पास्टर अथवा एल्डर कस्तो हुनुपर्छ?

चर्चको सेवा सकिएपछि हामी ढोकानेर उभिएका बेलामा एकजना नवआगन्तुकले यसो भने, “उसोभए यो चर्च तपाईंहरूको व्यवसाय जस्तै हो ?, तपाईंहरू पसलमा हुनुहुन्छ अनि परमेश्वरचाहिँ बिक्री हुने चीज हुनुहुन्छ ।” (मैले मानिसहरूसँग चर्च सेवापछि गरेका अनौठा वार्तालापहरूलाई डायरीमा लेखेको भए हुन्थ्यो !)
“अहँ, कदापि होइन,” मैले जवाफ दिएँ ।
त्यस मानिसले आफ्ना अनुभवहरूको आधारमा चर्चको अर्थ लगाउने प्रयासमात्र गरिरहेका थिए । उसलाई व्यवसाय र पसलको बारेमा ज्ञान थियो, त्यसैले उसले आफूलाई थाहा भएको कुराको आधारमा चर्चलाई उल्था गर्ने प्रयास गरे ।
दुर्भाग्यवश, चर्चमा आउने नयाँ व्यक्तिहरूले मात्र यस्ता गल्ती गर्दैनन् । पास्टरहरू, एल्डरहरू र सदस्यहरूले पनि व्यावसायिक र साङ्गठनिक दृष्टिकोणले चर्चलाई प्रायः गलत प्रकारले उल्था गर्दछन् । हो, चर्चमा व्यावसायिक पक्षहरू हुन्छन् । चर्चले कोषाध्यक्ष र बजेट, कामदारहरू र तिनीहरूका नीतिहरू, भवनहरू र बीमा, कार्यविवरणका चित्रहरू र लक्ष्यहरू, विधानहरू र समितिलाई प्रायः चलाउँछन् । यीचाहिँ समूहको जीवनका अंशहरू हुन् र तिनलाई परमेश्वरको महिमाको निम्ति राम्रोसँग व्यवस्थापन गर्नुपर्दछ । एउटा स्थानीय चर्च व्यवस्थित शरीर हो ।
समस्या तब उत्पन्न हुन्छ जब व्यवसायका जस्ता यी पक्षहरू चर्चकै लागि समग्र व्यावसायिक नमुना बन्दछ र उक्त चर्चले बाइबलीय शिक्षालाई बेवास्ता गर्दछ । त्यो यस्तो देखिनसक्छ :
– पास्टर = सभापति/हाकिम
– कर्मचारी = उपसभापतिहरू
– सदस्यहरू = लगानीकर्ताहरू/वफादार ग्राहकहरू
– पाहुनाहरू = सम्भावित ग्राहकहरू
अनि एल्डरको भूमिका नि ?
– एल्डरहरू = सल्लाहकार समिति
यो नमुनामा एल्डरको कार्यविवरण सल्लाहकार समितिका सदस्यहरूकै जस्तो हुन्छ । तिनीहरूले सेवकाइको काम गर्न रत्यसलाई अगुवाइ गर्नको लागि पास्टर(हरू)लाई तलब दिएर राख्छन् । त्यसपछि सेवकाइको मूल्याङ्कन गर्न, आर्थिक कुराहरूको हेरचाह गर्न र नीतिहरूलाई निर्माण गर्नको लागि एल्डरहरू समितिका बैठकहरूमा
भेला हुन्छन् । पास्टरहरूले नयाँ प्रस्तावहरू प्रस्तुत गर्दछन् र एल्डरहरूले तिनलाई अनुमोदन वा अस्वीकार गर्दछन् । पास्टरहरूले सेवा गर्दछन् र एल्डरहरूले निर्देशन गर्दछन् ।
तर एल्डर पदको यो नमुनाले प्रमुख रूपमा रहेको बाइबलीय सत्यतालाई समावेश गर्न सक्दैन— एल्डरहरू पनि पास्टर हुन् ।
एल्डर = पास्टर
हामीले पास्टरहरू र एल्डरहरू तथा तलब लिएर सेवकाइ गर्ने व्यावसायिक सेवकहरू र तलब नलिने सल्लाहकारका भिन्नतालाई छुट्यायौँ । तर नयाँ करारले त्यस्तो कुनै भिन्नतालाई छुट्याउँदैन ।
आखिर पास्टर के हो त ? ग्रीक शब्द पोइमेन लाई हामी “पास्टर” भनेर अनुवाद गर्दछौँ र त्यसको अर्थ हुन्छ “गोठालो” ।
पोइमेन ले साँच्चैको गोठालालाई जनाउन सक्दछ, लूकाले वर्णन गरेका ख्रीष्टमसको कथामा खेततिर बसेका गोठालाहरू जस्तै । तैपनि धेरैपटक, पोइमेन ले हाम्रा असल गोठाला येशूलाई जनाउँछ । योसँग सम्बन्धित क्रियापद पनि छः पोइमाइना,े जसको अर्थ हुन्छ “गोठालो गर्नु” वा “बगालको हेरचाह गर्नु” । त्यसैले पास्टर भनेको गोठालो
हो र पास्टरीय काम गर्नु भनेको बगालको हेरचाह गर्नु हो । अचम्म मान्नुपर्दैन, हामीले चलाउने नेपाली शब्द पास्टर पनि ल्याटिन शब्द पास्टरबाट आएको हो, जसको अर्थ…गोठालो हुन्छ !
