
येशू ख्रीष्ट उद्धारकर्ता
मलाई लाग्छ यो मानिसले बोल्न सक्ने सबैभन्दा शक्तिशाली शब्द हो । यो सानो छ, तर यससँग पहिला भनिएका सबै कुरालाई मेटाइदिने शक्ति हुन्छ । खराब समाचारको पछाडि यो शब्द आयो भने यससँग नजर उठाइदिने र आशा पुनस्र्थापित गरिदिने शक्ति हुन्छ । मानिसको जिब्रोले बोल्ने कुनै शब्दहरूमा भन्दा, यस शब्दसित सबैथोक परिवर्तन गरिदिने क्षमता छ ।
– हवाईजहाज दुर्घटना भयो तर कसैलाई पनि चोट लागेन ।
– तपाईंलाई क्यान्सर लागेको छ तर सजिलै उपचार गर्न सकिन्छ ।
– तपाईंको छोरा कार दुर्घटनामा पर्नुभयो तर उसलाई केही भएको छैन ।
दुःखलाग्दो कुरा, कहिलेकाहीँ यो तर आउँदैन । कहिलेकाहीँ वाक्य टुंगिन्छ र केवल नराम्रो समाचार मात्र पाउँछौँ । त्यस्ता पलहरूले फेरि त्यो समयको महत्व बढाइदिन्छ जब त्यो तर साँच्चै आउँदछ । र ती समयहरू सर्वश्रेष्ठ हुन्छन् । परमेश्वरलाई धन्यवाद ! मानिसको पाप र परमेश्वरको न्यायबाट आउने खराब समाचार नै कथाको
अन्त्य होइन । यदि सारा संसार निरुत्तर भएर परमेश्वरको न्यायको सिंहासन अगाडि उभिनेछ भन्ने पावलको घोषणामै बाइबलको अन्त भएको भए हाम्रो निम्ति कुनै आशा हुने थिएन । निराशामात्रै हुने थियो । तर (फेरि पनि !) धन्य परमेश्वर तपाईंले आशा राखिदिनुभएको छ ! हामी पापी छौँ जसको नियति सजाय भोग्नु हो । तर परमेश्वरले हामीजस्तो पापीलाई बचाउन कदम उठाउनुभएको छ ।
आशाको वचन
मर्कूसले येशूको जीवन गवाहीलाई यी शब्दहरूबाट सुरु गरेका छन्, “परमेश्वरका पुत्र येशू ख्रीष्टको सुसमाचारको आरम्भ ।” सुरुवातदेखि नै, मर्कूस र सुरुका अरु ख्रीष्टियानहरूलाई यो थाहा थियो कि येशू ख्रीष्टको आगमन पापको चरणमा नष्ट भएका र मरेतुल्य भएका संसारका निम्ति परमेश्वरको सुसमाचार थियो । अन्धकारमय
पापको विनाशको समयमा, येशूको आगमन सबै कुरा परिवर्तन भएको छ भन्ने उहाँको तेजस्वी साथै गडगडाउँदो घोषणा थियो ! अदनको बगैँचामा समेत परमेश्वरले आदम र हव्वालाई आशाको वचन दिनुभएको थियो— तिनीहरूको निराशाको समयमा पनि केही असल समाचार दिनुभएको थियो । खासै धेरै त होइन, एउटा सङ्केत
मात्र थियो, सर्पको विरुद्ध बोलिएको परमेश्वरको वाक्यको अन्तमा एउटा वाक्यांश जोडिएको थियो ।
“त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कच्चो डस्नेछस्” (उत्पत्ति ३ः१५) ।
तर त्यहाँ केही थियो । आदम र हव्वा विद्रोही भए तापनि अझै घटनाको अन्त्य भएको छैन भनी उनीहरूले थाहा पाएको परमेश्वर चाहनुहुन्थ्यो । त्यहाँ केही सुसमाचार थियो, त्यो प्रलयको माझमा पनि केही राम्रो खबर थियो ।
