किन चर्चले गाउँछ?

मेरो चर्चको आराधना सेवाको भेलामा, प्रचारक र सेवा सञ्चालन गर्ने सबैजना चर्च समुदायतिर फर्केर बस्छन् । उनीहरूले सूचनाहरू, भजन परिचयहरू र अन्य कामको लागि पुलपिटमा समय लिन्छन् । अरू समयमा उनीहरूले तपाईलाई हेरिरहेका हुन्छन्, र तपाईंले उनीहरूलाई हेरिरहनुभएको हुन्छ ।
सधैं त्यसरी नै गरिरहेको कारण बाहेक अरू कुन कारणले हाम्रो चर्चले यसो गर्छ भन्ने मलाई थाहा छैन ।
अलिकति असहज कुरा के हो भने, उनीहरूले निरन्तर चर्च समुदायतिर हेरिराख्छन् । उनीहरू सपिङ मलमा मानिसहरूलाई हेर्ने अन्य मानिसहरू जस्तै देखिन्छन् । को भित्र आउँदैछ ? को कसको छेउमा बस्दैछ ? उसले कस्तो पहिरन लगाएर आएको छ ?
विगतमा, म उनीहरूले साँच्चै आराधना गर्छन्, कि वरिपरि मात्र हेर्छन् भनी सोच्ने परीक्षामा परेको थिएँ। के साँचो आराधना गर्नेले आफ्ना आँखाहरू बन्द गर्दैनन् र ? हातहरू उचाल्दैनन् र ? आनन्दको अभिव्यक्ति दिँदैनन् र ?
म चर्च समुदायलाई हेर्दै अगाडि नबसेसम्म, मैले यसरी नै सोच्थें। अहिले, म स्वीकार्छु, कि म मानिसहरूलाई हेर्छु, वा को भित्र आउँछ, र को कसको छेउमा बस्छ भन्ने म नियाल्छु। तर, प्रायः मैले यो सूचनाको बेलामा मात्रै गर्छु। जब गीत गाउन सुरू गरिन्छ, म पूर्ण रूपमा अरू नै केही गर्छुः म परमेश्वरका मानिसहरूले परमेश्वरलाई प्रशंसा गरेको हेर्छु। यो उदेकको हुन्छ ।
कसैको आँखा बन्द हुन्छ, त कसैको खुला नै । कसैले हातहरू उठाएका हुन्छन् त कसैले उठाएका हुँदैनन् । तर, उनीहरूको शरीरको हाउभाउ मुख्य विषय होइन ।
उनीहरूको गोठालोको रूपमा, मुख्य विषय भनेको उनीहरूको जीवनमा के भइरहेको छ भनी थाहा हुनु हो। मलाई उनीहरूको केही सङ्घर्षहरू र आनन्दहरू थाहा हुन्छ, र अब ती सङ्घर्षहरू र आनन्दहरूको बिचमा पनि उनीहरूको फेरि जन्मिएको हृदय आफ्नो सान्त्वनाकर्ता र चट्टानलाई पोखाएको हेर्न म अगाडिको पङ्क्तिमा हुन्छु ।
म के देख्छु
हामीले सोह्रौँ शताब्दीको भजन ‘शक्तिशाली शरणस्थान गाउँदै थियौं र मैले एक महिलालाई हेर्दै थिएँ, जसमाथि भर्खरै मात्र हमला भएको थियो । उनले आफ्नो सारा शक्तिले ‘कहिल्यै नभत्किने पर्खाल’ भन्ने शब्दहरू गाउँदै थिइन् ।
हामीले अठारौं शताब्दीको ‘येशू हर आशिषको धारा’ भन्ने भजन गाउँदै गर्दा, म वृद्ध सन्तद्वारा उत्साहित भएँ, जो दशकौंदेखि विश्वासमा स्थिर थिए, र पनि उनी अझै गाउँछन्, ‘आफ्नै सुरमा जान खोज्ने मन छ मेरो छैन स्थिर, लिनोस् मन, हे लिनोस् प्रभु, स्वर्गको लागि राख्नोस् दृढ ।
हामीले उन्नाइसौं शताब्दीको भजन ‘मुक्त छ मेरो प्राण गाउँदै थियौं र मैले पापपूर्ण क्रोधको विरुद्धको लडाइँमाथि निरुत्साहसँग सङ्घर्ष गरेको एक अधबैंसे भाइलाई देखें, उनी आफ्नो स्वर उचालेर कराउँछन्, ‘मेरो पाप यो कस्तो अचम्मको सत्यता, पाप सब केवल आधा होइन, ठोकिए क्रूसमा ती बोक्दिनँ म, स्तुति गाऊ प्रभुको मेरो प्राण।