यो भाग महत्वपूर्ण छः नयाँ करारले “गोठालो” का यी नाम र क्रियापद रूपहरूको प्रयोग गर्दछ, साथसाथै गोठालोपनको बृहद्अ र्थ लगाउँदै एल्डरहरू र तिनीहरूका कामको व्याख्या पनि गर्दछ । निम्नलिखित पदहरू हेर्नुहोस् जहाँ मैले अक्षरहरू छड्के पारेको छु— पोइमाइनो र पोइमेन लाई नेपालीमा अनुवाद गरिएको छ ।
पावल एफिससको चर्चका एल्डरहरूलाई चेताउनी दिन्छन् :
यसकारण आफ्नो विषयमा र सम्पूर्ण बगालको विषयमा
होसियार हुनुहोस् जसमाथि उहाँले आफ्नै रगतले किन्नुभएको
परमेश्वरको मण्डलीलाई चराउनको निम्ति पवित्र आत्माले
तपाईंहरूलाई निरीक्षक ठहराउनुभएको छ । (प्रेरित २०ः२८)
त्यसैगरी पत्रुस लेख्छन् :
“म… तिमीहरूका बीचमा भएका एल्डरहरूलाई अर्ती दिन्छु—
तिमीहरूका बीचमा भएको परमेश्वरको बगाललाई रेखदेख
गर्दै गोठाला गर, करले होइन, तर तयार मनले; परमेश्वरको
सम्पत्तिमाथि हक नचलाओ, तर बगालका निम्ति नमुनाहरू
बन । अनि जब मुख्य गोठाला देखा पर्नुहुनेछ, तब तिमीहरूले
नओइलिने महिमाको मुकुट पाउनेछौ” (१ पत्रुस ५ः१–४) ।
पत्रुसका शब्दहरू त प्रभु येशूले पुनर्जीवित हुनुभएपछि तिनलाई भन्नुभएका कुराजस्तै सुनिन्छन्ः “मेरा थुमाहरूलाई खुवाऊ”र “मेरा भेडाहरूको गोठालो गर” (यूहन्ना २१ः१५, १६) ।
प्रभु येशूले आफ्नो चर्चलाई दानहरूको रूपमा दिनुभएका प्रस्तावहरूको बारेमा नि ? पावल सूची प्रस्तुत गर्दछन्— प्रेरितहरू, भविष्यवक्ताहरू, प्रचारकहरू र त्यसपछि “पास्टरहरू र शिक्षकहरू” (एफिसी ४ः११) । ग्रीक व्याकरणले प्रष्ट पार्छ कि “पास्टर” र “शिक्षक” ले मिलेर एउटै पद वा भूमिकालाई जनाउँछन् । त्यसैले चर्चका पास्टरहरू वा गोठालाहरू त्यसका शिक्षकहरू पनि हुन् । र हामीले देखिसकेका छौँ कि शिक्षणचाहिँ एल्डर पदको मुख्य जिम्मेवारी हो ।
वास्तविक पक्ष
मेरा एकजना साथीले साधारण (बेतलवी) एल्डरको रूपमा सेवा गर्दथे । जसले मलाई यसरी भनेका थिए, “एल्डर हुनुको सबैभन्दा कठिन कुरामध्ये एउटाचाहिँ म वास्तविक पास्टर हुँ भनी विश्वास गर्नु हो ।” तर बाइबल योभन्दा बढी प्रष्ट हुन सक्दैन । यदि तपाईं आफ्नो चर्चमा एल्डर हुनुहुन्छ भने, तपाईं तलबी पास्टर जत्तिकै वास्तविक पास्टर हुनुहुन्छ ।
तपाईंलाई अझै पनि शङ्का लाग्छ होला । पेशाकै रूपमा तलबी पास्टर भएर सेवा गर्ने “विशेष” मानिसहरू र अन्य काम
गरेर एल्डरहरूको रूपमा स्वयंसेवा गर्ने “साधारण” मानिसहरूबीच भिन्नता छैन र ? हो, भिन्नताहरू छन् । उदाहरणको लागि, तलबी पास्टरहरूले प्रायः औपचारिक रूपमा धेरै नै ईश्वरशास्त्रीय शिक्षा लिएका हुन्छन्, हप्तामा धेरै समय सेवकाइमै बिताउँछन् र पास्टरीय सेवकाइ, चर्च सेवकाइ र सिकाउने विषयमा तिनीहरू एल्डरभन्दा
धेरै अनुभवी हुन्छन् । तलबी पास्टरहरूसँग पास्टरीय हेरचाह गर्ने वा प्रचार गर्ने सशक्त दानहरू हुन्छन्— तर त्यस्तो हुनै पर्दछ भन्ने छैन । त्यसैकारण चर्चले तिनीहरूलाई पूर्णकालीन सेवकाइमा राख्छन् ।
