क्रूसलाई केन्द्रमा राख्नु

क्रूसलाई केन्द्रमा राख्नु
जोन बन्यन्को पिल्ग्रिम्स प्रोग्रेस पुस्तकको एक विन्दुमा, कथाको नायक, ख्रीष्टियानले, आफूलाई दुईजना बेइमान मानिसहरू, औपचारिकतावादी र पाखण्डीसँग कुरा गरिरहेको पाउँछ । तिनीहरूले दाबी गर्छन् कि ख्रीष्टियानजस्तै तिनीहरू पनि स्वर्गीय सहरतिर जाँदैछन् । तिनीहरूको देशका अरू धेरैजना पहिला पनि त्यही बाटो भएर गएका कारण तिनीहरूमा त्यहाँ पुग्नेछौँ भन्ने निश्चितता हुन्छ । निश्चय नै, नामबाट नै थाहा हुन्छ कि औपचारिकतावादी र पाखण्डी त्यस सहरसम्म कहिले पनि पुग्ने छैनन् ।
ख्रीष्टियानले ती दुई मानिसलाई पहिलोचोटी देख्दा तिनीहरू ख्रीष्टियान हिँडिरहेको साँघुरो बाटोको छेउमा रहेको पर्खाल माथिबाट हामफालिरहेका हुन्छन् । त्यसो गर्नु समस्या निम्त्याउनु हो भन्ने उसलाई लाग्छ, किनकि उसलाई थाहा हुन्छ कि त्यस साँघुरो बाटोमा आउनको लागि एक मात्र निर्धारित बाटो भनेको एउटा ढोकाबाट
भएर आउनुपर्ने हुन्छ, जसले त्यस कथामा क्रूसमा टाँगिएका ख्रीष्टमा गरिनुपर्ने पश्चाताप र विश्वासलाई जनाउँछ ।
जहिले पनि सीधा कुरा गर्न मन पराउने ख्रीष्टियानले ती दुई मानिसलाई यस विषयमा सोध्छ—“तपाईंहरू किन त्यो ढोकाबाट भएर आउनुभएन ?” ती मानिसहरूले झट्टै उत्तर दिन्छन् कि तिनीहरूका देशका मानिसहरूको विचारमा त्यो ढोका धेरै टाढा छ त्यसैले तिनीहरूले धेरै पहिला नै “छोटो बाटो लिने” निर्णय लिएका थिए ।
त्यस बाहेक, तिनीहरू यसरी तर्क गर्छन्,
हामी यो बाटोमा आइसक्यौँ, कुन बाटोबाट भित्र आयौँ भन्ने
कुराले के फरक पार्छ र ? यदि हामी भित्र छौँ भने हामी भित्र
नै छौँ । तिमी बाटोमा छौ र तिमी ढोकाबाट आयौ; हामी पनि
बाटो मै छौँ र हामी पर्खाल चढेर आयौँ । त्यसोभए, हाम्रो
भन्दा तिम्रो अवस्थाचाहिँ कसरी बढी असल भयो र ?
ख्रीष्टियानले तिनीहरूलाई सचेत गराउँछ कि स्वर्गीय सहरका मालिकले त्यस सहरभित्र पस्न चाहने जो कोहीले पनि त्यो साँघुरो बाटोको ढोकाबाट पस्नुपर्छ भनी उर्दी जारी गरेका छन् । उसले तिनीहरूलाई त्यस ढोकामा उसलाई दिइएको सूचीपत्र पनि देखाउँछ, जुनचाहिँ भित्र पस्नको लागि सहरको प्रवेशद्वारमा बुझाउनुपर्ने हुन्छ । ख्रीष्टियानले भन्छ, “मलाई लाग्छ, त्यस ढोकाबाट भित्र नआएकोले गर्दा तिमीहरूसँग यस्तो सूचीपत्र छैन” ।
बन्यन्को उद्देश्य यही देखाउनु थियो कि मुक्तिमा पुर्याउने बाटो भनेको त्यो सानो ढोका मात्र थियो— अर्थात्, पश्चाताप र विश्वासद्वारा । ख्रीष्टियान जीवनको बाटो हिँडेर मात्र पुग्दैन । यदि कुनै व्यक्ति त्यो ढोकाबाट पस्दैन भने, ऊ साँचो ख्रीष्टियान होइन ।
एक महान्, अझ सान्दर्भिक सुसमाचार ?
