
पापी मानिस
केही दिनअघि मैले अवैध रूपमा गाडी पार्किङ गरेकोमा जरिवाना तिरेँ । त्यसो गर्नु सजिलो थियो । “म विरुद्ध लागेको अभियोग मैले पढेँ, पुर्जी पल्टाएँ र यो अभियोग स्वीकार गर्छु” भन्ने कोष्ठकमा चिन्ह लगाएँ, महानगरीय ट्राफिक प्रमाणीकरण विभागको लागि रू. ३,५०० को चेक भरेँ, खाम बन्द गरेँ र हुलाकमा खसालेँ । म दोष प्रमाणित भएको अपराधी हुँ ।
तर, केही कारणवश, “दोषी” भनेर छाप लगाइए तापनि मलाई खासै दोषी महसुस हुँदैन । मैले कानुन मिचेकोमा मेरो निन्द्रा हराउँदैन । मैले कसैसँग माफी माग्नुपर्छ जस्तो पनि लाग्दैन । यसो सोच्दा, पहिले पाएको पुर्जीभन्दा यो पुर्जीमा जरिवाना रू १,००० बढी भएकोमा नमिठो लागिरहेछ ।
कानुन तोडेकोमा मलाई किन नराम्रो लाग्दैन ? सायद, ध्यान दिएर सोच्ने हो भने, पार्किङ नियम तोड्नु भनेको जघन्य अपराध हो जस्तो मलाई लाग्दैन । ठीक छ, अर्कोपल्ट पार्किङ मिटरमा पाँच रुपैयाँको सिक्का बढी नै तिरौँला तर यो कुराले मेरो मानसपटलमा कुनै उथलपुथल ल्याउँदैन ।
धेरै वर्षदेखि मैले ख्याल गरेको एउटा कुराचाहिँ के हो भने मानिसहरूले आफ्नो पापको बारेमा सोच्दा पार्किङ नियम उल्लङ्घन गरेजस्तो भन्दा बढी सोच्दैन । हामी यसरी सोच्छौँ, “साँच्चै, पाप भनेको त परमेश्वरले हस्तान्तरण गर्नुभएको कानुन उल्लङ्घन गरेजस्तै त हो नि, र पक्कै पनि उहाँलाई थाहा छ कि मभन्दा ठूला अपराधी पनि संसारमा छन् । फेरि, कसैलाई चोट पुगेको छैन तैपनि म जरिवाना तिर्न तयार छु । यस्तो सानो कुराको लागि पूरै आत्मचिन्तन गरिरहनु जरुरी छैन, छ त ?”
पापलाई त्यति नै हल्का रूपमा सोच्नुहुन्छ भने त सायद जरुरी छैन । तर बाइबल अनुसार, पाप भनेको ट्राफिक नियम उल्लङ्घन गर्नुभन्दा धेरै ठूलो कुरा हो । पाप भनेको त सम्बन्ध तोड्नु हो, अनि परमेश्वर स्वयम्लाई अस्वीकार गर्नु हो— परमेश्वरको शासन, परमेश्वरको वास्ता, परमेश्वरको अख्तियार र जसलाई उहाँले जीवन दिनुभयो तिनीहरूमाथि उहाँको अधिकार इन्कार गर्नु हो । छोटकरीमा भन्नुपर्दा, यो त सृष्टिकर्ता विरुद्ध सृजित प्राणीको विद्रोह हो ।
के गलत भयो ?
