‘गोठालोको रूपमा एल्डर’ नमुनाको पहिलो आमूल परिवर्तनकारी अर्थ यो हो, कि एल्डरहरूले चर्चका सदस्यहरूसँग सम्बन्ध गाँस्नुपर्छ ।
केहीबेर रोकिनुहोस् र एउटा साँच्चैको गोठालोको कल्पना गर्नुहोस् । वास्तविक रूपमा वा कुनै चलचित्रमा तपाईंले गाउँतिर कुनै गोठालाले काम गरिरहेको देख्नुभएको होला । सायद तपाईंले वास्तविक गोठालोलाई देख्नुभएको छैन होला, तर बाइबलमा गोठालाहरूको बारेमा पढ्नुभएको होला, यही आधारमा मनमा चित्र कोर्नुहोस् । के तपाईं एकजना बझाङ्गे गोठालाले हराभरा खर्कमा आफ्नो बगाल लगिरहेको कल्पना गर्न सक्नुहुन्छ ? अथवा तपाईंले भजनसंग्रह २३ बाट भन्नुहोला र गोठालाले आफ्ना भेडाहरूलाई हरियो खर्कमा सुताएको र शान्त पानीको मूलमा पियाएको कल्पना गर्नुहुन्छ होला ।
हामीले जे कल्पना गरे पनि, हाम्रो दिमागको पर्दामा कम्तिमा पनि एउटा साझा तस्बिर हुन्छ । ती सबैमा, गोठालाचाहिँ भेडाहरूको माझमा हुन्छ । ऊ टाढा अन्त कतै जाँदैन । ऊ त ती जनावरहरूकै माझमा हिँडिरहेको, तिनीहरूलाई छोइरहेको र तिनीहरूसँग बोलिरहेको हुन्छ । गोठालोले आफ्नो भेडाहरूलाई चिन्छ, किनभने ऊ भेडासँगै बस्छ । परिणामस्वरूप, ऊ भेडाजस्तै गन्हाउने पनि हुन्छ ।
अब, वास्तविक गोठालाहरूको कल्पना गर्नुको सट्टामा केवल प्रभु येशूको बारेमा सोच्नुहोस् । सुसमाचारका पुस्तकहरूमा हामी येशूलाई निरन्तर मानिसहरूको माझमा देख्दछौँ । व्यक्तिगत प्रार्थनाका अवधिहरूमा बाहेक, प्रभु येशूले आफ्ना सम्पूर्ण समय चेलाहरू र भीडहरूसँग बिताउनुभएको देखिन्छ । जहाँ गए पनि उहाँले मानिसहरूलाई छुनुभयो, सिकाउनुभयो र तालिम दिनुभयो । असल गोठालो, येशूले भेडाको निम्ति आफ्नो जीवन अर्पण मात्र गर्नुभएन, तर उहाँ तिनीहरूसँग रहनु पनि भयो ।
जसरी वास्तविक गोठालाहरू आफ्ना बगालको माझमा बस्छन् र आफ्ना भेडाहरूलाई चिन्छन्, र जसरी येशूले आफ्ना चेलाहरूसँगको सम्बन्धमा आफूलाई खुला बनाउनुभयो, त्यसरी नै एल्डरहरू चर्चका सदस्यहरूसँग जिउँछन् । तिनीहरूले मानिसहरूलाई आफ्नो सेवकाइको रूपमा हेर्छन् । अबका अध्यायहरूले एल्डर पदका विविध भागहरूको चर्चा गर्नेछन्, तर ती सबैले यस कुरालाई स्वीकार गर्दछन्, कि एल्डरहरू आफ्ना दाजुभाइ र दिदीबहिनीसँग नजिकको सम्बन्धमा रहेर जिउँछन् ।
अहिलेको लागि, एउटा उदाहरण लिऔँ— आतिथिसत्कार । हामीले अघिल्लो अध्यायमा देखेजस्तै, पावलले प्रस्तुत गरेका निरीक्षकको योग्यताका दुवै सूचीले यो माग गर्दछ, कि त्यो पदको चाहना गर्ने व्यक्ति आतिथिसत्कार गर्ने हुनुपर्दछ (१ तिमोथी ३ः२; तीतस १ः८) । अतिथिसत्कारको गुणमा किन यतिधेरै जोर दिइएको ? अतिथिसत्कार गर्ने गुणले उदार हृदय र सेवा गर्ने भावना प्रकट गरिदिन्छ, तर यसले यो कुरा पनि देखाउँछ, कि एक निरीक्षक आकाङ्क्षी मानिसहरूसँग रहन चाहन्छ र मानिसहरूलाई आफ्नो जीवनमा स्वागत गर्ने तरिकाहरू खोज्छ । चर्चले अतिथिसत्कार गर्ने मानिसलाई एल्डरको रूपमा नियुक्त गर्यो भने, ऊ मानिसहरूको माझमा रहन चाहने सम्भावना बढी हुन्छ ।
त्यसको विपरीत, ‘सल्लाहकारको रूपमा एल्डर’ नमुनाअनुसार काम गर्ने निरीक्षकहरू मानिसहरूको माझमा हुनुपर्दैन । तिनीहरू मासिक बैठकहरूमा उपस्थित हुन, समितिका विवादहरूमा सहभागी हुन, मतदान गर्न र आफ्ना कर्तव्यहरू पूरा गरेको महसुस गर्दै घर जान सक्छन् । यो नमुना प्रबल भएको अवस्थामा, चौध महिनासम्म बेरोजगार भएर निराश बनेको सदस्यलाई, लागूपदार्थको कुलतमा पुनः फस्ने परीक्षाहरूमा सङ्घर्ष गर्ने भाइलाई वा गैर-ख्रीष्टियान केटासँग गम्भीर सम्बन्धमा फसेकी र त्यसमा कुनै गल्ती नदेख्ने बहिनीलाई के भन्नुपर्ने हो भन्ने विषयमा ती एल्डरहरूले हात हाल्नुपर्दैन ।
तिनीहरू सोच्छन्, “यी समस्याहरू समाधान गर्नको लागि हामीले पास्टर राखेका होइनौँ र ?”
वास्तवमा तपाईंले पनि ती जिम्मेवारीहरू पास्टरकै हुन् भनी सोच्नुभएको होला । यदि तपाईं साधारण एल्डर हुनुहुन्छ भने, तलबी पास्टरसँगै बगालभित्र छिरेर चर्चलाई सहायता गर्दै, हृदयदेखि नै पास्टरीय सेवकाइ गर्ने यो नै उचित समय हो ।