त्यो एउटा पुरानो कथा हो, तर बन्यनले त्योभन्दा पनि पुरानो कथा भनिरहेका थिए । सुरुको समयदेखि नै, परमेश्वरको कुरा सुन्नु र उहाँमा भरोसा गर्नुको सट्टामा, मानिसहरूले आफैँलाई सही लाग्ने तरिकाद्वारा आफूलाई बचाउन खोजेका छन् । तिनीहरू कसरी मुक्तिलाई सफल बनाउने— कसरी सुसमाचारलाई सफल बनाउने—
भन्ने पत्ता लगाउन खोजिरहेका छन्, तर तिनीहरूले त्यो ढोकाबिना र येशू ख्रीष्टको क्रूसबिना नै त्यसो गरिरहेका छन्।
हाम्रो समयमा पनि यो यथावत छ । मलाई लाग्छ, आज ख्रीष्टको शरीरले सामना गर्नुपरेको सबैभन्दा ठूलो खतरा भनेको पापीहरूको सट्टामा येशूको मृत्यु नभएर, अरू नै विषयलाई सुसमाचारको केन्द्र बनाएर पुर्नविचार र पुर्नव्याख्या गर्नु हो । त्यसो गर्नका लागि निक्कै ठूलो दबाब छ, र त्यो विभिन्न दिशाहरूबाट आइरहेको हुन्छ । दबाबको एउटा मुख्य स्रोतचाहिँ बढ्दो रूपमा सामान्य हुँदै गएको एउटा यस्तो विचार हो— ख्रीष्टको मृत्युद्वारा पाप क्षमाको सुसमाचार चाहिनेजति “पर्याप्त” छैन; यसले युद्ध, अत्याचार, गरिबी, र अन्याय जस्ता समस्याहरूलाई सम्बोधन गर्दैन, र एकजना लेखकले भनेझैँ यस संसारका वास्तविक समस्याहरूको कुरा आउँदा यो “त्यति महत्वपूर्ण देखिँदैन ।”
तर मलाई लाग्छ त्यो आरोप पूर्णरूपमा गलत छ । ती सबै समस्याहरूको जरा खोतल्ने हो भने, ती मानवीय पापको नतिजा हुन्, र थोरै सक्रियताले, थोरै वास्ताले, अर्थात् थोरै “येशूले जिउनु भएको जीवन जिउनु” ले ती समस्याहरू समाधान गर्न सकिन्छ भनी सोच्नु मूर्खता हो । क्रूसले मात्र साँचो रूपमा सधैँको लागि पापको अन्त्य गर्छ । र परमेश्वरको सिद्ध राज्यमा मानवजातिलाई सहभागी गराउने पनि क्रूस नै हो ।
तथापि, “अझै महान्”, अझै “सान्दर्भिक” सुसमाचार पत्ता लगाउने दबाबले धेरै मानिसहरूलाई जकडेको देखिन्छ । हामी बारम्बार, एकपछि अर्को पुस्तकमा, अन्ततः क्रूसलाई दोस्रो दर्जामा झारेर सुसमाचारको व्याख्या गरिएको देख्छौँ । परमेश्वरले संसार पुनर्निमाण गर्दै हुनुहुन्छ वा उहाँले एउटा राज्यको प्रतिज्ञा गर्नुभएको छ जसले सबै कुरा ठीक बनाउनुहुनेछ । उहाँले हामीलाई हाम्रो सांस्कृतिक रूपान्तरण गर्ने काममा साथ दिन बोलाइरहनुभएको छ, र यस्ता कुराहरू सुसमाचारको केन्द्र हो भन्ने घोषणाहरू क्रूसको स्थानमा आएका छन् । यसले जे कुरालाई सङ्केत गरे तापनि, परिणाम यही हुन्छ कि, पापीहरूको सट्टामा भएको येशूको मृत्युलाई कल्पना मानिन्छ, सीमान्तकृत गरिन्छ र (कहिलेकाहीँ जानीजानी) बेवास्ता गरिन्छ ।
तीन वैकल्पिक सुसमाचारहरू
