एक प्रचारक आफ्नो मञ्चमा उभिन्छन् र सामूहिक भेलालाई गम्भीरतापूर्वक हेर्छन् । प्रचार गर्नुअघि उनले मानिसहरूलाई हात उठाएर सामूहिक प्रतिक्रिया दिनको लागि आह्वान गर्छन् तर कसैले पनि हात उठाउँदैनन् न त केही प्रतिक्रिया नै दिन्छन् । मानिसहरूको यस अशिष्ट व्यवहारप्रति त्यस प्रचारक भने अन्जान नै रहन्छन् किनकि उसले टेलिभिजनबाट प्रचार गरिरहेका थिए ।
विभिन्न स्थानहरूमा शाखाहरूलाई स्थापित गरेका यस मल्टि साइट चर्चका पास्टरले नजिकैको क्याम्पसमा केही सर्वेक्षण गर्नको लागि मलाई नियुक्त गरेका थिए । मैले उनको सेवकाइलाई बुझ्न सकोस् भनेर ग्रामीण भेगका सेवकाइहरूमध्ये एक क्षेत्रमा उनले मलाई भ्रमण गर्न लगाएका थिए । तर त्यस भ्रमणले मेरो मनमा यो विचारलाई पैदा गर्यो कि यसप्रकारको सेवकाइले एक प्रचारकलाई आफ्नो सामूहिक भेलासम्बन्धी बुझ्नको लागि केही मदत गर्दैन ।
मलाई थाहा छैन तपाईंले भिडियो भेन्यु र मल्टि साइट चर्चहरू (यी चर्चहरूले विभिन्न ठाउँहरूमा जस्तै, प्रमुख शहरहरू, राज्यहरू, कलेजहरू र साना समूहको कोठाहरूमा विभिन्न शाखाहरू स्थापित गरेका हुन्छन् र यी सबै शाखाहरूमा एकै समयमा टेलिभिजन मार्फत वचन प्रचार र आराधनाको प्रसारण गरेर सङ्गति गर्ने गर्दछन्) को बारेमा कस्तो विचार
गर्नुहुन्छ । तर त्यस ग्रामीण ठाउँमा रहेका चर्चको बारेमा मेरो अनुभव, साथै यसप्रकारको चर्चहरूका प्रचारक र बगाल बीचको सम्बन्ध, साथै साना तथा ठूला चर्चहरूमा रहेको दुबिधाका बारेमा रहेको मेरो चासोलाई यसले पुस्टि गरिदियो ।
वास्तवमा भन्नुपर्दा यसप्रकारको दुबिधा मल्टि साइट वा भिडियो भेन्यु चर्चमा मात्र सीमित छैन । सङ्ख्यात्मक रूपमा वृद्धि भइरहेको चर्चका पास्टरहरूले आफ्ना बगालसँग सधैँ परिचित रहनको निम्ति सङ्घर्ष गरिरहेका हुन्छन् । त्यसैगरी अर्कोतर्फ आफ्नो बगालबाट अझ बढी अलग बन्दै जाने परीक्षामा पनि परिरहेका हुन्छन् । अवश्य पनि, सानो चर्चकै प्रचारक भए पनि आफ्ना चर्चको सबैसँग घनिष्ट सम्बन्ध हुन असम्भव छ, र ठूला चर्चका पास्टरहरूलाई पनि सबैको बारेमा जान्न असम्भव छ । तर यो भन्दै गर्दा, ती प्रचारकहरू जो बगालको हेरचाह गर्नुभन्दा बढी प्रचार गर्नमा मात्रै केन्द्रित हुन्छन्, जो आफ्नो बगालसँग थोरैमात्र सहभागी भईरहेका छन् तिनीहरूले आफूले वास्तवमै गर्न चाहेको वा गर्नुपर्ने कार्यलाई भने उपेक्षा गरिरहेका हुन्छन् । किनकि असल प्रचारको लागि नजिकबाट आफ्नो बगालको हेरचाह गर्न अत्यावश्यक छ ।
प्रचारको सेवकाइलाई प्राणको वास्ता गर्ने सेवकाइबाट अलग गर्न सकिँदैन । वास्तवमा भन्नुपर्दा, प्रचार भनेको प्राणको निम्ति वास्ता विस्तार गर्नु हो । प्रचार गर्न चाहने पास्टरहरूले आफ्ना बगाललाई जान्नुपर्ने धरै कारणहरू छन् तर तीमध्ये तीन अत्यन्तै महत्वपूर्ण कारणहरू यसप्रकार छन् :
