हरेक कुराको निम्ति सुसमाचार

हरेक कुराको निम्ति सुसमाचार
अनि सिंहासनमाथि बस्नुहुनेले भन्नुभयोः ‘हेर, म सबै कुराहरू नयाँ बनाउँछु ।’ प्रकाश २१:५
सुसमाचारको सिद्धान्तले सुसमाचारको संस्कृतिलाई जन्म दिन्छ, र यसलाई नै चर्च भनिन्छ, र जहाँ खीष्टको महिमाको निम्ति अयोग्य मानिसहरूमाथि सुन्दर कुरा हुन आउँछ । तर, यो कुरा हाम्रा चर्चहरूमै सीमित हुँदैन । सुसमाचारद्वारा परिभाषित चर्च भविष्यपरक, जसले धेरै परसम्म देखाउँछ । सुसमाचारद्वारा परिभाषित चर्च खीष्टले अनन्तताको लागि निर्माण गरिरहनुभएको नयाँ बस्तीको नमुना घर हो। सदासर्वदा रहिरहने मानवीय सुन्दरतालाई अहिले हेर्न मानिसहरू यस्तो किसिमको चर्चभित्र जान सक्छन् । यस्ता चर्चहरूले पृथ्वीमा रहेका मानिसहरूलाई स्वर्ग वास्तविक बनाइदिन्छन्, ताकि तिनीहरूले अझै मौका हुँदा नै ख्रीष्टमाथि विश्वास गरून् ।
प्रकाश २१ ले वास्तवमा सुसमाचार कति ठुलो छ भन्ने कुरा हामीलाई देखाइदिएको छ । सुसमाचार ब्रह्माण्ड जत्तिकै ठुलो छ । छुटकारा सृष्टि जत्तिकै ठुलो छ । योभन्दा महान् अरू कुरा के हुन सक्छ र ? बाइबल यसरी सुरू हुन्छः “आदिमा परमेश्वरले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो’ (उत्पत्ति १:१) । र यसरी टुङ्गिन्छः “अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें” (प्रकाश २१:१) ।
लेस्ली न्यूबिगिनले बाइबल सुरु र अन्त्य भएको तरिकाहरूको महत्वलाई प्रष्ट पार्छनः ‘बाइबल संसारमा भएका धर्महरूको पवित्र पुस्तकहरूमध्ये अद्वितीय छ, किनकि बाइबलको संरचनामा सृष्टिको इतिहास छ । यसले हामीलाई मानवीय इतिहास मात्र होइन, तर सृष्टिको इतिहासको आकार, संरचना, उत्पत्ति र लक्ष्य देखाइदिने दाबी गर्दछ
हामीलाई ठूलो आशा चाहिन्छ । हामी यस्तो संसारमा जिउँछौं, जुन ‘व्यर्थताको अधीनतामा’ राखिएको छ (रोमी ८:२०) । हामी दुर्बल संसारमा रहेका दुर्बल मानिसहरू हौं, हामी दिनहुँ पीडा अनुभव गर्छौं। बब डायलनले यसलाई आफ्नै तरिकाले सारंशीत गर्छन:
फुटेका बोतलहरू, फुटेका थालहरू फुटेका स्विचहरू, फुटेका ढोकाहरू फुटेका भाँडाहरू, फुटेका टुक्राहरू फुटेका हृदयहरूले सडकहरू भरिएका छन् फुटेका शब्दहरू बोल्नको निम्ति कदापि थिएनन् तर, सबैकुरा फुटेका छन्।
कुनै कुराले काम गर्छ भने, त्यो परमेश्वरको कृपा हो। कहिलेकाहीँ हामी यसरी सोच्छौंः ‘मेरो जीवन कठिन छ । परमेश्वर कहाँ हुनुहुन्छ ? तर, हामीले त यसरी पो सोच्नुपर्ने होः ‘मेरो जीवन जिउन सकिने किसिमको छ। परमेश्वर, तपाईंलाई धन्यवाद । किन हामी सबैलाई क्यान्सर, एड्स र मधुमेह जस्ता रोगहरू लागेको छैन ? किन हामी सबैले एकअर्कालाई मार्ने षड्यन्त्र गरिरहेका छैनौं ? किन हामी येशूलाई प्रेम गर्छौँ ? यी सबै प्रश्नको एउटै मात्र व्याख्या छः यी सबै भद्रगोल माझ हामी सबैलाई एकसाथ थाम्नुहुने र निरन्तर खीष्टतिर लैजानुहुने परमेश्वर हुनुहुन्छ- ‘मुनिपट्टि सनातनका पाखुराहरू छन्’ (व्यवस्था ३३:२७) । हिब्रू १:३ ले भन्छ, कि यस्तो अवस्थामा पनि प्रभु येशूले ‘आफ्नो सामर्थ्यको वचनले सबै थोकहरू सम्हाल्नुहुन्छ’ । जोन क्याल्भिनले यस्तो टिप्पणी गरेका छन्ः “सम्हाल्नु’ शब्दलाई सारा सृष्टिलाई हेरचाह गर्ने र त्यसको उचित अवस्थामा राख्ने अर्थमा प्रयोग गरिन्छ । उहाँलाई थाहा छ, कि यदि सबै थोकलाई उहाँको भलाइद्वारा नथाम्ने हो भने, सबैकुरा चाँडैनै बिग्रिने छन् ।
हामीलाई हप्ताभरि काम गर्न सहायता गर्ने मनोवैज्ञानिक सहायताभन्दा सुसमाचारको आशा धेरै ठुलो हुन्छ ।
‘हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु; अनि पहिलाका कुराहरूको सम्झना गरिनेछैनन्, न त ती मनमा आउँछन् । (यशैया ६५:१७)
परमेश्वरले हामीलाई कति ठुलो प्रतिज्ञा दिनुभएको छ ।
त्यो महान् र अन्तिम दिनमा, हामी एकसाथ नयाँ सृष्टिमा प्रवेश गर्दा तपाईंले मतिर फर्किएर यसो भन्नुहुन्छ होलाः ‘दाजु, म सम्झने प्रयास गरिरहेको छुः के हामी यसलाई ‘क्यान्सर’ भन्थ्यौँ, होइन ? के यो त्यही नै थियो ? अहो, केही फरक पर्दैन । आउनुहोस्, जाऔं !