मलाई लाग्छ सुसमाचारवादी ख्रीष्टियानहरूको माझमा सूक्ष्म रूपले क्रूसलाई केन्द्रबाट हटाउने काम भइरहेको छ । हालैका वर्षहरूमा केही “अझ महान् र अझ उत्तम” सुसमाचारहरूको वकालत गरिँदै आएको छ र प्रत्येकले उल्लेखनीय रूपमा अनुयायीहरू प्राप्त गरिरहेको देखिन्छ । यी महान् सुसमाचारहरूले क्रूसभन्दा अरू कुरालाई नै केन्द्रमा राख्ने हुनाले मलाई लाग्छ कि खास त्यो सुसमाचार अपूर्ण छ, वा त्यो सुसमाचार नै होइनन् । यसको तीनवटा
उदाहरणहरू दिनेछु ।
“येशू नै प्रभु हुनुहुन्छ” सुसमाचार होइन
यी “अझै महान्” सुसमाचारहरूमा, सबैभन्दा लोकप्रियमध्ये एउटाचाहिँ “येशू नै प्रभु हुनुहुन्छ” भन्ने दाबी हो । कुनै समाचारवाहकले एउटा सहरमा पसेर “कैसर नै प्रभु हुन्” भनेर घोषणा गरेझैँ, येशूले नै राज्य गर्नुहुनेछ र उहाँले सारा संसारलाई आफूसित मिलापमा ल्याएर उहाँको शासनभित्र ल्याउने तयारी गरिरहनुभएको छ भन्ने असल समाचार ख्रीष्टियानहरूले घोषणा गर्नुपर्दछ भनी यसले सिकाउँछ ।
निश्चय पनि, “येशू नै प्रभु हुनुहुन्छ” भन्ने घोषणा पूर्ण अनि साँचो हो ! र येशूको प्रभुत्व घोषणा गर्नु सुसमाचारको सन्देशको लागि अपरिहार्य छ भन्ने कुरा पनि साँचो हो । त्यसैले रोमी १०ः९ मा पावलले भनेका छन् कि येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्ने व्यक्तिको उद्धार हुनेछ, र १ कोरिन्थी १२ः३ मा उनले भनेका छन् कि पवित्र आत्माद्वारा मात्र कसैले त्यो सत्य दाबीका साथ भन्न सक्छ । तर “येशू नै प्रभु हुनुहुन्छ” भन्ने घोषणालाई ख्रीष्टियान सुसमाचारको पूरा सारतत्व हो भनी बुझ्नु चाहिँ निश्चित रूपमा गलत हुनेछ । हामीले देखिसकेका छौँ कि शुरुका ख्रीष्टियानहरूले सुसमाचार घोषणा गर्दा त्यो भन्दा धेरै कुराहरू भनेका छन् । प्रेरित २ अध्यायमा, पत्रुसले यसरी प्रचार गरे, “त्यसैकारण इस्राएलको सारा परिवारले यो पक्का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट बनाउनुभयो” (पद३६) । तर त्यो वाक्यको अगाडि र पछाडि येशूको प्रभुत्वको अर्थ के थियो भन्ने विषयमा पूरा व्याख्या छ । त्यसको अर्थ यही थियो कि येशू क्रूसमा टाँगिनुभएको, गाडिनुभएको अनि बौरी उठाइनुभएको थियो, र अरूभन्दा पनि, उहाँको मृत्यु र पुनरुत्थानमा पश्चाताप गर्ने र विश्वास गर्नेका लागि उहाँले “पापको क्षमादान” दिन सक्नुहुन्थ्यो । पत्रुसले येशू नै प्रभु हुनुहुन्छ भनेर घोषणा मात्र गरेनन् । उनले यसरी घोषणा गरे– प्रभुले उहाँका मानिसहरूको पक्षमा भएर तिनीहरूको पाप विरुद्ध परमेश्वरको क्रोधदेखि तिनीहरूलाई बचाउनुभयो ।
