पास्टर जोन ! के नयाँगरी जन्मिएको ख्रीष्टियानको मुक्ति गुम्न सक्छ ?

यस प्रश्नको लागि म एउटै मात्र उत्तर दिन चाहन्छु । “अहँ, गुमाउन सक्दैन ।” नयाँगरी जन्मिएको ख्रीष्टियान फेरि मर्न सक्दैन । म तपाईंलाई केही बाइबलीय अवधारणा बताउनेछु ।

नयाँ जन्म प्रदान गरिएको जीवन निर्दिष्ट रूपमा अनन्त जीवन हो । १ यूहन्ना ५ः११ ले भन्छ “गवाही चाँहि यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा निहित छ ।” उहाँले हामीलाई अस्थायी जीवन दिनुभएको होइन तर अनन्त जीवन दिनुभएको छ । हामीले आउन लागेको अनन्त जीवनमा प्रवेश गरिसकेका छौँ ।”

रोमी ८ः३० मा अर्को महत्वपूर्ण सत्यतालाई हेरौँ— “जस–जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस–जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस–जसलाई धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।” महिमा स्थायी मुक्तिको अन्तिम बिन्दु हो । यस पदले बोलाइएका सबैको बारेमा बताउँछ । ती बोलाइएका सबै धर्मी  ठहर्याएका छन् र धर्मी ठहर्याएका सबै महिमित परिएका छन् ।

त्यसैकारण मेरो उत्तर यही हो कि, यदि तपाईं बोलाइनुभएको छ भने, तपाईंले आफ्नो मुक्ति गुमाउनु हुनेछैन । बोलाइनु र नयाँगरी जन्मनुले बाइबलीय रूपमा समान अर्थ राख्दछ हामी धर्मी  ठहर्याइनेछौँ र महिमित पारिनेछौँ किनकि हामी बोलाइएका छौँ । र यसले यही अर्थ दिन्छ कि हामी नयाँगरी जन्मिएका छौँ ।

जीवनमा बोलाइएको

रोमी ८ः३० मा पावलले बताएको बोलावट, येशू ख्रीष्टले लाजरसलाई चिहानबाट बोलाउनुभएको बोलावटको बारेमा हो । “लाजरस, बाहिर निस्की आऊ” (यूहन्ना ११ः४३) यस बोलावटले जीवनको सृजना गर्दछ र हरेक ख्रीष्टियानको जीवनमा यही भएको हो । परमेश्वरको सार्वभौमिक बोलावटले जीवनको सिर्जना गरेको छ । यसको मतलव यही हो कि बोलावट सँगसँगै प्रतिज्ञा गाँसिएको छ ।

म तपाईंलाई केही पदहरू दिन चाहन्छु जसले यी दुई बीचको सम्बन्धलाई देखाउँछ । १ थेसलोनिकी ५ः२३–२४ ले भन्छ, “ शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन्, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून् । तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ ।” यदि तपाईं बोलाइनुभएको छ भने, ख्रीष्टको आगमनसम्म उहाँले नै तपाईंलाई थाम्नु हुनेछ किनकि उहाँ विश्वासयोग्य हुनुहुन्छ ।

त्यसैगरी १ कोरिन्थी १ः८–९ ले भन्छ, “हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरूलाई दोषरहित राख्न उहाँले तिमीहरूलाई अन्त्यसम्मै सुदृढ राख्नुहुनेछ । परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा तिमीहरू बोलाइयौ ।” तपाईं पुनः रोमी ८ः३० मा हेर्न सक्नुहुन्छ, किन यस पदले बोलाइएका सबैलाई उहाँले धर्मी ठहराउनुहुन्छ, धर्मी ठहर्याएका सबैलाई महिमित पार्नुहुन्छ भनी भन्छन् । यसको एउटै उत्तर छ, किनकि उहाँ विश्वासयोग्य हुनुहुन्छ ।

पहिल्यै चुनिएकाहरूको संरक्षण

धेरै मानिसहरूले विचार गर्छन् कि अनन्तको लागि सुरक्षित हुनु भनेको खोप लगाए जस्तै हो । तिनीहरूले यसरी भन्ने गर्छन्, “जब म ६ वर्षको थिएँ, मैले प्रार्थना गरेँ र परमेश्वरले मलाई अनन्तको खोप लगाइदिनुभयो । त्यसैकारण दण्डको भाइरसले मलाई छुन सक्दैनँ ।” तर अनन्तको लागि सुरक्षित रहनु खोप लगाए जस्तो हैन । तर यो त त्यस डाक्टरबाट आजीवन थेरापी लिइरहनु जस्तै हो, जसले भन्छ— “तिमी मेरा बिरामी हौँ । तिमीले मैले भनेझैँ गर्नुपर्छ, र मैले भनेअनुसार गरेमा म तिमीलाई अनन्तसम्म डोर्याउनेछु ।”

यर्मिया ३२ः४० पद संरक्षणको बारेमा मलाई सबैभन्दा मनपर्ने पद हो— “तिनीहरूसित सधैँको निम्ति म करार बाँध्नेछुः तिनीहरूलाई भलाइ गर्न म कहिल्यै छोड्नेछैनँ, र तिनीहरू मदेखि फर्केर नजाऊन् भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु ।” येशू ख्रीष्टले आफ्नो रगतद्वारा किन्नुभएको नयाँ करार भनेको संरक्षणको करार हो ।