१) अर्थपूर्ण प्रचारले मानिसहरूको मूर्तिको बारेमा ध्यान पुर्याउँछ
म विभिन्न चर्च सेवा र सम्मेलनहरूमा प्रचार गर्नको लागि यात्रा गरिरहने भएकोले गर्दा, मलाई निमन्त्रणा गर्ने पास्टरहरूलाई म प्रायः यो प्रश्न सोध्ने गर्छु कि, तपाईंको मानिसहरूको मूर्ति के हो ? “म त्यस चर्चमा गएर केवल आफ्नो कार्यभारलाई मात्र पूरा गरेर फर्किन चाहन्न तर त्यस चर्चका पास्टरलाई अवगत भएसम्म र उनले मलाई जानकारी दिएसम्म, त्यहाँका मानिसहरूमाझ रहेको मूर्ति जस्तैः भक्तिमा ख्रीष्टलाई आफ्नो सबैभन्दा ठूलो सन्तुष्टिको रूप ठान्नुको सट्टामा अन्य आफ्ना लक्ष्य वा आशालाई सबैभन्दा ठूलो सन्तुष्टि ठानिरहेको पापलाई म देखाइदिन चाहन्छु । तर दुखको कुरा धेरैजसो पास्टरहरू यस बारेमा अन्जान हुन्छन् ।
जब पावल रोममा पुगे तब उनले एथेन्स शहर पूरै मूर्तिहरूले भरिएको देखे (प्रेरित १७ः १६) । उनले यस कुरालाई केवल दार्शनिक समस्या मात्र नभएर आत्मिक समस्याको रूपमा बुझे जसलेगर्दा उनलाई धेरै व्याकुल बनायो । र पावलले मानिसहरूलाई यस कुराको बारेमा निश्चित रूपमा बताए (१७ः २३ ) । हामी पाउँछौ कि जब पावलले आफ्ना पत्रहरूमा निश्चित चर्चहरूलाई लेखे तब उनले साधारण रूपमा त्यस चर्चमा रहेका पापहरूलाई बताएका छैनन् तर चर्चमा रहेको पाप र झूटा कुराहरूलाई पनि बताइदिएका छन्, कारण ती चर्चहरूमा के भइरहेको छ भनेर पावललाई थाहा थियो ।
यसको मतलब यो हैन कि पुलपिटबाट तपाईंले मानिसहरूको पापलाई पर्दाफास गरिदिएर तिनीहरूलाई लाजमा पार्नुपर्दछ । तर यसको मतलब त यो हो कि तपाईं आफ्नो बगालसँग नजिक रहनुपर्छ ताकी आफ्नो बगाल र बगालमा रहेको समस्याप्रति तपाईं सधैँ जानकार हुनुभएको होस् ।
जबसम्म पास्टरले आफ्ना मानिसहरूसँग गुणस्तरीय समय बिताउँदैनन् तबसम्म उसले प्रचार गरिरहेको मूर्तिहरू जसलाई सुसमाचारद्वारा हटाउँदै जानुपर्ने हुन्छ ती सबै एउटा सैद्धान्तिक कुराहरू मात्र हुनेछन् । साधारणतया हरेक मानिसहरूसँग आफ्नै मूर्तिहरू हुन्छन् । तर ती समुदाय जहाँ चर्च अवस्थित छ, त्यस स्थानमा चर्च आफैले पनि एक सूक्ष्म संस्कृतिको रूपमा त्यस ठाउँमा रहेको मूर्तिहरू र पापमय कार्यहरूलाई निर्मूल पार्ने काम गरिरहेको हुन्छ ।
तपाईंको बगाल आर्थिक रूपमा, पारिवारिक आशाको कुराहरूमा र आफ्नो भविष्यमा निर्देशित भइरहेका छन् भनेर तपाईंलाई थाहा भएमा यसले तपाईंलाई प्रचार गर्न सहज बनाउँछ । यसले तपाईंलाई ठिक वचनलाई रोज्न र वचनबाट ठिक तरिकाले व्याख्या गर्न मद्दत मिल्नेछ । यसले तपाईंको प्रचारलाई केवल एउटा व्यायाम मात्र नभएर सेवकाइको रूपमा स्थापित गर्दछ ।
२) अर्थपूर्ण प्रचारले मानिसहरूको पीडालाई हृदयमा राख्दछ
