यसको अर्थ यो हो, कि सुसमाचार विश्वासको संरक्षणको साथसाथै विश्वासको जन्मको पनि परमेश्वरको साधन हो । एक व्यक्तिले ख्रीष्टमा विश्वास गरेको दाबी गरेको छ भन्दैमा हामी विश्वासको स्थिरताको निम्ति गरिएको आह्वानप्रति एक किसिमको अभिमानपूर्ण बेवास्ताका साथ व्यवहार गर्दैनौँ, जसो कि हाम्रो दृष्टिकोणबाट अब तिनीहरू दुष्टको पहुँचबाट टाढा छन् भनी हामी विश्वस्त हुन सक्छौँ । त्यहाँ लड्नुपर्ने विश्वासको लडाइँ छ । चुनिएकाहरूले त्यो लडाइँ लड्नेछन् । र परमेश्वरको सार्वभौम अनुग्रहद्वारा तिनीहरूले त्यो लडाइँ जित्नेछन् । हामीले मुक्ति पाउनलाई विश्वासमा अन्तसम्म स्थिर रहिरहनुपर्छ ।
१ कोरिन्थी १५ः१–२ मा पावलले स्थिरताको आवश्यकताबारे देखाउँछन्ः
“भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु,
जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ । यस सुसमाचारद्वारा
तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले
व्यर्थैमा विश्वास गर्यौ।” “यदि त्यसमा तिमीहरू अटल रह्यौ भने” भन्ने वाक्यांशले ख्रीष्टियान
जीवनमा केही गलत कुरा सुरुवात हुन्छ भन्ने कुरा देखाउँछ ।
येशूले यस्ता किसिमका गलत कुराको सुरुवातबारे चेतावनी दिनलाई जमिनको दृष्टान्त भन्नुभएको थियोः
ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो
स्वीकार गर्दछ । तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ, र वचनको
कारणले कष्ट कि सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ । काँढ़ाहरूमा छरिएको
चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धनसम्पत्तिको छलले वचनलाई
बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ । (मत्ती १३ः२०–२२)
अर्को शब्दमा, १ कोरिन्थी १५ः२ मा पावलले भनेझैँ, त्यहाँ “व्यर्थमा विश्वास गर्ने” कुरा पनि छ— जसको अर्थ झूटो विश्वास हो, र यस्तो विश्वासमा उहाँको महिमालाई प्रेम गर्ने र हाम्रो पापलाई घृणा गर्ने कुरा समावेश भएको हुँदैन । पावलले हाम्रो विश्वास साँचो छ भन्ने कुराको प्रमाण दिनलाई यसरी भन्छन्, कि हामी “वचनमा अटल” रहन्छौँ— हामी स्थिर रहन्छौँ ।
त्यस्तैगरी कलस्सी १ः२१–२३ मा पनि पावल भन्छन्ः “बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ । तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ— यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने । यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म–सेवक भएँ ।” र २ तिमोथी २ः११–१२ मा फेरि भनिएको छ: “यो भनाइ निश्चित छ, यदि हामी उहाँसँग मरेका छौं भने, हामी पनि उहाँसँगै जिउनेछौं, हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं ।”
यी शब्दहरूमा पावलले येशूको शिक्षालाई पछ्याइरहेका छन् । मर्कूस १३ः१३ मा येशूले भन्नुभयो, “जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ ।” पुनरुत्थानपछि आफ्ना प्रकाशको पुस्तकमा भएका चर्चहरूलाई येशूले भन्नुभयो, “जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु ।” “तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु” (प्रकाश २ः१० लाई २ः१७, २५–२६; ३ः५, ११–१२, २१ सँग तुलना गर्नुहोस्) । स्थिरताको आवश्यकता भनी भन्नुको हाम्रो तात्पर्य यही नै हो— हामी स्थिर रहनुपर्छ ।