जब परमेश्वरले मानवजातिलाई सृष्टि गर्नुभयो, उहाँको अभिप्राय यही थियो कि तिनीहरू उहाँको धर्मी शासन अन्तर्गत सिद्ध आनन्दमा, उहाँको आराधना गर्दै, उहाँको आज्ञा पालना गर्दै र त्यसैअनुरूप उहाँसँगको अनवरत सङ्गतिमा जिउन । अघिल्लो अध्यायमा हामीले हे¥र्यौँ कि उहाँले नर र नारी दुवैलाई आफ्नै स्वरूपमा बनाउनुभयो, त्यसको मतलब तिनीहरू उहाँजस्तै हुनुपर्ने थियो, उहाँसँग सम्बन्धमा रहेर संसारमा उहाँको महिमा घोषणा गर्नुपर्ने थियो । अझ, परमेश्वरसँग मानिसको लागि काम थियो जुन तिनीहरूले गर्नुपर्ने थियो । उहाँ अन्तर्गत उहाँको संसारमा शासन गर्नका लागि तिनीहरू उहाँको उप–शासक हुनुपर्ने थियो । परमेश्वरले तिनीहरूलाई भन्नुभयो
“फल्दै–फुल्दै, वृद्धि हुँदै, र पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर” (उत्पत्ति १ः२८) ।
तर, नर र नारीको सृष्टिमाथिको शासन अन्तिम थिएन । तिनीहरूको अधिकार तिनीहरूले आफ्नै थिएन; परमेश्वरद्वारा दिइएको थियो । त्यसैले आदम र हव्वाले संसारमाथि अधिकारको अभ्यास गरे तापनि, तिनीहरू परमेश्वरका प्रजा थिए र उहाँको शासनमुनि थिए भनी सम्झिनुपथ्र्यो । उहाँले तिनीहरूलाई सृजनु भयो; त्यसैकारण
उहाँसँग तिनीहरूलाई आज्ञा गर्ने अधिकार थियो ।
असल र खराबको ज्ञान दिने रूख त्यस तथ्यको ज्वलन्त उदाहरण हो जुन रूखलाई परमेश्वरले बगैँचाको बीचमा राख्नुभएको थियो (उत्पत्ति ३ः१७) । जब आदम र हव्वाले त्यस रूखतिर हेर्थे अनि त्यसको फल देख्थे, तिनीहरूले सम्झन्थे कि तिनीहरूको अधिकार सीमित थियो र तिनीहरू केवल सृष्टि थिए, र तिनीहरू आफ्नो जीवनको लागि समेत परमेश्वरमा निर्भर थिए । तिनीहरू सेवकमात्रै थिए । उहाँचाहिँ राजा हुनुहुन्थ्यो ।
त्यसकारण जब आदम र हव्वाले त्यो फल टोके, “त्यो फल नखानु” भन्ने स्वइच्छामा छोडिएको आज्ञालाई मात्र तिनीहरूले उल्लंघन गरिरहेका थिएनन् । तिनीहरूले अत्यन्तै निराशाजनक र गम्भीर काम गरिरहेका थिए । तिनीहरूले आफूमाथि रहेको परमेश्वरको अधिकारलाई इन्कार गरिरहेका थिए र आफैलाई उहाँबाट स्वतन्त्र
भएको घोषणा गरिरहेका थिए । सर्पले तिनीहरूलाई वाचा गरेझैँ, आदम र हव्वा “परमेश्वर जस्तै” हुन चाहन्थे, त्यसैले दुवैजनाले परमेश्वरको शासनमुनि रहेर शासन गर्न छोडे र आफैँले मुकुट पहिरिने मौका पाएको झैँ गरी त्यसको फाइदा उठाउन खोजे । सारा संसारमा, एउटा कुरामात्र थियो जसलाई परमेश्वरले आदमको खुट्टामुनि राखिदिनुभएको थिएन— परमेश्वर स्वयम्नै । तर आदमले परमेश्वर विरूद्ध कदम उठाएर विद्रोह गर्यो।
