हामीले प्राप्त गर्ने पत्रहरूमध्ये सबैभन्दा बढी पत्रहरू कामुकता माथि कसरी विजय प्राप्त गर्ने भन्ने विषयमा हुन्छ । आज हामी आफ्नो पहिचानलाई गोप्य राख्न चाहनुहुने एकजना श्रोताको प्रश्नलाई हेर्नेछौँ । उहाँले यसरी सोध्नुभएको छ, “जयमसीह, पास्टर जोन । म मेरिल्याण्डमा अवस्थित महिला कलेजको विद्यार्थी हुँ । र, तपाईंको यस पोडकास्ट कार्यक्रमलाई नियमित सुन्न रुचाउँछु । हरेकहप्ता दिनुहुने उत्साह र सत्यताको लागि म तपाईंलाई धन्यवाद दिन चाहन्छु । मेरो प्रश्न यस प्रकार छ— एक व्यक्ति कसरी आफ्नो इच्छाअनुरूप परिवर्तन हुनसक्छ ? बाइबलले आफ्नो मनलाई परिवर्तन गर्नुपर्ने विषयमा बताउँछ तर मलाई लाग्छ कि यो पवित्र धर्मशास्त्रले बताए जस्तो सजिलो र साधारण छैन । यी दिनहरूमा म कामुक विचारसँग सङ्घर्ष गरिरहेकी छु । विशेषगरी, म कसरी अनैतिक यौन संस्कृतिको कुराहरू सामना गर्न सक्छु ? म परीक्षाहरूको विरोध गर्न चाहन्छु तर जब ती कामुक विचारहरू मेरो दिमागमा आउँछन् तब मैले परमेश्वरलाई निराश तुल्याएको महसुस गर्दछु । बाइबलले बताए झैँ, म कसरी मेरो मनलाई परिवर्तन गर्न सक्छु ? ताकी म यस विशाल लडाइमा विजय हासिल गर्न सकूँ ।

उहाँले आफ्नो प्रश्न, “एक व्यक्ति कसरी आफ्नो इच्छाअनुरूप परिवर्तन हुनसक्छ ?” भनेर सुरु गर्नुभएको छ । म, मेरो उत्तर यहीबाट सुरु गर्न चाहन्छु । उहाँले यस विषयमा रहेर अन्य धेरै प्रश्नहरू पनि सोध्नुभएको छ तर सम्भवतः म यी सबै प्रश्नहरूको उत्तर दिनेछैन । हाम्रो इच्छाअनुरूप जीवन परिवर्तन गर्नका लागि मेरिल्याण्डको विद्यार्थी मित्रलाई म सुरुमा दुई साधारण अवधारणाहरू दिन चाहन्छु र त्यसपश्चात् ती अवधारणाहरूको व्याख्या गर्नेछु ।

तन्दुरुस्त रहनुहोस्
हामी कसरी आत्मिक र मानसिक रूपमा तन्दुरुस्त रहन सक्छौँ भन्ने विषयमा “उदाहरणको लागि” शारीरिक रूपमा तन्दुरुस्त रहने कुरालाई लिन सक्छौँ । यदि तपाईं तन्दुरुस्त रहन चाहनुहुन्छ भने, त्यहाँ परिवर्तनको दुई पक्षहरू छन् र ती दुई पक्षहरू तपाईंले आफ्नो आत्मिक परिवर्तनको क्षेत्रमा प्रयोग गर्न सक्नुहुन्छ । यी दुई कुराहरू विरोध र ग्रहण हुन् ।

हामी कठोर विरोधद्वारा निश्चित पापहरूलाई मार्न सक्छौँ
विरोध भन्नाले, म ती व्यायामहरूको बारेमा भनिरहेको छु जसले तपाईंको मांसपेशीमा अस्वाभाविक तनाव पैदा गर्दछ र स्वाभाभिक रूपमै तपाईंको मांसपेशीले यस कुराको विरोध गर्दछ । उदाहरणको लागि, गह्रौँ भार उठाउनका लागि होस् वा हलुका भार उठाउन होस् तपाईंले आफ्नो पाखुरा बलियो बनाउन चाहनुहुन्छ । तपाईंले आफ्नो हातमा ५ वा १० के जी वा सोभन्दा बढी गह्रौँ समान लिएर आफ्नो हातलाई तल र माथि गर्दै सोही प्रक्रिया तबसम्म दोहोर्याई रहनुहुन्छ जबसम्म तपाईंको पाखुरामा बढ्दो तनावका कारण तपाईंले त्यस प्रक्रियालाई निरन्तरता दिन सक्नुहुन्न ।

