येशूका महत्वपूर्ण नामहरू के–के हुन्? जसले उहाँको चरित्र र उहाँको कामको विषयमा बताउँछ।

बाइबलमा एक आकर्षित पार्ने कुरा भनेको नाम र उपाधिसँग जोडिएका त्यसका महत्व हो । परमेश्वर पिताको नाम र उपाधिहरू धेरै छन् र ती सबैले उहाँको चरित्रको विषयमा हामीलाई बताउँछ । अनि ख्रीष्टको लागि पनि सोही कूरा लागू हुन्छ । एउटा सेमिनारीमा एक विद्वानले गरेको सम्बोधनलाई म सम्झन्छु । त्यहाँका सहभागीहरूले शैक्षिक प्रवचनको अपेक्षा गरिरहेका थिए तर त्यस वक्ताले साधारण रूपमा पवित्र धर्मशास्त्रमा पाइने ख्रीष्टको उपाधिहरू पाठ गरेर सबैलाई चकित बनाइदिए “प्रभु”, “परमेश्वरका पुत्र”, “दाउदका पुत्र”, “इम्मानुएल”, “वचन”, इत्यादि । यी नाम र उपाधिहरू पाठ गर्नु उनलाई ४५ मिनेट लाग्यो । यी प्रत्येक नाम, उपाधिहरूले हामीलाई ख्रीष्टको चरित्र र उहाँको कामको विषयमा बताउँछ । म यस अध्यायमा नयाँ करारमा ख्रीष्टलाई दिइएको महत्वपूर्ण उपाधिहरू सम्बन्धी हेर्न चाहन्छु ।
ख्रीष्ट
हामी उहाँलाई येशू ख्रीष्टको रूपमा राम्रोसँग चिन्छौँ, तर यो उहाँको वास्तविक नाम भने होइन । उहाँको नाम त येशू, येशू बार योसेफ,अथवा नासरतका येशू हो । ख्रीष्टचाँहि उपाधि हो जुन बाइबलमा येशूको निम्ति बारम्बार प्रयोग गरिएको छ । कहिलेकाहीँ बाइबलले क्रमलाई बदलेर ख्रीष्ट येशू भनेर पनि भन्नेगर्छ । ख्रीष्ट शब्द “ख्रीष्टोस” भन्ने ग्रीक शब्दबाट आएको हो जुन पुरानो करारको शब्द मसीहबाट आएको हो जसको अर्थ अभिषिक्त जन हुन्छ ।
जब येशूले सभाघरमा आफ्नो पहिलो प्रवचन दिनुभयो, उहाँले यशैयाको पुस्तकबाट पाठ गर्नुभयो “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरूलाई छुट्काराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ” (लुका ४ः१८–१९) । यो पदले पूर्वानुमान गरिएको उद्धारकर्ता, एक मसीहको विषयमा बताउँछ । यी पदहरूलाई पढेपछि येशूले सभाघरमा भेला भएका मानिसहरूलाई भन्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ” (पद. २१) । यशैयाले मसीहको विषयमा भनेका यी शब्दहरू उहाँको विषयमा रहेको भनेर उहाँले मानिसहरूलाई बताउनुभयो ।
त्यसैगरी, येशूका चेलाहरूले ख्रीष्ट, पुरानो करारका अपेक्षा गरिएका मसीहको पूर्ति हुनुहुन्छ भनेर चिने । जब येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र” (मत्ती १६ः१६ ) । बाइबलमा ख्रीष्टको अवधारणा असाध्यै जटिल प्रकारको छ । बाइबलको इतिहासलाई क्रमिक रूपमा हेर्ने हो