म यो कुरा तपाईंलाई बताउन चाहन्छु कि जबदेखि मैले मर्दै गरेका मानिसहरूको हात समाउन थाले र रुदै गरेका मानिसहरूको हृदयको आवाजलाई सुन्न थाले तबदेखि मेरो प्रचारमा परिवर्तन आयो । तपाईंले मानिसहरूको पाप, डर, चिन्ता र चोटहरूलाई पर्याप्त मात्रमा नसुनेसम्म तपाईंको प्रचार उत्कृष्ट र जोसिलो त होला तर यसले तपाईंको श्रोता र तपाईं बीच प्रतिध्वनि भने गर्दैन ।
यो राम्रो कुरा हो कि धेरै प्रचारकहरूले पुल्पिटमा परमेश्वरको वचनको बोझलाई बोकेका हुन्छन् । ख्रीष्टको तातो महिमाले भरिपूर्ण प्रचारको आवरणलाई पहिरिएर, सुसमाचारमा परमप्रभुको निगाहाको बारेमा घोषणा गर्नु महान् र अद्भूत कार्य हो । तर प्रचारकहरूले पुल्पिटमा आफ्ना मानिसहरूको बोझलाई पनि महसुस गर्नुपर्दछ ।
प्रचार गर्नलाई आफै आफ्ना मानिसहरूको त्यस घाँटीमा पुगेर त्यस घाँटीभन्दा माथि उठ्नुपर्छ । उनको वचनको पाण्डुलिपि उसको मानिसहरूको आँशुले भिजेको हुनुपर्छ ।
आफ्ना मानिसहरूलाई हरेक दिन के कुराले कष्ट दिइरहेको छ भनेर जान्नुले प्रचारकलाई आफ्ना मानिसहरूप्रति बहिरो बनाउँदैन । उनले लापरवाही गर्दैन । र यसले उनले प्रयोग गर्ने उदाहरण, कथा र शब्दहरूको बयान गर्ने तरिकालाई पनि असर गर्छ । प्रचारकहरूले सङ्घर्षरत मानिसहरूको मजाक उडाएको मैले देखेको छु । कुनै समयमा म पनि त्यस्तै थिएँ । हामी मानिसहरूको बोझ उनीहरूबाट उठाउनको निम्ति आउँछौँ तर यस्ता लापर्बाही शब्दहरूले गर्दा अझ बोझलाई थपी दिन्छौँ ।
प्रचारक, के आफ्ना मानिसहरूप्रति तपाईंको हृदय साँचो छ ? मैले यहाँ भन्न खोजेको “के तपाईं मानिसहरूले रुचाएको व्यक्ति हुनुहुन्छ ?” भन्ने होइन तर आफ्ना मानिसहरूको जीवनमा के भइरहेको छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? र के यसले तपाईंलाई व्याकुल बनाउँछ ? रुनेहरूसँग के तपाईं कहिल्यै रुनुभएको छ ? यदि छैन भने तपाईंको प्रचारले यी कुराहरू समयसँगै देखाइदिनेछ ।
मानिसहरूका पापप्रति मोशा व्याकुल भएको कुरालाई सम्झनुहोस् (प्रस्थान ३२ः३२) वा पावलको आँशुलाई (प्रेरित २०ः३१, २ कोरिन्थी २ः४, फिलिप्पी ३ः१८, २ तिमोथी १ः४) र येशूको दयालाई पनि सम्झनुहोस् । आफ्ना मानिसहरूलाई नजानीकन नै तपाईंले यी भावनाहरू आफ्ना मनमा ल्याउन सक्नुहुन्छ भनेर तपाईंले विश्वास गर्नुहोला तर त्यो उस्तै कुरा हैन विशेषगरी तपाईंको मानिसहरूको निम्ति । यो उस्तै यस ढङ्गमा हुँदैन जसरी आफूले नमुनाको रूपमा ठानेको व्यक्तिबाट उत्साहपूर्ण कुरा सुन्नु आफ्नो बुबाबाट सुनेको जस्तो हुँदैन । आफ्ना मानिसहरूको बोझलाई नबोकिकन वचन प्रचार नगर्नुहोस् ।
३) अर्थपूर्ण प्रचारले आफ्ना मानिसहरूको नाउँलाई प्रार्थनामा राख्दछ
