आजको यस एपिसोडमा धेरै ख्रीष्टियानहरूको मनमा रहेको प्रश्नलाई हामी हेर्नेछौँ । यो प्रश्न पास्टर जोनलाई प्रायः सोधिने प्रश्न हो । प्रश्न यसप्रकार छ— मैले बाइबल पढेँ पनि मभित्र त्यस्तो केही पनि महसुस गर्दिन, मलाई ती वचनको मूल्य, मान्यता, सुन्दरता र आनन्दसँग प्रतिध्वनि भएको महसुस हुँदैन । यस विषयमा मलाई मद्दत पुग्ने केही उपाय छ होला र ? वा म केही नगरी यी सबै कुरा भविष्यमा हुनेछ भनी प्रतीक्षा गरौँ ? तपाईंले यस प्रश्नको उत्तर कसरी दिनुहुन्छ ?

यस प्रश्नको लागि धेरै धन्यवाद ! यी दिनहरूमा मैले यही विषयलाई विचार गरिरहेको छु । हितोपदेशका एउटा खण्डलाई मैले यी दिनहरूमा मनन गरिरहेको छु, र मलाई लाग्छ हितोपदेशका लेखकले निश्चित रूपमा यही प्रश्नको उत्तर दिनका लागि यस खण्डलाई लेखेका थिए ।

हितोपदेश २२ः१७–२४ सम्म हामी यस खण्डलाई पाउँछौँ । यदि तपाईंले हितोपदेश २२ः२० मा हेर्नुभयो त्यहाँ यसरी लेखिएको छ, “के मैले तेरो लागि तीस वटा नीति–वचन लेखिदिएको होइनँ र— सल्लाह र ज्ञानका वचनहरू ?” यी ३० वटा नीति वचनहरू समूहमा रहेका छन् । हरेकपल्ट जब नयाँ विषयको सुरुवात हुन्छ तब नयाँ सन्दर्भमा बोलिएको छ । पद १७ बाट यस नीति वचनको सुरुवात भएको छ जसले भन्छ, “बुद्धिमानको उखानहरूमा ध्यान दिएर सुन् र मैले सिकाएका कुराहरूमा तेरो मन लगा ।” प्रायः यी समूहगत नीति–वचनलाई बुद्धिमानीको वचन भनेर भनिएको छ ।

मलाई यहाँ सबैभन्दा महत्वपूर्ण लागेको कुरा यही हो कि, यी खण्डको पहिलो दुई पदहरू, सायद तीन पदहरू, निर्दिष्ट रूपमा हामीलाई सोधिएको प्रश्नको उत्तर दिनका निम्ति लेखिएको छ । अर्थात्, तपाईंले यी वचनहरू कसरी सुन्नुहुन्छ र कसरी यी वचनहरूलाई महसुस गर्नुहुन्छ ।

ध्यान दिनुहोस्
हितोपदेश २२ः१७–१८ लाई पढ्न चाहन्छु, “बुद्धिमान्का उखानहरूमा ध्यान दिएर सुन्, र मैले सिकाएका कुराहरूमा तेरो मन लगा, किनभने ती कुराहरू तेरो हृदयमा राखिस् भने, अनि ती सबै तेरा ओठमा तयार रहन्छन् भने त्यो मनोहर हुन्छ ।”

दुईवटा कुरालाई ध्यान दिनुहोस् । पहिलो पदले भन्छ, “बुद्धिमानको उखानहरूमा ध्यान दिएर सुन्, र मैले सिकाएका कुराहरूमा तेरो मन लगा ।” हामी स्पष्ट रूपमा देख्न सक्छौँ कि बुद्धिका कुराहरू बोलिएका छन् र हामीले त्यसमा मन लगाउनुपर्छ । यदि हामीले ती बुद्धिका वचनलाई सुन्न सकिरहेका छैनौँ भने, हामी के गर्छौँ ? हामी अझ बढी ध्यान दिएर सुन्छौँ ।