बाइबलको बाँकी अंशहरूले सुसमाचारको सानो बिउ कसरी छरियो, मुना पलायो र बढ्यो भन्ने विषयमा बताउँछ । हजारौँ वर्षसम्म,परमेश्वरले व्यवस्था र अगमवाणीद्वारा येशू ख्रीष्टको जीवन, मृत्यु र पुनरुत्थानमा संसारलाई सर्प विरुद्ध उहाँको आश्चर्यजनक अन्तिम प्रहारको निम्ति तयार गर्नुभयो । जब सबैकुरा सकिनेछ, आदमले सम्पूर्ण मानवजातिमाथि निम्त्याएको दोष पराजित हुनेछ, परमेश्वरल आफ्ना सृष्टिमाथि घोषणा गर्नुभएको मृत्यु मर्नेछ र नरकलाई घुँडा टेकाइनेछ । बाइबलचाहिँ परमेश्वरले पाप विरुद्ध गर्नुभएको प्रतिघात हो । परमेश्वरले कसरी सबैकुरा ठीक गर्नुभयो, गर्दै हुनुहुन्छ र कसरी एक दिन सधैँको लागि यी सबै कुरा ठीक गरिदिनुहुनेछ भन्ने महान्
वर्णन हो ।
पूर्णरूपमा परमेश्वर, पूर्णरूपमा मानिस
सुसमाचारका सबै लेखकहरूले येशू कुनै साधारण मानिस हुनुहुन्नथ्यो भन्ने विवरण दिदैँ उहाँको जीवनीलाई सुरु गर्दछन् । मत्ती र लूकाले एकजना स्वर्गदूत मरियम नाम गरेकी एक कन्या युवतीकहाँ आएको र उनी गर्भवती भएकोबारे बताएका छन् । उक्त समाचारमा विश्वास नलागेर, मरियमले सोधिन्, “यो कसरी हुन सक्छ, किनकी म एक कन्या हुँ ?” स्वर्गदूतले जवाफ दिन्छन्, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छायाँ तिमीमाथि पर्नेछ; यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (लूका १ः३४–३५) । यूहन्नाले झनै आश्चार्यजनक भनाइद्वारा यस कुरालाई सुरु गर्छुन्— “आदिमा” (उत्पत्ति १ः१ लाई जोड दिदैँ सङ्केत गर्ने शब्द) “वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो ।…वचन देहधारी हुनुभयो र हाम्रा बीचमा वास गर्नुभयो” (उत्पत्ति १ः१, १४) ।
कन्याद्वारा येशूको जन्म, “परमेश्वरको पुत्र” भनिने नाम, “वचन परमेश्वर हुनुहुन्थ्यो” भन्ने यूहन्नाको जोड साथसाथै “वचन देहधारी हुनुभयो” भन्ने उनको घोषणा— यी सबै कुराहरूले येशू को हुनुहुन्छ भनी हामीलाई सिकाउन चाहेका छन् ।
सरल रूपमा भन्नुपर्दा, येशू पूर्णरूपमा मानिस र पूर्णरूपमा परमेश्वर हुनुहुन्छ भन्ने कुरा बाइबलले हामीलाई सिकाउँछ । यो उहाँको बारेमा बुझ्नुपर्ने महत्वपूर्ण बुँदा हो, किनकि पूर्णरूपमा मानव र पूर्णरूपमा परमेश्वरको अलौकिक पुत्रले मात्र हामीलाई बचाउन सक्छ । यदि परमेश्वर अरू मानिस जस्तै भइदिएको भए— हाम्रो
पतित अवस्था र हामी जस्तै— एउटा मृत मानिसले अर्को मृतकलाई बचाउन नसकेझैँ उहाँले पनि हामीलाई बचाउन सक्नुहुन्नथ्यो । तर उहाँ पापरहित परमेश्वरको पुत्र र पिता परमेश्वरसँग स्वर्गीय सिद्धतामा समान भएको कारण, पापलाई पराजित गर्न र हामीलाई हाम्रा पापदेखि बचाउन उहाँ सक्षम हुनुभयो । त्यसैगरी, उहाँ साँच्चै
हामीबीचबाट हुनु पनि अति नै महत्वपूर्ण छ— अर्थात्, पूर्णरूपमा मानव— ताकी पितासामु उहाँले हाम्रो प्रतिनिधित्व गर्न सक्नुभएको होस् । हिब्रू ४ः१५ मा भनिएको छ, येशूले “हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन” सक्नुहुन्छ किनकि “हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो ।”
मसीह राजा— यहाँ !