हामी एककाइसौं शताब्दीको भजन ‘केवल ख्रीष्टमा’ गाउँदै थियौं र छोराछोरीको निम्ति त्याग गरेको सबै कुरामा पछुताउने परीक्षामा परेको प्रतिभाशाली जवान आमाले नयाँ आकाङ्क्षामा यसरी प्रशंसा गरिन्ः ‘केवल ख्रीष्टमा मेरो आशा छ, उहाँ मेरो ज्योति बल र गीत ।
जसै म बस्छु, अनि विश्वासीहरूलाई हेर्छु र अवलोकन गर्छु, ती कथाहरू र अरूहरूको गीतहरूद्वारा परमेश्वरप्रतिको मेरो आफ्नै प्रशंसा सुदृढ पारिएको पाउँछु । मेरो विश्वास उनीहरूमा भएको उहाँको कामद्वारा शक्तिशाली बन्छ र वृद्धि हुन्छ ।
प्रतिध्वनित वचन
हाम्रो चर्चमा ख्रीष्टियानहरूले गाउँछन्, किनकि उनीहरूले नयाँ हृदयहरूलाई थाम्नै सक्दैनन्, उनीहरूले आफूलाई जीवन दिएको वचनलाई नै प्रतिध्वनित गर्छन् । चाहे ती भजनहरू सोह्रौं शताब्दीमा लेखिएको होस्, वा आज तिनीहरूले धर्मशास्त्रलाई प्रतिध्वनित गर्नुपर्छ । सम्झनुहोस्, धर्मशास्त्रले मात्रै जीवन दिन्छ, तसर्थ चर्चको सङ्गीतको केन्द्रमा धर्मशास्त्र हुनुपर्छ (कलस्सी ३:१६)। जसको अर्थ चर्चको गीतहरूमा धर्मशास्त्रको विचारहरू, हरफहरू, वा शब्दहरू बाहेक अरू कुनै थोक हुनुहुँदैन। हाम्रो गायन परमेश्वरको वचनमा केन्द्रित हुनुपर्छ ।
ख्रीष्टियानहरू एकसाथ गाउँछन्, किनकि यसले हाम्रो हृदयहरूका प्रशंसाहरू, स्वीकारहरू र सङ्कल्पहरू साझा छन् भनी देख्न हामीलाई सहायता गर्छ। हामी एक्लै छैनौं। म विश्वास गर्छु, कि चर्चमा गाउने कुरा गाउने जत्तिकै सुन्ने बारेमा पनि हो। तसर्थ, पावलले हामीलाई यस्तो आज्ञा गर्छन्, ‘एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै धन्यवाद… चढाओ’ (एफिसी ५:१९,२०)। यदि मैले गीतमा अरूसँग बोल्नुपर्छ भने, मैले अरूलाई राम्ररी सुन्नु पनि पर्छ। वास्तवमा, म कहिलेकाहीँ गाउन बन्द गर्छु, अनि मेरा वरिपरिका आवाजहरू सुन्छु र परमेश्वरलाई त्यसको लागि धन्यवाद चढाउँछु ।
तपाईं आफ्नो टोलीलाई फुटबल खेलमा उत्साह दिँदा अनुभव गर्ने मधुरो र अस्थायी एकताको बारेमा सोच्न सक्नुहुन्छ । उनीहरू सँगै उभिएर कराउँछन् र चिच्याउँछन् अनि रमाहट गर्छन् ।
जब चर्चले गाउँछ, तब येशू ख्रीष्टको चर्चले अझ कति धेरै आफ्नो एकता प्रदर्शन र रमाहट गर्नुपर्छ। यी दाजुभाइहरू र दिदीबहिनीहरूले पनि हाम्रो नयाँ पहिचानहरू, हाम्रो प्रभु र उद्धारकर्ता, हाम्रो सान्त्वना र सहयोग, हाम्रो आशा र हाम्रो आनन्द बाँड्छन् । तपाई उनीहरूसँग हुनुहुन्छ, उनीहरू तपाईंसँग छन् र हामी उहाँसँग छौं।
हामी किन गाउँछौं
विश्वासीहरू चर्चहरूमा गाउँछन्, किनकि खीष्टले हामीलाई सँगै गाउने आज्ञा गर्नुभएको छ (कलस्सी ३:१६; एफिसी ५:१९) । हामीलाई गाउने आज्ञा गरिएको छ, सङ्गीतका सेवक बब् कफलिन यसो भन्नुहुन्छ, परमेश्वरले आफ्नो स्वरूपमा सृष्टि गरिएका प्राणीहरूले उहाँले जस्तै गरेको चाहनुहुन्छ (उदाहरण सपन्याह ३:१७ हिब्रु २:१२) । मलाई यहाँ परमेश्वरले किन आफ्ना मानिसहरूलाई एकअर्कासँग गद्यमा मात्र नभएर काव्यात्मकता र धुनमा बोल्ने आज्ञा गर्नुभयो भन्ने तीन कारणहरू प्रस्ताव गर्न दिनुहोस् ।
हामी वचनलाई अँगाल्न र पुष्टि गर्न गाउँछौं
