पुरानो करारमा पश्चात्ताप हिब्रू शब्दबाट साभार गरिएको छ जसको मूल अर्थचाहिँ “फर्कनु वा पछाडि मोड्नु” हुन्छ। यसले पापबाट आफ्नो नजर मोड्ने कुरालाई मात्र नभई धार्मिकतातर्फ फर्कने कुरालाई पनि जनाउँछ । त्यसकारण, साँचो पश्चात्तापको वास्तविक चिन्हमध्ये एउटा भनेको पापलाई इमान्दारपूर्वक त्याग्नु हो । एक व्यक्तिले झार्ने आँसुका धाराहरू वा पछुतोमा डुबेर गर्ने स्वीकारहरू मात्र बाइबलीय पश्चात्तापको प्रमाण हुन सक्दैन । यी कुराहरूका साथसाथै एक व्यक्तिले ती कुराहरू पनि त्याग्नुपर्दछ जसलाई परमेश्वरले घृणा र विरोध गर्नुहुन्छ । यो सत्यतालाई बाइबलमा यति प्रष्टतासँग उल्लेख गरिएको छ कि त्यसको बारेमा कुनै टिप्पणी गर्न आवश्यकता नै छैन। अगमवक्ता इजकिएलले लेखेका तलका तीन खण्डहरूलाई हेर्नु नै काफी हुन्छ :
त्यसैले परमप्रभु यसो भन्नुहुन्छ: “पश्चात्ताप गर ! आफ्ना मूर्तिहरूदेखि फर्किआओ, र आफ्ना सबै घिनलाग्दा व्यवहारहरू परित्याग गर !” (१४:६) ।
“यसकारण हे इस्राएलका घराना, म तिमीहरू हरेकको न्याय त्यसको चालअनुसार गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूदेखि फर्क ! तब तिमीहरूको पाप आफ्नो पतनको कारण हुनेछैन। तिमीहरूले गरेका सबै अपराधहरू त्याग, र नयाँ हृदय र नयाँ आत्मा लेओ । तिमीहरू किन मर्छौ, हे इस्राएलका घराना ?” (१८:३०–३१) ।
यसैले तिनीहरूलाई भन्, ‘जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, दुष्टहरूको मृत्युमा म खुशी हुन्नँ, तर तिनीहरूले आफ्नो चाल त्यागेर बाँचुन् भनि म चाहन्छु । आफ्नो दुष्ट चाल त्याग ! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ ?’ (३३:११) ।
यो एक अकाट्य बाइबलीय सत्यता हो कि साँचो पश्चात्ताप पापलाई त्यागेको कुरामा स्वत: प्रकट हुन्छ ।तैपनि पश्चात्तापसम्बन्धी रहेको यो सत्यता धर्मी ख्रीष्टियानहरूको माझमा पनि दोधार र त्रासको विषय हो । यस्तो दोधार स्वत: तलका निम्न प्रश्नहरूमा प्रकट हुन्छ— घृणा र त्याग गरिसकेको पापलाई फेरि पनि दोहोर्याउँदा के मैले साँच्चै पश्चात्ताप गरेको रै छु त ? मेरो बारम्बारको असफलताले के म अपश्चात्तापी छु भन्ने कुरालाई इङ्गित गर्छ त ? यस्ता संवेदनशील प्रश्नहरूलाई बडो होसियारी साथ सामना गर्नुपर्दछ । एक तरिकाले हेर्ने हो भने, बारम्बार एउटै पाप गरिरहनु र त्यसमाथि कुनै विजयी हासिल गरेको प्रमाण नहुनुले पश्चात्ताप बनावटी र अबाइबलीय छ भन्ने कुरा देखाउँछ । यसैले त बप्तिस्मा दिने यूहन्नाले फरिसीहरूलाई “पश्चात्तापको सुहाउँदो फल फलाऔ” भनी चेतावनी दिए र येशूले यो घोषणा गर्नुभयो कि, “ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ’” (मत्ती ३:८; १५:७–८) ।
