फिलिपिन्सबाट गाब्रियल नाम गरेका हाम्रा एक जना श्रोताले सोध्नुभएको छ— “पास्टर जोन, जब हाम्रो मृत्यु हुन्छ तब हाम्रो चेतना जीवित नै रहन्छ वा हामी ख्रीष्टको दोस्रो आगमन र न्यायको प्रतीक्षामा सुत्छौँ ? बाइबलमा मृत्युको वर्णन गर्दा किन येशू आफैले पनि बारम्बार “सुत्नु“ शब्दको प्रयोग गर्नुभएको छ ? बाइबलको कुन खण्डले स्पष्ट रूपमा मृत्यु पश्चात के हुन्छ भनी बताएको छ ? मलाई यो विषयमा जान्नु मन छ ताकि मैले प्रेम गर्ने कसैको मृत्यु भएमा, उसको बारेमा म ढुक्क हुन सकूँ । मृत्यु पश्चात मेरा प्रियहरू ख्रीष्टको प्रतीक्षामा सुतिरहेका हुन्छन् वा पहिल्यै स्वर्ग वा नर्कमा हुन्छन् ?
नयाँ स्वर्गमा वास्तविक शरीर
गाब्रियलले सोध्नुभएको प्रश्नमा, म दुईओटा प्रश्न भेटाउँछु :
१) मृत्युको वर्णन गर्दा किन येशू आफैले पनि “सुत्नु” शब्दको प्रयोग गर्नुभयो ?
२) मृत्यु र पुनरुत्थानको समयावधिमा मानिसहरू अनुभव कस्तो रहन्छ ?
ग्रीक समुदायमा शारीरिक पुनरुत्थानको विचारलाई धेरैले स्वीकार गर्दैनन् थिए, तर तिनीहरूले आत्मिक पुनरुत्थानको विचारमा भने विश्वास गर्दथे । क्रिस्चियानिटी र ग्रीक समुदायको वैचारिक मतभेदलाई हामी यही कुराबाट स्पष्ट देख्न सक्छौँ । ख्रीष्टियानहरूले विश्वास गर्दछन् कि हाम्रो शरीर मृत्युबाट पुनः जीवित भइ उठ्नेछ र ख्रीष्टको पुनरुत्थान भएको शरीर, हामी जीवित भइ उठ्ने शरीरको नमुना थियो । जसलाई छुन सकिन्छ । जसले खानपिन गर्न सक्दछ जसरी ख्रीष्टले माछा खानुभएको थियो ।
पावलले १ कोरिन्थी १५ः२० मा भनेका छन्, “वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुती जानेहरूमध्येमा उहाँचाँहि प्रथम फल हुनुहुन्छ ।” जब मानिसहरूले खिसी गरेर “पुनरुत्थान भएकाहरू कस्तो शरीरमा आउँछन् ?” भनेर प्रश्न गर्छन् तब तिनले पद ४२–४४ मा भनेका छन्, “मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशीमा जीवित हुन्छ । अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ । दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ । प्राकृतिक शरीरमा त्यो गाडिन्छ, महिमित शरीरमा त्यो जीवित हुन्छ । प्राकृतिक शरीर छ भने, आत्मिक शरीर पनि छ ।” त्यसैकारण शारीरिक पुनरुत्थान ख्रीष्टियान सिद्धान्तको महत्वपूर्ण सिद्धान्त हो ।
केवल निदाएको
मृत्यु र पुनरुत्थानको समयको बीचको विषयमा अब हामी के भनौँ ? बाइबलमा किन यसलाई “सुत्नु” भनेर भनिएको छ ? मेरो लागि यो एकदमै ताजा विषय हो किनकि आज बिहान ८ बजे मेरो प्रिय मित्र प्रभुमा सुत्नुभयो । उनी अहिले कहाँ छिन् ? उनलाई के भइरहेको छ ? उनी प्रभुमा सुतेको ३ घण्टा १६ मिनेट भइसक्यो, यी समयावधिमा उनलाई के के भयो होला ?
बाइबलले सुत्नुको बारेमा यसरी बताउँछ । १ थेसलोनिकी ४ः१४— “किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ ।” यस पदले मृत्यु भएका ख्रीष्टियानहरूको बारेमा किन यसप्रकारले बताउँछ वा १ कोरिन्थी १५ः१७–१८, “ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ । तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन् ।
येशूले एक मृतक बालिकालाई जीवित पार्नुभएको घटना हामीलाई थाहा छ । येशूले एक शासकको मृत छोरीलाई “मरेकी छैन तर सुतिरहेकी छे” भनेर भन्नुहुन्छ जब कि मर्कूस ५ः३५ अनुसार उनको मृत्यु भइसकेको थियो । येशूले किन उनी सुतिरहेकी छे भनेर भन्नुभयो ?