मांसपेशीमा पैदा भएको तनाव वा तपाईंको मांसपेशीले गर्ने विरोधको प्रक्रियाले तपाईंको पाखुरा झन् बलियो बन्दै गइरहेको हुन्छ । अझ अनौठो कुरा त थकित बन्दै सकीनसकी काम्दै, एक मूर्खझैँ तपाईंले त्यस भारलाई १०–२० चोटी उठाउँदै फेरि राख्दै गर्नुहुन्छ तर त्यसको परिणाम स्वरूप केही हप्तापछि तपाईंको पाखुरा अझ बलियो हुन्छ ।

ग्रहण भन्नाले, तपाईंले स्वस्थ खाना खाने, पर्याप्त आराम लिने र ठिक र असल कुराको अभ्यास गर्नुपर्छ भन्ने कुरा हो ।

मैले तपाईंलाई दिन चाहेको उदाहरण यही हो । र, मैले तपाईंलाई शारीरिक व्यायामको बारेमा ठिकसँग बताए कि बताइन तपाईं आफै यस बारेमा विचार गर्न सक्नुहुन्छ किनकि मलाई यस बारेमा खासै ज्ञान छैन । तर, मेरो लागि भने यति नै पर्याप्त छ ।

अन्धकारको विरोध गर्नुहोस्
अब यो कुरालाई, बाइबलले हामीलाई बताए झैँ आत्मिक र मानसिक तन्दुरुस्तीको लागि प्रयोग गरौँ । अवश्य पनि विरोध र ग्रहण क्रमबद्ध रूपमा गरिने कुराहरू होइनन् कि तपाईंले एक दिन विरोध गर्नुहुन्छ र अर्कोदिन ग्रहण गर्नुहुन्छ तर यो त एकैचोटी सँगसँगै गरिने कुराहरू हुन् ।

पहिला हामी विरोधको बारेमा बाइबलीय सिद्धान्तलाई हेर्नेछौँ । याकूबले भनेका छन् कि, “दियाबलासको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ” (याकूब ४ः७) । रोमी ८ः१३ मा पावलले भनेका छन्, “तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने, तिमीहरू जिउनेछौ ।” त्यसैकारण हामीले कठोर विरोधद्वारा निश्चित पापहरूलाई मार्न सक्छौँ ।

याकूब १ः३ ले भन्छ, “तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ ।” विश्वासको जाँच र तपाईंको पाखुराले गर्हौँ वजनलाई गर्ने विरोधको बीच समान्तर छ । केही परीक्षा र कष्टले तपाईंको विश्वास र पवित्रतालाई नास गर्न खोज्छ र तपाईंलाई निली हाल्न खोज्छ । त्यस अवस्थामा तपाईंले परमेश्वरको प्रतिज्ञामा अडिग रहेर, बढ्दै गरेको शङ्का र अविश्वासको विरोध गर्नुपर्छ ।

त्यसकारण अन्धकारको विरोध गर्नुहोस् । यसलाई पछाडि धकेल्नुस् जसरी तपाईं “पूसअप” गर्दा भुइँलाई पर धकेल्नुहुन्छ । किनकि यसले सहनशीलता र स्थिरता पैदा गर्दछ । यसको मतलब यही हो कि जाँच, परीक्षा र अविश्वासको विरोध विश्वासद्वारा गरिनुपर्छ र यस कुराले दुई परिणाम ल्याउन सक्छ ।


– यस जाँचले हामीलाई भविष्यमा ठूला जाँचहरू, ठूला परीक्षाहरू र ठूला कष्टहरूको विरोध गर्न सक्षम बनाउँछ ।
– यस जाँचले हामीलाई ती सबै जाँचहरूको सामना गर्नको लागि सक्षम बनाउँछ जसले हामीलाई विगतमा सजिलै पापमा फसाएको थियो ।

