पवित्र धर्मशास्त्रमा परमेश्वरको महिमा एक ठूलो विषयको रूपमा रहेको छ, र हामी डिजाइरिङ्ग गड समूहको लागि पनि परमेश्वरको महिमा ठूलो विषय हो । वर्षौँको सेवकाइमा, पास्टर जोन पाइपरले परमेश्वरको महिमालाई विभिन्न तरिकामा वर्णन गर्ने प्रयास गर्नुभएको छ । उहाँ यसरी भन्नुहुन्छ, “हाम्रो मुक्तिको आधार भनेको परमेश्वरको महिमा हो, र हाम्रो मुक्तिको लक्ष्य भनेको परमेश्वरको महिमालाई उचाल्नु हो ।” उहाँले यो पनि भन्नुभएको छ— “सबै कुराको लक्ष्य भनेको परमेश्वरको महिमा हो ।” अर्को ठाउँमा उहाँ यसरी भन्नुहुन्छ, “इतिहासको एकीकृत लक्ष्य भनेको परमेश्वरको महिमा हो ।” त्यसैगरी, “परमेश्वरको महिमा पूर्ण आनन्द र अनन्तको श्रोत हो ।”

यी शब्दहरू गम्भीर छन्— तर वास्तवमै भन्नुपर्दा परमेश्वरको महिमा भनेको के हो ? त्यसको अर्थ के हो ? पास्टर जोनले यी प्रश्नको उत्तर, उहाँले डिसेम्बर १७, २००६ मा प्रचार गर्नुभएको “अनन्तको निम्ति उहाँलाई महिमा होस्” भन्ने वचनबाट दिने प्रयास गर्नुभएको छ । उहाँको वचन प्रचारको सानो अंश आज हामी तपाईंहरूमाझ राख्नेछौँ ।

असम्भवलाई परिभाषित गर्दै
परमेश्वरको महिमालाई परिभाषित गर्नु असम्भव छ । यसलाई शब्दहरूमा परिभाषित गर्न सकिँदैन । कसैले तपाईंलाई फुटबल भनेको के हो भनेर सोध्यो भने, तपाईंलाई फुटबलको बारेमा बताउन अप्ठ्यारो हुँदैन । फुटबल भनेको रबरले बनेको एउटा गोलाकार भकुन्डो हो । जसलाई मानिसहरूले खुट्टाले हान्दै खेल्ने गर्छन् । यसरी सजिलैसँग तपाईंले फुटबलको बारेमा बताउन सक्नुहुन्छ, तर कसैले तपाईंलाई सुन्दरताको बारेमा सोध्यो भने, तपाईंले फुटबलको बारेमा बताए झैँ सजिलैसँग बताउन सक्नुहुन्न। हाम्रो शब्दकोशमा यस्ता धेरै शब्दहरू छन् जसको सञ्चार गर्न हामीलाई मौखिक रूपमा भन्दापनि दृष्टिद्वारा सजिलो हुन्छ । हामी, हाम्रा शब्दहरुमा ती कुराहरूलाई परिभाषित गर्नुभन्दा पनि, हाम्रा आँखाले ती कुराहरूलाई देखेर औँल्याउने गर्छौँ । सुन्दरता पनि त्यस्तै हो ।

परमेश्वरको महिमा पनि त्यस्तै हो । म विचार गरिरहेको छु कि, म कसरी परमेश्वरको महिमालाई परिभाषित गरौँ ? यो कठिन छ तर मैले प्रयास गर्नैपर्छ । मानिसहरूले आफै बुझ्न सकोस् भनेर मैले मेरो उत्तरलाई यतिमै सीमित राख्नुहुन्न । पहिला, म बाइबलमा रहेको अर्को शब्द “पवित्र” सँग “महिमा” शब्दको भिन्नतालाई दाँजेर हेर्नेछु । “परमेश्वरको पवित्रता र महिमा बीचको भिन्नता के छ ?” यसरी विचार गर्नुले परमेश्वरको महिमाको बारेमा हामी थप बुझ्न सक्नेछौँ ।

मलाई लाग्छ परमेश्वरको पवित्रता भनेको सिद्धता, महानता र मान्यतामा उहाँ आफैमा एक छुट्टै पहिचान हो । हामी जान्दछौँ कि— “पवित्र— भनेको “अलगपन” हो । उहाँको आफ्नै स्तर छ । असीम सिद्धता, असीम महान्ता र असीम मान्यता छ । परमेश्वरको रूपमा उहाँ जे हुनुहुन्छ, उहाँको त्यो गुणस्तरलाई कसैले घटाउन र बढाउन सक्दैन— जसलाई नक्कल गर्न वा तुलना गर्न सकिन्न । उहाँ आन्तरिक रूपमा जे हुनुहुन्छ र जसले सम्पूर्ण रूपमा उहाँको मान्यतालाई झल्काउँछ, त्यही नै उहाँको पवित्रता हो ।