तर तलबी पास्टरसँग धेरै फुर्सद, शिक्षा वा दान भएको हुनाले, साधारण एल्डरचाहिँ वास्तविक पास्टर जस्तो हुँदैन भन्नु
तार्किक (वा बाइबलीय) हुँदैन । स्वयंसेवक अग्नि नियन्त्रकहरूले तलबी अग्नि नियन्त्रकहरूले जस्तै ज्वालाहरूको सामना गर्दछन् र स्वयंसेवक एल्डरहरूले पनि तलबी पास्टरहरूले जस्तै गोठालोपनका चुनौतीहरूको सामना गर्दछन् । साधारण एल्डरहरूले पेशागत पास्टरहरूलाई “समानहरूको माझमा प्रथम” भनेर आदर गर्लान्,१
तर साधारण एल्डरहरू पनि पास्टर समान नै हुन्छन् ।
एउटा आमूल परिवर्तनकारी नमुना
यी सबै कुराहरूको प्रकाशमा, यदि हामीले एल्डरको कार्यविवरणलाई सारांशमा व्यक्त गर्नुप¥यो भने सायद हामी यसो भन्नेछौँ “बगालको गोठालो गर ।” यदि तपाईंले यो पुस्तकबाट एउटैमात्र कुरा सम्झनुहुन्छ भने त्यो यही कुरा होस् कि एल्डरहरू र पास्टर/गोठाला हुन् र तिनीहरूको मुख्य कामचाहिँ गोठालाहरूले आफ्ना भेडाको हेरचाह गरे जसरी चर्चका सदस्यहरूको हेरचाह गर्नु हो । अझ निर्दिष्ट रूपमा भन्नुपर्दा, एल्डरहरूचाहिँ साना गोठालाहरू हुन् जसले असल गोठालाका भेडाहरूलाई अगुवाइ गरेर परमेश्वरको सेवा गर्दछन् ।
त्यसो भए, “गोठालो गर्नु” भनेको के हो त ? व्यवहारमा त्यो कस्तो देखिन्छ ? अबका अध्यायहरूले गोठालो गर्नुका विविध पक्षहरूलाई केलाउनेछ । हामी सिकाउने, अगुवाइ गर्ने र प्रार्थना गर्ने विषयमा चर्चा गर्नेछौँ ।
तर गोठालो गर्ने कामका “तरिकाहरू” लाई हेर्नुअघि, हामीले ‘गोठालोको रूपमा एल्डर’ नमुनाका दुई प्रमुख अर्थहरूलाई खोतल्नुपर्छ ।
एल्डरहरू गैरनाफामूलक संस्थाका सल्लाहकारहरू मात्र नभएर पास्टर नै हुन् भनी साँचो रूपमा बुझ्नुले एल्डर सेवकाइलाई कम्तिमा पनि दुई प्रमुख तरिकाले आमूल रूपमा परिवर्तन गरिदिनसक्छ ।
भेडाजस्तै गन्ध आउने हुनुहोस्
‘गोठालोको रूपमा एल्डर’ नमुनाको पहिलो आमूल परिवर्तनकारी अर्थ यो हो कि एल्डरहरूले चर्चका सदस्यहरूसँग
सम्बन्ध गाँस्नुपर्छ ।
केहीबेर रोकिनुहोस् र एउटा साँच्चैको गोठालोको कल्पना गर्नुहोस् । तपाईंले गाउँतिर कुनै गोठालाले काम गरिरहेको देख्नुभएको होला, वास्तविक रूपमा वा कुनै चलचित्रमा । सायद तपाईंले वास्तविक गोठालोलाई देख्नुभएको छैन होला तर बाइबलमा गोठालाहरूको बारेमा पढ्नुभएको होला, यही आधारमा मनमा चित्र कोर्न सक्नुहुन्छ ।
तपाईं के देख्नुहुन्छ ? के तपाईं एकजना बझाङे गोठालाले हराभरा खर्कमा आफ्नो बगाल लगिरहेको कल्पना गर्नुहुन्छ ? अथवा तपाईंले भजनसंग्रह २३ बाट भन्नुहोला र गोठालाले आफ्ना भेडाहरूलाई हरियो खर्कमा सुताएको र शान्त पानीको मूलमा पियाएको कल्पना गर्नुहुन्छ होला ।