सबैभन्दा नराम्रो कुरा त यो हो कि आदम र हव्वाले परमेश्वरको आज्ञा पालन नगरेर उहाँलाई तिनीहरूको राजाको रूपमा अस्वीकार गर्ने निर्णय गरे । परमेश्वरको आज्ञापालन नगर्दा के कस्तो परिणाम आइपर्नेछ भनी तिनीहरूलाई थाहा थियो । परमेश्वरले तिनीहरूलाई स्पष्ट रूपमा भन्नुभएको थियो कि यदि तिनीहरूले त्यो फल खाएमा तिनीहरू पक्कै मर्नेछन्, जसको मतलब उहाँको मित्र अनि आनन्दित प्रजा हुनुको साटो तिनीहरू उहाँको उपस्थितिबाट
निकालिनेछ र उहाँको शत्रु बन्नेछन् (उत्पत्ति २ः१७) । तर तिनीहरूले वास्ता गरेनन् । आदम र हव्वाले परमेश्वरको अनुग्रहलाई मोजमज्जा र आफ्नै महिमाको चाहसँग साटे ।
बाइबलले परमेश्वरको आज्ञाको यस्तो अनाज्ञाकारितालाई “पाप” भन्छन्— चाहे त्यो शब्दमा होस् वा विचारमा होस्, या त कार्यमा होस् । शाब्दिक अर्थमा यो शब्दको अर्थ “निशाना चुकाउनु” भन्ने हुन्छ, तर पापको बाइबलीय अर्थ धेरै गहिरो छ । यो घटना भनेको आदम र हव्वाले परमेश्वरको आज्ञा पालन गर्न चाहँदाचाहँदै अलिकताले निशाना चुकेको जस्तो होइन । सत्यता यो हो कि तिनीहरूले उल्टो दिशातिर तीर हानिरहेका थिए । तिनीहरूका लक्ष्य र चाहनाहरू परमेश्वरले तिनीहरूका निम्ति जे चाहनुभएको थियो त्यसैको विपरित थियो, र तिनीहरूले पाप गरे । तिनीहरूले जानीजानी परमेश्वरको आज्ञा उल्लंघन गरे, उहाँसँगको सम्बन्ध तोडे र परमेश्वरलाई अस्वीकार गरे ।
आदम र हव्वाको पापको परिणाम तिनीहरूका लागि र तिनीहरूका सन्तान र बाँकी सृष्टिको लागी प्रलयकारी साबित भयो । तिनीहरू आफैँ पनि आदर्शपूर्ण अदनको बगैँचाबाट निकालिए । त्यसपश्चात् भूमिले तिनीहरूलाई स्वेच्छापूर्वक र खुसीसाथ आफ्ना फलहरू साथै अनमोल उब्जनीहरू जुटाएन । ती कुराहरू पाउन तिनीहरूले कठोर र कष्टपूर्ण काम गर्नुपर्यो। अझ नराम्रो कुरा,परमेश्वरले तिनीहरूमाथि प्रतिज्ञा गरिएको मृत्युको सजाय कार्यान्वयन गर्नुभयो । उनीहरू त्यसबखत शारीरिक रूपमा मरेनन् । उनीहरूको शरीर जीवित रहिरर्यो, फोक्सोहरूले सास फेर्दै, मुटु धड्किँदै र हातखुट्टा चली नै रहे । तर तिनीहरूको आत्मिक जीवन, जुन सबैभन्दा महत्वपूर्ण छ, तुरुन्तै समाप्त भयो । परमेश्वरसँग तिनीहरूको सङ्गति टुट्यो, र तिनीहरूको हृदय ओइलायो, तिनीहरूको दिमाग स्वार्थी विचारहरूले भरियो, तिनीहरूका आाँखा परमेश्वरको सुन्दरता देख्न नसक्नेगरी अँध्यारो भयो अनि बाँझो र सुख्खा भयो ।
उनीहरू मात्र होइन तर हामी
बाइबलले हामीलाई बताउँछ कि आदम र हव्वामात्र पापको दोषी छैनन्, हामी सबै दोषी छौँ । पावलले रोमी ३ः२३ मा भन्छन्, “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” अनि केही हरफ पछाडि उनी यसो भन्छन्, “धर्मी कोही छैन, एकजना पनि छैन” (३ः१०) । येशू ख्रीष्टको सुसमाचार ठेसलाग्ने ढुङ्गाहरूले भरिएको छ जसमा योचाहिँ सबैभन्दा ठूलो हो । मूलतः आफैँलाई असल र आफैँमा पर्याप्त ठान्ने मानव हृदयका लागि, मानवजाति आधारभूत रूपमा पापी र विद्रोही हुन्छ भन्ने सोचाइ अनैतिक मात्र नभएर घृणित हुन्छ ।