वास्तवमा, अगमवक्ताहरूद्वारा अघिदेखि नै देखिएको, सृष्टि गरिएको क्रमको यो ईश्वरीय पुनर्स्थापना पूर्णरूपमा हाम्रो अगाडि छैन । प्रतिज्ञा गरिएको भविष्य यो संसारमा दुईहजार वर्षअघि नै आएको थियो, जुन बेला येशूले पुराना भविष्यवाणीहरू पूरा गर्न सुरू गर्नेछु भनी घोषणा गर्नुभयो (लूका ४:१६-२१)। यसैकारण येशूले मानिसहरूलाई निको पार्नुभयो । उहाँले चङ्गाइ गर्नुभएका घटनाहरू देखावटी थिएनन् । ती कुरा आउनेवाला आकर्षणहरूको पूर्वदृश्य थियो । कतिपय म जर्गन मोल्टम्यानको ईश्वरशास्त्रसँग असहमत हुन्छु, तर उनले यस वास्तविकतालाई राम्रोसँग देखाइदिएका छन्ः
येशूले दुष्ट आत्माहरू धपाउनुहुँदा र बिरामीहरूलाई निको पार्नुहुँदा उहाँले विनाशको शक्तिहरूलाई सृष्टिदेखि धपाइरहनुभएको हुन्छ, र चोट लागेको र रोगले ग्रसित सृष्टि गरिएका ती प्राणीहरूलाई निको पारिरहनुभएको हुन्छ, र पुनर्स्थापना गरिरहनुभएको हुन्छ । चङ्गाइका घटनाहरूले परमेश्वरको प्रभुत्वको साक्षी दिन्छ र अस्वस्थ सृष्टिलाई स्वस्थ पार्छ। येशूले गर्नुभएका चङ्गाइहरू प्राकृतिक संसारमा हुने अलौकिक आश्चर्यकर्महरू होइनन । ती त अप्राकृतिक, दुष्ट आत्माले ग्रस्त र घाइते संसारमा एकमात्र साँचो ‘प्राकृतिक’ कुरा हुन् ।… अन्त्यमा, क्रूसमा टॉगिनुभएको र पुनरूत्थान हुनुभएका जन ख्रीष्टसँगै नयाँ सृष्टि सुरू हुन्छ ।
हाम्रा प्रभुको पुनरूत्थानले भविष्यमा छुटकारा पाएको जातिको झलक दिन्छ । पुनर्जीवित येशू दोस्रो आदम अर्थात् नयाँ सुरूवात हुनुहुन्छ (१ कोरिन्थी १५:४५) । र हामी विश्वासीहरू उहाँको नयाँपनमा सहभागी भएका छौंः ‘यदि कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो । (२ कोरिन्थी ५:१७) । ख्रीष्टियान हुनु भनेको पुरानो तपाईंमा केही कुरा थप्नु होइन । तर, ख्रीष्टियान हुनु भनेको त पूर्णरूपमा तपाईं नयाँ बन्नु हो । अहिले पुनर्जीवित ख्रीष्ट कहिल्यै नछाड्नेगरी तपाईंमा वास गर्नुभएको छ (रोमी ८:१०-११) ।
यो ठुलो सुसमाचारलाई विश्वास गर्न मानिसहरूले यो कुरा देखाउँछन्। अझै पनि अरूझै हामी कष्ट भोग्छौं । हामी ‘शोकित छौं, तैपनि सदैव रमाउँदछौं’ (२ कोरिन्थी ६:१०) । हामी “परमेश्वरको महिमाको आशामा रमाउँदछौं’ (रोमी ५:२) । हामी प्रत्येक पुलमुनि सुत्ने र फोहोरको ड्रमबाट खाने घर नभएको मानिसजस्तै हौं। एक दिन एउटा गाडी उसको अगाडि आएर रोकिन्छ, र एकजना वकिलले ओर्लिएर उसलाई एउटा चिड्डी दिन्छ । धेरै पहिला हराएका काका मरेका रहेछन्, र तिनले उसलाई आफ्नो जायजेथा लेखेर छोडेका रहेछन् । त्यो पैसा केही दिनमै आइपुग्नेछ । अचानक, उसको त्यो काटुनको घर त्यति आशाविहीन लाग्दैन । ऊ त्यसमा अझै केही समय बस्न सक्छ । तर उसको ठुलो सम्पत्ति आउँदैछ ।
त्यसरी नै, सुसमाचारले भरिएको चर्च पनि आशामा रमाउँछ । हामी वर्तमान परिस्थितिहरूभन्दा परसम्म हेरेर अहिले विश्वासद्वारा हाम्रो भविष्यमा आनन्द मनाउन सक्ने असहाय पापीहरू हौं।
