आज संसारको सबैभन्दा ठूलो आवश्यकता सुसमाचार हो । यो संसारको सबैभन्दा ठूलो आवश्यकता हो किनकि पुरुष, महिला र केटाकेटीहरू हाम्रो मुक्तिदाता र परमेश्वरको पुत्र, येशूको सुसमाचारको माध्यमबाट परमेश्वरको अत्यावश्यक ज्ञानविना नास हुँदैछन्।

आज चर्चको सबैभन्दा ठूलो आवश्यकता सुसमाचार हो । सुसमाचार केवल विनाश भइरहेको संसारका लागि असल समाचार मात्र होइन, यो चर्चलाई गठन, सम्भार र जीवित पार्ने सन्देश हो । सुसमाचार बाहेक, चर्चसँग भन्नको लागि केहीपनि हुँदैन – भन्नुको मतलब अन्य मानव संस्थाले भनी सकेको सन्देश बाहेक । सुसमाचारले चर्चलाई संसारबाट छुट्याउँछ, संसारमा उनको सन्देश र लक्ष्य बताउँछ, र दुष्टको अग्निमय बाण र पापको झूटो प्रलोभनबाट आफ्नो मानिसहरूलाई बचाउँदछ । एक जीवन्त, आनन्दित, लगनशील, आशावादी, र स्वस्थ ख्रीष्टियान र चर्चका लागि सुसमाचार एकदम महत्वपूर्ण छ । ख्रीष्टियान जीवनको निम्ति सुसमाचार यति महत्वपूर्ण छ कि स्वस्थ चर्च सदस्य हुन हामी त्यसमा सन्तृप्त हुनुपर्दछ ।


सुसमाचारले सन्तृप्त हुनु
त्यसोभए हामी सुसमाचारमा कसरी डुब्छौँ ? कुन मार्गले अझ बढी आत्मिक स्वास्थ्य तर्फ डोर्याउन सक्छ ?

सुसमाचार बुझ्नु (जान्नु)
यी सबको सबैभन्दा पहिलो क्रम भनेको सुसमाचार बुझ्नु (जान्नु) हो । यो भन्दै गर्दा मूर्ख जस्तै महसुस गर्न स्वभाविक हुनसक्छ । तर वास्तवमा भन्ने हो भने, ख्रीष्टियान हुँ भनी दावी र विश्वास गर्ने धेरै ख्रीष्टियानहरूले वर्षौँसम्म प्रवचनको अन्त्यमा बाँडिने छोटो “सुसमाचारका प्रस्तुतिहरू” मात्र सुनेको कारणले, सुसमाचारको बारेमा फितलो बुझाइ छ । ख्रीष्टको सन्देश जानेका बाँकी अरूहरूले परिवार र साथीहरूसँग स्पष्ट रूपमा सुसमाचार प्रचार गर्न अप्ठ्यारो र असमर्थ महसुस गर्दछन् । त्यसकारण, हामीले स्पष्टता र गहिराइकासाथ सुसमाचार बुझेका छौँ भनेर निश्चित हुन कदमहरू चाल्नु आवश्यक छ ।


सुसमाचारको रूपमा प्रायः प्रस्तुत गरिएका केही विचारहरू रद्द गर्नु निकै सहयोगी हुन्छ । सुसमाचार सामान्यतया : (क) हामी ठीक छौँ, (ख) परमेश्वर प्रेम हुनुहुन्छ, (ग) येशू हाम्रो मित्र बन्न चाहनुहुन्छ, (घ) हामीले सही जीवन बिताउनुपर्दछ, मात्र होइन । यदि हामी येशूलाई पछ्याउँछौँ भने हाम्रा समस्याहरू समाधान हुनेछन् वा परमेश्वर हामीलाई स्वस्थ, धनी र बुद्धिमानी बनाउँन चाहनुहुन्छ भन्नु पनि सुसमाचार होइन । यी सबै विचारहरू कुनै न कुनै अर्थमा सत्य हुन सक्छन्, तर केवल आंशिक अर्थमा र कहिल्यै पनि सुसमाचार भनेको के हो भन्ने कुराको पूर्ण अर्थ हुँदैन ।