जब येशूले आफ्नो सेवकाइ सुरु गर्नुभयो, उहाँले एउटा अद्भुत सन्देश घोषणा गर्नुभयो— “समय आएको छ ! परमेश्वरको राज्य नजिकै आइसक्यो । पश्चाताप गर र सुसमाचारमा विश्वास गर !”
परमेश्वरको राज्य आएको छ भन्दै येशूले प्रचार गर्नुभएको कुरा छिटै देशभर फैलियो । उत्साहित भीडहरूले येशूले घोषणा गरिरहेको “सुसमाचार” सुन्नका लागि उहाँलाई घेर्न थाले । तर यसमा त्यस्तो उत्साहपूर्ण कुरा के थियो ?
शताब्दीऔँदेखि, उहाँको व्यवस्था र उहाँका अगमवक्ताहरूद्वारा, परमेश्वरले एक समयको भविष्यवाणी गर्नुभएको थियो; उहाँले संसारको दुष्टता सधैँका लागि अन्त्य गर्ने र आफ्ना प्रजालाई उनीहरूका पापबाट बचाउने प्रतिज्ञा गर्नुभएको थियो । उहाँले सबै प्रतिरोधलाई मेटाएर समस्त पृथ्वीमा आफ्नो शासन र उहाँको “राज्य”स्थापित गर्नेछु भनी भन्नुभएको थियो । आफ्नो राज्य एक मसीह राजामार्फत स्थापित गर्नेछु भनी परमेश्वरले भन्नुभएको थियो, जो महान् राजा दाऊदको राजकीय घरानाबाट हुनेछन् । २ शमूएल ७ः११ मा, परमेश्वरले दाऊदसँग प्रतिज्ञा गर्नुभयो कि तिनका सन्तानमध्ये एकले उनको सिंहासनमा अनन्तको लागि राज्य गर्नेछन् । र यशैया अगमवक्ताले यी राजकीय पुत्रको बारेमा यसो भनेका छन् :
“उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर,
अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।
उहाँको शासन शान्तिको र वृद्दिको
अन्त कहिल्यै हुनेछैन ।
दाऊदको सिंहासन र तिनको राज्यमाथि,
त्यसलाई न्याय र धार्मिकत्ताको साथ
स्थापित गरेर स्थिर गराउन,
त्यस बेलादेखि सदाको निम्ति
उहाँले राज्य गर्नुहुन्छ” (यशैया ९ः६–७) ।
त्यसकारण, स्वर्गको राज्यको आगमन भएको छ भन्दै येशूले घोषणा गर्न थाल्नुभएपछि मानिसहरूमा उहाँलाई स्वागत गर्ने त्यो उत्साह कसरी आयो भनी तपाईं कल्पना गर्न सक्नुहुन्छ । त्यसको मतलब निकै प्रतीक्षित दाऊदको वंशका मसीह अन्तमा त्यहाँ आउनुभएको थियो ।
सुसमाचार लेखकहरू दृढ छन् कि दाऊद वंशका राजा अरू कोही नभई येशू स्वयम् हुनुहुन्छ । स्वर्गदूतले मरियमलाई येशूको जन्मको घोषणा गर्दाको शब्दको अभिलेख लूकाले राखेका छन् :
“उहाँ महान् हुनुहुनेछ,र परमप्रधानका पुत्र कहलाइनुहुनेछ,र
परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पूर्खा दाऊदको सिंहासन
दिनुहुनेछ । उहाँले याकूबको वंशमाथि सदासर्वदा राज्य
गर्नुहुनेछ,र उहाँको राज्यको अन्त्य हुनेछैन” (लूका १ः३२–३३) ।
मत्तीले आफ्नो पुस्तकलाई वंशावलीका साथ सुरुवात गरेका छन् जसले येशूको पुख्र्यौली राजा दाऊददेखि अब्राहामसम्म रहेको देखाउँछ । त्यसलाई चौध जनाको तीन पुस्तामा भाग गरेर, मत्तीले आकर्षक रूपमा वंशावलीको ढाँचा तयार पारेका छन् । र कुनै राम्रो यहूदीलाई थाहा हुनुपर्छ कि चौध त्यही अङ्क हो जुन तीन
हिब्रू अक्षर डी–भी–डी को मान जोडेर प्राप्त हुन्छ, “दाऊद” । अरू ख्रीष्टियानहरूजस्तै, जब मत्ती येशूको बारेमा वर्णन गर्न सुरु गर्दछन्, वास्तवमै उनले जोडजोडले भनिरहेका छन्, “राजा ! राजा ! राजा !”