प्रभु येशूलाई धन्यवाद होस्, आउनेवाला अनन्त महिमाको प्रतिज्ञा हामीसँग छ, र अहिले पनि हाम्रो अस्तित्व महिमित छ । यो कुरा हाम्रो समयको चर्चित सन्देहवादभन्दा धेरै फरक छ । यो स्वभावलाई डोरोथी सेयर्सले यसरी व्याख्या गर्छन्ः
संसारमा यसलाई सहनशीलता भनिन्छ, तर नरकमा यसलाई निराशा भनिन्छ…. यस्तो पापले कुनैपनि कुरामा विश्वास गर्दैन, कुनैपनि कुराको वास्ता गर्दैन, कुनैपनि कुरा जान्न खोज्दैन, कुनैपनि कुरामा दख्खल दिँदैन, कुनैपनि कुरामा आनन्द मनाउँदैन, कुनैपनि कुरालाई घृणा गर्दैन, कुनैपनि कुरामा उद्देश्य देख्दैन, कुनैपनि कुरामा जिउँदैन, तर जीवित रहिरहन्छ, किनकि यस्तो कुनैपनि कुरा छैन, जसको निम्ति त्यो मर्नेछ।
निराशा एउटा बौद्धिक र सामाजिक पाप हो। यसले सुसमाचारको सिद्धान्तलाई अस्वीकार गर्छ, र सुसमाचारको संस्कृतिलाई विनाश पार्छ । तर, परमेश्वरले हाम्रा चर्चहरूमा आशा, अपेक्षा र खुसीका संस्कृतिहरू सृजना गरिरहनुभएको छ, ताकि मानिसहरूले भविष्यको झलक देख्न र त्यसमा सामेल हुन सकून् ।
हे, मेरा सबै ख्रीष्टियान साथीहरू, हामी नरक गइरहेका छैनौं । हामी त सधैंको निम्ति स्वर्ग गइरहेका छौं !
अनि स्वर्गले बादलहरूमा ठुलो झुण्ड भएर गाइरहेको हुनेछैन । स्वर्गमा सबै दुष्टता र विपत्तिदेखि मुक्त पारिएका र अकल्पनीय सुन्दरतामा नयाँ पारिएका साँचो सृष्टिमा बस्ने साँचो मानिसहरू हुनेछन् । किनकि प्रभु हामी सँगै हुनुहुनेछ ।
जसरी लर्ड अफ द रिङ्गस मा एक अभिनेताले साम गाम्जीलाई फ्रोडोद्वारा उसको कठिन यात्रामा सहायता गरेका थिए, त्यसरी नै हामीलाई यस संसारमा आउने कठिनाइहरूमा पार गराउन सक्ने शक्ति यो चम्किलो सुसमाचारसँग छ । दुष्ट मोर्डोर देशको भित्री भागमा सामले राती आकाशमा हेरिरहेका थिए, जहाँ बादलहरू फाटेका थिएः
सामले केहीबेर सेतो तारा चम्किएको देखे । उनले अनकन्टार देशबाट माथि हेरिरहेका थिए, र त्यसको सुन्दरताले तिनको हृदयमा प्रहार गयो र उनमा फेरि आशा पलायो । प्रष्ट र चिसो किरणजस्तै, उनमा एउटा सोचाइ पलायो, किनकि छायाँ त केवल एउटा सानो र बितिजाने कुरा मात्र थियो: तर क्षितिजमा त्यहाँ सधैं ज्योति र उच्च सुन्दरता थियो।
प्रकाश २१:१-५ अन्धकार आकाशमा त्यो ताराजस्तै चम्किन्छ । त्यो रात जति अध्यारो भए तापनि, यो खण्डको प्रतिज्ञा बितेर जानेछैन । आउनुहोस्, यस खण्डको वाक्यांशलाई हेरौं ।
त्यसपछि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें
यो खण्ड यसरी सुरू हुन्छ, ‘अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें, किनकि पहिलो स्वर्ग र पहिलो पृथ्वी बितेर गए, अनि उसो समुद्र रहेन । (प्रकाश २१:१) ।
परमेश्वरले प्रकृतिलाई नाश गर्नुहुनेछ भनी यो पदले हामीलाई बताउँदैन । बरू, उहाँले प्रकृतिलाई छुटकारा दिनुहुनेछ भनी बताउँछ ।
