक दुष्ट देशमा आइपुग्छन् जुन तिनीहरूको लक्ष्य थियो, तर विविध कारणहरूले गर्दा तिनीहरूले सबै कुरा गुमाएझैँ महसुस गर्छन् । तब सबैभन्दा अँध्यारो क्षणमा, नायकमध्ये एक, श्यामले कालो आकाशतिर हेर्छन् टोल्किनले यस्तो लेखेका छन् :
पश्चिममा पहाडहरू भन्दा धेरै माथि, रात्रिकालीन आकाश
झनै मधुरो अनि फिका थियो । त्यहाँ, उच्च पहाडहरूबीच
एउटा अँध्यारो चुचुरोमा, बादलको बीचबाट चियाउँदै, श्यामले
एउटा सेतो तारा चम्किरहेको देख्यो । त्यसको सुन्दरताले
उसको हृदयलाई घोच्यो, जसै उसले त्यस त्यागिएको भूमिबाट
माथि हेर्यो, उसमा आशा फर्कियो । किनकि एउटा छडीले झैँ,
स्पष्ट अनि शीतल विचारले उसलाई छेड्यो र अन्ततः त्यो
छायाँ सानो र बितेर जाने कुरा हो भनी बुझे— सधैँको लागि
त्यसको पहुँचभन्दा धेरै पर, ज्योति र उच्च सुन्दरता त्यहाँ छ ।
यस कथामा मलाई सबैभन्दा मनपर्ने क्षणमध्ये एउटाचाहिँ यही हो कि टोल्किनले आफूले ख्रीष्टमा विश्वास गर्ने कुरा स्वीकार गरेका थिए, त्यहाँनेर उनले अन्धकारमा निरन्तर बढ्नका लागि साहस कहाँ पाइन्छ भनी सङ्केत गरेका छन् । त्यो आशाबाट आउँछ । त्यो साहस र वर्तमानको कष्ट बितेर जाने कुरा हो, र पावलले भनेझैँ, त्यो साहस र कष्ट हाम्रा राजा फर्किनु भएपछि हामीमा प्रकट हुने महिमासँग दाँजिन योग्य छैन भन्ने बुझाइबाट आउँछ ।
– ग्रेग गिल्बर्टद्वारा लिखित सुसमाचार के हो ? नामक पुस्तकबाट साभार गरिएको।