अप्रत्याशित सुसमाचार— यदि तपाईं यसमा प्रवेश गर्न सक्नुहुन्छ भने
त्यसपछि नयाँ करारले कसरी राजा येशूले पृथ्वीमा परमेश्वरको राज्य अभिषेक गर्नुहुन्छ र पापको श्रापलाई उल्ट्याइ दिनुहुन्छ भनी बताउँछ । तर येशूले अभिषेक गर्नुभएको राज्य यहुदीहरूले आशा गरेको र चाहेको जस्तो थिएन । तिनीहरू यस्तो मसीह चाहन्थे जसले सांसारिक राज्यमा राजनीति गरोस् र त्यतिबेलाको शासकीय शक्ति, रोमी साम्राज्यलाई पल्टाउन र हटाउन सकोस् । तर येशूले सांसारिक मुकुटलाई हेरिरहनुभएको थिएन तर प्रचार गदै, शिक्षा दिदैँ, रोगीहरूलाई निको पार्दै, पाप क्षमा गर्दै; रोमी गभर्नरलाई स्पष्ट भन्दै हुनुहुन्थ्यो कि “मेरो राज्य यस संसारको होइन” (यूहन्ना १८ः३६) ।
त्यसको मतलब उहाँको राज्य कहिल्यै पनि यस संसारको हुन सक्दैन भन्ने होइन । केही अगाडि येशूले प्रधान पुजाहारीलाई भन्नुभयो, “तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ” (मर्कूस १४ः६२), प्रकाश २१ अध्यायमा उहाँले नयाँ स्वर्ग
र नयाँ पृथ्वीमाथि राज्य गर्नुभएको हामी पढ्छौँ जो उहाँको शक्तिद्वारा आमूल रूपमा परिवर्तन भई पापको दासत्वबाट मुक्त भएको हुन्छ ।
यदि तपाईं यसमा प्रवेश गर्न सक्नुहुन्छ भने यी सबै कुराहरू निश्चय नै असल समाचार हुन् । फेरि पनि हामी आफ्नो पापको समस्यामा आइपुगेका छौँ, होइन त ? परमेश्वर विरुद्ध हाम्रो अनाज्ञाकारिता र विद्रोहको दोषलाई हटाउन केही नगरिएसम्म, हामी उहाँबाट अलग्गिएका हुन्छौँ र नयाँ स्वर्ग र पृथ्वीको आनन्दलाई होइन तर नरकको अनन्त दण्ड भोग्न बाध्य हुन्छौँ ।
तर यहाँनेर ख्रीष्टको सुसमाचारको सन्देश झन्झन् असल हुँदै जान्छ । राजा येशू परमेश्वरको राज्य अभिषेक गर्न मात्र आउनुभएन, तर पापीहरूलाई उनीहरूको सट्टामा उनीहरूको पापको निम्ति मरेर, तिनीहरूको सजाय आफूले बोकेर अनि तिनीहरूको निम्ति क्षमादान निश्चित गरेर, परमेश्वरको नजरमा तिनीहरूलाई धर्मी ठहराएर, र स्वर्गको राज्यको हकदार हुन तिनीहरूलाई योग्य बनाउनका लागि आउनुभयो (कलस्सी १ः१२) ।
कष्ट भोग्ने राजा ?