भने, ख्रीष्टको बारेमा देखाइएको बाइबलीय प्रकाशमा, आउनुहुने, छुटकारा दिनुहुने मसीहको कार्य र चरित्र स्वभावका धागोहरू एकअर्कासँग बुनिएका छन् । एक अर्थमा, ख्रीष्टलाई मसीह हुनको निम्ति उहाँ असल गोठाला, राजा, थुमा, र कष्ट भोग्ने नोकर पनि हुनुपर्छ जुन कुराहरू यशैयाको पुस्तकमा भविष्यवाणी गरिएको छ । बाइबलमा यी धागोहरू अद्भूत रीतिले एकअर्कासँग बुनिँदै आउँछन् । बाइबल ईश्वरीय प्रेरणाद्वारा लेखिएको हो भन्ने कुराको असाधारण प्रमाण भनेको नै पुरानो करारमा अगमवक्ताहरूले आउनुहुने ख्रीष्टबारे गरेको भविष्यवाणी कसरी नयाँ करारमा आएर नाटकीय ढङ्गमा पूरा भयो भन्ने हो । यूहन्नाको दर्शन प्रकाश ५ अध्यायमा, उनले एक सिंहको आशा गरेका थिए (पद. ५), तर एक थुमालाई देखे (पद. ६) । येशूले यी दुवै कुराहरू पूरा गर्नुभयो । उहाँ यहूदाको सिंह हुनुहुन्छ, इस्राएलका नयाँ राजा, र थुमा पनि, जो आफ्नो मानिसहरूको खातिर मारिनुभयो ।
प्रभु
नयाँ करारमा ख्रीष्टको निम्ति बारम्बार प्रयोग गरिएको दोस्रो उपाधि भनेको प्रभु हो । यही उपाधिले ख्रीष्टियान समाजको प्रारम्भिक विश्वासको सारको निर्माण गरेको थियो येशूस् हो कुरिओस्, अर्थात् “येशू प्रभु हुनुहुन्छ” । यही कुरालाई स्वीकार गरेका कारण पहिलो शताब्दीका चर्चले रोमी अधिकारीहरूबाट धेरै विवाद र सतावटको सामना गर्नुपरेको थियो । रोमी नागरिकहरूले सामाजिक रूपमै “कैसर कुरिओस” भन्ने शब्दको उच्चारण गर्नुपथ्र्यो । जसको अर्थ “कैशर प्रभु हुन्” भन्ने हुन्छ । त्यस समयका ख्रीष्टियानहरूले ख्रीष्ट र प्रेरितहरूबाट पाएको आज्ञा, आफ्ना शासकहरूप्रति इमानदार हुन, राज्यको नियम कानुन पालन गर्न र कर तीर्नुपर्ने कुरामा एकदमै प्रतिबद्ध थिए, तर तिनीहरूले कैसरलाई प्रभु भनेर बोलाउन भने इन्कार गरेका थिए । प्रभु शब्दलाई नयाँ करारमा सधैँ महिमित भावमा प्रयोग गरिएको छैन । वास्तवमा ग्रीक शब्द कुरिओसको ३ भिन्न अर्थहरू छन् ।
अङ्ग्रेजी भाषामा कुनै व्यक्तिलाई सम्बोधन गर्नको निम्ति सर शब्दको प्रयोग गरिएझैँ कुरिओस् शब्दले साधारण सभ्य
तरिकाले सम्बोधन गर्ने भाषाको रूपमा काम गर्छ । अवश्य पनि, “सर” शब्दलाई पनि अङ्ग्रेजी भाषामा आदरका साथ सम्बोधन गरिने एक उच्च भाव बोकेको शब्दको रूपमा प्रयोग गरिन्छ । जस्तै कि बेलायतमा, जब कोही व्यक्तिलाई त्यहाँको रानी अथवा राजाले उसको विशेष उपलब्धिको लागि उपाधि प्रदान् गर्छन् तव ति व्यक्तिलाई सम्बोधन गर्दा उक्त व्यक्तिको नाउँको अघि “सर” शब्दको प्रयोग गरिन्छ । उदहारणको लागि, सर विन्स्टन चर्चहिल
अथवा सर लरेन्स ओलिभर । तर नयाँ करारमा येशूलाई भेटेका मानिसहरूले उहाँलाई प्रभु भनेर सम्बोधन गरेको पाउँदा, हामीले ती मानिसहरूले उहाँलाई आदरका साथ बोलाईरहेका छन् अथवा ती मानिसहरूसँग ख्रीष्टको पूर्ण महिमाबारे गहिरो बुझाइ रहेछ भनेर झट्टै निष्कर्ष निकाल्नु हुँदैन । साधारणतया, तिनीहरूले सभ्य तरिकाले उहाँलाई सम्बोधन गरिरहेको पनि हुनसक्छ ।