अहिलेसम्म त स्पष्ट भइसकेको हुनुपर्छ, यदि हामीले येशू, प्रभु मात्र नभएर उद्धारक पनि हुनुहुन्छ भन्दै व्याख्या गर्दैनौँ र “येशू नै प्रभु हुनुहुन्छ” मात्र भन्छौँ भने, त्यो सुसमाचार होइन । प्रभुत्वले न्याय गर्ने अधिकारलाई बुझाउँछ, र हामीले देखिसकेका छौँ कि परमेश्वरले दुष्टको न्याय गर्नुहुनेछ । त्यसकारण, परमेश्वर र उहाँका मसीहको विरुद्ध विद्रोह गर्ने पापीको लागि, येशू नै प्रभु हुनुहुन्छ भन्ने घोषणा त भयपूर्ण समाचार हो । त्यसको मतलब तपाईंको शत्रुले सिंहासन जितेको छ र अब विद्रोह गरेकोमा तपाईंको न्याय गरिनेछ भन्नु जस्तै हुन्छ ।
त्यो समाचार असल होस् र डरलाग्दो नहोस् भन्नको लागि, त्यसमा तपाईंको विद्रोहलाई क्षमा गर्न मिल्ने र जो प्रभु हुनुभएको छ, उहाँसँग तपाईं मिलापमा जान मिल्ने बाटो पनि त्यसमा समावेश भएको हुनुपर्छ । नयाँ करारमा हामी ठ्याक्कै त्यही देख्छौँ— येशू नै प्रभु हुनुहुन्छ भन्ने घोषणा मात्र होइन, तर पापीहरूले क्षमादान पाएर उहाँको आउँदै गरेको राज्यको आनन्दमा प्रवेश पाओस् भनी प्रभु क्रूसमा मारिनुभएको कुरा पनि त्यहाँ उल्लेख गरिएको छ । त्यो कुराबिना, “येशू नै प्रभु हुनुहुन्छ” भन्ने घोषणा मृत्यु दण्ड बाहेक केही हुँदैन ।
सृष्टि–––पतन–उद्धार–पूर्णता सुसमाचार होइन
कतिपय ख्रीष्टियानहरूले बाइबलका विवरणहरूलाई चारवटा शब्दहरूमा प्रयोग गरेर एउटा ढाँचामा चित्रण गर्छुन्— सृष्टि, पतन, उद्धार अनि पूर्णता ।
खासमा, त्यो ढाँचा बाइबलको मुख्य विवरणलाई सङ्क्षेपीकरण गर्ने निकै राम्रो तरिका हो । परमेश्वरले संसार सृष्टि गर्नुभयो, मानिसले पाप गर्याे, परमेश्वरले मसीह येशूद्वारा आफ्नो लागि मानिसहरूलाई छुटाउनुभयो र उहाँको महिमित राज्यको पूर्णतासँगै इतिहासको अन्त्य हुनेछ । उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म, बाइबलको आधारभूत
कथा याद गर्नका लागि यो अति राम्रो तरिका हो । साँच्चै भन्ने हो भने, जब तपाईंले यसलाई सही ढङ्गमा बुझ्नुहुन्छ अनि सम्प्रेषण गर्नुहुन्छ, यो सृष्टि, पतन, उद्धार अनि पूर्णताको रूपरेखाले बाइबलीय सुसमाचारको इमानदार प्रस्तुतिको लागि एउटा राम्रो खाका प्रदान गर्छ ।
तर, समस्याचाहिँ सृष्टि–पतन–उद्धार–पूर्णतालाई क्रूसतर्फ लक्षित नगरेर, संसारलाई नयाँ बनाउने परमेश्वरको प्रतिज्ञाको सुसमाचारमा महत्व दिएर केही मानिसहरूले यसको रूपरेखालाई गलत तरिकाले अभ्यास गर्दै आएको छ ।
तसर्थ, यो सृष्टि–पतन–उद्धार र पूर्णतालाई “सुसमाचार” मा धेरै चोटी यस्तो रूपमा प्रस्तुत गरिन्छ :
सुसमाचार यस्तो समाचार हो जसअनुसार सुरुवातमा
परमेश्वरले यस संसार र यसमा भएका सम्पूर्ण कुरालाई सृष्टि