त्यसकारण हामीले हाम्रो पापको प्रकृति र गहिराइलाई बुझ्नु आवश्यक छ । यदि पापलाई त्यसको वास्तविकता भन्दा अर्कै अथवा कम रूपमा सोचेर सुसमाचारलाई बुझ्ने कोसिस गर्यौँ भने हामीले येशू ख्रीष्टको सुसमाचारलाई गलत अर्थ लगाउन सक्छौँ । म तपाईंलाई प्रायः ख्रीष्टियानहरूले कसरी पापलाई गलत अर्थमा बुझ्छन्भ न्ने केही उदाहरण दिन चाहन्छु ।
पाप र पापका असरहरूबीच अन्योल
आजकाल, मानवजातिलाई प्राप्त जन्मजात दोषीपना,अर्थहीनता, उद्देश्यहीनता र रित्तोपनको बोधबाट बचाउन येशू यस संसारमा आउनुभयो भन्दै सुसमाचार प्रस्तुत गर्ने प्रचलन बढेको छ । यी कुराहरू साँच्चीकै समस्याहरू हुन् र धेरै मानिसहरूले यसलाई गहन रूपमा महसुस गर्दछन् । तर बाइबलले सिकाउँछ कि मानवजातिको आधारभूत समस्या त्यो हो जसबाट हामी बचाइनु जरुरी छ— अर्थहीनता वा अलगपन, अथवा दोषीपनाको निराशाजनक
बोध हुनु समेत होइन । तिनीहरू त गहिरो अर्थात् गम्भीर पापको लक्षण हुन् । हामीले यो बुझ्नु आवश्यक छ कि; जुन परिस्थितिमा हामी छौँ, त्यसलाई हामीले नै निम्त्याएका हौँ । हामीले परमेश्वरको वचन पालना गरेनौँ । हामीले उहाँका आज्ञाहरू वास्ता गरेनौँ । हामीले उहाँ विरुद्ध पाप गर्यौँ ।
पापमा गाडिएको अर्थहीनता वा उद्देश्यहीनताको जरा पत्ता नलगाइकन यस्ता कुराहरूबाट मुक्तिको कुरा गर्दा, त्यस्तो औषधी निल्न सजिलो त होला तर त्यो गलत औषधी हो । यसले गर्दा मानिसले आफैलाई पीडित ठानिरहन्छ, अनि ऊ अधर्मी र न्याय गरिनुपर्ने अपराधी हो भन्ने तथ्यलाई सामना गर्न कहिल्यै पनि तयार हुँदैन ।
पापलाई टुटेको सम्बन्धमात्रै ठान्नु
बाइबलमा सम्बन्ध एउटा महत्वपूर्ण पाटो हो । मानवजाति परमेश्वरसँग सङ्गतिमा जिउनको निम्ति बनाइएको थियो। तथापि हामीले के याद राख्नुपर्छ भने मानिस परमेश्वरसँगको विशेष सम्बन्धमा जिउनु पर्नेथियो— दुई पक्षबीचको बराबरीको सम्बन्धमा होइन जहाँ कानुन, न्याय र सजाय अदृश्य हुन्छन्, तर एक राजा र उनका प्रजाहरूबीचको सम्बन्धमा ।
कतिपय ख्रीष्टियनहरूले पापको बारेमा यसरी कुरा गर्दछन्मा नौँ पाप भनेको परमेश्वर र मानिसको सम्बन्धमा भएको सानो मनमुटाव मात्र हो, र मानिसले परमेश्वरसँग माफी मागेर उहाँबाट क्षमा ग्रहण गर्न जरुरी छ । तर प्रेमीहरूको झगडा जस्तो पापक चित्रणले, हामी परमेश्वरको अगाडि जुन सम्बन्धमा छौँ त्यसलाई अर्कै रूपमा प्रस्तुत गरिदिन्छ । यसले के सन्देश दिन्छ भने कुनै कानुन तोडिएको छैन, कुनै न्याय उल्लङ्घन भएको छैन, न त कुनै धर्मी क्रोध छ, न त कुनै पवित्र न्याय— त्यसैले अन्तिम न्याय बोक्नका लागि वैकल्पिक व्यक्तिको आवश्यकता पनि छैन ।
