हाम्रा मित्र विशालले इमेलमार्फत यसरी सोध्नुभएको छ— प्रिय पास्टर जोन, मत्ती २२ अध्यायमा रहेको विवाह भोजको दृष्टान्तमा येशूले यसो भन्नुभएको छ “बोलाइएकाहरू धेरै छन् तर चुनिएकाहरू थोरै छन्” (मत्ती २२ः१४) । तथापि, रोमी ८ः२८–३० लाई हेर्ने हो भने, यी पदहरूले बोलाइएका सबैलाई परमेश्वरले अनन्त महिमातर्फ डोर्याउनुहुन्छ भनेझैँ देखिन्छ । के मत्तीको पुस्तकमा उल्लेख गरिएको “बोलाइएकाहरू” र रोमीको पत्रमा उल्लेख गरिएका “बोलाइएकाहरू” एउटै हुन् त ? आखिर “बोलाइएका” र “चुनिएका” बीचको भिन्नता के हो ?

मैले केही हप्ताअघि मात्र, बाइबललाई कसरी अलौकिक र लौकिक तरिकामा पढ्ने र यी दुवै कसरी एकअर्कासँग मेल खान्छन् भन्ने विषयमा एउटा पुस्तक लेखेर सिध्याएको थिएँ । त्यस पुस्तकमा एउटा यस्तो खण्ड छ जसले हाम्रा मित्र विशालले सोध्नुभएको प्रश्न, “बोलाइएका र चुनिएकाहरू” यी दुई बीचको भिन्नताको बारेमा बताउँछ । मलाई यस प्रश्नको उत्तर दिन सहज महसुस भइरहेको छ किनकि केही हप्ताअघि मात्रै मैले यस विषयमा विचार गरिरहेको थिएँ ।

शब्द एक अर्थ अनेक

हाम्रा मित्र विशालले जुन विचार प्रकट गर्नुभएको छ, ठिक त्यही विचार मभित्र पनि रहेकाले मैले यस खण्डलाई अध्ययन गरिरहेको थिएँ । यी दुई पदहरू मत्ती २२ः१४ र रोमी ८ः३० लाई हेर्ने हो भने, एउटा कुरा स्पष्ट छ कि, यी दुवै पदहरूले “बोलाइएका” शब्दलाई एकै अर्थमा प्रयोग गरेका छैनन् । यदि यी दुवै पदहरूले “बोलाइएका” शब्दलाई एकै अर्थमा प्रयोग गरेको भए, यी दुई कुरा एकआपसमा विवादास्पद देखिन्थ्यो ।

हामीले विचार गर्नुपर्ने कुरा, बाइबलमा विभिन्न लेखकहरूले आफ्नो पुस्तक वा पत्रहरूमा एउटै शब्द प्रयोग गरेको पाइए पनि तिनीहरूले ती शब्दहरूलाई फरक अर्थमा प्रयोग गरेका छन् । तपाईंले पढिरहेका पुस्तक वा पत्रमा प्रयोग गरिएको शब्द, सोही अर्थमा अन्य लेखकद्वारा लेखिएको पुस्तक वा पत्रमा प्रयोग गरिएको हुन्छ भनी अनुमान गर्नु हुँदैन् । एउटै लेखकले पनि एउटै पुस्तकमा एउटै शब्दलाई विभिन्न अर्थमा लेखेको हुनसक्छ ।

उदाहरणको लागि, अक्सफोर्ड डिक्सनरीमा “सेट” शब्दको ४६४ वटा परिभाषा दिइएको छ । त्यसैगरी “रन” शब्दको ३९६ वटा परिभाषा दिइएको छ । यही कुरा बाइबलमा पनि लागू भएको छ । मोर्टिमर एड्लरले लेखेका एउटा पुरानो पुस्तक “हाउ टु रिड अ बुक” अर्थात “पुस्तक कसरी पढ्ने” मा यसो भनेका छन्, प्रयोग गरिएका शब्दको अर्थ बुझ्नको लागि पूरै सन्दर्भलाई जान्न जरुरी छ । तपाईं कुनै शब्दसँग परिचित भए तापनि, त्यो शब्द कुन सन्दर्भमा प्रयोग गरिएको छ भन्ने कुरा छुट्याउन सकिएन भने गलत अर्थमा फस्न सक्नुहुन्छ ।

बोलाइएका र चुनिएका

अब, हाम्रो विषय तर्फ जाउँ । रोमी ८ः३० ले भन्छ, “जस–जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो” यस “बोलाउनुभयो” भन्ने शब्दमा हाम्रा मित्र विशालले चासो देखाउनुभएको छ । र जस–जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस–जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।”

पावलले यसो भनिरहेका छन् कि सबै बोलाइएकाहरू धर्मी ठहर्याइएका छन्– र धर्मी ठहर्याइएकाहरू– अर्थात् सबै बोलाइएकाहरू– महिमित पारिएका छन्। अर्थात, यदि तपाईं बोलाइएकाहरूमा पर्नुहुन्छ भने तपाईं सधैँको लागि बचाइनुभएको छ । तपाईंको मुक्ति गुम्नेछैन । परमेश्वरले त्यसो हुन दिनुहुने छैन किनकि तपाईं उहाँद्वारा बोलाइएकामध्ये हुनुहुन्छ ।