गर्नुभयो । सुरुमा सबै कुरा असल थियो, तर मानवजातिले
परमेश्वरको शासन विरुद्ध विद्रोह गर्याे र संसारलाई
अस्तव्यस्ततातिर धकेलिदियो । मानिस र परमेश्वर बीचको
सम्बन्ध तोडियो, साथै मानिसहरूको एकआपसको सम्बन्ध र
तिनीहरूको संसारसँगको सम्बन्ध पनि तोडियो । तर, त्यस
पतनपछि, परमेश्वरले एकजना राजा पठाउने प्रतिज्ञा गर्नुभयो
जसले मानिसहरूलाई उहाँको निम्ति छुट्कारा गराउनेछन्
अनि सृष्टिलाई फेरि परमेश्वरसँग मिलापमा ल्याउनेछन् । त्यो
प्रतिज्ञा येशूको आगमनसँगै पूरा हुन सुरु भयो, तर त्यो तब
मात्र पूर्ण हुनेछ, जब राजा येशू फेरि फर्कनुहुन्छ ।
यो हरफको सबै कुरा पक्कै पनि साँचो हो । तर मैले जे लेखेँ, त्यो सुसमाचार होइन । उहाँ विरुद्धको विद्रोहलाई क्षमा गर्ने उपाय नभेटिएसम्म “येशू नै प्रभु हुनुहुन्छ” भन्ने घोषणा सुसमाचार नभएजस्तै, जबसम्म तपाईं त्यसमा सामेल हुन सक्नुहुन्न, परमेश्वरले संसारको पुननिर्माण गर्दै हुनुहुन्छ भन्ने कुरा पनि सुसमाचार होइन ।
निश्चय नै, सृष्टि–पतन–उद्धार र पूर्णतालाई ख्रीष्टियान सुसमाचारको बारेमा वर्णन गर्ने एउटा तरिकाको रूपमा प्रयोग गर्न सकिन्छ । खासमा भन्ने हो भने, “सृष्टि” र “पतन” झन्डैझन्डै “परमेश्वर” र “मानिस” सँग मिल्न जान्छ । तर महत्वपूर्ण कुराचाहिँ “उद्धार” मा आउँछ । सुसमाचारलाई साँचो रूपमा घोषणा गर्नको लागि त्यहाँनेर हामीले येशूको मृत्यु, पुनरुत्थान र पापीहरूको तर्फबाट परमेश्वरले चाहनुभएको प्रत्युत्तरलाई ध्यानपूर्वक व्याख्या गर्नुपर्दछ । परमेश्वरले मानिसहरूलाई उद्धार गर्दै हुनुहुन्छ र संसारको पुनर्निर्माण गर्दै हुनुहुन्छ भनेर मात्र भन्छौँ, तर उहाँले कसरी त्यसो गर्दै हुनुहुन्छ (येशूको मृत्यु र पुनरुत्थान) द्वारा, कसरी कुनै मानिस त्यस उद्धारमा सम्मिलित हुनसक्छ (पापको प्रायश्चित र येशूमा विश्वासद्वारा) भनेर भन्दैनौँ भने, हामीले सुसमाचार घोषणा गरेका हुँदैनौँ । हामीले त केवल मोटामोटी रूपमा बाइबलीय कथाको रूपरेखा मात्र बताएका हुन्छौँ र पापीहरूलाई झ्यालबाट भित्र चियाइरहेको अवस्थामै छोडिरहेका हुन्छौँ ।
सांस्कृतिक परिवर्तन सुसमाचार होइन
पछिल्लो समयमा, ख्रीष्टियानहरूका कामद्वारा संस्कृतिको रूपान्तरण हुने विचारले धेरै सुसमाचारवादीहरूको मनमस्तिष्कलाई जकडेको छ ।