बाइबलको शिक्षा यही हो कि पाप भनेको परमेश्वरसँगको सम्बन्ध टुट्नु हो, र त्यो टुटेको सम्बन्धमा उहाँको राजकीय वैभवलाई अस्वीकार गर्नु पनि समावेश छ । यो व्यभिचार मात्र होइन (यद्यपि यो त्यही हो); विद्रोह पनि हो । विश्वासघात मात्र होइन, राजद्रोह पनि हो । प्रजाले उसको असल अनि धर्मी राजाविरुद्ध गरेको धोकापूर्ण पापको विद्रोहलाई नबुझेर पापलाई केवल सम्बन्ध तोड्नु मात्र हो भन्ने ठान्छ भने, येशू ख्रीष्टको मृत्यु त्यसको समाधानको निम्ति आवश्यक थियो भनेर कहिल्यै पनि बुझ्नेछैन ।
पापलाई नकारात्मक सोचाइ मात्र ठान्नु
पापबारे भएको अर्को गलत बुझाइ यसो भन्नु हो, “यो केवल नकरात्मक सोचाइको कुरा हो” । यो पुस्तकको परिचयमा केही भनाइहरू हामीले देख्यौँ । आफ्नो पुरानो मशक फालिदेओ । ठूलो सोच राख ! तिमीलाई रोकिरहेका ती सबै नकारात्मक मानसिकताहरूलाई तिमीले त्यागिदियौ भने, परमेश्वरले आफ्नो उदेकको अनुग्रह तिमीलाई देखाउन चाहनुभएको छ !
योचाहिँ स्वनिर्भर मानिसहरूका निम्ति सशक्त सन्देश हो जसले आफ्ना सबै पापको समाधान आफै गर्नसक्छु भनी विश्वास गर्दछन् । यस्तो सन्देश घोषणा गर्ने व्यक्तिहरूले संसारका (केही) सबैभन्दा ठूला चर्चाहरू स्थापना गर्न सकेका छन् । त्यो सूत्र धेरै सजिलो छ, मानिसहरूलाई केवल यसो भन कि तिम्रो पाप नकारात्मक सोचाइभन्दा गम्भीर छैन र यसले तिमीलाई स्वास्थ्य, धनदौलत खुसीदेखि रोकिराखेको छ । अनि तिनीहरूलाई भन कि आफ्नो बारेमा बढी सकारात्मक सोच्न थाल्यौ भने (पक्कै पनि परमेश्वरको मद्दतले), तिमीहरूले पापबाट छुटकारा पाउनेछौ अनि धनी हुनेछौ । अनि चर्च ह्वात्तै बढेर भव्य र ठूलो हुनेछ ।
कहिलेकाहीँ प्रतिज्ञा गरिएको लक्ष्य पैसा हुनसक्छ, कहिले स्वास्थ्य त कहिले अर्कै कुरा हुनसक्छ । तर कुरा जसरी घुमाए पनि येशू ख्रीष्ट हामीलाई हाम्रा नकारात्मक सोचबाट बचाउन मर्नुभयो भन्नुचाहिँ बाइबलीय शिक्षा होइन । खासमा, बाइबलले के सिकाउँछ भने हाम्रो समस्या भनेको हामीले आफैलाई अत्यन्त उच्च सोच्छौँ, नीच होइन । एकछिन सोच्नुहोस् त, सर्पले कसरी आदम र हव्वालाई लोभ्यायो ? सर्पले भन्यो कि तिनीहरूले आफ्नै बारेमा नकारात्मक रूपले सोचिरहेका छन् । सर्पले तिनीहरूलाई भन्छन्— “सकारात्मक सोच्नु, आफ्नो पहुँच बढाउनु, पूर्ण क्षमता प्राप्त गर्नतिर लाग्नु किनकि तिमीहरू पनि परमेश्वरजस्तै हुनु जरूरी छ”। अर्को शब्दमा, त्यसले तिनीहरूलाई अझ ठूलो सोच राख्न सल्लाह दियो । त्यसो गर्दा तिनीहरूलाई के भयो ?