तपाईं वचन पढिरहनु वा सुनिरहनुभएको छ, तैपनि ती वचनहरू तपाईंको हृदयमा गढिरहेको छैन भने, लेखकले यसो भन्छन्— “तिनीहरूलाई त्यतिकै बाहिर बाहिरै जना नदेउ । अझ बढी होसियार भएर सुन, वचनमा ध्यान लगाउ किनकि ती वचनहरूले तिम्रो दिमागमा ज्ञानको सिर्जना गर्नेछ ।”

जाग
अर्को पदले यसरी भन्छ, “मैले सिकाएका ज्ञानहरूमा तेरो मन लगा ।” ज्ञान भनेको कुनै बहुमूल्य, महत्वपूर्ण वा बुद्धिमानी कुराको सञ्चारद्वारा दिमागमा सिर्जना हुने विचार हो ।

र अर्को पदले भन्छ, यसको प्रभाव “मनोहर हुन्छ ।” मलाई लाग्छ कि हृदय, सुख र आनन्द अनुभव गर्ने अङ्ग हो । अब प्रश्न यो आउँछ कि, कसरी वचनलाई बहुमूल्य ठान्दै, प्रेम गर्दै, वचनद्वारा बुझेको कुराहरूमा म उचित आनन्द मनाउन सक्छु ? हितोपदेशका लेखकले यसरी भनेका छन्, आफ्नो हृदयलाई वचन तर्फ लगा।

हृदयलाई वचनतर्फ लगाउनु भनेको के हो भनेर बताउन चाहन्छु । के तपाईंले आफ्नो कानलाई वचनतर्फ केन्द्रित र हृदयलाई ती वचनमा रहेका आनन्दमय कुराहरू पक्रनको लागि प्रेरित गर्न सक्नुहुन्छ ? लेखक भन्छन्, सक्नुहुन्छ । उनले यसरी भनेका छन् “तेरा कानले सुनेका कुराहरू र दिमागको ज्ञानहरूमा तेरो हृदय लगा ।” यस भनाइको तात्पर्य के हो ?

“लगा” शब्दको हिब्रू अनुवाद “तशित” हुन्छ । “बलिब्चा तशित” अर्थात् “हृदय लगा” वा शाब्दिक अर्थमा “राख” “उभी” “तयार गर” भन्ने हुन्छ । त्यसैकारण आफ्नो हृदयलाई वचनतिर धकेल्नुहोस् । तपाईंले आफ्नो आँखाले जे देख्नुभएको छ र कानले जे सुन्नुभएको छ त्यसमा आफ्नो हृदयलाई लगाउनुहोस् । आफ्नो हृदयलाई त्यस ज्ञानको सुन्दरतामा धकेल्नुहोस् ।

यदि हृदयले केही महसुस गरिरहेको छैन भने, तपाईंले आफ्नो हृदयलाई बिउँझाउनु पर्छ । आफ्नो हृदयलाई अधीनमा राखेर त्यसलाई वचनतिर लगाउनुपर्छ । त्यसलाई ज्ञानतिर धकेल्नुपर्छ ।

चाख्नुस् र हेरी रहनूस्
उदाहरणको लागि, तपाईंलाई मःम खानु मन छ भने, तपाई मःम पाउने ठाउँमा जानुहुन्छ । भाडामा मःम पाक्दै गरेको देख्नुहुन्छ र अझ नजिक जानुभयो भने, तपाईंले त्यसको वासना थाहा पाउनुहुनेछ तर त्यसलाई नखाएसम्म वास्तविक स्वाद भने थाहा पाउनेछैन ।

मःमको वास्तविक स्वादलाई थाहा पाउन तपाईंले मःम खानुपर्छ, मुखभित्र हालेर त्यसलाई चपाएर स्वाद लिनुपर्छ । परमेश्वरको स्वाद, ख्रीष्टको स्वाद, उहाँको वचन र मुक्तिको स्वाद पाउनका निम्ति पनि तपाईंले त्यस्तै गर्नुपर्छ । तपाईंले आफ्नो हृदयलाई भन्नुपर्छ, “खा मेरो हृदय खा, परमेश्वरको वचनलाई खा ।”