अर्को तरिकाले हेर्ने हो भने, एक ख्रीष्टियानले पवित्रीकरणमा जतिसुकै प्रगति गरे तापनि उसले ख्रीष्टियान जीवनलाई पापसँगको विशाल सङ्घर्षको रूपमा भेटाउनेछ, जहाँ ठूला विजय र निरूत्साहित हारहरूको सम्मिश्रण सहित बारम्बार सङ्घर्ष हुन्छ । स्वर्गको यस पाटोमा कुनै पनि ख्रीष्टियानले पापबाट पूर्ण रूपमा छुटकारा पाउँदैन, कोही पनि पापको छलबाट उम्कन सक्दैन र नैतिक रूपमा पतन हुनबाट स्वतन्त्र हुन सक्दैन । साँचो ख्रीष्टियानहरूले पापको परित्याग गर्ने कुरामा प्रगति हासिल गरे तापनि उनीहरूको जीवनमा पाप नियमित रूपमा लागि रहने दिगो रोग झैँ भएर आउँछ । पाप गर्ने क्रम कम हुँदै गए तापनि जबसम्म विश्वासी स्वर्गमा महिमित पारिँदैन तबसम्म उसको जीवनबाट पाप पूर्ण रूपमा कहिल्यै पनि हटेर जाँदैन । परमेश्वरले हामीलाई हाम्रा सबै अशुद्धता र मूर्तिहरूदेखि शुद्ध तुल्याउने (इज ३६:२५) प्रतिज्ञा गर्नु भए तापनि हाम्रो माझमा भएका परिपक्क ख्रीष्टियानहरू पनि त्यही पापको फन्दामा पर्दछन् जसलाई उनीहरूले त्यागिसकेका थिए । हामीले पाप विरुद्ध सङ्घर्ष गरे तापनि र कुनै व्यक्ति इनामको लागि दौडिए झैँ पवित्रताको निम्ति दौडिए तापनि; हामीले आफ्नो शरीरलाई अनुशासनमा राखे तापनि र त्यसलाई हाम्रो दास बनाए तापनि; र यस संसारमा हामी होसियारी र बुद्धिको साथ हिँडे तापनि हामीले यो थाहा गर्नेछौँ कि हामी अझै पनि सिद्ध छैनौँ र हामीले अझै पनि पश्चात्ताप गर्नुपर्दछ र हामीलाई अझै पनि अनुग्रहको आवश्यकता छ । यसैकारण, ख्रीष्टियानहरूले पापको विरुद्ध सङ्घर्ष गर्ने क्रममा बारम्बार पश्चात्ताप गरिरहनु पर्दा हतोत्साहित हुनु पर्दैन । जीवनमा हुने यस्तो प्रकारको सङ्घर्षचाहिँ साँचो परिवर्तनको निशानी हो । तर झूटो वा पाखण्डीलाई यस्तो युद्धको बारेमा केही पनि थाहा हुँदैन । यो कुरालाई आत्मसात् गर्न अत्यन्त जरुरी छ कि परमेश्वरले सिद्ध मानिसको अघि उपस्थित हुनेछु भनेर कहिल्यै पनि प्रतिज्ञा गर्नुभएको छैन तर त्यो व्यक्तिको जीवनमा आउने प्रतिज्ञा गर्नुभएको छ जसको जीवनचाहिँ टुक्रिएको छ, जो चूर्ण हृदयको छ र जसले परमेश्वरको वचनमाथि भय राख्दछ ।
यसबाट प्रष्ट हुन्छ कि पश्चात्तापको लागि उचित सन्तुलन चाहिन्छ । यो एक सिक्का जस्तै हो जहाँ दुई पाटाहरू छन् र एउटाबिना अर्को अस्तित्वमा हुन सक्दैन । एकपट्टि साँचो ख्रीष्टियानहरूले पवित्रीकरणमा निरन्तर प्रगति भएको र पापमाथि बारम्बार विजय हासिल गरेको महसुस गर्दछन् । जसले उनीहरूमा पश्चात्तापको असल काम सुरु गर्नुभयो उहाँले नै त्यो कामलाई तिनीहरूमा निरन्तरता दिनुहुन्छ ताकि त्यसको वृद्धि होस् र गहिराइमा पुगेर उनीहरूको जीवनको वास्तविकता बन्न पुगोस् । तैपनि, ख्रीष्टियानहरू कहिल्यै पनि पूर्ण रूपमा पापबाट वा उनीहरूको जीवनमा पश्चात्तापको ईश्वरीय वरदानको आवश्यकताबाट मुक्त हुँदैनन् । अर्कोपट्टि म ख्रीष्टियान हुँ भन्ने तर पवित्रीकरणमा प्रगति गरेको कुनै ठोस प्रमाण दिन नसक्ने र पश्चात्तापको सुहाउँदो फल विरलै फलाउनेहरूले चाहिँ आफ्नो आत्माको बारेमा धेरै चिन्ता गर्नुपर्दछ । उनीहरूले आफैँलाई ममा विश्वास छ कि छैन भनेर जाँच र निरीक्षण गर्नुपर्दछ ।