पाप र पापहरू बीच अन्योल
आफूलाई पापहरूको दोषीको रूपमा बुझ्नु र पापको दोषीको रूपमा चिन्नमा ठूलो भिन्नता छ । धेरैजसो मानिसहरूलाई आफूले पापहरू (बहुवचन) गरेको छु भन्ने कुरा स्वीकार गर्न त्यति समस्या हुँदैन, जबसम्म तिनीहरूले ती पापहरूलाई असल जीवनमा गरिने छुट्टाछुटट्टै ससाना गल्तीहरूको रूपमा सोच्छन्— सामान्यतया सफा रहेको अभिलेखमा कहिलेकाहीँ पाएको पार्किङ पुर्जीजस्तो । पापहरूले हामीलाई त्यति धक्का दिदैँनन् । हामी जान्दछौँ पापहरू छन्, हामी हरेक दिन तिनलाई आफूमा र अरूमा पनि देख्छौँ, साथै हामीलाई तिनीहरूको बानी परिसक्यो । हामीलाई त्यतिखेर झट्का लाग्छ जब परमेश्वरले हामीलाई थाहै नभएको र आफै मेटाउन नसक्ने भित्री हृदयमा भएको पाप र विकृतिलाई हामीभित्र देखाइदिनुहुन्छ । त्यसरी नै बाइबलले हाम्रो पापको गहिराइ र
अँध्यारोपनाको विषयमा कुरा गर्छ– यो हामीमा छ भन्ने मात्र होइन तर यो हामीभित्र छ, र हाम्रो कारणले छ ।
वासिङ्टनमा अवस्थित राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयको दोश्रो तल्लामा, संसारकै ठूलो भनिएको कुनै खोटरहित गोलाकार क्वार्ट्ज राखिएको छ । त्यसको आकार बास्केटबलभन्दा अलिकति मात्र ठूलो छ अनि त्यसमा कतै पनि कोरिएको वा दाग लागेको अथवा रङ्ग उडेको छैन । त्यो पूर्णरूपमा खोटरहित छ । र धेरैजसो मानिसले मानव–स्वभाव क्वार्ट्जको आकार जस्तै हुन्छ भनी सोच्छन् । हो, कहिलेकाहीँ हामीले त्यसमा फोहोर र माटो दल्छौँ होला तर फोहोरको तहमुनि त्यो सफा नै रहन्छ । त्यसलाई पुछपाछ गर्यो भने त्यसको चमक फेरि पहिलेको जस्तै भइहाल्छ । तर मानव–स्वभावको बाइबलीय चित्र त्यति सुन्दर छैन ।
धर्मशास्त्र अनुसार, मानव स्वभावको गोला निष्कलङ्क छँदैछैन र त्यसमा बाहिर पट्टि मात्र फोहोर लत्पतिएको छैन । बरु, हामी पापले भरिएका छौँ । ती चिराहरू, हिलो, मैलो र फोहोर भ्रष्टताको केन्द्रबिन्दुसम्मै पुगेका छन् । पावलले भनेझैँ, हामी “स्वभावैले क्रोधका सन्तान” हौँ (एफिसी २ः३) । हामी आदमको दोषीपना र भ्रष्टतामा सम्मिलित भएका छौँ (रोमी ५) । येशूले पनि यही शिक्षा दिनुभयो— “हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही, र निन्दा बाहिर निस्कन्छन्” (मत्ती १५ः१९) । तपाईंले बोल्ने पापमय शब्दहरू र तपाईंले गर्ने पापमय कार्यहरू अलग–अलग घटनामात्र होइनन् । त्यो त तपाईंको हृदयको दुष्टताबाट बाहिर निस्की आउँछन् ।
मानव अस्तित्वको हरेक पाटो पापले ग्रसित छ र पापको अधीनमा छ । हाम्रो बुझाइ, हाम्रो व्यक्तित्व, हाम्रा भावनाहरू अनि हाम्रो इच्छासमेत पापको दासत्वमा परेका छन् । त्यसैले पावलले रोमी ८ः७ मा भनेका छन्, “पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो । परमेश्वरको व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुनसक्छ ।” कस्तो अच्चमलाग्दो अनि भयानक वचन ! हाम्रो मस्तिष्क, बुझाइ र इच्छामा पापको यस्तो पूर्ण शासन छ कि— हामी परमेश्वरको महिमा र भलाइलाई देख्छौँ तैपनि अन्तमा गएर घृणाको पिठ्यूँ फर्काउँछौँ ।