मेरो उत्तर यही हो कि, मृत शरीरको अवस्था र त्यसको स्वभावको कारण मृत्युलाई नम्र शब्दमा वर्णन गर्न यस शब्दको प्रयोग गरिएको थियो । यदि तपाईंले मृत शरीरलाई देख्नुभएको छ भने, तपाईंले आफ्नो मनमा विचार गर्नुभएको हुन सक्छ कि त्यो शरीर सुतिरहेझैँ देखिन्छ ।
ठुलो लाभ
तिनीहरू अचेत भएर सुतिरहेका छैनन् तर मरेका छन्, पुनरुत्थान नभएसम्म तिनीहरूसँग कुनै चेतना हुनेछैन भनेर भन्नुको साटो मैले किन तिनीहरू सुतेका छन् भनेर भनिरहेको छु ?
“ख्रीष्टको धार्मिकताले हाम्रो दण्डलाई हटाइदिएको छ र उहाँको मिठो उपस्थितिलाई अनुभव गर्न हामीलाई सुरक्षित राख्नुभएको छ”
किनभने ख्रीष्ट र पावलले मैले बताउनेभन्दा फरक शिक्षा दिनुभएको छ । उदाहरणको लागि हामी फिलिप्पी १ः२१–२३ लाई हेर्न सक्छौँ, “किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो । यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ । तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ । म त दोधारमा परेको छु । बरु बिदा भएर ख्रीष्टको साथमा हुने इच्छा छ, किनभने यो धेरै नै असल छ” जब पावलले आफ्नै मृत्युको बारेमा विचार गर्दछन् तब उनले यसलाई “लाभ” भनेका छन् । किनकि उनी हजारौँ वर्षको लागि पूर्णरूपमा अचेत र अनुभवविहीन हुन गइरहेका थिएनन् । तर उनी त ख्रीष्टको घनिष्ट उपस्थितिमा जाने थिए जुन यस संसारभन्दा भिन्न छ ।
२ कोरिन्थी ५ः६–९ मा उनी फेरि भन्छन् “यसकारण हामीलाई सम्पूर्ण भरोसा छ । हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं । किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन । हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं । यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ ।” त्यसैकारण शरीरमा मर्नु भनेको परमेश्वरसँग उहाँको घरमा जानु हो ।
दुईगुना उत्साह
येशूले धनी मानिस र लाजरसको कथा बताउँदा त्यस कथालाई दृष्टान्तको नाम दिनुभएको छैन । वास्तवमा भन्नुपर्दा, यो दृष्टान्त हो वा कथा भनेर म यकिनसाथ भन्न सक्दिनँ । मलाई यति थाहा छ कि येशूले यस कथालाई दृष्टान्तको नाउँ दिनुभएन । उहाँले यस कथामा घटेका घटनाहरू वास्तविक भएझैँ बताउनुहुन्छ । कथामा भनिएका यी सबै कुराहरू वास्तवमै घटेका भए तापनि वा नभए तापनि हामी यो देख्न सक्छौँ कि यस कथाले मृत्यु पश्चात निन्द्रा वा विस्मरण छैन भन्ने कुराको सङ्केत गरिरहेको छ । तर त्यहाँ दण्ड वा आनन्दको जीवन छ ।
कथा यसप्रकार छ— “एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो । उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे । त्यो घावैघाउले भरिएको थियो । त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गथ्र्याे । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे । “त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे । त्यो धनी मानिस पनि मर्यो र गाडियो । नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो” (लूका १६ः१९–२३) । येशूले यस दृष्टान्त वा वृत्तान्तबाट यही कुरा बताउन चाहनुभएको थियो कि मृत्यु पश्चात मानिसले भोग्नका लागि दण्ड र आनन्द छ— यी सब उसले सचेत अवस्थामा नै भोग्नेछ ।
मेरो निष्कर्ष यही हो मृत्युको नजिक पुगेका वा मृत्यु भइसकेका ख्रीष्टियानहरूको लागि दुईगुना आनन्द छ । येशू ख्रीष्टमाथि विश्वास गर्ने विश्वासीहरूको लागि ख्रीष्टको रगत र धार्मिकताले तिनीहरू माथिको दण्डलाई हटाएर शारीरिक पुनरुत्थानद्वारा नयाँ स्वर्ग र नयाँ पृथ्वीमा ख्रीष्टसँग रहन, उहाँको आनन्दमा सहभागी हुन र मृत्यु र पुनरुत्थानको समय बीच पनि उहाँको मिठो उपस्थितिमा रहनको निम्ति सुरक्षित राखेको छ ।
हाम्रो निम्ति यो आशिषित आशा हो कि हामी दुवै तर्फ बाट सुरक्षित छौँ । हामी उहाँमा अहिले सुरक्षित छौँ । हाम्रो मृत्युमा पनि हामी उहाँमा सुरक्षित हुन्छौँ र नयाँ स्वर्ग र पृथ्वीमा, नयाँ स्वस्थ शरीरमा उहाँको उपस्थितिमा पूर्ण आनन्दित हुनेछौँ ।