येशू ख्रीष्टको सुसमाचार शाब्दिक रूपमा भन्नुपर्दा “असल समाचार” हो । समाचारको रूपमा यसले तथ्यहरूको वृत्तान्तलाई र ती तथ्यहरूबाट व्युत्पन्न सत्यतालाई समावेश गर्दछ । असल समाचारको रूपमा सुसमाचारले परमेश्वरका प्रतिज्ञाहरू आधारित भएर हाम्रो आशा निश्चित गर्छ र ती तथ्यहरूलाई प्रमाणित गर्ने ऐतिहासिक तथ्यहरू र सत्यताहरूमा आधारित छ ।


येशू ख्रीष्टको सुसमाचार वा असल समाचार यो हो कि परमेश्वर पिता, जो आफ्ना सबै मार्गमा पवित्र र धार्मिक हुनुहुन्छ, पापीहरूसँग क्रोधित हुनुहुन्छ र पापलाई दण्ड दिनुहुनेछ । परमेश्वरको शासनलाई अवज्ञा गर्ने मानिस, परमेश्वरको प्रेमबाट टाढा छ र परमेश्वरको अनन्त र पीडादायी दण्डको जोखिममा छ । तर परमेश्वर, जो कृपामा धनी पनि हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमको कारण, कन्या मरियमद्वारा जन्माउनुभएको आफ्नो अनन्त पुत्रलाई विद्रोही पापी मानिसहरूको सट्टमा छुट्काराको मोलको रूपमा मर्न पठाउनुभयो । र अब, परमेश्वरको पुत्रको पूर्ण आज्ञाकारिता र हाम्रो पापको साटो क्रूसमा उहाँको स्वेच्छाको मृत्युद्वारा, येशू ख्रीष्टमा पश्चाताप र विश्वास गरी, उहाँलाई मुक्तिदाता र प्रभुको रूपमा पछ्याउनेहरू सबैले आउनेवाला क्रोधबाट मुक्ति पाउनेछन्, परमेश्वरको सामु धर्मी घोषित हुनेछन्, अनन्त जीवन पाउनेछन्, र परमेश्वरसँगै स्वर्गको महिमाको पूर्वझलकको रूपमा परमेश्वरको आत्मा पाउनेछन् ।


यदि हामी स्वस्थ चर्चका सदस्यहरू हुन चाहन्छौँ भने, सङ्क्षिप्त रूपमा यहाँ भनिएको यो सन्देशलाई हामीले आत्मसात गर्नुपर्दछ र यसैमा रमाउनुपर्छ ।


सुसमाचार सुन्ने चाहना राख्नुहोस् र आफैलाई सुसमाचार प्रचार गर्नुहोस्


हामीले यस सन्देशको लागि एउटा उत्कट चाहनाको विकास गर्नुपर्छ र त्यसको सुरक्षा गर्नुपर्दछ । सुसमाचारको नियमित सुनाई र यसको गहिराइमा डुब्नुले हामीमा यस सन्देशको ज्ञान, मुक्तिदाताको लागि हाम्रो स्नेह, र सन्देश प्रचार गर्ने हाम्रो सीपको वृद्धि हुन्छ ।


