हामीलाई प्राप्त भइरहेको विभिन्न प्रश्नमध्ये यो प्रश्न पहिल्यैबाट तातो विषयको रूपमा रहेको छ । हाम्रो पोड्कास्ट कार्यक्रमको श्रोता हनोकबाट प्राप्त इमेल यस प्रकार छ‚ “जय मसीह‚ पास्टर जोन ! म तपाईंको प्रशंसक हुँ र तपाईंको कार्यक्रमहरू सुन्न मन पराउँछु । “पास्टर जोनलाई सोध्नुहोस् “कार्यक्रमले मलाई बाइबलप्रतिको बुझाइ र विश्वासमा बढ्न र अन्य विश्वासमा संघर्षरत ख्रीष्टियानहरूलाई सहायता गर्नका लागि पनि मद्दत पुर्याएको छ । “आमेन ! हामी एकछिन यति मै रोकौँ । यस पोड्कास्ट कार्यक्रम सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य पनि यही हो कि तपाईंले आफ्नो जीवनमा भएका मानिसहरूलाई उनीहरूको खाँचोमा सहायता गर्न सक्नुभएको होस् । यस कुरालाई पढेर हामी धेरै उत्साहित भएका छौँ । हामी पुन: हनोकले लेख्नुभएको प्रश्नतर्फ फर्कौँ । “मेरो प्रश्न यस प्रकार छ— बाइबलले हामीलाई झूटा शिक्षकहरूको विषयमा सचेत गराएको छ‚ तर मैले इन्टरनेट वा प्रत्यक्ष रूपमा सुन्दै आएको व्यक्तिहरू झूटा हो कि हैन भनेर कसरी थाहा पाउन सक्छु ? धेरै व्यक्तिहरूलाई झूटा शिक्षकको दोष लगाइएको छ‚ म यस कुरालाई कसरी बुझ्न सक्छु ? हामीले ध्यान दिनुपर्ने कुराहरू के के हुन् ?

म यसरी उत्तरलाई सुरु गर्न चाहन्छु‚ तपाईंको अपेक्षालाई धेरै सानो नबनाउनुहोस् । कोही व्यक्ति झुटो शिक्षक भनेर प्रमाणित भएको आधारमा मात्रै ती व्यक्तिलाई सुन्न छोड्नुहोस् । साधारणतया कतिपय शिक्षकहरू गलत र अनेकन तवरमा असहयोगी हुन्छन् तर तिनीहरू झूटो शिक्षकको समूहभित्र नपर्न पनि सक्छन् । तपाईंको अपेक्षालाई उच्च बनाउनुहोस् र ती व्यक्तिहरूलाई सुन्नुहोस् जो ईश्वर केन्द्रित‚ ख्रीष्टलाई उचाल्ने‚ बाइबलमा (डुबेको) सन्तृप्त‚ पवित्र आत्मामा निर्भर जसले आफ्नो जीवनमा वास्तविक ख्रीष्टियानको चिन्ह बोकेका छन् ।

तर तपाईंले झूटा शिक्षा वा शिक्षकलाई कसरी पहिचान गर्ने भनेर प्रश्न गर्नुभएको कारण‚ कोही व्यक्ति झूटा शिक्षक हो कि होइन भनेर मूल्यांकन गर्न म तपाईंलाई चार बाइबलीय तरिकाहरू दिन चाहन्छु । मैले यो कुरा यसकारण गरिरहेको छु कि‚ झूटा शिक्षकहरूको वास्तविकतामा हामी सचेत हुनुपर्छ भनेर तपाइले भन्नुभएको कुरामा बाइबलले समर्थन गर्छ । र यस कुराको जाँच गर्नका लागि बाइबलले हामीलाई केही माध्यमहरू पनि प्रदान गर्दछ ।

१. फलको जाँच

पहिलो‚ तिनीहरूको जीवनको फलको जाँच गर्नुपर्छ । मत्ती ७:१५–२० मा येशूले भन्नुभएको छ‚ “झूटा अगमवक्ताहरूदेखि होशियार बस‚ जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्‌‚ तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन् । तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के  काँढाका बोटबाट अंगूर अथवा सिउँडीबाट अञ्जीर टिपिन्छ र ? त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ । तर खराब रूखले खराब फल फलाउँछ । असल रूखले खराब फल फलाउन सक्दैन‚ न त खराब रूखले असल फल फलाउन सक्तछ । असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ‚ र आगोमा फालिन्छ । यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ ।”

उनले प्रचार गरेको सुसमाचारलाई नै यस कुराको श्रेय दिँदै पावलले आफ्नो व्यक्तिगत जीवनमा पवित्रता र धार्मिकताको सिद्धान्तलाई उच्च स्थान दिएका छन् । मैले यस कुरालाई हालै मात्र “लुक एट द बुक “अर्थात्‌” पुस्तकमा हेर्नुहोस् भन्ने बाइबलीय शिक्षा दिने नयाँ अनलाइन कार्यक्रमको लागि १ थेसलोनिकी पत्रलाई अध्ययन गर्ने क्रममा देखेँ । उनले पहिलो दुई अध्यायहरूमा यस विषयलाई गम्भीरतापूर्वक जोड दिएका छन् ।

