यस संसारका सबै घटनाहरूमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ । “सप्कोमा चिट्ठा त हालिन्छ, तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ” (हितोपदेश १६ः३३) । आधुनिक भाषामा भन्नुपर्दा, “चिट्ठा हालिएको छ तर हरेक दाउ प्रभुले नै निर्धारण गर्नुहुन्छ ।” त्यस्तो कुनै घटनाहरू छैन जसको निर्धारण उहाँले आफ्नो उद्देश्यको निम्ति गर्नुहुन्न । “के एक पैसामा दुई भँगेरा बिक्दैनन् ? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भुइँमा खस्ने छैन । तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्” (मत्ती १०ः२९–३०) । जुवामा पार्ने हरेक दाउ, जङ्गलमा भुईमा खस्ने हजारौँ साना चराहरू— यी सबै परमेश्वरको आज्ञाद्वारा हुन्छन् ।
भुईमा घस्रने किराहरूदेखि आकाशमण्डलमा रहेका ताराहरू र सम्पूर्ण प्राकृतिक संसारमा परमेश्वरले नै शासन गर्नुहुन्छ । योनाको पुस्तकमा, परमेश्वरले माछालाई मानिसलाई निल्न आज्ञा गर्नुहुन्छ (१ः१७, बिरुवालाई उम्रन आज्ञा गर्नुहुन्छ (४ः६ सोही बिरुवालाई मार्नको लागि किरालाई आज्ञा गर्नुहुन्छ (४ः७ ) । यी माछा, बिरुवा र किराहरूको जीवनभन्दा पनि धेरैमाथि परमेश्वरको आज्ञामा ताराहरू आआफ्नो स्थानमा रहन्छन् र त्यहीँ अडिन्छन् । “तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन् ? उहाँले नै होइन र, जसले पुञ्जलाई एक–एक गरी ल्याउनुहुन्छ र प्रत्येकलाई नाउँ काढी बोलाउनुहुन्छ । उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरूमध्ये एउटै पनि हराउँदैन्” (यशैया ४०ः२६) । यदि आकाशमण्डलले परमेश्वरको आज्ञा मान्दछन् भने यस संसारका प्राकृतिक घटनाहरूले झन् कति बढी उहाँको आज्ञा मान्लान् ।
“उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिले दौडन्छ । उहाँले ऊन जस्तै गरी हिमपात गराउनुहुन्छ, अनि तुसारो खरानीझैँ छरिदिनुहुन्छ । उहाँले असिना कङ्कड झैँ बर्साउनुहुन्छ, उहाँका कठ्याङ्ग्रिने चिसो बतासमा को टिक्न सक्छ । उहाँले आफ्नो वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ, उहाँले आफ्नो बतास चलाउनु हुन्छ र पानी बग्न थाल्छ” (भजनसंग्रह १४७ः१५–१८) ।
“उहाँले बादललाई बाफको भारी बोकाउनुहुन्छ, र उहाँले आफ्नो बिजुली तीद्वारा छरपष्ट पार्नुहुन्छ । “तिनीहरू सम्पूर्ण पृथ्वीमाथि उहाँको निर्देशनमा घुम्दै रहन्छ, उहाँले अह्राएका सबै काम गर्नलाई । परमेश्वरले पृथ्वीलाई भिजाउनलाई वृष्टि पठाउनुहुन्छ, मानिसहरूलाई दण्ड दिन अथवा आफ्नो निगाह देखाउन पनि, उहाँले त्यो पठाउनुहुन्छ” (अ्ययूब ३७ः११–१३) ।
हिउँ, झरी, गर्मी र हावाहुरी यी सबै परमेश्वरकै कार्यहरू हुन् । त्यसैले उग्र आँधीको बिचमा हुँदा पनि येशूले यतिमात्र भन्नुहुन्छ, “‘शान्त हो ! रोकिजा !’ अनि बतास थामियो र ठूलो सन्नाटा छायो” (मर्कूस ४ः३९) । येशूले “शान्त हो” भनेर आज्ञा गर्नुहुँदा उहाँको आज्ञालाई नमान्ने त्यस्तो कुनै हुरी, झरी र तुफान छैन । यसको मतलब, यदि त्यो बहन्छ भने उहाँको इच्छामा त्यो बहन्छ । “कुनै सहरमा के तुरही फुकेपछि मानिसहरू डराउँदैनन् र ?” (आमोस ३ः६) । यी आँधी, तुफान र झरीलाई येशूले केवल “शान्त हो” भन्दा त्यहाँ कुनै भौतिक र मानवीय क्षति हुने थिएन ।
त्यसो भए यस जीवनको अन्य दुखहरूको बारेमाचाहिँ के भनौँ त ? परमेश्वरले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो ? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ ? के म परमप्रभुले नै होइन र ?” (प्रस्थान ४ः११) । त्यसैगरी एशियामा कष्ट भोगिरहेका सन्तहरूलाई पत्रुसले भने, “यसकारण परमेश्वरको इच्छा बमोजिम दुःख भोग्नेहरूले भलाइ गरून् र तिनीहरूले आफ्ना आत्मा विश्वासयोग्य सृष्टिकर्ताकहाँ सुम्पून्” (१ पत्रुस ४ः१९) । यदि परमेश्वरको यस्तै इच्छा छ भने, खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो (१ पत्रुस ३ः१७) ।
चाहे हामी शारीरिक अशक्तताबाट वा अरूको दुष्टताको कारण, वा अरू नै कारणबाट कष्टमा परौँ, यी सबै कुराको अन्तिम निर्णय परमेश्वरले नै गर्नुहुन्छ । हामी मरौँ वा बाँचौँ यसको निर्णय पनि परमेश्वरले नै गर्नुहुन्छ । व्यवस्था ३२ः३९ ले भन्छ, “म बाहेक अरू कोही ईश्वर छैन । म नै मार्छु, र म नै जीवित पार्छु । म नै चोट लाउँछु, र म नै निको पार्छु, र कसैले मेरो हातबाट छुटाउन सक्दैन ।” हाम्रो दैनिकी जीवनमा पनि सोही कुरा लागू हुन्छ । याकूब ४ः१३–१५ ले भन्छ,
“आज वा भोलि हामी फलानो सहरमा जाऔँला, त्यहाँ एक वर्ष बिताऔँला र व्यापार गरेर नाफा गरौँला” भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ । तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइ हाल्छ । यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौँला र यस्तो–उस्तो गरौँला ।” वा जसरी अ्ययूबले भनेका छन्, “म आफ्नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु । परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्” (अ्ययूब १ः२१) ।
जुवामा पर्ने हरेक दाउ, चराको मृत्यु, किराको घस्राइ, ताराको चाल, हिउँको बर्सात, हावाको बहाव, सन्तहरूको कष्ट, दृष्टि कम्जोर हुनु र ठूलादेखि साना सबै कुराहरूको मृत्यु—यी सबै परमेश्वरको वचनमा समेटिएका छन्— “र मैले चाहेको सबै पूरा गर्नेछु” ।