हामीले जे कल्पना गरे पनि, हाम्रो दिमागको पर्दामा कम्तिमा पनि एउटा साझा तस्विर हुन्छ । ती सबैमा, गोठालाचाहिँ भेडाहरूको माझमा हुन्छ । ऊ टाढा अन्त कतै जाँदैन । ऊ त ती जनावरहरूकै माझमा हिँडिरहेको, तिनलाई छोइरहेको र तीसँग बोलिरहेका हुन्छन् ।
गोठालोले आफ्नो भेडाहरूलाई चिन्छ, किनभने ऊ भेडासँगै बस्छ । फलस्वरूप, ऊ भेडाजस्तै गन्हाउने पनि हुन्छ ।
अब, वास्तविक गोठालाहरूको कल्पना गर्नुको सट्टामा केवल प्रभु येशूको बारेमा सोच्नुहोस् । सुसमाचारका पुस्तकहरूमा, हामी येशूलाई निरन्तर मानिसहरूको माझमा देख्दछौँ । व्यक्तिगत प्रार्थनाका अवधिहरूमा बाहेक, प्रभु येशूले आफ्ना सम्पूर्ण समय चेलाहरूसँग र भीडहरूसँग बिताउनुभएको देखिन्छ । जहाँ गए पनि उहाँले
मानिसहरूलाई छुनुभयो, सिकाउनुभयो र तालिम दिनुभयो । असल गोठाला येशूले भेडाको निम्ति आफ्नो जीवन अर्पण मात्र गर्नुभएन, तर उहाँ तिनीहरूसँग पनि रहनुभयो ।
जसरी वास्तविक गोठालाहरू आफ्ना बगालको माझमा बस्छन् र आफ्ना भेडाहरूलाई चिन्छन्, र जसरी येशूले आफ्ना चेलाहरूसँगको सम्बन्धमा आफूलाई खुला बनाउनुभयो त्यसरी नै एल्डरहरू चर्चका सदस्यहरूसँग जिउँछन् । तिनीहरूले मानिसहरूलाई आफ्नो सेवकाइको रूपमा हेर्छन् । अबका अध्यायहरूले एल्डर पदका विविध भागहरूको चर्चा गर्नेछन्, तर ती सबैले यस कुरालाई स्वीकार गर्दछन् कि एल्डरहरू आफ्ना दाजुभाइ र दिदीबहिनीसँग नजिकको सम्बन्धमा रहेर जिउँछन् ।
अहिलेको लागि, एउटा उदाहरण लिऔँ— आतिथ्यसत्कार । हामीले अघिल्लो अध्यायमा देखे जस्तै, पावलले प्रस्तुत गरेका निरीक्षकको योग्यताका दुवै सूचीले यो माग गर्दछन् कि त्यो पदको चाहना गर्ने व्यक्ति आतिथ्यसत्कार गर्ने हुनुपर्दछ (१ तिमोथी ३ः२; तीतस १ः८) । अतिथि सत्कारको गुणमा किन यतिधेरै जोड दिइएको ? अतिथि सत्कार
गर्ने गुणले उदार हृदय र सेवा गर्ने भावना प्रकट गरिदिन्छ, तर यसले यो कुरा पनि देखाउँछ कि एक निरीक्षक आकाङ्क्षी मानिसहरूसँग रहन चाहन्छ र मानिसहरूलाई आफ्नो जीवनमा स्वागत गर्ने तरिकाहरू खोज्छ । चर्चले अतिथि सत्कार गर्ने मानिसलाई एल्डरको रूपमा नियुक्त गर्यो भने ऊ मानिसहरूको माझमा रहन चाहने सम्भावना
बढी हुन्छ ।
त्यसको विपरीत, ‘सल्लाहकारको रूपमा एल्डर’ नमुनाअनुसार काम गर्ने निरीक्षकहरू मानिसहरूको माझमा हुनुपर्दैन । तिनीहरू मासिक बैठकहरूमा उपस्थित हुन, समितिका विवादहरूमा सहभागी हुन, मतदान गर्न र आफ्ना कर्तव्यहरू पूरा गरेको महसुस गर्दै घर जान सक्छन् । यो नमुना प्रबल भएको अवस्थामा, चौध महिनासम्म बेरोजगार भएर निराश बनेको सदस्यलाई, लागूपदार्थको कुलतमा पुनः फस्ने परीक्षाहरूमा सङ्घर्ष गर्ने भाइलाई वा अख्रीष्टियान केटासँग गम्भीर सम्बन्धमा फसेकी र त्यसमा कुनै गल्ती नदेख्ने बहिनीलाई के भन्नुपर्ने हो भन्ने विषयमा ती एल्डरहरूले हात हाल्नुपर्दैन ।
तिनीहरू सोच्छन्, “यी समस्याहरू समाधान गर्नको लागि हामीले पास्टर राखेका होइनौँ र ?”
