यदि तपाईं आत्मिक जन्मको अवधारणाको विषयमा अन्योल हुनुहुन्छ भने, तपाईं पहिलो व्यक्ति हुनुहुन्न । वास्तवमा, आत्मिक जन्मले येशूको पहिलो अनुयायीहरूमध्ये एक जनालाई पनि यसरी नै अन्योलमा पारेको थियो, र नयाँ करारको चिरपरिचित दोहोरो वार्तालाप गर्नेहरूमध्ये एक बन्न पुगे । त्यस अनुयायीको नाउँ निकोदेमस थियो र तपाईंले उसको विषयमा यूहन्ना ३ मा पढ्न सक्नुहुन्छ । उनी फरिसीहरूमध्येका थिए— व्यवस्थावादी यहूदीहरूको एक विशेष समूह जसले व्यवस्थाको व्याख्यासम्बधी येशूसँग विवाद गर्दथ्यो । त्यसपछि, शत्रुसँगै देखा पर्नसक्ने डरको कारणले, निकोदेमसले दिनको उज्यालोमा येशूसँग कुरा गर्न असहज महसुस गरे । तर निकोदेमसले येशूबाट देखेका कुरालाई उनले बेवास्ता गर्न सकेनन् । यो कुरा पक्का थियो कि येशू परमेश्वरदेखि नआउनुभएको भए, उहाँ काना नगरको विवाहको उत्सवमा पानीलाई दाखमद्यमा परिणत गर्न असक्षम हुने थिए । निकोदेमसले प्रश्न सोध्न नपाउँदै येशूले तिनलाई यो प्रश्न गर्नुभयो— “साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन” (यूहन्ना ३:३) ।
अब के भनौँ ? निकोदेमसले थप स्वभाविक प्रश्न गरे— यो कसरी सम्भव छ ? एकपटक आमाको कोखबाट बाहिर निस्किए पछि, तपाईं फेरि भित्र पस्न सक्नुहुन्न । उहाँको प्रतिक्रियामा येशूले धेरै कुरा ठ्याक्कै स्पष्ट पार्नुभएन— “साँच्चै म तिमीलाई भन्दछु कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन” (यूहन्ना ३:५) ।
यस पाठमा भएका हाम्रा प्रश्नहरूको चाबी यही हो : आराधना सेवाको निम्ति चर्च भवनमा को जान सक्दछ ? उत्तर, सबैजना ! तर चर्च नामक आत्मिक परिवारमा को समावेश हुन सक्दछ ? केवल तिनीहरू जो परमेश्वरको राज्यमा प्रवेश गरेका छन् । येशूको भनाइअनुसार केवल तिनीहरू जो पानी र आत्माद्वारा जन्मेका छन्, केवल तिनीहरू जो नयाँ गरी जन्मिएका छन् र बप्तिस्मा लिएका छन् । अनि त्यो कसरी हुँदछ ? येशूले चकित निकोदेमसको लागि व्याख्या गर्नुभयो— “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) ।
यदि तपाईं परमेश्वरको व्यवस्थालाई पालन गर्नुहन्छ र काम, विश्राम, शुद्ध र अशुद्ध भोजन र विभिन्न पशु बलिहरूप्रति त्यसको विस्तृत मागलाई पूरा गर्नुहुन्छ भने, तपाईं परमेश्वरको राज्यमा प्रवेश गर्नसक्नुहुन्छ भनी निकोदेमसले अपेक्षा गरेका थिए । येशूले व्यवस्थालाई नयाँ र सरल तरिकाले सारांशित गर्नुभयो— “मलाई विश्वास गर, म तिम्रो निम्ति मेरो जीवन दिनेछु ।”
क्रूसमा उहाँको मृत्यु— जुन उहाँको हार जस्तो देखिन्थ्यो— वास्तवमा न्यायलाई सन्तुष्ट पार्न र पाप क्षमा गर्नका निम्ति परमेश्वरको योजना थियो भनी येशूले वणर्न गर्नुभयो । अनि उहाँले मृत्युदेखि आफ्नो पुनरुत्थानमा त्यसलाई प्रमाणित गर्नुभयो । येशूमा आफ्नो विश्वास राख्नेहरू सबै मृत्युपछि स्वर्गमा उहाँसँग हुनेछन् । जब यस संसार समाप्त हुन्छ, तिनीहरूका शरीर पुनरुत्थान हुनेछन् र जसै येशू परमेश्वरको राज्यमा राज गर्नुहुनेछ तिनीहरूले सदैव आनन्द गर्नेछन् । तर तिनीहरू जसले उहाँलाई इन्कार गर्दछ, अनाज्ञाकारिताको निम्ति अनन्त दण्ड भोग्नेछ (यूहन्ना ३:३६) ।