यस खण्डको मुख्य शब्द नयाँ हो, जुन यो खण्डमा चारपटक देखापरेको छ, (पदहरू १, २, ५) । नयाँ को अर्थ यस वर्तमान संसार नै नरहनेगरी पूर्णरूपमा नयाँ हुनेछ भन्ने होइन । बरू, यसको अर्थ यो संसार, यो वर्तमान स्वर्ग र पृथ्वी नयाँ पारिनेछन् भन्ने हो । परमेश्वरले यो सृष्टिलाई पुनर्स्थापना गर्नुहुनेछ, जुन सृष्टिलाई उहाँले बनाउनुभयो, नियन्त्रण गर्नुहुन्छ र प्रेम गर्नुहुन्छ र जहाँ हामीले आफ्नै घर महसुस गर्छौं।
फुटेका कुरा जोड्नु परमेश्वरको काम हो। मैले एकजना अफ्रिकी आमाको बारेमा सुनेको थिएँ, जसको बच्चाले उनलाई यो प्रश्न सोधेको थियो, ‘परमेश्वरले दिनभरि के गर्नुहुन्छ ? उनले बुद्धिमतापूर्वक जवाफ दिइन्, ‘फुटेका कुराहरू जोड्नुहुन्छ’ । परमेश्वरले हामीजस्ता फुटेका सामानहरू लिनुहुन्छ र फेरि कहिल्यै बिगार्न नसक्नेगरी नयाँ पार्नुहुन्छ । येशूले बनाउनुभएको नयाँपनलाई उल्ट्याउनको लागि अर्को ‘आदमको पतन’ कहिल्यै पनि हुनेछैन ।
पद १ ले किन ‘अब उसो समुद्र रहेन’ भनी भन्छ ? प्रकाशको पुस्तकमा धेरै आलङ्कारिक शब्दहरूको प्रयोग गरिएको छ, र प्रायः पुरानो करारले यस्ता आलड्ङ्कारलाई व्याख्या गरेको पाइन्छ । अगमवक्ता यशैयाले लेखेका छन्, ‘तर दुष्टहरू त उर्लिने समुद्रजस्तै हुन्छन् । किनकि त्यसलाई शान्त पार्न सकिँदैन, अनि त्यसका पानीहरूले हिलो र माटो हुत्याउँदछन्’ (यशैया ५७:२०) । इतिहासभरि, दुष्टहरूले सामाजिक अशान्तिका छालहरू मच्चाएका छन्, जो क्रोध र निराशाको साथमा उचालिन्छन् । ती कहिल्यै पनि शान्त हुँदैनन्, कहिल्यै पनि शान्तिमा रहँदैनन् । तर, त्यो अन्तिम र अनन्त दिनमा, हामीले युद्ध, कलह, हत्या, शेयर बजारको विनाश, शत्रुतापूर्ण हस्तक्षेप वा धराशायी सामाजिक प्रवृत्तिहरूको बारेमा चिन्ता गर्नुपर्ने छैन । त्यसैले, यो पदले स्वर्गमा समुद्र हुनेछैन भनी भनिरहेको छैन । बरू, ख्रीष्ट आउनुभएपछि हाम्रो मनमा साँचो शान्ति हुनेछ भनी भनिरहेको छ ।=
अनि मैले स्वर्गबाट ओर्लिरहेको पवित्र शहर देखें
यस्तो सुन्दर शान्ति कहाँबाट आउनेछ ? यो माथिबाट आउनेछ । यूहन्ना अझै लेख्छन्ः ‘अनि म यूहन्नाले पवित्र शहर नयाँ यरूशलेमलाई परमेश्वरतर्फबाट स्वर्गदेखि तल झरिरहेको देखें, जो आफ्ना पतिका निम्ति सिङ्गारिएकी दुलहीझै तयार भएको थियो (प्रकाश २१:२) ।
हामीले यो संसारको लागि सकेजति सबै भलाइ गर्नुपर्छ । तर, हामीले पृथ्वीमा स्वर्ग कहिल्यै पनि बनाउनेछैनौं । केवल परमेश्वरले मात्र त्यसो गर्न सक्नुहुन्छ, र उहाँले यो ख्रीष्टको दोस्रो आगमनमा गर्नुहुनेछ- र यो उहाँले केवल उहाँको महिमाको लागि गर्नुहुनेछ ।
परमेश्वरले हाम्रो लागि के दिनुहुनेछ ? उहाँले हाम्रो लागि सिद्ध समुदाय दिनुहुनेछ । चर्चका सबै सदस्यहरू सिद्ध प्रेम, सहानुभूति, धार्मिकता र समझका साथ एकसाथ मिलेर जिएको कल्पना गर्नुहोस् त । अझ बढी तपाईंको चर्चमा विविधता भएको कुरा कल्पना गर्नुहोस जहाँ हरेक जात, भाषा र देशका प्रतिनिधिहरू हुन्छन् र ती हरेकले अरूको रुचिलाई आफ्नो रुचिलाई भन्दा बढी महत्व दिँदै जिइरहेका हुन्छन् । त्यहाँ झुट बोलिँदैन । त्यहाँ छलकपट गरिँदैन । त्यहाँ धूर्तता हुँदैन । त्यहाँ केवल सामूहिक रमाहट हुनेछ । सामूहिक मेहनत हुनेछ। सामूहिक जोस हुनेछ ।