१ थेसलोनिकी १: ५ मा उनी भन्छन्‌— “किनभने हाम्रो सुसमाचार तिनीहरूकहाँ वचनमा मात्र आएन‚ तर शक्ति र पवित्र आत्मामा अनि सम्पूर्ण निश्चयतासाथ आएको हो ।” यो अद्भूत कुरा हो र यस कुरालाई उनले दुई अध्यायभरि प्रस्फुटन गरेका छन्‌‚ तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौं तिमीहरू जान्दछौ ।”

अवश्य पनि शिक्षकको व्यावहारिक फल सधैँ देख्न सम्भव हुँदैन । विशेषगरी इन्टरनेट शिक्षकहरूको‚ हैन र ? त्यसैकारण तपाईंले गम्भीर भएर सोच्नुपर्ने हुन्छ र स्वस्थ चर्चमा सामेल हुनुपर्छ । एक वास्तविक र प्रत्यक्ष‚ रगत र मासुको मानिसहरू व्यक्तिगत रूपमा भेला हुने चर्च जहाँ वास्तविक प्रचारकले प्रत्यक्ष रूपमा प्रचार गर्दछ र जसलाई तपाईंले चिन्नुहुन्छ । येशूले भन्नुभएको छ‚ “तिमीहरूले ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ ।”

२. सिद्धान्तको जाँच


दोस्रो‚ सही र केन्द्रिय सिद्धान्तको जाँच गर्नुपर्छ । उदाहरणको लागि १ यूहन्ना ४: १–३ मा रहेको देहधारणको सिद्धान्तलाई हेर्नुहोस् जहाँ यूहन्नाले यसो भनेका छन्‌‚ “प्रिय हो‚ जुनसुकै आत्मालाई विश्वास नगर‚ तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर । किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन् । यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ‚ सो परमेश्वरबाट हो । येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन‚ तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो‚ जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ । अब त्यो यस संसारमा आइसकेको छ ।”


“हाम्रो प्रभु येशू ख्रीष्टको सिद्ध वचनद्वारा हामीले मानिसहरूलाई
सिकाइरहेको सिद्धान्तको जाँच गर्नुपर्छ”

अर्को शब्दमा भन्नुपर्दा‚ यदि कसैले येशू ख्रीष्ट ईश्वर र मानिस हुनुहुन्छ‚ उहाँ मानव शरीर धारण गरी आउनुभएको परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई इन्कार गर्छ भने त्यो व्यक्ति झूटा शिक्षक हो । यूहन्नाले यो भनेको होइन कि यदि तपाईंले देहधारणको बारेमाचाहिँ ठिक अर्थ लगाउनुभयो तर अन्य कुराको गलत अर्थ लगाए पनि त्यो खासै गम्भीर गल्ति भने हुनेछैन । उनले त त्यस चर्चमा रहेका निश्चित समस्याको विषयलाई सुल्झाउन खोजेका थिए । यदि तपाईंले ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नुहुन्छ भने तपाईंले परमेश्वरको सत्यतालाई स्वीकार गरिरहनुभएको छ । र तपाईंले यस कुराको ठिक अर्थ लगाउनुभएको छ ।

पावलले पनि सोही सैद्धान्तिक महत्व र सिद्धान्तको जाँचको बारेमा जोड दिएका छन् । १ तिमोथी ६: ३–४ मा‚ “यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने‚ त्यो घमण्डले फुलेको हुन्छ‚ र त्यसले केही जानेको हुँदैन । त्यसले व्यर्थको वाद–विवाद गर्छ‚ र एक–एक शब्द लिएर झगडा गर्न खोजिहिँड्छ । यी कुराहरूले डाह‚ कलह‚ बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन् ।”

हाम्रो प्रभु येशू ख्रीष्टको सिद्ध वचनद्वारा र तिनीहरूको जीवनमा देखिने ईश्वरभक्ति कार्यन्वयनको आधारमा हामीले मानिसहरूले सिकाइरहेको सिद्धान्तको जाँच गर्नुपर्छ ।

३. धर्मशास्त्रको जाँच


तेश्रो‚ पवित्र धर्मशास्त्रप्रति समर्पणताको जाँच गर्नुपर्छ । १ कोरिन्थी १४: ३७–३८ मा पावलले भनेका छन्‌‚ “कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने‚ मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्ने त्यसले स्वीकार गरोस् । तर कसैले यसको वास्ता गर्दैन भने‚ त्यसको पनि वास्ता गरिनेछैन ।” यो अद्भूत कुरा हो कि प्रेरितहरूको अधिकार परमेश्वरको वचनप्रति समर्पित हुनुपर्छ अन्यथा तपाईं झूटा शिक्षक हो; र कसैले तपाईंलाई स्वीकार गर्ने छैन ।