मलाई लाग्छ त्यो एउटा महान् उद्देश्य हो, र समाजमा दुष्टताको प्रतिरोध गर्न भएका प्रयास, चाहे त्यो व्यक्तिगत होस् या संस्थागत, ती बाइबलीय प्रयास नै हुन् । पावलले हामीलाई भनेका छन् कि हामी “सबै मानिसको भलाई गर्दै जाऔँ, विशेषगरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्” (गलाती ६ः१०) । येशूले हामीलाई भन्नुभएको छ, हामीले हाम्रा छिमेकीहरूको वास्ता राख्नुपर्छ, जसमा हाम्रो समूहभन्दा बाहिरका मानिसहरू पनि पर्दछन् (लूका १०ः२५–३७) । र उहाँले यो पनि भन्नुभएको छ, “यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून र स्वर्गमा हुनुहुने तिमीहरूको पिताको महिमा गरून्” (मत्ती ५ः१६) ।
तर, धेरैजसो रूपान्तरणवादीहरू त्योभन्दा पनि पर जान्छन्, बाइबलीय कथाको बनावटमै “संस्कृतिको उद्धार गर्ने” अख्तियार पाउँछन् । तिनीहरू तर्क गर्छन् कि यदि परमेश्वर संसारको पुननिर्माण गर्ने काममा लाग्नुभएको छ भने, त्यस काममा साथ दिनु हाम्रो कर्तव्य हो, त्यस राज्यको निर्माण सामग्री बटुल्न र हाम्रो छरछिमेकमा, हाम्रा सहरहरूमा, हाम्रा राष्ट्रहरूमा र हाम्रो दुनियाँमा परमेश्वरको शासन स्थापना गर्नतिर उल्लेखनीय पाइला चाल्नु पनि हाम्रो जिम्मेवारी हो । तिनीहरू भन्छन्, “हामीले त्यही गर्नुपर्छ जे परमेश्वरले गरिरहनुभएको हामी देख्छौँ” ।
मलाई मेरा आफ्ना विचारहरू राख्दै अघि बढ्न दिनुहोस् । सांस्कृतिक रूपान्तरणको विषयमा मसँग बाइबलीय र ईश्वरशास्त्रीय दुबिधाहरू छन् । धर्मशास्त्रले सांस्कृतिक रूपान्तरणको विषयलाई रूपान्तरणवादीहरूले दाबी गरे अनुसारको प्राथामिकतामा राखेको छ भन्ने कुरामा म आश्वस्त छैन । त्यसका केही कारणहरू छन् । मलाई लाग्दैन कि उत्पत्तिमा भएको सांस्कृतिक अख्तियार परमेश्वरका मानिसहरूलाई मात्र दिइएको छ; मेरो विचारमा, त्यो त समग्र मानवजातिलाई दिइएको छ । धर्मशास्त्रमा होस् या इतिहासमा, मानव संस्कृतिको सामान्यतया निर्धारित दिशा परमेश्वरतर्फ छ भन्ने पनि मलाई लाग्दैन; बरु, त्यो त समग्रमा भन्नुपर्दा, न्यायतर्फ उन्मुख छ (प्रकाश १७–१९ हेर्नुहोस्) । त्यसैले मलाई लाग्छ, रूपान्तरणवादीहरूको “संसार परिवर्तन गर्ने” अपेक्षा भ्रामक छ र त्यो अन्ततः निराशामा परिणत हुनेछ ।
यद्यपि, यी कुराहरू बाइबलीय–ईश्वरशास्त्रीय छलफलका विषय हो, र यहाँ, त्यो मेरो चासोको मुख्य विषय होइन । मलाई लाग्छ कि समर्पित रूपान्तरणवादी हुनु र त्योसँगसँगै बाइबलीय विवरण र सुसमाचारको केन्द्रबिन्दुमा येशूको क्रूसलाई राख्न प्रतिवद्ध हुनु सम्भव छ । आखिरमा, क्षमा पाएका र उद्धार गरिएका परमेश्वरका मानिसहरूलाई नै उहाँले त्यो रूपान्तरण हासिल गर्न प्रयोग गर्नुहुनेछ, र क्षमादान र उद्धार क्रूसद्वारा मात्र सम्भव छ।