सुसमाचारको प्रतिज्ञा यो मात्र होइन, कि केवल तपाईं मात्र येशूसँगै हुन स्वर्ग जानुहुनेछ । तर, सुसमाचारको प्रतिज्ञा यो हो, कि परमेश्वरका सारा जनहरू महिमित समुदायमा सदाको निम्ति उहाँसँगै हुनेछन् । हामी एउटा नयाँ सहर, अर्थात् नयाँ यरूशलेम हुनेछौं, जुन परमेश्वर आफ्ना जनहरूसँग बस्नुहुने साँचो र अनन्त वासस्थान हुनेछ ।
हामी किन सहर नै हुनेछौँ ? यसकारणले पनि, कि स्वर्ग सहर हुनुहुँदैन । कयिनले परमेश्वरदेखि तर्किन सहरको निर्माण गयो (उत्पत्ति ४:१७) । मानव-निर्मित सहर भवनहरू भन्दा बढी नै छ । यो त वास्तवमा परमेश्वरमाथि भर नपरी जिउने एउटा तरिका हो । तपाईं सहरमा एक्लै बस्न सक्नुहुन्छ । तपाईं सहरमा लुक्न सक्नुहुन्छ । तर, परमेश्वरदेखि तर्किने हाम्रो यो रणनीतिलाई उहाँले के गर्नुहुन्छ ? उहाँले त्यो सहरलाई स्वर्गमा परिणत गर्नुहुन्छ । वास्तवमा एक मुक्तिदाताले त्यही नै गर्नुहुन्छ ।
त्यो एउटा पवित्र सहर हुनेछ । त्यहाँ कुनै झुपडीहरू हुनेछैन, फोहोर हुनेछैन, भित्तेलेखन वा भित्तेचित्रहरू हुनेछैन । त्यहाँ धुँवा, धूलो र ध्वाँसो हुनेछैन । त्यहाँ पाप हुनेछैन । दुःखको कुरा, हामी सबै जनासँग पापको स्वाद हुन्छ, त्यसैले हामीमध्ये कसैले पनि लास भेगास अर्थात् पापको सहरलाई तुच्छ ठान्न सक्दैनौं। तर, परमेश्वर हाम्रा मुक्तिदाताले पापको सहरलाई के गर्न सक्नुहुन्छ ? यसको कल्पना गर्नु गाह्रो छ। तर, एउटा कुराचाहिँ निश्चित छः परमेश्वरले नयाँ पार्नुहुने लास भेगास पट्यारलाग्दो हुनेछैन । पट्यारलाग्दो कुरा त हामीले सिर्जना गर्ने कुरा हो । त्यसपछि, हामीले पट्यारलाग्दो कुरा मेटाउन जुवाघरहरू जस्ता दुष्ट ठाउँहरू बनाउँछौं । तर, के त्यसले साँच्चै काम गर्छ ? के तपाईले यन्त्रहरूको अगाडि उभिएर सिक्काहरू खसाल्दै गरेका मानिसहरू देख्नुभएको छ ? के तिनीहरू विज्ञापनमा देखिने जवान, सुन्दर र आफ्नो जीवनमा आनन्द मनाइरहेका मानिसहरू जस्तै देखिन्छन् ? परमेश्वरको सहर भुटा प्रतिज्ञाहरूलाई आधार मानेर बनाइएको हुनेछैन । उहाँले हामीलाई त्यसरी निराश पार्नसक्ने हुनुहुन्न । उहाँको पवित्र सहर, नयाँ यरूशलेमले हामीले सधैं चाह गरेको तरिकामा हामीलाई तृप्त पार्नेछ ।
त्यो यसकारण हुनेछ, किनकि उक्त पवित्र सहर मानिसको समुदाय मात्र हुनेछैन, यद्यपि त्यो सुन्दर हो। तर, पवित्र सहर स्वर्गीय दुलहाको लागि सिँगारिएकी दुलही पनि हुनेछ (पद २)। केही अगाडि प्रकाशको पुस्तकले ‘थुमाको विवाह’ को बारेमा बताएको छ (प्रकाश १९:७) । हामीलाई यो पनि कल्पना गर्न गाह्रो हुनसक्छ । जीवनमा यस्ता परिस्थितिहरू आउँछन्, जुन बेला ख्रीष्टले मलाई प्रेम गर्नुहुन्छ भनी विश्वास गर्न हामीलाई कठिन हुनसक्छ, र हामीले उहाँलाई बिरलै प्रेम गर्छौँ। तर सधैं त्यस्तो हुनेछैन । सुसमाचारले यो प्रतिज्ञा गरेको छ, कि हाम्रा चर्चहरू ‘दुलाहाको निम्ति सिँगारिनेछन् । उहाँको प्रेमले हाम्रो लाजलाई ढाक्नेछ, र हामीलाई अविश्वास र आलस्यदेखि बाहिर निकाल्नेछ । र जसरी उहाँले हामीलाई सधैं उहाँको सारा शक्तिशाली हृदयले अत्यन्तै प्रेम गर्नुभयो, हामीले पनि त्यसरी नै उहाँलाई प्रेम गर्नेछौं।