‘पाँच सेकेन्ड’ नियम
यी सबै कुराहरू कामुकता र व्यभिचारको परीक्षामा लागू हुन्छ किनकि हामीले विरोध गर्नुपर्ने विचार र जाँचहरू यी नै हुन् । हामी ख्रीष्टको प्रतिज्ञामा दृढ भई रहनुपर्छ, विश्वास गर्नुपर्छ र यही कुराद्वारा हाम्रो कामुक विचारलाई सक्रिय रूपमा पछाडि धकेल्नु पर्छ ।

जब तपाईंको मनमा कामुक विचार वा चित्रहरू आउँछ तब त्यस कुराले तपाईंलाई नियन्त्रण गर्न दिने कि त्यस कुरालाई पछाडि धकेल्ने भनेर निर्णय गर्न तपाईंसँग ५ सेकेन्ड मात्र समय हुन्छ । मेरो मनमा आउन खोज्ने यस्ता विचारहरूलाई म “अहँ, हुन्न, हुँदैन” भनेर पछाडि धकेल्छु । म आफैलाई यी कुराहरूको याद दिलाउँछु र सोही कुरा तपाईंमा पनि लागू हुन्छ । तपाईंले भन्न सक्नुहुन्छ कि, “अहँ– यस कुराबाट मैले छुटकारा पाइसकेको छु । येशूको नाउँमा मैले छुटकारा पाइसकेको छु ।”

तपाईंले आफ्नो ध्यान महान् प्रतिज्ञा तर्फ केन्द्रित गर्नुपर्छ— येशू असल हुनुहुन्छ । येशू पर्याप्त हुनुहुन्छ । मैले यी सबै कुराबाट छुटकारा पाइसकेको छु भनेर उहाँले भन्नुभएको छ ।” र तपाईंले त्यस जाँचको विरोध गरिरहनुपर्छ जबसम्म त्यो जाँदैन ।

परिवर्तनको पहिलो आधा भाग, “विरोध” शब्दद्वारा मैले भन्न चाहेको कुरा यही हो । यो सुरुमा हामीलाई थकित बनाउने किसिमको सुनिए तापनि र त्यस्तो लागे पनि यसले वास्तविक रूपमा धार्मिकताको शान्तिपूर्ण फल फलाउँछ । म चाहन्छु कि तपाईंले हिब्रू १२ अध्यायलाई पढ्नुभएको होस् । र, मैले भन्न चाहेको कुरालाई अझ स्पष्ट रूपमा बुझ्नुहुनेछ ।

भोकै कुद्नु
हामीले पहिलो भागलाई हेरिसक्यौँ र अब दोस्रो भागलाई हेर्नेछौँ । कतिपय विश्वासीहरूले परीक्षाको समस्यालाई आधा पवित्रीकरणको विरोधद्वारा पराजित गर्ने प्रयास गर्छन् । तर, यस प्रयासले लामो समयको लागि काम गर्दैन।

म तपाईंलाई “ग्रहण” शब्द प्रयोग गर्नुको कारण बताउन चाहन्छु । पावलले भनेका छन्, “हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै उहाँको रूपमा बद्लिँदैजान्छौं । परमप्रभुबाट यो आउँछ, जो आत्मा हुनुहुन्छ” (२कोरिन्थी ३ः१८) । ध्यान दिनुहोस् यो परमप्रभुबाट आउँछ—आत्माबाट । हामी ग्रहण गर्ने मानिसहरू हौँ । मैले “ग्रहण” शब्द प्रयोग गर्नुको कारण यही हो ।

हामी, हाम्रो नजरलाई परमेश्वरको वचन तर्फ उहाँको महिमामा केन्द्रित गरिरहेका छौँ । ख्रीष्टको मानवीयता र कामको मिठो अनि सुन्दर वर्णनमा नै हामी मग्न हुन्छौँ । हामी, हाम्रो मनलाई विश्वासमा प्रभुको वचनद्वारा सुसज्जित बनाउँछौँ । हामी, हाम्रो हृदयको आँखा येशू तर्फ केन्द्रित गर्छौँ ।
हामी जति हाम्रो हृदयमा, हृदयको आँखाद्वारा ख्रीष्टको सुन्दरतालाई ग्रहण गर्छौं उहाँको वचनलाई पढ्छौँ र मनन गर्छौँ त्यतिनै उहाँको इच्छा, उहाँको प्राथमिकता, उहाँको विश्वास हामीले प्राप्त गर्छौँ र क्रमिक रूपमा परिवर्तन हुन्छौँ ।