येशू हामीलाई पापहरूबाट बचाउन आउनुभयो भनेर मात्र पुग्दैन, यदि हामीले त्यसो भन्दा उहाँ हामीलाई केही ससाना गल्तीहरूबाट बचाउन आउनुभयो भन्ने आशय राख्छौँ भने । जब हामीले हाम्रो स्वभाव नै पापमय छ र पावलले भने झैँ (एफिसी २ः१,५) हामी साँच्चै नै “आफ्ना अपराध र पापहरूद्वारा मरेका” छौँ भन्ने महसुस गर्छौँ— तबमात्र बचाउने बाटो छ भन्ने खबर कति असल छ भनी हामीले बुझ्नेछौँ ।
पाप विरुद्ध परमेश्वरको क्रियाशील न्याय
बाइबलमा रहेको डरलाग्दो भनाइहरूमध्ये एउटाचाहिँ रोमी ३ः१९ मा पाइन्छ । पावलले सबै मानवजातिमाथि लगाएको अभियोगको अन्तिममा यो वचन आएको छ— पहिला अन्यजाति, अनि यहूदीमाथि— परमेश्वरको सामुन्ने अति धर्मी र पापको अधीनमा भएको कारण । यस विषयमा निष्कर्षको रूपमा पावलले यसो भनेका छन्— “हरेक मुख चूप रहोस्, सारा संसार परमेश्वरको अघि जवाफदेही होस्” ।
त्यसको अर्थ के हुनेछ भनेर सोच्न सक्नुहुन्छ ? परमेश्वरको अघि उहाँभन्दा कुनै स्पष्टीकरण, दलिल, बहना या तर्क केही नहुनु ? अनि “परमेश्वरप्रति जवाफदेही हुनु” भन्नाले के बुझिन्छ ? यस विषयमा बाइबल स्पष्ट छ, जुन हामीले अघिल्लो अध्यायमा देख्यौँ, परमेश्वर धर्मी अनि पवित्र हुनुहुन्छ, त्यसकारण उहाँले पापलाई त्यसै छोड्नुहुन्न । तर परमेश्वरको लागि पापको लेखा राख्नु भन्नाले के बुझाउँछ, त्यसको न्याय गर्नु वा सजाय दिनु ? रोमी ६ः२३ ले भन्छ,
“पापको ज्याला मृत्यु हो” । अर्को शब्दमा, हाम्रो पापको लागि हामीले तिर्ने ज्याला भनेको हामी मर्नु हो । शारीरिक मृत्यु मात्र होइन, त्यो आत्मिक मृत्यु पनि हो, धर्मी र पवित्र परमेश्वरको उपस्थितिबाट पापले भरिपूर्ण तुच्छ अस्तित्वलाई बलपूर्वक अलग गरिनु हो । यसलाई अगमवक्ता यशैयाले यसरी बयान गरेका छन् :
“तर तिनीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट
अलग गरेका छन्,र तिमीहरूका पापले गर्दा उहाँको मुहार
तिमीहरूबाट छेकिएको छ,र उहाँले तिमीहरूको कुरा
सुन्नुहुनेछैन” (यशैया ५९ः२) ।
कहिलेकाहीँ मानिसहरू यस विषयमा यसरी कुरा गर्दछन्कि मानौँ यो परमेश्वरको निष्कृय र मौन अनुपस्थिति मात्र हो । तर सत्यता धेरै गहिरो छ । यो त पाप विरुद्ध परमेश्वरको सक्रिय न्याय हो, अनि बाइबलले भन्छ, यो अति भयानक हुनेछ । प्रकाशको पुस्तकले परमेश्वरको न्यायको दिन कस्तो हुनेछ भनेर यसरी बयान गरेका छन्, हेर्नुहोस् । सात स्वर्गदूतहरूले “परमेश्वरका क्रोध…पृथ्वीमाथी खन्याउनेछन्,” अनि “पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्” (प्रकाश १६ः१; १ः७) । तिनीहरूले पहाडहरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि उहाँहरूको क्रोधको ठुलो दिन आएको छ, यसको अगि को खडा हुन सक्छ ?” (प्रकाश ६ः१६–१७) । तिनीहरूले राजाहरूका राजा, प्रभुहरूका प्रभु, येशूलाई देख्नेछन्, र तिनीहरू डरले लुक्नेछन्, किनकि “सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख–कुण्ड उहाँले कुल्चनुहुन्छ” (प्रकाश १९ः१५) ।
बाइबलले हामीलाई सिकाउँछ कि पश्चाताप नगर्ने अख्रीष्टियान पापीहरूका लागि अन्तिम नियति भनेको अनन्त सचेत यातनाको ठाउँ हो जसलाई “नरक” भनिन्छ । प्रकाशको पुस्तकले यसलाई “आगो र गन्धकको कुण्ड” भनेर बयान गरेका छन्, र येशूले त्यसलाई “ननिभ्ने आगो” भएको ठाउँ भनेका छन् (प्रकाश २०ः१०; मर्कूस ९ः४३) ।
बाइबलले नरकको बारेमा जसरी कुरा गरेको छ र त्यसका विषयमा हामीलाई चेतावनी दिएको छ, त्यस अर्थमा केही ख्रीष्टियानहरूले नरकलाई सहन सकिने ठाउँ भने जस्तो गरी व्याख्या गरेको देख्दा मलाई असजिलो महसुस हुन्छ । जब प्रकाशको पुस्तकले येशूले सर्वशक्तिमान् परमेश्वरका क्रोधको दाख–कुण्ड कुल्चनुभएको बारे बोल्छ, जब येशू स्वयम्ले “ननिभ्ने आगो…जहाँ न कीरा मर्दछन्अ नि न आगो नै निभ्दछ” (मर्कूस ९ः४३,४८) भनी चेतावनी दिनुहुन्छ । मेरो प्रश्नचाहिँ किन कुनै ख्रीष्टियानलाई त्यो दण्ड अलि कम डरलाग्दो बनाउने इच्छा लागेको होला ? किन हामी पापीहरूलाई नरक त्यति भयानक छैन होला भन्ने विचारले सान्त्वना दिन्छ होला ?
यी कुराहरूलाई हामीले केवल कल्पना मात्र गरेका होइनौँ
बाइबलले परमेश्वरको न्यायको बारेमा कुरा गर्दा प्रयोग गरेका चित्रहरू साँच्चै नै भयानक छन् । नरकसम्बन्धी गरिएको बाइबलीय वर्णनलाई ख्रीष्टियानहरूले विश्वास गरेकोमा संसारले “खिल्ली उडाँउदा” कुनै आश्चर्य मान्नुपर्दैन। खासमा कुरा त्यसो होइन । यी कुराहरू हामीले आफैँ कल्पना गरेका होइनौँ । त्यस्तो सोच्दा आनन्द मिल्छ भनेर ख्रीष्टियानहरूले नरकको बारेमा पढ्ने वा विश्वास गर्ने गर्दैन । परमेश्वरले त्यसो गर्नदेखि रोक्नुभएको होस् । हामी त बाइबलमा विश्वास गर्ने भएका कारण नरकको बारेमा कुरा गर्दछौँ । जब बाइबलले नरक वास्तविकता हो भनी भन्छ, हामी विश्वास गर्छौँ । दुखका साथ यो पनि विश्वास गर्छौँ कि हामीले प्रेम गरेका मानिसहरू नरकमा अनन्त समय बिताउने खतरामा छन् ।
यो बाइबलको वचन अनुसार हुने फैसला हो । हामी कोही पनि धर्मी छैनौँ, एकजना पनि छैनौँ । त्यसैकारण एक दिन हरेक मुख निरुत्तर पारिनेछ, चल्मलाउने प्रत्येक जिब्रो रोकिनेछ, अनि सारा संसार परमेश्वरप्रति जवाफदेही पारिनेछ ।
– ग्रेग गिल्बर्टद्वारा लिखित सुसमाचार के हो ? नामक पुस्तकबाट साभार गरिएको।