येशूलाई आफूतर्फ आउँदै गरेको देखेपछि उँटको छाला पहिरने र सलह खाने अगमवक्ता, बप्तिस्मा दिने यूहन्नाले यसो भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” (यूहन्ना १ः२९) । परमेश्वरको थुमा वा संसारको पाप उठाइलैजाने भनी उनले के भन्न खोजेका थिए ?
यूहन्नाले भनेका “पाप उठाइलैजाने परमेश्वरको थुमा” क अर्थ पहिलो शताब्दीका हरेक यहूदीलाई थाहा थियो । यसले यहूदी पर्व अर्थात् निस्तार चाडतर्फ सङ्केत गर्दछ, पन्ध्रसय वर्ष अगाडि मिश्रको दासत्वबाट इस्राएलीहरूलाई परमेश्वरद्वारा चामत्कारिक छुटकारा दिइएको सम्झनामा यसलाई मनाइन्थ्यो ।
मिश्रीहरू विरुद्धको न्यायको रूपमा, परमेश्वरले तिनीहरूमाथि दशवटा महामारी पठाउनुभयो, हरेकपल्ट मिश्री राजाले आफ्नो हृदय कठोर पारे र इस्राएलीहरूलाई जान दिएनन् । अन्तिम महामारी सबैभन्दा भयानक थियो । परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो कि तोकिएको रातमा मृत्युको दूत मिश्रदेशभरि जानेछन् र ती देशका पहिलो जन्मिएका हरेक बच्चा र जनावरहरू मारिनेछन् । उनीहरूले ध्यानपूर्वक परमेश्वरको आज्ञा पालना नगर्दासम्म— त्यो भयानक निर्णय इस्राएलीहरूमा पनि लागू हुन्थ्यो । परमेश्वरले तिनीहरूलाई भन्नुभयो, प्रत्येक परिवारले कुनै खोट अथवा दाग नभएको एउटा पाठो लिएर त्यसलाई मार्नु । त्यसपछि हिसपको हाँगाले त्यसको केही रगत तिनीहरूको घरको ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरको खम्बामा छ्याप्नु । त्यसपछि परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि जब मृत्युको दूतले त्यो रगतको छाप देख्छन् तब तिनले त्यस घरलाई मृत्युको न्यायदेखि जोगाउँछन् ।
निस्तार चाडको भोज— र विशेषगरी निस्तारको पाठो— कसैले पाएको मृत्युको सजायलाई अरू कसैको मृत्युले तिर्न सकिन्छ भन्ने विचारको एउटा शक्तिशाली बिम्ब बन्यो । यो “दण्ड प्रतिस्थापन” को विचारले पुरानो करारको सम्पूर्ण बलिदानको व्यवस्थालाई स्थापित गर्यो । वार्षिक प्रायश्चितको दिनमा, प्रधान पूजाहारी मन्दिरको बीच भागमा जान्थे, जसलाई महा—पवित्रस्थान भनिन्थ्यो, र एउटा खोटरहित पशुलाई मानिसहरूका पापको बलिदानको रूपमा मार्थे । वर्षैपिच्छे यसो गरिन्थ्यो, र वर्षैपिच्छे मानिसहरूका पापको दण्डलाई फेरि एउटा पाठोको रगतले स्थगित गथ्र्यो ।
समय लाग्यो, तर येशूलाई पछ्याउनेहरूले महसुस गरे कि उहाँको उद्देश्य परमेश्वरको राज्य अभिषेक गर्नुमात्र थिएन, तर उहाँका मानिसहरूको लागि मरेर बलिदानको प्रतिस्थापन गर्नु पनि थियो । उनीहरूले थाहा पाए कि येशू राजा मात्र हुनुहुन्नथ्यो । उहाँ कष्ट भोग्ने राजा हुनुहुन्थ्यो । येशूलाई सुरुवातदेखि नै थाहा थियो कि उहाँको उद्देश्य उहाँका मानिसहरूका पापको निम्ति मर्नु हो । स्वर्गदूतले उहाँको जन्म हुँदा नै घोषणा गरिसकेका थिए कि “उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ” (मत्ती १ः२१), र लूकाले पनि हामीलाई भनेका