वास्तवमा तपाईंले पनि ती जिम्मेवारीहरू पास्टरकै हुन् भनी सोच्नुभएको होला । यदि तपाईं साधारण एल्डर हुनुहुन्छ भने, तलबी पास्टरसँगै बगालभित्र छिरेर चर्चलाई सहायता गर्दै, हृदयदेखि नै पास्टरीय सेवकाइ गर्ने यो नै उचित समय हो ।
तपाईंले त्यो कामको निम्ति गलत मानिस राख्नुभयो ! के यस प्रकारको सम्बन्ध डरलाग्दो सुनिन्छ ? तपाईंले
सोचिरहनुभएको होला— “म मानिसहरूसँग व्यवहार गर्न त्यति जान्दिनँ । बरु तथ्याङ्क वा कम्प्युटर वा औजारहरू चलाउन जान्दछु ।
म लजाउँछु । मेरो व्यक्तित्वको परीक्षणले त्यो कुरा प्रमाणित गरेको छ । साँच्चै भन्ने हो भने, म अत्यन्तै अनौठो छु ।”
तपाईंको चर्चका सदस्यहरूसँग सम्बन्ध गाँस्नको लागि तपाईं फरासिलो वा मोजमज्जा गर्ने हुनुपर्दैन । तपाईंले तिनीहरूलाई प्रेम मात्र गरे पुग्छ । चर्चको सेवा सुरु हुनुभन्दा अगाडि ती मौन वृद्धा विधवासँग कुराकानी गर्नुहोस्, सङ्घर्षरत दम्पतीलाई खाना खान बोलाउनुहोस्, वा बाइबल अध्ययन सुरु गर्नुहोस् र तपाईंसँग त्यति घुलमिल नभएका सदस्यहरूलाई निम्तो दिनुहोस् । तपाईंले लजालु वा अलिकति अनौठो तरिकाले साँचो प्रेम र वास्ता देखाउनुहुँदा, मानिसहरूले त्यो देख्नेछन् र त्यसलाई थाहा पाउनेछन् । प्रेमले सबै किसिमका बाधाहरू पार गर्दछ ।
सदस्यहरूको माझमा पास्टरीय सेवकाइ गर्दा तपाईं अर्कै कुरामा हिचकिचाउनुहुन्छ होला । मानिसहरूका समस्याहरूमा हात हालेर सहायता गर्ने असल प्रयासहरू गर्दा समस्या झन् बढ्छ कि भनेर तपाईं डराउनुहुन्छ होला । तपाईंसँग सल्लाहकारको डिग्री वा सेमिनारीको तालिम छैन होला । किन तपाईंले पास्टरको भूमिक निभाउन सुरु गर्ने ?
प्रष्टरूपमा भन्नुपर्दा, एल्डर हुन चाहेको कारणले कुनै मानिस योग्यको हुन्छ भनेर मैले भनिरहेको छैन । म त यसो भनिरहेको छु कि मानिसको जीवनका सङ्घर्षहरू समाधान गर्न सकिँदैन कि भन्ने डरको कारण योग्य मानिसहरूले अनावश्यक रूपमा आफैलाई अयोग्य बनाउनुहुँदैन ।ठूल्ठूला समस्याहरू भोगिरहेका मानिसहरूको हेरचाह गर्ने
विषयमा केही छोटा विचारहरू यस प्रकार छन् :
– परमेश्वरले आफ्नो वचनमा एल्डरहरूलाई स्थापित गर्नुभयो र उहाँ के गर्दै हुनुहुन्छ भनी उहाँ जान्नुहुन्छ ।
– प्रभु येशूले तपाईंद्वारा काम गर्न सक्नुहुन्छ ।
– गोठालो हुनुको मुख्य काम मानिसहरूका समस्याहरू समाधान गर्नु होइन (यसबारे तल चर्चा गरिएको छ) ।
– तपाईंसँग बाँडनलाई तपाईंले सोच्नुभएको भन्दा धेरै बाइबलीय बुद्धि हुनसक्छ ।
– तपाईंले प्रभु येशू र अरूबाट सदैव सहायता माग्न सक्नुहुन्छ ।