त्यो महिमित दिन कहिल्यै अन्त्य हुनेछैन । आनन्दको अन्त्य हुनेछैन । हामीले केवल हामी र हाम्रा उद्धारकर्ताबीचको प्रेमलाई मात्र महसुस गर्नेछौं । यो बाहेक हामी केही पनि महसुस गर्ने छैनौं ।
मानिसहरूसित परमेश्वरको निवासस्थान
ती महिमित प्रतिज्ञाहरू अझै अगाडि प्रष्ट हुन्छन्ः
‘अनि मैले स्वर्गबाट यसो भन्दै गरेको एउटा ठूलो आवाज सुनेंः ‘हेर, मानिसहरूसित परमेश्वरको निवासस्थान । अनि उनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर आफै उनीहरूसित हुनुहुनेछ र उनीहरूका परमेश्वर हुनुहुन्छ । अनि परमेश्वरले उनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ; अनि मृत्यु कहिल्यै हुनेछैन, न त शोक, न रूवाइ, न कहिल्यै पीडा नै हुनेछ; किनकि पहिलाका कुराहरू बितिसकेका छन् । (प्रकाश २१:३-४)
अहिले हाम्रो जीवनमा धेरै पीडाहरू होलान् – धेरै पछुतोहरू, कसैले नदेखेका धेरै आँसुहरू होलान् । जीवनका कष्टहरूको माझमा, हामी कहिलेकाहीँ यसरी विचार गर्छौंः ‘के म फेरि खुसी हुन सकूँला र ? के मैले मेरो जीवन फिर्ता पाउँला र ? के मेरो भविष्य मैले नै निर्धारण गर्नुपर्ने कुनै कुरा हो ?
तर यी अचम्मका पदहरू सत्य हुन् भने नि ? यी पदहरूले ख्रीष्टमा रहेको हाम्रो भविष्यलाई व्याख्या गरेको हो भने नि ?
‘परमेश्वर आफै उनीहरूसित हुनुहुनेछ र उनीहरूका परमेश्वर हुनुहुनेछ’ भन्ने वाक्यांश यस खण्डको मुख्य भाग हो। यस्तो दिन आउँदैछ, जुन दिन हामीले परमेश्वरको ताजा उपस्थिति थाहा गर्नेछौं, र उहाँको उपस्थितिले हप्काउने छैन, तर सान्त्वना दिनेछ । हो, हामी परमेश्वरको उपस्थितिमा पुग्नेछौं, तर यो हामीले हाम्रो पापलाई जितेका र आफूलाई माथि उचालेका कारण होइन, तर, खीष्टले हाम्रा सबै पाप र दुःख आफूमाथि लिनुभएको कारण उहाँको त्यस उपस्थितिमा पुग्नेछौं । ख्रीष्टले हाम्रा सबै पाप र दुःख आफूमाथि लिनुहुँदा उहाँले आफ्नो अन्त्य नहुने कृपा हामीलाई दिनुभयो । परमेश्वर को हुनुहुन्छ भन्ने पवित्र वास्तविकताभित्र अहिले लुकेर रहेका अनन्त आनन्दहरू उहाँले हाम्रो लागि खोलिदिनुहुनेछ । यो सुसमाचारको महान् प्रतिज्ञा हो। र यो प्रतिज्ञा ख्रीष्टले पूरा गर्नुभएको काममाथि विश्वास गर्ने सबैलाई दिइएको छ। अन्यथा, हामीले मनमनै यसरी सोच्नुपर्छ, ‘म जस्तो व्यक्तिले कसरी परमेश्वरलाई ग्रहण गर्नसक्छु ?” खीष्टले पूरा गर्नुभएको कामको कारण, तर अब गर्नुपर्ने प्रश्न चाहिँ यो हो, “म जस्तो व्यक्तिले कसरी परमेश्वरलाई अस्वीकार गर्न सक्छु ?”
मेरा मित्र, परमेश्वरलाई अस्वीकार नगर्नुहोस् । कुन कुराले परमेश्वरलाई आफ्नो आनन्दको रूपमा ग्रहण गर्न तपाईंलाई रोकिरहेको छ ?