छन् कि “उहाँको स्वर्गारोहणको दिन नजिकै आइपुग्दा उहाँले यरूशलेम तिर जाने अठोट” गर्नुभयो (लूका ९ः५१) सुसमाचारका पुस्तकमा येशूले आफ्नो मृत्युको बारेमा धेरैपल्ट भविष्यवाणी गर्नुभएको छ, र जब पत्रुसले मूर्खतापूर्वक उहाँको बाटो छेक्न खोजे, येशूले तिनलाई हटाउनुभयो— “ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्ति बाधा होस्” (मत्ती १६ः२३) । येशूको मुहार यररूशलेमतर्फ पत्थरजस्तो स्थिर थियो— र आफ्नो मृत्युतिर
पनि ।
येशूलाई आफ्नो मृत्युको महत्व र उद्देश्य थाहा थियो । मर्कूस १०ः४५ मा उहाँले भन्नुभएको छ, “किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुट्काराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो ।” अनि मत्ती २६ः२८ मा, आफ्ना चेलाहरूसँग अन्तिम भोज गर्दा, उहाँले दाखमद्यको कचौरा लिनुभयो र घोषणा गर्नुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ” (मत्ती २६ः२७–२८) । अर्को खण्डमा उहाँले भन्नुभएको छ “म मेरा भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु” । “कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु” (यूहन्ना १०ः१५,१८) । आफू किन मर्न गइरहेको छु भनी येशूलाई थाहा थियो । आफ्ना मानिसहरूका निम्ति प्रेमको कारण उहाँले आफ्नो प्राण आफ्नै इच्छाले अर्पण गर्नुभयो । परमेश्वरको थुमा मारिनुभयो ताकि उहाँका मानिसहरूले क्षमा पाउन सकून् ।
सुरुका ख्रीष्टियानहरूले येशूले क्रूसमा हासिल गर्नुभएका कुराहरूलाई पवित्र आत्माको सिकाइबाट बुझेका थिए । पावल त्यसलाई यसरी बयान गर्छन्— “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो” (गलाती ३ः१३–१४) । र अर्को खण्डमा यसो भन्छन्, “किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५ः२१) । पत्रुसले लेखेका, छन् “किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटी मर्नुभयो” (१ पत्रुस ३ः१८) र “हामी पापका लेखी मरेर धार्मिकताको लेखी जिऔँ भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो । उहाँकै चोटद्वारा तिमीहरू निको भयौ” (१ पत्रुस २ः२४) ।
यी विश्वासीहरूले येशूको मृत्युको महत्वको बारेमा के भनिरहेका थिए भनी तपाईं देख्न सक्नुहुन्छ ? उनीहरू भनिरहेका थिए कि जब येशू मर्नुभयो, उहाँले आफ्नो पापको निम्ति सजाय भोग्नु भएन । (उहाँमा पाप थिएन !) त्यो त उहाँका मानिसहरूको पापको सजाय थियो ! जब उहाँ कलवरीको क्रूसमाथि झुन्डिनुभयो, उहाँले परमेश्वरका मानिसहरूका पापको सबै भार बोक्नुभयो । तिनीहरूका सबै विद्रोह, सबै अनाज्ञाकारिता र सबै पाप उहाँको काँधमा गर्यो ।
परमेश्वरले अदनको बगैँचामा बोल्नुभएको श्राप– मृत्युको फैसलाले उहाँलाई प्रहार गर्यो। त्यसैकारण येशू पीडाले कराउनुहुन्छ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?” (मत्ती २७ः४६) ।