परिवर्तन बिस्तारै गराउनुहोस्ल गभग तीस वर्ष पहिला, मैले सेवा गर्ने ब्याप्टिस्ट चर्चले एकजना प्रेस्विटेरियनलाई वरिष्ठ पास्टरको रूपमा नियुक्त गर्यो । तिनी दानप्राप्त व्याख्याकार थिए जसले ठूला भीडहरू जम्मा गर्दथे र सुसमाचारद्वारा धेरैलाई प्रभावित तुल्याएका थिए । तर तिनले अर्को कुनै यस्तो काम पनि गरे जसलेगर्दा तिनी गएपछि पनि हाम्रो चर्चले
आशिष् पाइरह्यो— तिनले हाम्रो चर्चलाई एल्डर नमुनाको प्रशासन अवलम्बन गर्न लगाएका थिए । म त्यो चर्चमा आएको बेलामा, त्यहाँ एक दशकअघि देखि नै एल्डरहरू थिए । तर बाइबलीय एल्डर पदको बारेमा गहन रूपमा
अध्ययन गर्दा थाह भयो कि हामी एल्डरहरू असन्तुलित थियौँ । हामीले त्यस संस्थाका सल्लाहकारहरूले जस्तै अभिनय गरेर अधिकांश शक्ति खर्च गरेका थियौँ र मानिसहरूको हेरचाह गर्ने कुरा त परै छोडौँ । त्यसैले बिस्तारै हामीले गोठालो हुनपट्टि ध्यान दिन थाल्यौँ । अहिलेसम्म पनि हामी मासिक बैठकहरू राख्छौँ र सल्लाहकारको
जस्तो काम पनि गर्छौँ । त्योचाहिँ एल्डरको भूमिका र चर्च जीवनको एउटा भाग हो । हामीले चर्चका सदस्यहरूसँग बढी समय लगानी गर्ने प्रयास गरिरहेका छौँ ।
उदाहरणको लागि, लगभग एक वर्षभन्दा अगाडि हामीले एल्डरहरूको माझमा हाम्रो वृद्धिरत चर्च सदस्यताको सूचीलाई विभाजन गर्यौँ र त्यो वर्षमा कम्तिमा पनि एकपटक हाम्रो सूचीमा रहेका हरेक सदस्यलाई भेट्ने लक्ष्य तय गर्यौँ। त्यो सुधार गराउने किसिमको एउटा सानो कदम थियो । तर त्यो सानो कदमले तुरुन्तै फल फलायो । सदस्यहरूले तुरुन्तै प्रशंसामात्रै गरेनन्, तिनीहरू त आफ्ना जीवनको बारेमा एल्डरहरूलाई बताउन पनि खुला भए । एल्डरहरूलाई यस किसिमको पास्टरीय सेवकाइ चुनौतीपूर्ण तर अत्यन्त फलदायी लाग्यो ।
हामीले अझ धेरै काम गर्न बाँकी छ । तर हाम्रा एल्डरहरू बढीभन्दा बढी भेडाजस्तै गन्ध आउने भइरहेका छन् ।
लक्ष्य के हो त ?
फेरि सम्झौँ— एल्डरहरूचाहिँ पास्टरहरू वा “गोठालाहरू” हुन् । गोठालाको उपमाले एल्डरको सेवकाइमा महत्वपूर्ण अर्थ राखिदिन्छ । सर्वप्रथम, यसले बताउँछ कि एल्डरको काम विशेषगरी चर्चका सदस्यसँगको सम्बन्धहरूमा हुन्छ । एल्डरको सेवकाइ कार्यक्रम होइन तर मानिसहरूको बारेमा हो । तर गोठालोपनको कल्पनाले एल्डरको काम कहाँनेर हुन्छ भनेर मात्र हामीलाई बताउँदैन— त्यो काम त सम्बन्धहरूमा हुन्छ तर किन त्यो काम गरिन्छ भनेर पनि बताउँछ । किन एल्डरहरूले चर्चका सदस्यहरूसँग समय बिताउनुपर्छ र जिउनुपर्छ त ? तिनीहरूले के हासिल गर्ने प्रयास गरिरहेका हुन्छन् ? के त्यो लक्ष्य चर्चलाई अझ मित्रवत् वा पारिवारिक भाव दिनका लागि मात्र हो त ?