तर एउटा स्पष्टीकरण जसरी छ । विश्वासमा स्थिर रहनु भनेको विश्वासीहरू शङ्का र आत्मिक अन्धकारको समय र परमेश्वरको प्रतिज्ञा र भलाइमाथि अविश्वासका मात्राहरू भएर जादैनन् भन्ने होइन । “म विश्वास गर्दछु; मेरो अविश्वासमा मलाई साहयता गर्नुहोस्” (मर्कूस ९ः२४) एक विरोधाभासी प्रार्थना होइन । अविश्वासका मात्राहरू साँचो विश्वाससँगै सह–अस्तित्वमा हुन सक्छन् ।
त्यसकारण विश्वास अन्तसम्म स्थिर हुनुपर्छ भनी भन्नुको हाम्रो तात्पर्य यो हो, कि हामी कहिले फर्कन नसक्नेगरी ख्रीष्टलाई हृदयको कठोरतासाथ त्याग्ने बिन्दुमा आइपुग्नुहुँदैन, यदि त्यसो गर्छौँ भने, हामीले स्वीकार गरेको विश्वासमा हामी केवल पाखण्डीहरू मात्र थियौँ भन्ने कुराको प्रमाण दिँदछौँ । यस्तो कठोरताको एउटा उदाहरण एसावलाई लिन सकिन्छ ।
ध्यान देओ, कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस् कोही पनि दुराचारी वा एसावजस्तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो । तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो । किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो । (हिब्रू १२ः१५–१७)
यस संसारको निम्ति उनको प्रेममा एसाव आत्मिक रूपमा यति कठोर र निर्दयी भए,
कि उनले पश्चात्ताप गर्न खोज्दा पनि पश्चात्ताप गर्न सकेनन् । ऊ केवल आफ्नो मुर्खताको
परिणामलाई लिएर रुन मात्र सक्थ्यो, तर एक छाक खानाको लागि परमेश्वरले दिनुभएको
आफ्नो सम्पूर्ण जन्मसिद्ध अधिकारलाई त्यागेको कारण उनले परमेश्वरमाथि ल्याएको उनको
पापको साँचो कुरूपता र अनादरलाई लिएर उनले केही गर्न सकेनन् ।
अर्कोतर्फ, नयाँ करारले यो पक्का गर्न कोसिस गरिरहेको छ, कि विश्वासमा पछि हट्नु र पापमा बरालिनु भनेको एकतर्फी मार्ग हो (फर्कने मौका छैन) भनी सोचेर हामी निराश नबनौँ । पश्चात्ताप गर्न र फर्कन सम्भव छ । पापमा बरालिने र फर्कने त्यो प्रक्रियालाई “विश्वासीहरूको स्थिरता” मा समावेश गरिएको छ । उदाहरणको लागि, याकूबले भन्दछ, “जसले एक जना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ, र असंख्य पापलाई ढाक्नेछ” (याकूब ५ः२०) । र यूहन्ना भन्छन्, “यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ,‘सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन” (१ यूहन्ना ५ः१६–१७) । यहाँ यूहन्नाको उद्देश्य भनेको ती व्यक्तिहरूलाई आशा दिनु हो, जो निराश हुने परिक्षामा पर्न सक्छन्, र तिनीहरूलाई जसले उनीहरूलाई प्रेम गर्छन् र उनीहरूको लागि प्रार्थना गर्छन् । यूहन्नाले जसरी आफ्नो पत्रको अन्त गर्दैछन्, त्यसरी नै सुरु पनि गरेः “यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन । यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (१ यूहन्ना १ः८–९) ।
त्यसैले जब हामी स्थिरताको आवश्यकता (र निश्चयता, तल हेर्नुहोस्) को कुरा गर्छौँ, हाम्रो कुराको तात्पर्य सिद्धता हुनुपर्छ भन्ने होइन । र त्यहाँ कुनै सङ्घर्ष वा अविश्वासको गम्भीर मात्राहरू छैनन् भन्ने पनि होइन । हामीले यस पुस्तकमा हेरिसकेका सबै कुरा हामीले दिमागमा राख्नैपर्छ । ख्रीष्टको हुनु भनेको एउटा अलौकिक वास्तविकता हो, जुन परमेश्वरद्वारा ल्याइएको छ र परमेश्वरद्वारा सुरक्षित राखिएको छ (यर्मिया ३२ः४०) । विश्वासीहरू उनीहरूको कामबाट गहन रूपमा चिनिन्दैनन् तर उनीहरू को हुन् भन्ने कुराबाट चिनिन्छन्न् । तिनीहरू नयाँ सृष्टि हुन् । तिनीहरू यस नयाँपनबाट भित्र–बाहिर जाँदैनन् । यो परमेश्वरको कार्य हो । र यो अपरिवर्तनीय छ । तर यसको फल विश्वास र आज्ञाकारितामा अन्तसम्मको एक लडाइँ हो । स्थिरताले यसरी भन्छः लडाइँ लडिनेछ र अन्तमा हार हुनेछैन ।