यूहन्नाले यस कुरालाई १यूहन्ना ४: ६ मा यसरी भनेका छन्‌— “हामी त परमेश्वरका हौं । जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ‚ र जो परमेश्वरको होइन‚ त्यसले हाम्रो कुरा सुन्दैन । यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं ।

“हरेक व्यक्तिले कहिलेकहीँ सत्य कुरा बताउँछ– सैतानले पनि ।
तर यस कुराले तिनीहरूलाई विश्वासिलो शिक्षक भने बनाउँदैन ।”


प्रेरितहरूले आफ्नो शिक्षालाई सत्यताको जाँचको मापदण्डको रूपमा उच्च स्थानसम्म पुर्‍याए । यदि कोही व्यक्तिले उसको विचार र शिक्षालाई नयाँ करार लेख्ने येशू ख्रीष्टद्वारा नियुक्त आधिकारिक शिक्षक प्रेरितहरूको अधिकारप्रति समर्पित गर्दैन भने तिनीहरू विश्वासयोग्य शिक्षकहरू होइनन् । “हरेक व्यक्तिले कहिलेकहीँ सत्य कुरा बताउँछ— सैतानले पनि । तर यस कुराले तिनीहरूलाई विश्वासिलो शिक्षक भने बनाउँदैन ।”

४. सुसमाचारको जाँच


अन्त्यमा‚ स्वयम् सुसमाचारको जाँच गर्नुपर्छ । पावल यस कुरामा अत्यन्तै उत्साहित थिए । गलाती १: ८–९ मा उनी भन्छन्‌‚ “हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्‍यो भने पनि त्यो व्यक्ति श्रापित होस् । हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु‚ तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ‚ त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने‚ त्यो श्रापित होस् ।”

गलातीको पुस्तकमा पावलले भनेका सुसमाचार यही थियो‚ गलाती ५: २–३ मा समेटेका छन्‌‚ “म पावलले नै तिमीहरूलाई भन्दछु‚ तिमीहरूले खतना लियौ भने ख्रीष्टबाट तिमीलाई कुनै फाइदा हुनेछैन । खतना हुने प्रत्येकलाई म फेरि चेताउनी दिन्छु‚ कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।”

अर्को शब्दमा‚ यदि तपाईंले व्यवस्था पालनलाई परमेश्वरको अघि धर्मी ठहरिने माध्यमको रूपमा जोड दिनुहुन्छ भने‚ तपाईंले उहाँको सबै व्यवस्थालाई पालन गर्नुपर्ने हुन्छ र त्यसलाई तपाईंले सिद्ध रूपमा पालना गर्नै पर्ने हुन्छ । पावलले यस कुरालाई कडा चेतावनी साथ अन्त्य गरेका छन्‌— “तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठहरिन चाहन्छौ‚ तिमीहरू ख्रीष्टबाट अलग भएका छौ । तिमीहरू अनुग्रहबाट तल खसेका छौ” (गलाती ५:४) ।

हाम्रो उत्तम सुरक्षा
झूटा शिक्षाको पहिचान गर्नका लागि कम्तिमा चार बाइबलीय जाँचहरू छन् :

१ व्यवहारिक फलको जाँच
२ सही सिद्धान्तको जाँच
३ धर्मशास्त्रप्रति समर्पणताको जाँच
४ शुद्ध सुसमाचारको शिक्षा‚ विश्वासद्वारा धर्मी ठहरिनु बारेमा जाँच

अन्त्यमा‚ म यसरी आफ्नो उत्तरलाई टुंग्याउन चाहन्छु‚ हामीले आफैलाई झूटा शिक्षकहरूबाट सुरक्षित राख्नका लागि सबैभन्दा उत्तम उपाय भनेको‚ एक स्वस्थ बाइबलीय शिक्षा दिने चर्चमा सामेल हुनु र हरेक दिन प्रार्थनासहित बाइबलमा सन्तृप्त हुनु हो ।

आफ्नो माया साझा गर्नुहोस्
जोन पाइपर
जोन पाइपर

जोन पाइपर desiringGod.org का संस्थापक तथा प्रमुख शिक्षक साथै मेनेसोटा, मिनियापोलिस USA मा अवस्थित बेथलेहेम कलेज र सेमिनरीका कुलपति हुन् । ३३ वर्षसम्म उनले बेथलेहेम बप्तिस चर्चमा पास्टरको रूपमा सेवा गरे । उनी जीवित पुस्तक साहित ५० भन्दा बढी पुस्तकहरूका लेखेक हुन् ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।