म फेरि अर्को उदाहरण दिन चाहन्छु । केही हप्ताअघिको घटना हो, म चर्च गइरहेको थिएँ । बाटोमा धेरै हरियोे र सुनौलो रङ्गका पात भएका रूखहरू थिए । घमाइलो दिन भएको कारण ती रूखका पात चम्किलो देखिन्थ्यो । यी सब कुराहरूलाई हेर्दै अघि बढिरहेको भएपनि मैले ध्यान दिइरहेको थिइनँ । मैले त्यस सुन्दर वातावरणलाई हेरे पनि देखिरहेको थिइनँ । अचानक म रोकिए र वरिपरिका सुन्दरतालाई नियाल्न थालेँ । मलाई के कुराले रोक्न बाध्य बनायो ? परमेश्वरको अनुग्रहले । मैले नियालेँ र मेरो हृदयलाई भने “हृदय, त्यो हरियो रङ्ग हो । त्यो सुनौलो रङ्ग हो । र घामको किरणले गर्दा ती चम्किला देखिरहेका छन् । तिनीहरू हावाको बहावसँगै हल्लिरहेका छन् र त्यस दृश्यसँगै परमेश्वरले मेरो ध्यानलाई खिँची रहनुभएको थियो । उहाँले भनिरहनुभएको थियो कि, “यहाँ परमेश्वरको महिमा चम्किरहेको छ ।” तब मैले आफ्नो हृदयलाई भने “हेर मेरो हृदय, परमेश्वरको महिमा लाई हेर ।” र आफ्नो हृदयलाई त्यस सुन्दरता तर्फ धकेल ।

केही मध्याह्नका समयहरू थिए जतिबेला म बाहिर हेर्थेँ र आफैलाई भन्ने गर्थेँ “आहा ! कति सुन्दर दिन, तब म उठेर बाहिर जान्थँे र ती रूखहरूको छहारीमा डुल्थेँ । कहिलेकाहीँ म क्यामेरा बोकेर जान्थेँ, र विभिन्न कोणहरूबाट त्यस मनोरम दृष्यलाई तस्बिरमा कैद गर्ने प्रयास गर्थेँ ।

आफ्नो हृदयलाई लगाउनुहोस्
यी सबै कुराहरू मैले आफ्नो हृदयलाई प्राकृतिक प्रकाशको सुन्दरतामा धकेल्न गरेको प्रयासहरू हुन् । परमेश्वरको वचनको विषयमा तपाईंले पनि यस्तै गर्नु छ । जब नयाँगरी जन्मिएको व्यक्तिले हितोपदेश २२ः१७ अनुसार आफ्नो हृदयलाई ज्ञानमा लगाइरहेको हुन्छ वा बारम्बार प्रयास गरिरहेको हुन्छ । तब तपाईंले त्यस प्रयासलाई प्रार्थनामा परिणत गर्नुहुनेछ । जब तपाईंले आफ्नो हृदयलाई बारम्बार “जाग मेरो हृदय, यसलाई हेर, यो कति सुन्दर छ, बिउँझ भन्दै झ्क्झ्काई रहनुभएको हुन्छ तब तपाईंले स्वाभाविक रूपमा प्रार्थना गरिरहनुभएको हुन्छ । “परमेश्वर मलाई मद्दत गर्नुहोस्, मेरो आँखा खोलिदिनुहोस् ।”

तपाईंले यो कुरा सुनेर यस्तो प्रतिक्रिया दिन सक्नुहुन्छ “मैले यी सब पहिल्यै गरिसकेको छु तर त्यसले काम गरेन ।” वा तपाईंले के भनिरहनुभएको छ “मैले बुझ्नै सकिनँ ।” तैपनि म तपाईंलाई यही सुझाव दिन चाहन्छु कि हार नमान्नुहोस् । तपाईं परमेश्वरको ज्ञानको सुन्दरता र उहाँको मार्गलाई महसुस गर्न असक्षम हुनुहुन्छ भनी नसोच्नुहोस् । यी दुई पदहरूले तपाईंलाई यही भनिरहेको छ कि आफ्नो हृदयलाई वचन तर्फ फर्काउनुहोस् ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।