त्यसैले हामीले प्रवचनमा सुसमाचार र सुसमाचार प्रभावहरूलाई सक्रिय रूपमा सुन्नुपर्छ । जब पास्टरले गैर ख्रीष्टियानहरूलाई सुसमाचार सन्देशको साथ सम्बोधन गर्न थाल्नुहुन्छ त्यतिखेर तपाईंको कान बन्द नगर्नुहोस् । यसलाई नयाँ गरी सुन्नुहोस् । तपाईंको विश्वासलाई यसको सत्यता, प्रतिज्ञाहरू र तपाईंको जीवनमा यसको शक्तिलाई पनः पुष्टि गर्नुहोस् । प्रवचन वा आत्मपरीक्षा मार्फत तपाईंको जीवनमा कुनै पाप देखिए यसलाई आफैलाई प्रचार गर्नुहोस् । तपाईंले सुसमाचार सुन्नुहुँदा तपाईंको पापहरू क्रूसमा टाँगिएको हेर्नुहोस् । वचनमा सुसमाचारको कुनै नयाँ प्रतिज्ञाहरू वा पक्ष समावेश छन् कि छैन विचार गर्नुहोस् । यी सत्यहरूलाई तपाईंले कसरी थामी राख्नुहुन्छ ?


सुसमाचारलाई यति सक्रियता र उत्कट चाहना पूर्वक सुन्नुहोस् कि जब तपाईंको वचन प्रचारमा यो छुटिरहेको पाउँदा तपाईंले दरिद्रता र कुपोषण महसुस गर्नुहुन्छ । जब तपाईंले आफैलाई असन्तुष्ट वा तृषित पाउनुहुन्छ, आफैलाई सुसमाचार प्रचार गर्नुहोस् । यो एक सन्देश तपाईंको लागि, तपाईँकहाँ आउँदछ । यसलाई अपनाउनुहोस् । केवल अरूको कुरा सुन्नु, वा शंका, चिन्ता, र डरले तपाईंलाई ग्रसित पार्ने आवाजलाई सुन्नु भन्दा बरु, आवश्यकताको खण्डमा, आफैलाई सुसमाचार घोषणा गरेर परमेश्वरको आवाज सुन्नुहोस् । सी.जे. मेहेनीले आफ्नो उत्कृष्ट र सहयोगी पुस्तक लिभिङ दि क्रूस सेण्टर्ड लाइफ: किपिङ द गस्पल मेन थिङ्गमा हामी सुसमाचार याद गरौँ, सुसमाचार नै प्रार्थना गरौँ, सुसमाचार नै गाऔँ, सुसमाचारले हामीलाई कसरी परिवर्तन गर्यो भनी समीक्षा गरौँ र सुसमाचार नै अध्ययन गरौँ भनी सुझाव दिन्छन् ।

सुसमाचारलाई यसको निष्कर्षमा लिनुहोस्
जब तपाईंले सुसमाचारका घटनाहरू र प्रतिज्ञाहरूमा विमर्श गर्नुहुन्छ, सुसमाचारको निष्कर्षतर्फ अगाडि बढ्नुहोस्। जोन पाइपरले हामीलाई सम्झाउँछन् कि परमेश्वर सुसमाचार हुनुहुन्छ, र सुसमाचार परमेश्वरले हामीलाई प्रेममा आफैलाई दिनुभयो भन्ने सन्देश होः


गुड फ्राइडे र ईस्टरको सुसमाचार घटनाहरू र धर्मीकरण र अनन्त जीवनको सुसमाचारका प्रतिज्ञाहरूले परमेश्वरलाई सर्वोच्च आनन्दको रूपमा देख्न र अङ्गाल्न तपाईंलाई डोर्याउदैन भने, तपाईंले परमेश्वरको सुसमाचारलाई अँगाल्नुभएको छैन । तपाईंले उहाँको केही उपहारहरूलाई मात्र स्विकार्नुभएको छ । तपाईं उहाँसँग केही ईनामको निम्ति मात्र रमाउनुभएको छ । तपाईं उहाँका केही चमत्कारहरू मात्र देखेर छक्क पर्नुभएको छ । तर तपाईं अझै पनि ती उपहार, पुरस्कार, र चमत्कारहरू किन आए भनेर जागृत हुनुभएको छैन । तिनीहरू एउटा ठूलो कारणका लागि आएका छन् कि तपाईं ख्रीष्टमा सदासर्वदा परमेश्वरको महिमा देख्न सक्नुहोस्, र देखेर यस्तो मानिस बन्न सक्नुहोस्, जो सबैभन्दा बढी परमेश्वरमा प्रसन्न हुन्छ, र प्रसन्न भएर बढ्दो चमक र अनन्तको आनन्द साथ उहाँको सर्वोच्च सुन्दरता र मूल्य प्रदर्शन गर्दछ ।