चर्च समुदायले गाएर वचनलाई अँगाल्छ, र पुष्टि गर्छ । बाइबलमा, गायन चर्च समुदायको सदस्यले परमेश्वरको प्रकाशप्रति प्रतिक्रिया दिने परमेश्वरद्वारा निर्धारित एक तरिका हो । गाउनु भनेको यसो भन्नु हो ‘हो, म यी सत्यताहरू परमेश्वरका मानिसहरूलाई परमेश्वरको वचन अरूहरूलाई घोषणा गर्न लगाउँछन: मेरो सारा व्यक्तित्वले विश्वास र पुष्टि गर्छ । उदाहरणको लागि भजनकारले ‘परमप्रभुको निम्ति भजन गाओ, उहाँका नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर’ (भजनसंग्रह ९६:२) । उहाँको उद्धारलाई गाउनु भनेको हामीले यसलाई हाम्रो सन्देशको रूपमा अँगाल्नु हो ।
हामी हाम्रा भावनाहरू परमेश्वरको वचनसँग संलग्न गराउन गाउँछौं
चर्च समुदायले आफ्ना भावनाहरू र चाहनाहरू गायनद्वारा परमेश्वरको वचनसँग संलग्न गराउँछन् । हामीले गाइरहँदा, भावनात्मक रूपमा असंलग्न रहन असम्भव हुन्छ । कुनै बास्नाले बलियो मित्रताहरू र सम्झनाहरूलाई याद जगाएजस्तै, सङ्गीतको आवाजले हृदयका आनन्दहरू, शोकहरू, चाहनाहरू, आशाहरू र पीडाहरू जगाउन र उत्तेजित पार्न सक्छ । जोनाथन एड्वार्ट्सले परमेश्वरले हामीलाई ‘पूर्ण रूपमा धार्मिक चाहनाहरू उत्तेजित पार्न र व्यक्त गर्न सङ्गीत दिनुभयो भन्छन् । भजनकारले पनि यो विचार प्रतिनिधित्व गर्छन्, जसै उनी भन्छन्, ‘उत्तम विषयले मेरो हृदय उत्तेजित भएको छ’ (भजनसंग्रह ४५:१) ।
म यसो भन्न चाहन्छु, गायन त्यो माध्यम हो, जसद्वारा परमेश्वरका मानिसहरूले उहाँको वचनलाई दह्रोगरी पक्रन्छन् र आफ्ना भावनाहरू र चाहनाहरू परमेश्वरसँग मिलाउँछन् ।
यसकारण, पावलले भजनसंग्रह गाउने आज्ञा गर्नु र भजनसंग्रहको पुस्तकहरूलाई चर्चको भजनपुस्तकको रूपमा उल्लेख गर्नु अचम्मको कुरो होइन । जोन क्याल्भिनले भजनसंग्रहलाई ‘प्राणको सबै भागहरूको संरचना हो’ भनी भनेका छन्, किनकि यसले सबै किसिमका मानव भावनाहरूलाई उपयुक्त ढङ्गले व्यक्त गर्नको लागि पाठकहरूलाई उनीहरूकै मुखमा राखिदिने शब्दहरू प्रदान गर्छ। भजनसंग्रहमा गरिएको उनको टिप्पणीको प्रस्तावनामा क्याल्भिन लेख्छन्ः ‘यहाँ ऐनामा जस्तै प्रस्तुत नगरिएको कुनै पनि व्यक्तिले अनुभव गर्ने कुनै पनि भावना छैन । बरू, यहाँ पवित्र आत्माले जीवनका सबै शोकहरू, पीडाहरू, डरहरू, शङ्काहरू, आशाहरू, फिक्रीहरू, अन्योलताहरूलाई प्रस्तुत गर्नुभएको छ। छोटकरीमा भन्नुपर्दा, उहाँले मानिसहरूको दिमागलाई उथलपुथल पार्ने सबै भावनाहरूलाई यहाँ प्रस्तुत गर्नुभएको छ ।’ खीष्टियानहरूले शोक अथवा पीडा, डर र शङ्कालाई कसरी ईश्वरीय तरिकाले व्यक्त गर्न सक्छन् ? येशूले गर्नुभएकै पटक पटक भजनसंग्रहलाई प्रतिध्वनित गरेर ।
तर, यदि चर्चहरूले सीधै साल्टर (भजनहरूको संग्रह) बाट आफ्ना गीतका शब्दहरू लिँदैनन् भने, उनीहरूले भजनसंग्रहको स्वीकार, विलाप, प्रशंसा, र धन्यवाद जस्ता विषयको सन्तुलनमा विचार गर्नुपर्छ र उनीहरूको आफ्नै भजन गायनमा त्यस्तै अनुसरण गर्न खोज्नुपर्छ । के हामीलाई सङ्गीतद्वारा हाम्रो चर्चमा कसरी शोक अथवा स्वीकार गर्न गर्नुपर्छ भन्ने थाहा छ ?