पुरानो करारको युगमा, परमेश्वर आफ्ना जनहरूको माझमा भेट हुने पाल र त्यसपछि मन्दिरद्धारा वास गर्नुभयो (प्रस्थान २५:८) । परमेश्वरले सोलोमनलाई भन्नुभयो, कि मानिसहरूले आज्ञा पालन गरेसम्म, परमेश्वर ती मानिसहरूको माझमा रहनुहुनेथियो (१ राजा ६:११- १३) । तर, सोलोमन र तिनको सिंहासनका उत्तराधिकारीहरूले अवज्ञा गरे, त्यसैले महिमा हटिगयो (इजकिएल ९-११) । तर, महिमा हटेर जानुभन्दा पहिले पनि मन्दिरका भित्ताहरूले परमेश्वरको उपस्थितिलाई परमेश्वरका जनहरूदेखि अलग गरेको थियो ।
प्रकाश २१ मा प्रतिज्ञा गरिएको महान् र अन्त्य नहुने त्यस दिनमा परमेश्वरको उपस्थितिदेखि अलग गराउने भित्ताहरू हुनेछैन, विभाजन हुनेछैन, दूरी हुनेछैन, अनुपस्थिति हुनेछैन । यसको सट्टामा, त्यस दिन अनन्तसम्म परमेश्वरसँग प्रत्यक्ष तथा व्यक्तिगत घनिष्टता हुनेछ । र उहाँको उपस्थितिमा कुनै दुःख, कष्ट हुनेछैन । उहाँले हाम्रा आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ । यो जीवनको हाम्रो कष्टहरूको वेदना पूर्णरूपमा हटाइनेछ । हामी स्वस्थ र पूर्ण भएर फेरि कहिल्यै नरूनेगरी उठ्नेछौं ।
यही नै बाइबलमा हामीलाई दिइएको अमूल्य आशा होः *परमेश्वर आफै उनीहरूसित हुनुहुनेछ र उनीहरूका परमेश्वर हुनुहुनेछ ।
त्यसकारण हामीले सम्पन्नतावादी सुसमाचार र त्यसले प्रतिज्ञा गर्ने येशूभन्दा पनि बढी सांसारिक धनलाई घृणा गर्नुपर्छ । त्यो झुटो सुसमाचारले परमेश्वरलाई उत्तम जागिर वा ठुलो घर पाउन सकिने एउटा बाटो बनाएर उहाँको अपमान गर्छ । सम्पन्तावादी सुसमाचारले हाम्रो हृदयलाई हाम्रो एकमात्र आनन्द, परमेश्वर स्वयम्देखि टाढा लगेर हामीलाई लुट्ने काम पनि गर्छ ।
साँचो सुसमाचारको प्रतिज्ञालाई जोनाथन एड्वार्ट्सले यसरी व्याख्या गरेका छन्ः
स्वर्गमा अनन्त त्रिएक परमेश्वर अर्थात् प्रेमको अनन्त मुहान कुनै बाधाविना खुला राखिएको छ । त्यहाँ महिमित परमेश्वर पूर्ण महिमामा प्रकट हुनुहुन्छ, र प्रेमका किरणहरूमा उहाँ चम्कनुहुन्छ । अनि त्यस महिमित मुहान प्रेम र आनन्दका नदीहरूमा बहन्छ । र यी नदीहरू प्रेमको सागर हुनेगरी उर्लन्छन्, जसमा मोल तिरेर किनिएका व्यक्तिहरूका प्राण आनन्दमा नुहाउँछन्, र तिनीहरूका हृदय प्रेमले ओतप्रोत हुनेछ ।
उहाँले सबै कुराहरू नयाँ बनाउनुहुनेछ
यूहन्नाले एउटा राजकीय आज्ञा उल्लेख गर्दै यस खण्डको अन्त्य गर्छन्ः ‘अनि सिंहासनमा बस्नुहुनेले भन्नुभयोः ‘हेर, म सबै कुराहरू नयाँ बनाउनेछु’ (प्रकाश २१:५) ।
यो नै बाइबलीय सुसमाचारको साँचो महत्व होः ख्रीष्टको ज्योतिमय राज्यमा पुरानो, थोत्रो, अशुद्ध अथवा मक्किएको कुनैपनि कुरा हुनेछैन । हामीले त्यहाँ कुनैपनि किसिमको दुःखित कुरा भोग्ने छैनौं । हामीले अनुभव गर्ने हरेक कुरा, हरेक नयाँ सम्बन्ध र सम्झना तेज रूपमा वृद्धि हुनेछ, शुद्ध हुनेछ, र हाम्रो आनन्द सदाको लागि गहिरो पारिदिनेछन्, किनकि यो सबै कुरा परमेश्वरको हातबाट नै आउँछ ।