तपाईंको जीवन सुसमाचारको वरिपरि निर्माण गर्नुहोस्


चर्चका सदस्यहरूको हैसियतमा हाम्रो लक्ष्य भनेको सुसमाचारलाई गहिरो र आत्मीय रूपमा बुझ्नु हो कि यसले हाम्रो जीवनको प्रत्येक क्षेत्रलाई जीवन्त बनाओस् । हामी अरूसँगको हाम्रो वार्तालापको केन्द्रमा सुसमाचार चाहन्छौँ, हामी कसरी प्रोत्साहित गछौँ र सच्याउँछौँ भन्ने कुराको पनि केन्द्रमा, व्यक्तिगत पेशा र सम्बन्धको निर्णयको पनि केन्द्रमा, चर्चले सामूहिक रूपमा बनाउने निर्णयहरूको पनि केन्द्रमा सुसमाचार चाहन्छौँ, र हाम्रो जीवनका सबै आचरणहरूको पनि केन्द्रमा । हामी सुसमाचारले, सुसमाचारका परमेश्वरले हाम्रो जीवनको हरेक क्षेत्रमा प्राथमिक स्थान लिएको चाहन्छौँ । सुसमाचारद्वारा सन्तृप्त चर्च सदस्यहरूले येशू ख्रीष्टको सुसमाचार वरिपरि आफ्नो जीवन व्यवस्थित गर्नका लागि धेरै रणनीतिहरू विचार गर्नुपर्छ:


• कर्मचारीहरूसँग सम्बन्ध र सहजता निर्माण गर्ने
• (घुम्ने) विधालाई छोटो अवधिको मिसन ट्रिपको रूपमा प्रयोग गर्ने
• सुसमाचारको लागि प्रभाव पार्न सामाजिक काम र सेवामा स्वयम्‌सेवक बन्ने
• धर्म र दर्शनका कुराहरूमा छलफल गर्न घरमा स्वागत गर्ने
• छिमेकीहरूलाई खाना र भोजमा निम्तो दिएर येशूको बारेमा कुरा गर्ने
• सुसमाचार अवसर सृजना गर्नको लागि सामाजिक समूहमा आबद्ध हुने
• सुसमाचार केन्द्रमा हुने कार्यक्रम र सेवाहरूमा मित्रहरूलाई चर्चमा निमन्त्रणा दिने
हामी यो कुरा पहिचान गर्न चाहन्छौँ कि सुसमाचार प्रचार गर्दा केही जोखिम छैन, केवल इमान्दारिताका इनाम मात्र छन् । हामी जीवनका वचनहरू सहित “सधैँ तयार” रहन चाहन्छौँ ।


अरूलाई सुसमाचार प्रचार गर्नु


कहिलेकाहीँ कतिपय ख्रीष्टियानहरूले यो विश्वास गरे जस्तै देखिन्छ कि सुसमाचार तिनीहरूकहाँ नपुगुन्जेल व्यापक रूपमा प्रचार हुनुपर्छ र त्यसपछि सबैबाट टाढा तिनीहरूको आफ्नो व्यक्तिगत इतिहासमा सुरक्षित रूपमा भण्डार गरिनुपर्छ । ख्रीष्टियानहरूले आफ्नो जीवन गवाही बाँड्नु वा असल जीवन जिउनु सुसमाचार प्रचारप्रसार गर्ने जत्तिकै प्रभावकारी साक्षी हो भनी अनुमान गर्छन् । निस्सन्देह ! त्यस्तो जीवन एक प्रकारको साक्षी नै हो । तर के यो येशू ख्रीष्टको क्रूसको साक्षी हो त ? के हाम्रो व्यक्तिगत गवाही र राम्रो कामको “साक्षी” मार्फत क्रूस र मुक्तिदातालाई प्रभावकारी रूपमा दर्साउँछ?