परमेश्वर उहाँका पिताले, जो पवित्र र धर्मी हुनुहुन्छ, जसको आँखा पवित्र भएका कारण दुष्टतातिर हेर्न पनि चाहँदैनन्, आफ्नो पुत्रतर्फ हेर्नुभयो । आफ्नो पुत्रका मानिसहरूका पाप उहाँको काँधमा अडिएको देख्नुभयो, घृणाकासाथ आफ्नो मुहार फर्काउनुभयो र आफ्नै पुत्रमाथि क्रोध बर्साउनुभयो । मत्तीले लेखेका छन् कि येशूलाई क्रूसमा झुन्ड्याइएका बेला लगभग तीन घण्टा देशमा अन्धकार छायो । त्यो न्यायको अन्धकार थियो, येशूले आफ्ना मानिसहरूका पापहरू बोके र तिनीहरूका सट्टामा मर्नुहुँदा पिताको क्रोधको भार उहाँमाथि परिरहेको थियो ।यशैयाले यस विषयमा सात शताब्दी अगाडि नै अगमवाणी गरिसकेका थिए :
“निश्चय नै उसले हाम्रा निर्बलाताहरू बोक्यो,
र हाम्रा दुःख भोग्यो;
तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको ,
उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ ।
तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो;
हाम्रा अधर्महरूका निम्ति पेलियो;
हामीमा शान्ति ल्याउने दण्ड उसमाथि प¥यो, र
उसको कोर्राको चोटले हामी निको भयौँ” (यशैया ५३ः४–५) ।
के तपाईंले यसको महत्व देख्नुभयो ? अन्तमा, यसको अर्थ यही हुन्छ कि म चाहिँ मर्नुपर्ने थियो, येशू होइन । सजाय मैले भोग्नुपर्ने थियो, उहाँले होइन । तैपनि उहाँले मेरो ठाउँ लिनुभयो । उहाँ मेरो निम्ति मर्नुभयो । ती अपराधहरू मेरा थिए, तर चोट उहाँको थियो । अधर्महरू मेरा थिए तर दण्ड उहाँलाई दिइयो । पाप मेरो थियो, दुःख उहाँलाई
भयो । उहाँले भोगेको सजायले ममा शान्ति ल्याएको छ । उहाँका कोर्राको चोटले म निको भएको छु । उहाँको वेदना मेरो आनन्दमा परिणत भएको छ । उहाँको मृत्यु, मेरो जीवन भएको छ ।
सुसमाचारको केन्द्रबिन्दु दुःखलाग्दो कुरा, प्रतिस्थापनको यो सिद्धान्त सायद ख्रीष्टियान सुसमाचारको त्यो पाटो हो जसलाई संसारले सबैभन्दा बढी घृणा गर्दछ । येशू अरू कसैको पापको निम्ति दण्डित हुनुभएको कुरालाई मानिसहरू अति नै घृणा गर्दछन् । एकभन्दा बढी लेखकहरूले यसलाई “अलौकिक बाल शोषण” भनेका छन् । तर प्रतिस्थापनीय प्रायश्चितलाई अलग गर्नु भनेको सुसमाचारको मुटु काटेर निकाले झैँ हुन्छ । धर्मशास्त्रमा येशूले आफ्नो मृत्युद्वारा हासिल गर्नुभएका कुराहरूका थुप्रै चित्रहरू छन्— तीनवटा भन्नुपर्दा, उदाहरण, मिलाप र विजयी । तर यी सबैको पछाडि अरू सबै चित्रहरूले सङ्केत गरेको सत्यता छ— दण्डको प्रतिस्थापन । तपाईंले यसलाई छुटाउनै मिल्दैन, न त यसलाई
अरू चित्रहरूको दाँजोमा कम महत्वको देखाउन सक्नुहुन्न नत्रता तपाईंले धर्मशास्त्रको सत्यताप्रति अनुत्तरित प्रश्नहरूलाई तेस्र्याउनु हुनेछ । त्यो रगत बगाउनाले के उपलब्धि भयो ? परमेश्वरले विनाश नगरीकनै कसरी पापीहरूलाई दया देखाउन सक्नुहुन्छ ? कसरी उहाँले दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ र फेरि कुनै पनि तरिकाले दोषीलाई सफाइ दिनुहुन्न (प्रस्थान ३४ः७) ? कसरी धर्मी अर्थात् पवित्र परमेश्वरले भक्तिहीनलाई धर्मी ठहर्याउनु हुन्छ (रोमी ४ः५) ?