नयाँ करारमा कुरिओस् शब्दको दोस्रो प्रकारको प्रयोग कुनै निश्चित दासको मालिकको निम्ति गरिएको छ । एक धनाढ्य व्यक्ति जससँग आजीवन सेवा गर्ने कमारो किन्ने पैसा छ । यी कमारो अथवा दासलाई ग्रीक भाषामा डुलोस भनिन्छ । र कोही पनि कुरिओस् मालिकको अधीनमा नभईकन डुलोस हुनसक्दैन । प्रभु भन्ने शब्द दासमाथि स्वामित्व राख्ने व्यक्तिलाई सम्बोधन गर्न पनि प्रयोग गरिन्थ्यो । प्रेरित पावलले आफैलाई ख्रीष्टको दासको रूपमा जनाँउदै र ख्रीष्टियानहरूलाई पनि आफैलाई सोही रूपमा “तिमीहरू मोल तिरेर किनिएका हौ” (१ कोर ६ः२०) भन्ने
कुरामा विचार गर्न निर्देशन दिँदै बारम्बार डुलोस शब्दको प्रयोग गरेका छन् । जब हामी, ख्रीष्ट प्रभु हुनुहुन्छ भनी स्वीकार गर्छौँ, तब ख्रीष्टले हामीलाई प्रायश्चितको मोल तिरेर किन्नुभयो, हामी उहाँको स्वामित्व मुनि छौँ र हामी उहाँको सम्पत्ति हौँ भन्ने कुरा पनि स्वीकार गर्छौँ ।
नयाँ करारमा कुरिओस् शब्दको तेस्रो र उच्च स्तरीय प्रयोग भनेको कैसरले आफ्नै निम्ति प्रयोग गर्न चाहेको शाही
सम्बोधनको निम्ति थियो । जुन ख्रीष्टियानहरूको लागि ठुलो समस्याको कारण बनेको थियो । केही व्यक्तिले उपाधिको गलत प्रयोग र अर्थ पनि लगाउन सक्छन् जसको कारण येशूले भन्नु भयो, “यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय म बाट टाढा छ” (मत्ती १५ः८) । तर नयाँ करारले हामीलाई बताउँछ, “कसैले पवित्र आत्माद्वारा मात्र ‘येशू नै प्रभु हुनुहुन्छ’ भन्न सक्छ” (१ कोर.१२ः३) । यो पद येशूले डाँडाको उपदेशको अन्त्यतिर भन्नुभएको कुरासँग बाझिएको छ “मलाई ‘प्रभु, प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु,’ के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौ? तपाईंको नाउँमा भूतहरू धपाएनौँ । र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौँ र ? अनि म तिनीहरूलाई सफासँग भन्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ” (मत्ती ७ः२१–२३ ) । यदि यसो हो भने पवित्र धर्मशास्त्रले किन हामीलाई
“कसैले पवित्र आत्माद्वारा मात्र” येशू नै प्रभु हुनुहुन्छ “भन्न सक्छ” भनेर बताउँछ ? केही व्यक्तिहरूले भनेका छन् कि यो भनाई अस्पष्ट छ; अर्को शब्दमा भन्नुपर्दा, एउटा महत्वपूर्ण लेख्नै पर्ने कुरालाई छुटाइएको छ र त्यो यो हो कि, कसैले पनि साँचो रूपमा येशूलाई प्रभु भनेर बोलाउनु सक्दैन जबसम्म पवित्र आत्माले उसलाई त्यसरी बोल्ने क्षमता दिनुहुन्न ।
प्रभु उपाधिको वास्तविक महत्व पुरानो करारबाट अनुवाद गरिएको शब्दबाट पाउन सकिन्छ । नयाँ करारमा ख्रीष्टका