धेरैपटक यस्ता प्रयासहरूले केवल धर्मका अस्पष्ट प्रभावहरू मात्र छोड्छन्, तर उहाँको पुत्रको बलिदानको माध्यमबाट पापीहरूको उद्धारमा परमेश्वरको महिमालाई प्रदर्शन गर्दैन । यदि हामी हाम्रो स्थानीय चर्चहरूको स्वास्थ्यमा योगदान पुर्याउँछौँ भने, हामी आफैले आफ्नो लागि सुसमाचार कटनी (भण्डार) गर्ने मात्र होइन तर अरूलाई पनि पठाउन (प्रचार गर्न) समर्पित हुनुपर्छ । हामीले प्रचारकको काम गर्नैपर्छ । उत्कट र प्रेमसाथ हामीले हाम्रो बिचमा भएका गैर ख्रीष्टियानहरूलाई पनि पापको पश्चात्ताप गरि येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ भनी प्रचार पर्दछ। हामीले उनीहरूलाई परमेश्वर तर्फ फर्कँदा जीवन सजिलो त हुने होइन, तर त्यो उचित निर्णय हो भनी भन्नै पर्छ । तिनीहरूको प्राणले चाहना गरेको क्षमा र सन्तुष्टि केवल येशू ख्रीष्टमा मात्र पाइन्छ ।


हामीसँग पुल्पिटबाट पास्टरले सुसमाचारको बीउ छर्ने र मलजल गरेर हुर्काउने कामलाई त्यसरी नै सहायता गरेर सहयोग गर्ने अवसर छ । हामी हाम्रो चर्चहरूमा आगन्तुकहरूसँग अभिवादन र कुरा गर्न सक्छौँ र हाम्रो गैर ख्रीष्टियान नातेदार र साथीहरूलाई आमन्त्रित गर्न सक्छौँ । उनीहरूको भ्रमणको अवसरलाई आत्मिक कुराहरूमा, विशेषतः सु-समाचारप्रतिको बुझाइ र उनीहरूको स्वीकृति वा अस्वीकृति छलफल गरी प्रयोग गर्न सक्छौँ । हामी अरू ख्रीष्टियानहरूसँग भेला भएर सुसमाचार प्रचारका अवसरहरूको लागि प्रार्थना र योजना गर्न सक्छौँ । एउटा सुसमाचार सन्तृप्त जीवन भनेको सुसमाचारद्वारा अरूलाई भिजाउने जीवन हो । एक स्वस्थ चर्च आंशिक रूपमा, स्वस्थ सुसमाचार प्रेरित सदस्यहरूमा निर्माण गरिएको हुन्छ ।


सुसमाचारको रक्षा गर्नु


अन्तमा, एक स्वस्थ चर्च सदस्यले सु समाचारलाई भ्रष्टता र त्याग रक्षा गर्ने जिम्मेवारीलाई गम्भीरताका साथ लिन्छन्। नयाँ करारले यो जिम्मेवारी अन्ततः केवल पास्टरहरूमा मात्र नभई चर्च समुदायलाई सुम्पेको छ । जब गलातियाका चर्चमा झूटा शिक्षकहरूले सुसमाचारमा खतनालाई थपेर चर्चलाई भाँड्न खोजिरहेका थिए, प्रेरित पावलले पास्टरहरू र एल्डरहरूलाई नभई चर्चका सदस्यहरूलाई पत्र लेखेका थिए । उनले तिनीहरूको सदस्यतालाई सम्बोधन गर्दै उनले तिनीहरूलाई प्रचार गरेका सुसमाचारको रक्षा गर्न भनेका थिए । उनको निर्देशन निकै कडा छ:


हामीले प्रचार गरेका समाचारको विपरित हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गयो भने पनि त्यो व्यक्ति श्रापित होस् । हामीले अघिदेखि नै भनेजस्तै म फेरि पनि भन्छु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरित अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस् (गलाती १:८-९) ।


गलातीया वासीहरू, वास्तवमा सबै चर्चका सदस्यहरू भएपनि, उनीहरूले सुसमाचारको बारेमा के प्रचार गरिरहेका छन् सतर्क हुनुपर्थ्यो । प्रेरित यूहन्नाले आफ्ना पाठकहरूलाई यस्तो चेतावनी दिएका छन्: “यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नु । त्यसलाई अभिवादन पनि नगर्नु । किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ” (२ यूहन्ना १०-११) । पत्रुसले आफ्ना पाठकहरूलाई झूटा शिक्षकहरूको “लाजमर्दो” मार्ग अनुसरण गर्नेहरूले “सत्यको मार्गलाई निन्दा गर्दछन्” (२ पत्रुस २:२) भनी सम्झाउँछन् । त्यसरी नै यो स्वभाविक छ कि यहूदाले आफ्ना श्रोताहरूलाई “एक पटक सन्तहरूलाई दिइएको विश्वासको लागि संघर्ष” गर भनी आग्रह गरेका छन् (यहूदा ३) । स्वस्थ चर्च र चर्चका सदस्यहरूले धर्मशास्त्रका पृष्ठहरूमा दिइएका र सुरक्षित गरिएका प्रेरितीय सुसमाचार रक्षा गर्न समर्पित हुन्छन् । जब हामी त्यो जिम्मेवारी स्वीकार गर्न, सुसमाचार बुझ्न र यसलाई लागू गर्नमा सतर्क हुँदैनौं भने, हामी यसलाई बेइमान शिक्षकहरू र दुष्टको शक्तिहरूद्वारा भ्रष्ट र दुरुपयोग गर्नका लागि छोडिदिन्छौँ ।


निष्कर्ष
येशू ख्रीष्टको सुसमाचारमा, परमेश्वरले आफैलाई पापीहरूका लागि, पापीहरूको हातमा सुम्पनुहुन्छ । यो सुसमाचारले हामीलाई परमेश्वरको प्रेम, हाम्रो खराबी र छुट्काराको आवश्यकता र परमेश्वरको आराधना गरेर अनन्त आनन्दको बारेमा सचेत गराउँछ । यो त्यही सुसमाचार हो जसको एक स्वस्थ बुझाइले नै चर्चका सदस्यहरूमा स्वास्थ्य र शक्ति सृजना गर्दछ । आऊ, हामी यसमा सन्तृप्त होऔं !


यो लेख थबिती एम. आन्यबिव्लेद्वारा लेखित पुस्तक “एक स्वस्थ चर्च सदस्य के हो ?” बाट साभार गरिएको हो । तपाईं उहाँद्वारा लेखित यस पुस्तक पढ्न चाहनुहुन्छ भने यहाँबाट अनलाइन अर्डर गर्न सक्नुहुनेछ ।

आफ्नो माया साझा गर्नुहोस्
थबिती एम. आन्यब्विले
थबिती एम. आन्यब्विले

थबिती एम. आन्यब्विले फर्स्ट बप्तिस चर्च ग्राण्ड केइमेन आइल्यान्डका बरिष्ठ पास्टर हुन् । उहाँले नोर्थ क्यारोलीना प्रान्त विश्वविद्यालयबाट मनोविज्ञानमा बि.ए. र एम. एस. तह प्राप्त गर्नुभएको छ । उहाँले क्यापिटोल हिल बप्तिस चर्च, वासिङटन डि. सीमा सहायक पास्टरको रूपमा सेवा गर्नुभएको थियो । उहाँ र उहाँकी श्रीमती क्रिस्टीईका तीन सन्तानहरू छन् ।

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।