मेरो चासो यो विषयमा छ जहाँ मेरा सुसमाचारवादी र रूपान्तरणवादी साथीहरू सहमत हुनेछन् भनी मैले आशा लिएको छु । त्यो के हो भने, प्रायजसो केही रूपान्तरणवादीहरूको माझमा, सांस्कृतिक उद्धारको विषय सूक्ष्म रूपमा महान् प्रतिज्ञा र सुसमाचारको केन्द्रबिन्दु बन्न पुग्छ— जसको मतलब क्रूसलाई चाहिँ जानेर वा नजानेर, त्यस स्थानबाट विस्थापित गरिन्छ । सांस्कृतिक रूपान्तरणमा ज्यादा जोड दिन आह्वान गर्ने पुस्तकहरूमा तपाईंले यस्तो भइरहेको देख्न सक्नुहुन्छ । क्रूसमा गरिएको ख्रीष्टको कामले भन्दा सुधारिएको संस्कृतिको प्रतिज्ञाले सबैभन्दा बढी उत्साह र आनन्द जगाइरहेको हुन्छ । पश्चाताप गरेर येशूमा विश्वास गर्नुको सट्टामा, संसार परिवर्तन गर्ने काममा परमेश्वरलाई साथ दिनका लागि मानिसहरू जोशका साथ आकर्षित हुन्छन् । बाइबलको विवरण येशूको प्रतिस्थापनीय मृत्युमा होइन तर संसारको पुननिर्माणमा अडिएको छ भन्ने गरिन्छ ।
अनि समय क्रममा, अनुग्रह र विश्वासको बारेमा भन्दापनि, “यसरी जिऔँ, र हामीले संसार परिवर्तन गर्नेछौँ” भन्ने कुरामा जोड दिई ख्रीष्टियान आस्थालाई अरू कुनै साधारण धर्मजस्तो बनाइने खतरा छ । त्यो ख्रीष्टियान आस्था होइन; नैतिकतावाद हो ।
अवरोध र मूर्खता
आखिरमा, मलाई लाग्छ कि क्रूसलाई सुसमाचारको केन्द्रबाट हटाउने आवेगपूर्ण सोचले संसारलाई क्रूस मन पर्दैन भन्ने उदाङ्गो सत्यतर्फ डोर्याउनेछ । तिनीहरूले यसलाई कि त एउटा हाँसउठ्दो कथा ठान्छन् कि त एउटा भयङ्कर झूट । हामीले आश्चर्य मान्नु पर्दैन । यस्तै परिस्थिति आउनेछ भनी पावलले भनेका छन् । उनले भनेका छन्, क्रूसको सन्देश कसैको लागि अवरोध हुनेछ भने कसैको लागि मूर्खता !
त्यसमा, यो वास्तविकतालाई नबिर्सिनुहोस् कि हामी यो संसारलाई सुसमाचारप्रति आकर्षित भएको देख्न चाहन्छौँ, तर तपाईंले चाहिँ ख्रीष्टियानहरूमाथि “रगताम्य क्रूस धर्म” को बारेमा कुरा गर्नु नपर्ने तरिका पत्ता लगाउन भयङ्कर ठूलो दबाब पैदा गर्दै हुनुहुन्छ । मेरो मतलब, हामी संसारले सुसमाचारमाथि हाँसेको होइन, यसलाई ग्रहण गरेको चाहन्छौँ, होइन त ? खासमा, हामीले यसको सामना गर्नैपर्छ । क्रूसको सन्देश हाम्रो वरिपरिका मानिसहरूलाई वाहियात कुरा लाग्न सक्छ । यसले हामी ख्रीष्टियानहरूलाई मूर्खजस्तो देखाउन सक्छ । यसले अख्रीष्टियानहरूसँग “सम्बन्ध” विकास गर्नमा र हामी अरू जस्तै असल एवं हानिरहित छौँ भनी बुझाउन गरिने प्रयत्नहरूमा अवश्य पनि बाधा ल्याउँछ । ख्रीष्टियानहरूले सधैँ आफैलाई असल छन् भन्ने कुरा संसारलाई विश्वास दिलाउन सक्छन्— तर त्यसबेलासम्म जब उनीहरू क्रूसमा टाँगिएका एक मानिसद्वारा बचाइएको बारेमा कुरा गर्न थाल्छन् । त्यसपछि तपाईंले आर्जन गरेको त्यो असलपनको चिनारी जति सावधानीपूर्वक जोगाउन खोजे पनि बाफ बनेर उडिहाल्छ ।