बाइबल कलेजका कक्षाहरूमा हुर्किंदै गरेका प्रचारकहरूलाई कहिले काहीँ चेतावनी दिइन्छ, ‘तपाईं वचनलाई लिएर जति धेरै पुल्पिटमा होसियार हुनुहुन्छ त्यति नै धेरै विश्वासीहरू वचनलाई लिएर घरमा होसियार हुनेछ । यही कुरा चर्चको हाम्रो गायन र हप्ताभरि परमेश्वरसँग भावनात्मक रूपमा जम्काभेट गर्ने हाम्रो क्षमतामा पनि लागु हुन्छ भनी म विश्वास गर्छु। चर्चमा हृदयको स्वीकार र पश्चात्तापी आराधना गाउन सिक्ने चर्च समुदायले घरमा चाहे सुरमा वा बेसुरमा, आफ्नो हृदयले परमेश्वरको लागि कसरी गाउने भनी राम्रोसँग थाहा पाउँछन् ।
हामी एकता निर्माण गर्न र प्रदर्शन गर्न गाउँछौं
वास्तवमा, गायन सामूहिक एकता निर्माण गर्ने र प्रदर्शन गर्ने एउटा तरिका हो । इस्राएलले एकअर्कासँग उनीहरूको हृदयको एकता निर्माण गर्न र प्रदर्शन गर्न कसरी भजनसंग्रहलाई प्रयोग गरे भनी कल्पना गर्न गाह्रो छैन। कुनै कुनै भजनले यसलाई स्पष्ट देखाउँछः
आह्वानः
परमप्रभुमा धन्यवाद चढाओ, किनभने उहाँ भलो हुनुहुन्छ, र उहाँको करूणा सदासर्वदा रहिरहन्छ ।
प्रतिक्रिया १ः इस्राएलले भनोस्, ‘उहाँको करूणा सदासर्वदा रहिरहन्छ ।’
प्रतिक्रिया २ः हारूनको वंशले भनोस्, ‘उहाँको करूणा सदासर्वदा रहिरहन्छ ।
प्रतिक्रिया ३ः परमप्रभुको भय मान्नेहरूले भनून्, ‘उहाँको करूणा सदासर्वदा रहिरहन्छ । (भजनसंग्रह ११८:१-४; १२४:१; १२९:१: १३६ पनि हेर्नुहोस)
भजनकारले घोषणा गर्छन, र मानिसहरूको तीन समूहहरू राष्ट्र, करुणा सदासर्वदा रहिरहन्छ’ भन्ने वचनहरू एकताको श्रोत हो, तर कविता र पूजाहारीहरू, र परमेश्वरको भय मान्ने सबैलाई (उनीहरूको बिचमा भएका विदेशीहरू र अन्यजातिहरूलाई) उनीसँगै त्यो कुरा भन्न लगाउँछन् । ‘उहाँको सङ्गीतले यस महिमित सत्यतामा मानिसहरूको हृदयलाई अङ्गाल्न, र आनन्दित हुन हौसला दिन्छ ।
पावलको गाउने आज्ञाको सन्दर्भलाई ध्यान दिनु पनि योग्यको छः ‘खीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस् । साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ। ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्… परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ (कलस्सी ३:१५-१६) । यस्तो सोच्ने क्रमलाई विचार गर्नुहोस्ः हामीले शान्तिलाई शासन गर्न दिनुपर्छ, किनभने हामी एक शरीर हुन बोलाइएका हौं। हामी धन्यवादी हुनुपर्छ । र हामी यो खीष्टको वचन एकसाथ सँगै गाएर गर्न सक्छौं। यो याद गर्नुहोस्, वचन नै एकताको श्रोत हो; तर सङ्गीतले त्यो एकताको अभिव्यक्ति दिन्छ ।