पछि, प्रेरित पावलले यसलाई यस्तो तरिकाले भन्छन्— “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौँ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौँ भने तिम्रो उद्धार हुनेछ” (रोमी १०:९) ।
जब हामी पहिलोपटक जन्मिएका थियौँ, हामीले हाम्रा बुबाआमादेखि पाप प्राप्त गर्यौँ, जसको मूल सम्बन्ध आदम र हव्वाको विद्रोहसँग थियो (उत्पत्ति ३) । त्यसैकारण हामी नयाँगरी जन्मनु पर्दछ, ताकि हामी आशाबिना नमरेका होऔं । हामीले पापको परिणामहरूदेखि उद्धार प्राप्त गर्नु आवश्यक छ जुन अनन्त मृत्यु र परमेश्वर हाम्रो सृष्टिकर्ताबाट अलग हुनु हो । तर, जसरी पहिलोपटक जन्मनुमा हाम्रो कुनै हात छैन, त्यसरी नै नयाँगरी जन्मनुमा पनि हाम्रो कुनै हात हुँदैन । केवल हाम्रा सृष्टिकर्ता परमेश्वरले मात्र हामीलाई नयाँ जन्म दिन सक्नुहुन्छ । “परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ ! उहाँको महान् कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं” (१ पत्रुस १:३) ।
येशूमा विश्वास गर्ने विश्वास पनि परमेश्वरको उपहार हो (एफिसी २:८) । अनि यो यस्तो उपहार हो जसलाई माग्नेहरूलाई दिनको निम्ति परमेश्वर प्रसन्न हुनुहुन्छ । यो पश्चात्ताप गर्ने वा तिनीहरूका पापहरूदेखि फर्कने र तिनीहरूका सम्पूर्ण विश्वास केवल येशूमा राख्नेहकहाँ आउँदछ । परमेश्वरले यस पश्चात्तापको उपहारलाई केवल यहूदीहरूलाई मात्र नभईकन अन्यजातिहरूलाई पनि दिनुभएको छ भनी जब देखे, अन्यजातिहरूले परमेश्वरको महिमा गरे (प्रेरित ११:१८) । परमेश्वरलाई पछ्याउनु भनेको अन्य सबैलाई इन्कार गर्नु हो । जब हामी नयाँ गरी जन्मेका हुन्छौँ तब हामी पूणर्तया उहाँको हुन्छौँ । चर्चको महत्वलाई पुनः पत्ता लगाउनु भनेको सर्वप्रथम हामी किन भेला हुन्छौँ भनी याद गर्नु वा महसुस गर्नु हो । हामी परमेश्वर पिता, पुत्र, र पवित्र आत्मालाई आराधना गर्नका निम्ति भेला हुन्छौँ जसले हामीलाई पाप र मृत्युबाट उद्धार गर्नुभयो । यसलाई नै हामी गाउँछौँ । यसलाई नै हामी सिकाउँछौँ । त्यसैले हामी बप्तिस्मा र प्रभु-भोजमा अवलोकन गर्दछौँ ।
साँचो परिवर्तनविना नयाँ जन्मविना, पुनः पत्ता लगाउनका निम्ति त्यहाँ कुनै चर्च नै छैन । यदि येशू हाम्रा पापहरूका लागि मर्नुभएको र तेस्रो दिनमा बिउँतिएको असत्य हुन्थ्यो भने, हामीलाई बाहिर जत्तिकै चर्चभित्र भेट्टाइने थप कुनै आशा छैन ।
यो लेख कोलीन ह्यान्सेन र जोनाथन लीम्यानद्वारा लिखित पुस्तक “चर्चलाई पुनः पत्ता लागाउनु”बाट साभार गरिएको हो । यदि तपाईं यो पुस्तक पढ्न चाहनुहुन्छ भने, अनलाइन मार्फत अर्डर गर्न सक्नुहुनेछ— चर्चलाई पुनः पत्ता लागाउनु