बोलाइएका र अस्वीकार गरिएका

जब हामी मत्ती २२ः१–१४ लाई हेर्छौँ, त्यहाँ एउटा विवाह भोजको दृष्टान्त पाउँछौँ । राजाले ठूलो विवाहभोजको आयोजना गरेका थिए र धेरै मानिसहरूलाई निमन्त्रणा पठाए, तर बोलाइएका मानिसहरू आएनन् । यस दृष्टान्तले यही कुरा देखाउँछ कि परमेश्वरको बोलावटलाई इन्कार गर्ने हामि कति भयानक स्थिति मानिसहरू हौँ ।

त्यसैकारण ती राजाले आफ्ना नोकरहरूलाई भन्छन्, जाउ गएर बोलाऊ– यस बोलाऊ शब्दलाई निम्तो शब्दमा अनुवाद गरिएको छ । र दृष्टान्तको अन्त्यतिर बोलाऊ शब्दको प्रयोग गरिएको छ– जाओ र जतिलाई भेटाउँछौ तिनीहरूलाई विवाह भोजमा बोलाऊ । तब तिनको घर मानिसहरूले भरिए– तर ती मानिसहरूमध्ये एकजनाले विवाहको पोशाक पहिरिएका थिएनन् । हुनसक्छ ती मानिसले राजालाई असल पोशाक पहिरेर आदर देखाएनन् वा उसले राजाको निम्तोलाई अवहेलना गरे ।

दृष्टान्तको अन्त्य यसरी भएको छ— “त्यस बाहिरी अन्धकार” जहाँ ती व्यक्ति फालिएका थिए– “जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन् ।” “किनकि बोलाइएका धेरै छन् तर चुनिएका थोरै छन्” (मत्ती २२ः१३–१४) । हामी यहाँ स्पष्ट देख्नसक्छौँ कि भोजमा “बोलाइएका” सबै बचाइएका छैनन् तर केवल चुनिएकाहरू मात्र बचाइनेछन् ।

मत्तीले प्रयोग गरेका “बोलाइएका” शब्दावलीको विषयमा हामी यसरी स्पष्ट हुनसक्छौँ कि, यो सारा मानिसहरूलाई भोजमा आउनको लागि दिइएको एउटा साधारण निम्तो थियो । र यस निम्तोलाई स्वीकार गर्दै भोजमा आउने सबैजना चुनिएका नहुन सक्छन् ।

प्रभावकारी बोलावट

अब म, पावलले चलाएको शब्दावली “बोलाइएका” लाई प्रयोग गर्न जाँदैछु जसलाई धर्मशास्त्रीहरूले “प्रभावकारी बोलावट” भनी भन्ने गरेका छन् । हामीलाई थाहा छ पावलले पनि यसरी सोच्ने गर्दछन् । पावल र ईश्वरशास्त्रीहरू बीच फरक धारणा छैन ।

१ कोरिन्थी १ः२३ मा पावलले भनेका छन्, “तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा र अन्यजातिहरूका निम्ति मूर्खता हो ।” अर्को शब्दमा, ख्रीष्ट त्रूmसमा टाँगिएको सत्यताबारे सबै यहूदी र अन्यजातिहरूलाई प्रचार गरिएको छ र तिनीहरू सबैलाई उहाँकहाँ आउन निम्तो दिइएको छ । तिनीहरू सबैलाई साधारण बोलावटद्वारा बोलाइएको छ ।

१ कोरिन्थी १ः२४ मा पावलले फेरि यसरी भन्छन्, “तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होऊन् वा ग्रीकहरू होऊन्, ख्रीष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ ।”

साधारण बोलावटद्वारा सबै मानिसहरूलाई बोलाइएको छ— “आऊ, यदि तिमीले विश्वास गर्यौ भने तिमी बचाइन्छौ ।” त्यसैगरी अर्को प्रकारको बोलावट पनि छ जुन बोलावटद्वारा येशूले लाजरसलाई चिहानबाट बोलाउनुभएको थियो । “लाजरस, बाहिर आऊ” (यूहन्ना ११ः४३) । त्यस बोलावटले मृत लाजरसलाई जीवन दिएको थियो ।

यही अर्थमा रोमी ८ः३० मा पावलले बोलावट शब्दको प्रयोग गरेका छन् । यसप्रकारको बोलावटले आज्ञाकारिता र जीवनको सिर्जना गर्छ, जसले महिमातिर डोर्याउँछ ।

त्यसैकारण, बाइबल अध्ययन गर्नका लागि हामीले जान्नुपर्ने एउटा शिक्षा भनेको कहिलेकहीँ लेखकले एउटै शब्दलाई फरक अर्थमा प्रयोग गरेका हुन्छन्— हामीले सन्दर्भलाई ध्यान दिनुपर्दछ ।

आफ्नो माया साझा गर्नुहोस्
जोन पाइपर
जोन पाइपर

जोन पाइपर desiringGod.org का संस्थापक तथा प्रमुख शिक्षक साथै मेनेसोटा, मिनियापोलिस USA मा अवस्थित बेथलेहेम कलेज र सेमिनरीका कुलपति हुन् । ३३ वर्षसम्म उनले बेथलेहेम बप्तिस चर्चमा पास्टरको रूपमा सेवा गरे । उनी जीवित पुस्तक साहित ५० भन्दा बढी पुस्तकहरूका लेखेक हुन् ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।