हरेक विश्वासयोग्य प्रचारकहरूले आफ्नो वचनको लागि प्रार्थना गर्दछ । परमेश्वरको वचन व्यर्थ नहोस् भनेर तिनीहरूले प्रार्थना गर्दछन् (यशै ५५ः ११) । मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरुन् भनेर प्रार्थना गर्दछन् । मानिसहरूको आत्मा बाँचोस् र जीवन परिवर्तन होस् भनेर तिनीहरूले प्रार्थना गर्दछन् र यो असल प्रार्थना हो । आफ्ना चर्चको कुनै एक व्यक्ति र उनका परिवारलाई ध्यानमा राखेर तयार गरिएको वचन अझ उत्तम हुन्छ । अझ भन्नुपर्दा निश्चित रूपमा नाम तोकेर कोही व्यक्तिको उद्धार, अर्को व्यक्तिको पश्चाताप र कसैको चङ्गाइको निम्ति प्रार्थना गर्नु बढी उत्तम हुन्छ ।
आफ्नो वास्तामा रहेका मानिसहरूलाई उनले आफ्ना प्रार्थनामा सम्झिरहेका छन् भनेर बारम्बार पावलले बताएका छन् (एफिसी १ः६, तिमोथी १ः३, फिलेमान १ः४) । पावलले बारम्बार नामहरू उल्लेख गरिरहेका हुनाले हामी जान्दछौँ कि उनले साधारण ढङ्गमा भनिरहेका थिएनन् । पावल, चर्च स्थापना गर्ने व्यक्ति भएकाले नजिकबाट हेरचाह गर्नको लागि उनको वास्ता सूचीमा केवल एउटा चर्चमात्र थिएन तर टाढैबाट भए पनि आफ्ना वास्तामा रहेका मानिसहरूलाई जान्ने र सक्दो तिनीहरूकहाँ जानको लागि उनले परिश्रम गरे । अब हामी यो कुरामा विचार गरौँ कि स्थानीय चर्चका पास्टरहरूले आफ्ना मानिसहरूसँग कति बढ्ता गरेर सम्बन्ध वृद्धि गर्नुपर्छ । यी पास्टरहरूले आफ्ना मानिसहरूको नाउँ अनिवार्य जान्नुपर्छ र प्रार्थनामा उनीहरूको नाउँ स्वर्गमा पुर्याउनुपर्छ ।
तपाईंले कसलाई प्रचार गरिरहनुभएको छ भनेर जान्नु महत्वपूर्ण छ । यो नाउँ गरेको दिदीले तपाईंको प्रचारलाई मन पराउँदैन भनेर तपाईंलाई थाहा हुनु आवश्यक छ । आफ्नो हात बाँधेर, तिखा आँखाले तपाईंलाई हेरिरहेको दाइ वास्तवमा तपाईंसँग क्रोधित छैन तर उसले यसरी नै वचन सुन्छ । तपाईंको अघि बसेर मुस्कुराँउदै तपाईंलाई सुनिरहेको एक जना महिलाले तपाईंले बोलिरहेको कुराहरू केही याद गर्दैनन् भन्ने कुरा तपाईंलाई थाहा हुनु आवश्यक छ । जब तपाईंलाई यी सबै कुराहरू थाहा हुन्छ तब आफ्ना मानिसहरूको लागि अझ गहिरो, व्यक्तिगत, पास्टरीय शैलीमा प्रार्थना गर्न सक्नुहुन्छ र यसले तपाईंको प्रचारलाई अझ मजबुत बनाउँछ । तपाईंको प्रचार केवल तपाईंको दिमाग र मुखबाट नभएर हृदय, प्राण र अन्तस्करणबाट निस्किन्छ ।
अवश्य पनि यी सबै कुरा तपाईंको रुचि यसप्रकारको प्रचारमा छ भन्ने अनुमान मात्र हुन् । यदि तपाईंले प्रचारलाई मानिसहरूमाझ परमेश्वरको वचनको साक्षीको रूपमा नहेरेर
साधारण रूपमा इच्छुक मानिसहरूको लागि आत्मिक श्रोत, धार्मिक मानिसहरूको लागि उत्साहपूर्ण कुराकानीको रूपमा बुझ्नुभएको छ भने, तपाईंले माथिका सबै कुरालाई बेवास्ता गर्न सक्नुहुन्छ ।