उहाँ विश्वासयोग्य हुनुहुन्छ

म तपाईंलाई परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भन्ने कुरालाई उजागर गर्ने केही पदहरू दिन चाहन्छु । फिलिप्पी १ः६, मलाई दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्टको दिनमा त्यो पूरा गर्नुहुनेछ ।” परमेश्वरको विश्वसनीयता उहाँको बोलावटसँग जोडिएको हुनाले पावलले यसप्रकारले भनी रहेका छन्।

यहूदा १ः२४ “अब, जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ ।” मैले केही समयअघि यस पदबाट वचन प्रचार गरेको थिएँ र परमेश्वरले मलाई सुरक्षित राख्नुभएको छ भन्ने यस सत्यताले मलाई अत्यन्त उत्साहित बनायो ।”

मेरो सेवकाइको अवधिभर परमेश्वरले मलाई थामी राख्नुभयो । म मेरो विगत र मैले गरेको कार्यलाई हेरेर आफैलाई “म कति असल व्यक्ति, स्याबास !” भन्दिनँ तर सबै कुराको श्रेय परमेश्वरलाई नै दिन्छु । उहाँले मलाई चिप्लन दिनुभएन र उहाँको नाउँमा मलाई स्थिर राख्नुभयो ।

हाम्रो सुनिश्चिताको लङ्गुर

मलाई लाग्छ मानिसहरूले सधैँ विचार गर्नुपर्ने एउटा मुख्य प्रश्न भनेको— “ती ख्रीष्टियानहरूलाई के हुन्छ होला जो कुनै समयमा डिकनको रूपमा काम गर्थे नयाँगरी जन्मिएकाझैँ थिए, तर अहिले तिनीहरू पहिलेको भन्दा फरक छन् । यी सब कुरालाई तिनीहरूले त्यागेका छन् । कति जना त यही अवस्थामा मरेर पनि गए ।”

मलाई लाग्छ यसको लागि दुई मुख्य पदहरू छन् जसको विषयमा मानिसहरूले गहिरो मनन गर्नुपर्छ । १ यूहन्ना २ः१९ “तिनीहरू हामीबाट निस्केर गए, किनकि तिनीहरू हाम्रा थिएनन् । यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन् ।” यस पदमा हाम्रा भन्ने शब्दले हामीसँगै नयाँगरी जन्मिएका र ख्रीष्टमा हामीसँगै कलमी बाँधिएका भन्ने अर्थलाई जनाउँछ ।” तर तिनीहरू हामीझैँ देखिए तापनि, हाम्रा मानिसहरूले झैँ बोले तापनि हिब्रू ६ः५ ले भने झैँ “आउने युगको शक्तिको स्वाद” चाखे पनि तिनीहरू परमेश्वरबाट जन्मिएका थिएनन्।

आत्मिक अनुभव बटुले पनि प्रभुबाट टाढिने मानिसहरूको लागि हिब्रू ६ अध्याय लेट्नु लगाउने ढुङ्गाझैँ हो । मलाई लाग्छ हिब्रू ३ः१४ हिब्रूको पुस्तकको सबैभन्दा मुख्य पद हो— “यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्मै दृढतासाथ थामीराख्यौँ भने हामी ख्रीष्टका सहभागी भएका छौँ ।”

लेखकले यसरी भनेका छैनन् कि, “यदि आफ्नो भरोसालाई दृढताका साथ थामी राख्यौ भने तिमीहरू अन्त्यमा ख्रीष्टसँग सहभागी हुनेछौ” तर उनले भनेका छन्, “हामी जान्दछौँ कि, हाम्रो जीवनको सुरुवातबाट नै हामी ख्रीष्टसँग सहभागी भएका छौँ कारण हामी अन्त्यसम्मै दृढतासाथ ख्रीष्टसँग सहभागी हुनेछौँ ।” यसको मतलब यही हो कि, विश्वासमा स्थिर रहने कुराले हामी ख्रीष्टसँग सहभागी भएका छौँ भन्ने कुरालाई जनाउँछ ।

यदि त्यस स्थिरतामा अडिग रहेनौँ भने हामी निश्चिततामा कहिल्यै थिएनौँ भन्ने कुरालाई जनाउँछ । मुख्य कुरा यही हो कि निश्चितता स्वतः हुने कुरा हैन । तर यो त करारलाई थामी राख्नुहुने सार्वभौम परमेश्वरमा गरिएको भरोसाद्वारा उत्पन्न हुने कुरा हो । जसले आफ्नो पुत्र हाम्रो निम्ति दिनुभयो । जसै हामी ख्रीष्टलाई हेर्छौँ, पवित्र आत्माले हामी परमेश्वरका सन्तान हौँ भन्ने कुराको पुस्टि गर्नुहुन्छ (रोमी ८ः१६) ।

आफ्नो माया साझा गर्नुहोस्
Gospel Pubication
Gospel Pubication

न्यूजलेटर अपडेटहरू

न्यूजलेटर अपडेटको लागि सदस्यता लिन तल आफ्नो नाम र इमेल ठेगना भर्नुहोस् ।