“यस क्रमिक परिवर्तन कति असल छ कि दुष्टको पासोहरू आफै बिस्तारै हराएर जान्छन् ।”

नयाँ सृष्टि
यहाँ हामीले विचार गर्नुपर्ने अर्को खण्ड रहेको छ । कलस्सी ३ः१० ले हामीलाई याद दिलाउँछ कि ख्रीष्टमा हामी नयाँ सृष्टिहरू हौँ । हामीसँग नयाँ स्वभाव छ र त्यस नयाँ स्वभावलाई हामीले ग्रहण गर्नुपर्छ र पहिरिनु पर्छ । जसरी हामी कोट पहिरन्छौँ ।

यी सबै कुरा कसरी हुन्छ भन्ने बारेमा कलस्सी ३ः १० ले यसरी बताउँछ, “नयाँ स्वभाव धारण गरेका छौ” र “आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भई रहेको छौ ।” तसर्थ, ज्ञानद्वारा हाम्रो मन, इच्छा र विचारहरू नयाँ स्वभावमा परिवर्तन हुन्छ ।

“यो त यसो भने जस्तै हो, “येशूलाई हेर, उहाँलाई नै हेरिरह र तिम्रो विचार र मनोभावना परिवर्तन हुनुको साथै तिमीले नयाँपनको महसुस गर्नेछौ ।”

नयाँ ज्ञान
अन्त्यमा पुनः एकपटक, ख्रीष्टलाई हेरेर प्राप्त हुने नयाँपन वा ज्ञानद्वारा प्राप्त हुने नयाँपनको बारेमा म बताउन चाहन्छु । यसले व्यभिचारसँग सम्बन्ध राख्छ । पावलले भनेका छन्— “किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस । पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान, तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस” (१ थेसलोनिकी ४ः३–५) ।

“धेरै ख्रीष्टियानहरूले केवल विरोधद्वारा परीक्षाको समाधान गर्न खोज्छन् तर यस प्रयासले लामो समयको लागि काम गर्दैन ।”
व्यभिचारले हाम्रो जीवनलाई नियन्त्रणमा लिनु र हाम्रो जीवनलाई नास गर्नुको पछाडि रहेको हाम्रो कमजोरी जसको बारेमा पावलले हामीलाई सचेत गराएका छन् त्यस कुरामा ध्यान दिनुहोस् । पावल भन्छन् कि पापको कामवासनाले अज्ञानी मानिसहरूमाथि शासन गर्छ । कलस्सी ३ः१० ले भने जसरी तिनीहरूले जान्दैनन् । २कोरिन्थी ३ः१८ ले भने जसरी तिनीहरूले देख्दैनन्, बुझ्दैनन् र परमेश्वरको ज्ञानलाई ग्रहण गर्दैनन् ।

अर्को शब्दमा तिनीहरू ज्ञानमा नयाँ भएका छैनन् । तिनीहरूले दिनरात ख्रीष्टको महिमा हेर्नको लागि आफ्नो मनलाई स्थिर गराएका छैनन् । तिनीहरू अझै पनि आफ्ना पाप स्वभावमै छन् किनकि तिनीहरूले आफ्ना नयाँ स्वभाव धारण गरेका छैनन् र परिवर्तन भएका छैनन् साथै ज्ञानमा पनि परिवर्तन भएका छैनन् ।

हाम्रो मन र हृदयलाई परिवर्तन गर्ने बाइबलीय तरिका यही नै हो, ताकी हामी व्यभिचारको परीक्षाप्रति कम्जोर नहोऊ । यो अविश्वास, परीक्षा, शङ्का र दुष्टको विरोध हो, साथै परमेश्वरको वचन ख्रीष्टको सुन्दरता र महानताको मिठो आनन्दमय ग्रहण हो । दुवै विरोध र ग्रहणले समयको क्रमसँगै हाम्रो हृदय र दिमागलाई परिवर्तन गर्दै जान्छ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।