यी सबै प्रश्नहरूको उत्तर कलवरीको क्रूसमा, उहाँका मानिसहरूका निम्ति येशूको प्रतिस्थापनीय मृत्युमा भेटिन्छ । धर्मी र पवित्र परमेश्वरले अईश्वरीय कुरालाई न्यायसङ्गत ठहर्याउन सक्नुहुन्छ किनभने येशूको मृत्युमा दया र न्यायको मिश्रण भएको । श्राप धार्मिक रूपमा नष्ट गरियो, र हामी दयापूर्वक बचाइयौँ ।
उहाँ बौरी उठ्नुभएको छ पक्कै पनि, यो सबै साँचो हो— र असल समाचार हो— क्रूसमा चढाइएका राजा येशू अब मृत हुनुहुन्न । उहाँ चिहानबाट उठ्नु भयो । येशूको मृत्युपछि चेलाहरूले सामना गर्नुपरेको सबै अविश्वास एकपलमा मेटियो जब स्वर्गदूतले ती स्त्रीलाई भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ” (लुका २४ः५–६) ।
यदि ख्रीष्ट अरू कुनै “उद्धारक” वा “गुरु” वा “अगमवक्ता” जस्तै मृत रहिरहनुभएको भए, उहाँको मृत्युको अर्थ तपाईं र मेरो मृत्युको भन्दा भिन्न हुँदैनथ्यो । मृत्युका छालहरूले अरू कुनै मानव जीवनजस्तै उहाँलाई पनि छोप्थ्यो होला, उहाँले गर्नुभएका हरेक दाबी शून्यतामा बिलाउने थिए, र मानवजाति अझै पनि पापबाट बच्ने थिएनन् । तर, जब उहाँको पुनर्जीवित शरीरका फोक्सोहरूमा फेरि सास प्रवेश भयो, जब पुनरुत्थान भएको जीवन उहाँको महिमित शरीरमा तरङ्गित भयो, येशूले दाबी गर्नुभएका हरेक कुरा अन्ततः पूर्णरूपमा, निश्चित रूपमा र अपरिवर्तनीय ढङ्गमा प्रमाणित भयो । रोमी ८ अध्यायमा येशूको पुनरुत्थान र विश्वासीहरूको निम्ति यसको
अर्थमाथि पावल हर्षित भएका छन् :
परमेश्वरका चुनिएकाहरूका विरूद्दमा कसले अभियोग
लाउनेछ ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने,दण्डको
आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ,जो मरेकाहरूबाट
जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ,
र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ (रोमी ८ः३३–३४) ।
कस्तो अद्भुत विचार— मानव येशू अब स्वर्गमा उहाँका पिताको दाहिने बाहुलीमा, सारा जगतको राजाको रूपमा शासन गर्दै वैभवका साथ बस्नुहुन्छ ! त्यतिमात्र नभएर, हामीले उहाँको अन्तिम अनि महिमित आगमनको प्रतीक्षा गरिरहँदा, उहाँले आफ्ना मानिसहरूका निम्ति मध्यस्थता पनि गर्नुहुन्छ । तर यी कुराहरूले अर्को पनि एउटा प्रश्न उठाउँछन्, होइन त ? “उहाँका मानिसहरू” भनेकाचाहिँ को हुन् ?
– ग्रेग गिल्बर्टद्वारा लिखित सुसमाचार के हो ? नामक पुस्तकबाट साभार गरिएको।