१) परमेश्वर हामीलाई धनी बनाउन चाहनुहुन्छ

वर्तमान समयका केही प्रचारकहरूले यसो भन्ने गर्छन्, असल समाचार भनेको यही हो कि परमेश्वरले हामीलाई प्रशस्तै रुपमा धन र सम्पत्तिद्वारा आशिष दिन चाहनुहुन्छ– हामी केवल माग्नु मात्र पर्छ । तर सुसमाचार त आत्मिक आशिषको सन्देश हो, (एफिसी १ः३) । परमेश्वरले हाम्रो निम्ति येशू ख्रीष्टलाई मर्न र पुनः जीवित हुनलाई पठाउनु भयो, ताकि हामी धर्मी ठहरिऔँ र परमेश्वरसँग  पुनर्मिलनमा आउन सकौँ र अनन्त जीवन पाउन सकौँ, (रोमी ३ः २५–२६, ६ः२३, २ कोरिन्थी ५ः१८–२१) । बाइबलले हामीलाई निर्दिष्ट रूपमा बताउँछ कि, ख्रीष्टियानहरू भौतिक सम्पन्नता नभएर कष्ट (प्रेरित १४ः२२), सतावट (२ तिमोथी ३ः१२) र दुःख (रोमी ८ः१७) भएर जानेछन् । तर यी सबै कुराहरूले तिनीहरूलाई अवर्णनीय महिमा तर्फ डोर्याउनेछ, (२ कोरिन्थी ४ः १७, रोमी ८ः १८ ) । 

२) परमेश्वर प्रेम हुनुहुन्छ र हामी ठिक छौँ

केही मानिसहरूले सोच्ने गर्छन्, सुसमाचार भनेको यही हो कि, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँले हामी जस्तो छौँ त्यस्तै स्विकार्नु हुन्छ । तर बाइबलीय सुसमाचारले हामीलाई  प्रष्टै रूपमा बताउँछ कि, मानिसहरू परमेश्वरको क्रोधमुनि रहेका पापीहरू हुन्,  (रोमी ३ः२३, यूहन्ना ३ः३६ ) । तर परमेश्वरले येशूको क्रूसको मृत्युद्वारा यस समस्याको समाधान गरिदिनुभएको छ । यस आमूल समाधानसँगै परमेश्वरले उतिकै आमूल प्रतिक्रियाको पनि माग गर्नुहुन्छ– आफ्ना पापहरूको प्रायश्चित र उद्धारको निम्ति ख्रीष्टमा भरोसा गर्नु ।  

३) हामी ठिक जीवन जिउनुपर्छ 

सुसमाचारले हामीलाई असल जीवन जिउन र परमेश्वरको अघि आफैलाई ठिक बनाउन भनी भन्दैन । तर वास्तवमा सुसमाचारले हामीलाई ठिक त्यसको विपरित भन्छ । परमेश्वरलाई प्रसन्न पार्न र उहाँमा ग्रहण गरिनको लागि हामीले केही पनि गर्न सक्दैनौ, (रोमी ८ः५– ८) । तर असल समाचार यो छ कि, हामीले आफ्नै  सामर्थमा  कहिल्यै गर्न नसक्ने काम येशूले गरिदिनु भएको छ । आफ्ना पापबाट फर्किएर उहाँ माथि भरोसा गर्ने सबैको निम्ति उहाँले सिद्ध जीवन जिएर, क्रूसमा परमेश्वरको क्रोधलाई सहेर उनीहरूको उद्धारलाई सुनिश्चित गरिदिनु भएको छ, (रोमी ५ः ६– ११, ८ः ३१– ३४ ) ।  

४) येशू समाज परिवर्तन गर्न आउनु भयो

कोहीले यो पनि विश्वास गर्छन कि, येशू समाज परिवर्तन गर्न र राजनैतिक क्रान्तिद्वारा उत्पीडितहरूलाई न्याय दिलाउन आउनु भएको हो । तर बाइबलले सिकाउँछ कि यो संसार तब मात्र ठिक बनाइने छ, जब येशू फेरी आउनु हुनेछ र नयाँ स्वर्ग र पृथ्वी ल्याउनुहुनेछ, (२ थेसलोनिकी २ः९–१०, प्रकाश २१ः१–५) । आधारभूत रूपमा सुसमाचार यस युगमा समाज परिवर्तनको बारेमा नभइ परमेश्वरको क्रोधबाट ख्रीष्टमा गरिएको विश्वासद्वारा मुक्ति पाउने  बारेमा हो । 

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।