गोठाले नमुनाको दोस्रो आमूल परिवर्तनकारी अर्थ यो हो— एल्डरहरूले चर्चका सदस्यहरूलाई ख्रीष्टियान परिपक्वतामा वृद्धि गराउने लक्ष्य लिएर सेवा गर्दछन् । गोठालाको बारेमा फेरि कल्पना गर्नुहोस् । उसले भेडाको
रेखदेख गरिरहेको कल्पना गर्नुहोस्— बगाललाई खुवाउने, तिनलाई खर्कमा डोर्याउने वा हराएको थुमालाई खोज्ने । किन गोठालाले यी कुराहरू गर्दछ ? उद्देश्य र लक्ष्य के हो ? त्यो होः परिपक्व भेडा । पुनरुत्पादन गर्ने स्वस्थ, वयस्क भेडा उत्पादन गर्नको निम्ति गोठालाले दिनदिनै मेहनत गर्दछ ।
के एल्डरहरूको लक्ष्य त्यस्तै हुँदैन र ? चर्चका सदस्यहरूलाई येशूमा वृद्धि गराउनको निम्ति तिनीहरूसँग असल सम्बन्ध गाँस्न एल्डरहरूले कडा मेहनत गर्दछन् । निरीक्षकहरूले सिकाउँछन्, प्रार्थना गर्दछन् र सेवा गर्दछन् ताकि तिनीहरूका दाजुभाइ र दिदीबहिनीले येशूलाई अझ नजिकबाट चिनून्, अझ विश्वासयोग्यसाथ उहाँको आज्ञापालन गरून् र व्यक्तिगत तथा चर्च परिवार दुवैको रूपमा उहाँको चरित्रलाई स्पष्ट रूपमा प्रकट गरून् । थप रूपमा भन्नुपर्दा, स्वस्थ र परिपक्व विश्वासीहरूले अरूलाई सुसमाचार सुनाउँदा, र अरूलाई ख्रीष्टमा वृद्धि गराउँदा आफैलाई आत्मिक रूपमा पुनरुत्पादन गर्दछन् ।
पावलले परिपक्वतालाई पास्टरीय सेवकाइको लक्ष्यको रूपमा उल्लेख गरेका छन् :
“अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू,
कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका
पास्टरहरू र कोही शिक्षकहरू बनून्, कि ख्रीष्टको शरीर
निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्,
जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको
ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका
पूर्णताको नापसम्म पुग्दैनौं” (एफिसी ४ः११–१३) ।
एल्डरहरूले आफ्ना कर्तव्यहरूलाई राम्रोसँग पूरा गर्दा, विश्वासीहरू “अब उसो साना बालबालिका” भइरहँदैनन्, बरु “हर प्रकारले उहाँमा वृद्धि हुन्छन् जो शिर हुनुहुन्छ— ख्रीष्ट” (पदहरू १४–१५) । एल्डरहरूले पावलसँगै यसो भन्न कडा मेहनत गर्नुपर्दछ, “हरेक मानिसलाई ख्रीष्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउनका निम्ति हरेक मानिसलाई चेताउनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै हामी उहाँलाई प्रचार गर्दैछौँ”
(कलस्सी १ः२८) ।
यन्त्रको व्यवस्थापन
गोठाले मानसिकतालाई ‘सल्लाहकारको रूपमा एल्डर’ को नमुनासँग फेरि तुलना गर्नुहोस् । एल्डरहरूले आफूलाई
सल्लाहकार समितिका सदस्यहरूको रूपमा लिँदा, तिनीहरूले चर्चका साङ्गठनिक पक्षहरूलाई व्यवस्थापन गर्ने आफ्नो उद्देश्य पूरा गर्न खोज्छन् । “सफलता” को अर्थ आर्थिक कुराहरूको लेखा राख्नु, भवनको मर्मतसम्भार गर्नु र उच्च गुणस्तरका तथा धेरै मानिसहरू उपस्थित हुने कार्यक्रमहरू प्रायोजन गर्नु, इत्यादि । सल्लाहकार एल्डरहरू सदस्यहरूलाई परिपक्व बनाउनुभन्दा यन्त्रको व्यवस्थापन गर्नुलाई बढी जोड दिने परीक्षामा पर्दछन् ।
हामीले देखिसकेका छौँ कि चर्चको साङ्गठनिक संरचना– बजेटहरू, प्रक्रियाहरू, कार्यक्रमहरू, भवनहरू र जनशक्तिहरू महत्वपूर्ण हुन्छन् । प्रभावकारी प्रशासन आफैमा एउटा सेवकाइ र आत्मिक दान हो जसले समग्र शरीरको सेवा गर्दछ र एल्डरहरूला गोठालो कार्यको निम्ति स्वतन्त्र पार्छ । सङ्गठनसम्बन्धी रहेको सानो
सोचाइले पुरानो करारमा मोशालाई र नयाँ करारमा प्रेरितहरूलाई तिनीहरूका बोलावट पूरा गर्नका लागि शक्ति प्रदान गर्यो र फलस्वरूप परमेश्वरका जनहरू आशिष्मय भए (प्रस्थान १८ः१३–२७; प्रेरित ६ः१–७) । सम्बन्ध गाँस्ने गोठालाहरूको रूपमा एल्डरहरूले चर्चको साङ्गठनिक संरचनालाई निरीक्षण गर्ने समग्र जिम्मेवारी बहन