पवित्रताको प्रकटीकरण
यशैया ६ः३ मा जब स्वर्गदूतहरू एकअर्कालाई, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ ।” भनेर पुकार्दै थिए, तिनीहरूले अर्को शब्द “सम्पूर्ण पृथ्वी उहाँको “पवित्रताले” नभई महिमाले भरिपूर्ण छ ।” भनी भन्छन् ।

सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ । म यहीबाट महिमाको परिभाषा दिन चाहन्छु । परमेश्वरको महिमा भनेको उहाँको पवित्रताको सुन्दरताको प्रकटीकरण हो । उहाँको पवित्रता सार्वजनिक रूपमा प्रकट हुनु नै परमेश्वरको महिमा हो । मानिसहरूलाई उहाँको पवित्रता बुझाउनको लागि, यो परमेश्वरको एउटा तरिका हो । त्यसैकारण परमेश्वरको महिमा भनेको परमेश्वरको प्रकट गरिएको पवित्रता हो ।

लेवी १०ः३ ले भन्दछ, “मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु ।” परमेश्वरले भन्नुभएको छ, “म पवित्र बन्नेछु, “मेरा नजिक आउनेहरूका अगाडि महिमित बन्नेछु” ताकि मानिसहरूले उहाँको पवित्रतालाई देख्न सकून्, बुझ्न सकून् र उहाँलाई महिमा दिन सकून् ।

यसरी नै महिमाको परिभाषा दिन, म अर्को प्रयास गर्न चाहन्छु । परमेश्वरको महिमा भनेको उहाँको असीम सिद्धता भित्र रहेको सुन्दर महान्ता हो । उहाँको चरित्र, मान्यता, गुण र सिद्धता असङ्ख्य रूपमा छन् । म उहाँको चरित्र, मूल्य र गुणहरूको प्रकटीकरणमा केन्द्रित भइरहेको छु । उहाँको सम्पूर्ण सिद्धता र महान्ता सुन्दर छन् र ती धेरै छन्, त्यसैकारण मैले असीम शब्दको प्रयोग गरेको छु ।

परमेश्वर कसरी चिच्याउनु हुन्छ ?
आफ्नो वचनको अन्त्यमा पास्टर जोनले यसरी निष्कर्ष निकाल्नुभएको छ । “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ” (भजनसङ्ग्रह १९ः१) । यसको अर्थ के हो ? यसको अर्थ यही हो कि, उहाँले हामीलाई चिच्याएर भनी रहनुभएको छ । बादलद्वारा उहाँ चिच्याइरहनुभएको छ । निलो आकाशद्वारा उहाँ चिच्याइरहनुभएको छ । उहाँ स्वर्ण क्षितिज, तारा र नक्षत्र पुञ्जद्वारा चिच्याइरहनुभएको छ । उहाँले भनिरहनुभएको छ कि म महिमित छु । तिमीहरूका आँखा खोलेर हेर ।

बाइबलले भन्छ, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ । सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ” (यशैया ६ः३) । यदि तपाईंले परमेश्वरको महिमालाई देख्न आफ्नो आँखा उघार्नुभएको भए, तपाईंले यस कोठालाई उहाँको महिमाले भरिपूर्ण भएको देख्नुहुन्थ्यो । हामीलाई सबैभन्दा बढी दृष्टिको आवश्यकता छ । २ कोरिन्थी ४ः४ ले भन्छ “तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ ।”

त्यसैकारण म यो प्रश्न गर्दछु, “के तपाईंले परमेश्वरको महिमालाई देख्नुभएको छ ? के तपाईंले यसलाई प्रेम गर्नुहुन्छ ? यदि तपाईं परमेश्वरको महिमाप्रति कुनै चासो नभएको व्यक्ति हुनुहुन्छ भने, म यही प्रार्थना गर्दछु कि तपाईंले कुनैदिन “म परमेश्वरको महिमाको निम्ति बनाइएको छु” म उहाँको महिमालाई देख्नको निम्ति अस्तित्वमा छु भन्ने कुरा बुझ्नुभएको होस् । सबै कुराले उहाँको महिमातिर नै अङ्कित गरिरहेको छ । मैले आकर्षक ठानेका कुराहरू त केवल भुस र खरानी मात्र रहेछन् । म यही आशा गर्दछु कि तपाईंले यो कुरालाई चाँडै बुझ्नु भएको होस् ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।