त्यसो भए तापनि, धर्मशास्त्रले स्पष्ट पारेको छ कि क्रूस सुसमाचारको केन्द्रमा हुनुपर्छ । हामीले त्यसलाई छेउमा सार्न सक्दैनौँ, र त्यसको सट्टामा अरू कुनै सत्यलाई सुसमाचारको मुटु, केन्द्र वा मूलस्रोत बनाउन सक्दैनौँ । त्यसो गर्नु भनेको संसारलाई यस्तो कुरा दिनु हो जसद्वारा उद्धार पाउँदैन, त्यसकारण त्यो कदापि सुसमाचार होइन।
वास्तवमा, क्रूसलाई सुसमाचारको केन्द्रबाट हटाउन लगाउने कुनै पनि दबाबलाई कसरी प्रतिक्रिया दिनुपर्छ भनी बाइबलले हामीलाई स्पष्ट निर्देशनहरू दिएको छ । हामीले त्यसलाई रोक्नुपर्छ । पावलले यसबारे १ कोरिन्थीमा के भनेका छन् हेर्नुहोस् । तिनलाई थाहा थियो, तिनको वरपर भएका मानिसहरूलाई क्रूसको सन्देश मूर्खता जस्तो लाग्यो । तिनलाई थाहा थियो कि तिनीहरूले सुसमाचारलाई इन्कार गर्नेछन्, किनकि त्यो तिनीहरूको नाकको प्वालमा एक दुर्गन्ध झैँ हुनेथियो । तर निश्चित अस्वीकारको अवस्थामा पनि उनले भनेका छन्, “हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्छौँ” (१ कोरिन्थी १ः२३) । साँचो कुरा त के हो भने, उनले “तिनीहरूसँग हुँदा
येशू ख्रीष्ट र उहाँलाई क्रूसमा टाँगेका कुराबाहेक अरू केही नजान्ने” झैँ हुन निश्चय गरेका थिए (१ कोरिन्थी २ः२) । किनभने, उनले त्यस पुस्तकको अन्तमा व्यक्त गरेझैँ, “पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो” भन्ने तथ्य महत्वपूर्ण या धेरै महत्वपूर्ण मात्र होइन, यो त “प्रथम महत्वको विषय” थियो (१ कोरिन्थी १५ः३) ।
अनि सारा संसारले उपहास गर्यो भने के होला ? पापीहरूको सट्टामा भएको येशूको मृत्युमा भन्दा संसारको नवीकरणतर्फ झुकाव राख्ने सुसमाचारप्रति मानिसहरूले राम्रो प्रतिक्रिया दिए भने नि ? एक मानिस क्रूसमा मरेको विषयका कारण मानिसहरूले सुसमाचारलाई हाँसोमा उडाए भने ? त्यस्तो हुन्छ भने होस्, पावलले भने । म क्रूसको प्रचार गर्नेछु । तिनीहरूले यसलाई हास्यास्पद सोच्लान्; मूर्खता ठान्लान् । तर म जान्दछु, “परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ छ” (१ कोररन्थी १ः२५) ।
पावलले पक्का गरे कि उनले प्रचार गरिरहेको सुसमाचारको केन्द्र क्रूस नै थियो, र हामीले पनि त्यस्तै गर्नुपर्छ । यदि हामीले अरू कुनै कुरालाई केन्द्रबिन्दु बन्न दियौँ भने, हामीले यस्तो भने सरह हुन्छ “आऊ, म तिमीलाई त्यो पर्खाल नाघ्न मद्दत गर्छु । मलाई विश्वास गर, तिमीलाई राम्रो हुनेछ ।”
– ग्रेग गिल्बर्टद्वारा लिखित सुसमाचार के हो ? नामक पुस्तकबाट साभार गरिएको।