यो सबै कसरी हुनसक्छ ? यो सबै सिंहासनमाथि बस्नुहुनेले गर्नुहनेछ, उहाँले अचम्म तरिकामा सबै कुरा नयाँ बनाउनुहुनेछ । कसले युद्ध रोक्नेछ ? कसले शैतानलाई पराजित गर्नेछ ? कसले देशहरूमाथि न्याय गर्नेछ ? हाम्रा सबै पापहरूले पुऱ्याएका क्षति र हानिलाई कसले परिपूर्ति गर्नेछ ? यी सबै उहाँले गर्नुहनेछ- जो हाम्रा राजा हुनुहुन्छ, र जसले अहिले पनि अनुग्रहको सिंहासनबाट राज्य गर्नुहुन्छ । उहाँलाई नै सदासर्वदा महिमा होस् ।
यही नै सुसमाचारको सिद्धान्त हो ।
सिद्धान्तदेखि संस्कृतितर्फ
यो सुसमाचारको सिद्धान्तले कसरी सुसमाचारको संस्कृतितर्फ डोन्याउँछ ? यसले चम्किलो, जागिउठ्ने, बलियो आशा राख्ने चर्चहरू निर्माण गर्छ । यसले वास्तविकतामा जीवन जिउने र पराजित नहुने – चर्चहरू निर्माण गर्छ ।
चर्चले यो ठुलो र श्रेष्ठ सुसमाचारलाई विश्वास गर्दा चर्चको कुनैपनि विषय सानो र मसिनो हुँदैन । र यो संसारले हाम्रा चर्चहरूप्रति प्रहार गर्ने कुनैपनि कुरालाई हाम्रा उद्धारकर्ताले माथितिर बङ्ग्याएर त्यसद्वारा हामीलाई हाम्रो अनन्त घरको अझ नजिक लैजानु नसक्नुहुने कुनै पनि कुरा छैन । सबै मानिसहरूझै यो संसारका कठिनाइहरू भोगेका पावलले यसरी नियालेका छन्ः ‘यही कारणले हामी हिम्मत हार्दैनौ; हाम्रो बाहिरि मान्छे नष्ट हुँदै गइरहेको भए तापनि भित्री मान्छेचाहिँ दिन-दिनै नयाँ हुँदै गइरहेछ । किनकि हाम्रो छिनभरको हल्का सङ्कष्टले हाम्रा निम्ति नाप्नै नसकिने र सदा रहने भारी महिमा उत्पन्न गर्छ’ (२ कोरिन्थी ४:१६-१७) ।
दुई तरिकाबाट यो निश्चयताले, परमेश्वरबाट हामीलाई अलग – गराउने जस्तो देखिने कुराको विरूद्ध खडा हुनसक्ने बनाउँछ ।
पहिलो, सुसमाचारको आशाले हामीलाई यो पतित संसारमा भोग्नुपर्ने हरेक निराशाको विरूद्ध खडा हुने बनाउँछ । अगस्टाइनले हामीलाई सिकाउँछन्ः
संसारले आफ्नो पकड गुमाइरहेको छ, र संसार बुढो भइरहेको छ भन्ने सुनेर के तपाईं छक्क पर्नुभएन ? मानिसको बारेमा सोच्नुहोस्ः ऊ जन्मिन्छ, बढ्छ, र बुढो हुन्छ । बुढो हुँदा खोकी लाग्ने, काम्ने, आँखा कमजोर हुने, चिन्ता लाग्ने, थकित हुने जस्ता विभिन्न समस्याहरू हुन्छन् । मानिस बुढो हुन्छ; र ऊ समस्याहरूले भरिएको हुन्छ । संसार पनि बुढो भएको छ, र विकराल सङ्घष्टहरूले भरिएको छ… बुढो मानिस वा संसारमा सहारा नखोज्नुहोस्; तर, ‘संसार बितेर जाँदैछ, संसारले आफ्नो पकड गुमाइरहेको छ, संसार उकुसमुकुस भइरहेको छ। तर, नडराऊ । तिम्रो जवानी चीलको जस्तै नयाँ पारिनेछ०१० भनी तपाईंलाई भन्नुहुने ख्रीष्टमा आफ्नो जवानी पुनः हासिल गर्न अस्वीकार नगर्नुहोस् ।
दोस्रो, सुसमाचारको आशा र हाम्रा उद्धारकर्ताको विजयले हामीलाई हाम्रा आफ्नै पापहरू र असफलताहरूको विरूद्ध खडा हुने बनाउँछ । मार्टिन लुथर हामीलाई सिकाउँछन्ः
जब, शैतानले हाम्रा पापहरू देखाएर हामीलाई दोष्याउँछ, र हामी मृत्यु र नरकका योग्य छौं भनी घोषणा गर्छ, तब हामीले यसरी प्रतिक्रिया दिनुपर्छः ‘हो, म स्वीकार गर्छु, कि म मृत्यु र नरकको योग्य छु। तर, के भयो त ? के यसको अर्थ मलाई अनन्त विनाशमा पठाउनुपर्छ भन्ने हो ? कदापि होइन। किनकि म मेरो सट्टामा कष्ट भोग्नुहुने र मोल तिरिदिनुहुनेलाई चिन्छु । उहाँ येशू खीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ जहाँ हुनुहुन्छ, त्यहाँ म पनि हुनेछु ।
-सुसमाचार नामक पुस्तकबाट साभार गरिएको