यो बुँदालाई अन्तिम बुँदासँग जोड्न सकिन्छ भन्ने कुरामा कुनै शङ्का छैन । परमेश्वरको वचन गाउनु भनेको चर्च समुदायले बाइबलीय रूपमा निर्देशित भावनाहरूलाई एकसाथ व्यक्त गर्नु हो ।
हामी किन गाउँछौं भन्ने तीनैवटा कारणहरूमा के स्पष्ट हुनुपर्छ भने, चर्चमा गाउने कुरा चर्च गायन वा सामूहिक गायनको बारेमा हुनुपर्छ । सायद, चर्चले असल प्रतिक्रिया दिएको होस् भन्नका खातिर चर्चमा सङ्गीत भुण्ड र गाउने दान भएकारहरूलाई प्रयोग गर्न सकिन्छ, जसरी माथिको भजनसंग्रहमा गरिएको छ अथवा उनीहरूलाई ‘एउटाले अर्कासँग गाउने’ अभ्यासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । चर्चको भेला बाहिर साङ्गीतिक प्रस्तुतिहरू अद्भुत हुन्छन् । तर, परमेश्वरले भेला हुने चर्चलाई सङ्गीत दिनुभएको छ, ताकि मानिसहरूले सँगै परमेश्वरको वचनलाई अँगाल्न र पुष्टि गर्न सकून्, अनि वचनमा आनन्दित हुँदै यसको वरिपरि एक हुन सकून् । तालिम प्राप्त थोरै गायकहरूको मिठो घुनहरूभन्दा असल, उद्धारकर्ताद्वारा क्षमा पाएका अपराधीहरूको हर्षित स्वरको बुलन्द आवाज नै राम्रो हुन्छ ।
कुनै पनि खीष्टियान सेवामा हुने सबैभन्दा सुन्दर बाजागाजा भनेको चर्चको सामूहिक गायनको आवाज हो।
हाम्रो हृदयलाई पुनः नयाँ बनाउनु
ख्रीष्टियानहरूले किन गाउँछन् र धर्मशास्त्रीय सत्यताहरू याद गर्न किन ख्रीष्टियानहरूले धर्मशास्त्रीय शब्दहरू, विचारहरू, अनुच्छेदहरू, सँगै गाउनुपर्छ भन्ने कुराको कारणहरूको सूची लामो बनाउन सकिन्छ । प्राथमिक रूपमा गायन भनेको परमेश्वरको प्रशंसा गर्ने र हाम्रो सम्पूर्ण हृदय, दिमाग, चाहनाहरू र इच्छाहरू संलग्न गराउने तरिकाले परमेश्वरको वचन एकअर्कालाई प्रतिध्वनित गर्ने परमेश्वरद्वारा निर्धारित माध्यम हो। साँच्चै, सङ्गीतले हाम्रो हृदयका चाहनाहरू र आकाङ्क्षाहरूलाई नयाँ बनाउन सहायता गर्छ। ती चाहनाहरू अरू नै केही कुराद्वारा प्रभावित हुन्छन् । के खेलहरूद्वारा ? के टिभीका विज्ञापनहरूद्वारा ? के फिलिमहरू वा रेडियोमा बज्ने गीतहरूद्वारा ? होइन। हामी आफ्नो भावनात्मक जीवनलाई परमेश्वरको वचन, भजन, दशकौंका अद्भुत भजनहरू, र आजका सन्तहरूको कोरसहरू गाएर निर्माण र पुनः निर्माण गर्न सक्छौं ।
परमेश्वरको व्यवस्था पालन गर्न नसकेको कारण दाऊदसँगै रूनुको अर्थ के हामीलाई थाहा छ (भजनसंग्रह ११९:१३६) ? के हामीलाई याकूबले भनेजस्तै (याकूब ५ः१३) आनन्दलाई प्रशंसाको गीतमा परिणत गर्न आउँछ ? ‘मुक्त छ मेरो प्राण’ भन्ने भजनका लेखक होरासियो स्पाफोर्डको जस्तै, के हाम्रो पाप क्रूसमा टाँगिएको छ भन्ने बुझाइले हामीमा ‘आनन्द’ को भाव पैदा गर्छ ?
-जोनाथन लीमन