गर्दछन् ।
तर मुख्य कडी यो हो— संस्थाले सदैव शरीरको सेवा गर्नुपर्दछ । कार्यक्रमहरू र प्रक्रियाहरूले सबैभन्दा बढी, एकअर्कालाई ख्रीष्टमा परिपक्व बनाउने मिसन पूरा गर्ने साधनहरू उपलब्ध गराउँछन् । मेरो अनुभवले बताउँछ कि एल्डरहरू सदस्यहरूप्रति भन्दा यन्त्रप्रति, बोटप्रति भन्दा थाँक्रोप्रति सजिलै तानिन्छन् । त्यसैले मानिसहरूको विकास गर्नको निम्ति मेहनत गर्नुको सट्टामा उनीहरू उत्कृष्ट प्रशासन बनाउनप्रति धेरै मेहनत (कुराकानी) गर्दछन् । यस्तो किन हुन्छ भन्ने बारेमा म पूर्णरूपमा निश्चित छैन । सायद कार्यक्रमहरू र नीतिहरूचाहिँ योजना गर्न र पूरा गर्न सकिने
कुराहरू भएका हुनाले हो कि, जबकि मानिसहरूलाई ख्रीष्टमा वृद्धि गराउने कामचाहिँ झमेलापूर्ण, अप्ठ्यारो र सुस्त हुन्छ । वास्तवमा, मानिसहरूको गोठालो गर्नु भनेको जीवनमा पूर्णरूपमा कहिल्यै पनि पूरा गर्न र नियन्त्रण गर्न नसकिने काम हो ।
एल्डरहरूले साङ्गठनिक प्रबन्धक मात्र हुन छोड्नुपर्दछ र बरु चर्चलाई येशूमा परिपक्व बनाउनतर्फ अगुवाइ गर्नुपर्दछ । यो कुरामा सहायता गर्नको लागि, अर्को एल्डर बैठकमा जाँदा छलफलको एजेन्डाको रूपमा यिमध्ये एक वा दुईवटा प्रश्नलाई प्रस्तुत गर्नुहोस् :
– हाम्रो समूहले कुनकुन तरिकाले येशूलाई देखाउनुपर्छ ? कुनकुन तरिकाले हामी उहाँलाई झल्काउँदैनौँ ?
– के चर्चमा समाधान नगरिएका विवादहरू छन् जसलाई हामी एल्डरहरूले पुनर्मिलाप गराउने प्रयास गर्न सक्छौँ ?
– के हामी कुनै सदस्यहरूलाई जान्दछौँ जो ठूलो पापमा फसेका छन् वा चर्चको सेवामा नियमित रूपमा उपस्थित हुँदैनन् ? कसले तिनीहरूसित कुराकानी गरिरहेको छ ?
– आउने वर्षमा हाम्रा सदस्यहरूले बाइबलका कुनकुन पुस्तकहरू वा ईश्वरशास्त्रीय सिद्धान्तहरू अध्ययन गर्नुपर्दछ ? किन ?
– के हाम्रा सदस्यहरूलाई अरूलाई सुसमाचार सुनाउने र चेला बनाउने तरिका थाहा छ ? के तिनीहरूले
त्यसो गर्दैछन् ?
– के हाम्रो चर्च प्रार्थना गर्ने चर्च हो ? खास्टो हस्तान्तरण गर्नु येशू स्वर्ग प्रस्थान गर्नुहुँदा, उहाँले आफ्ना चेलाहरूलाई यी
अन्तिम निर्देशनहरू दिनुभयो :
“यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको, पुत्रको र पवित्र आत्माको
नाममा बप्तिस्मा देओ, मैले तिमीहरूलाई जेजे आज्ञा गरेँ, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ”(मत्ती २८ः१९–२०) ।
प्रभु येशूले बितेका केही वर्षहरूदेखि आफ्ना चेलाहरूसँग गर्दै आउनुभएको कार्यलाई निरन्तरता दिनु भनी आफ्ना चेलाहरूलाई आज्ञा दिनुभयो । उहाँले आफ्ना चेलाहरूलाई जम्मा गर्नुभयो, तिनीहरूलाई रोज्नुभयो र तिनीहरूलाई सिकाएर वृद्धि गराउनुभयो । असल गोठालाले ती भेडाहरूको निम्ति आफ्नो जीवन अर्पण मात्र गर्नुभएन, तर तिनीहरूका माझमा बस्नु पनि भयो र तिनीहरूलाई परिवर्तन गराउनुभयो ।
येशूले चेलाहरू बनाउनुभयो— ती मानिसहरू जसले उहाँलाई प्रेम गरे, उहाँको आज्ञा पालन गरे र उहाँको बारेमा अरूलाई बताए ।
अब येशूले ती चेलाहरूलाई चेला बनाउनको लागि पठाउन लाग्नुभएको थियो । ती प्रेरितहरूले येशूको गोठालोपनको खास्टो लिए र ख्रीष्टको नाउँमा अझ धेरै चेलाहरू बनाए, तिनीहरूलाई चर्चमा भेला गराए र तिनीहरूलाई शिक्षाद्वारा वृद्धि गराए । ती प्रेरितहरूले चेलाहरूका स्थानीय समूह स्थापित गरेपछि, तिनीहरूले पनि सम्बन्धगत र परिपक्वताको लक्ष्य लिने गोठालोपनको खास्टो हस्तान्तरण गरे । तिनीहरूले त्यो कसलाई हस्तान्तरण गरे त ?
चर्चका एल्डरहरूलाई !