विभिन्न उपाधिहरू भए जस्तै पुरानो करारमा परमेश्वरका विभिन्न उपाधिहरू छन् । पुरानो करारमा उहाँको नाम याहोवे छ, जसलाई प्रभु भनेर अनुवाद गरिएको छ र प्रायः पवित्र धर्मशास्त्रमा परमप्रभु भनेर अङ्कित गरिएको छ । परमप्रभु शब्दले हिब्रू शब्द एडोनाइलाई जनाउँछ जुन हिब्रूहरूले पुरानो करारमा परमप्रभुको निम्ति प्रयोग गरेका सबै भन्दा उच्च उपाधि थियो । एडोनाइ शब्दको अर्थ परमप्रभुले आफ्नो सारा सृष्टिमाथि पूर्ण सार्वभौमिकता राख्नुहुन्छ
भन्ने हो । यी दुई शब्दको उदाहरण हामी भजनसंग्रह ८ मा पाउन सक्छौँ, “हे परमप्रभु यहोवे हाम्रा सर्वमान्य परमप्रभु एडोनाई सारा पृथ्वीभरि तपाइको नाउँ कति महिमित छ । तपाईंका महिमाको स्तुतिगान उच्च स्वर्गमा हुँदछ” (भज. ८ः१) । नयाँ करारमा पनि हामी पावलको भजनलाई देख्नसक्छौँ। “तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो ।
परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन । तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो । स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् त्रूmसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो । त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो,
जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ,
र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ” (फिलि. २ः५–११ ) ।
हरेक नाउँभन्दा उच्च नाउँ एक उपाधि हो जुन परमप्रभुले येशूलाई दिनुभयो, अनि सबै उपाधिहरू भन्दा उच्च उपाधि प्रभु । उहाँ प्रभु हुनुहुन्छ, कुरिओस उहाँ परमेश्वर पिताको महिमाको निम्ति एडोनाइ हुनुहुन्छ ।
मानिसको पुत्र
नयाँ करामा येशूको निम्ति बारम्बार प्रयोग गरिएको उपाधि भनेको मानिसको पुत्र हो । यद्यपि यो सम्पूर्ण नयाँ करारका उपाधिहरूमध्ये प्रयोग गरिएको सङ्ख्याको आधारमा तेश्रो श्रेणीमा आउँछ । यो येशू आफैले प्रयोग गर्नुभएको महत्वपूर्ण र प्रमुख उपाधि हो । नयाँ करारमा प्रयोग भएको यस उपाधिको ८० भन्दा बढी उदाहरणहरूमध्ये
३ उदाहरणहरू येशू आफैले दिनुभएको छ र यस कुराले, नयाँ करारको येशूको चित्र उहाँको आफ्नै चेलाहरूले बनाएका थिए भन्ने ठूला आलोचकहरूको खण्डन गर्दछ । यदि येशूका चेलाहरूले त्यसो गरेका भए तिनीहरूले उहाँलाई “येशू, मानिसका पुत्र” को साटो आफ्नो इच्छा अनुसारको उच्चस्तरीय उपाधि दिने थिए ।
उहाँले आफैलाई बारम्बार “मानिसको पुत्र” को रूपमा सम्बोधन गरेर यही भनिरहनुभएको थियो कि, “म यसरी आफैलाई परिचित गराउँछु” । केही व्यक्तिले यस उपाधिमा ख्रीष्टको नम्रतालाई देख्छन्, उहाँले धेरै उच्च उपाधिहरूको वेवास्तागरी नम्रतापूर्वक आफूलाई नीच मानिसझैँ चिनाउन यस उपाधिलाई रोज्नुभयो । यस उपाधिको प्रयोग हामी इजकिएलको पुस्तकमा पनि पाउँछौ, जहाँ परमेश्वरले अगमवक्ताहरूलाई बोलाउनको निम्ति
बारम्बार प्रयोग गर्नुभएको थियो । यस अवस्थामा, यो उपाधिले अगमवक्ताहरूको मानवता र कमजोरी तर्फ पनि जोडदिन्छ ।
केही हदसम्म ख्रीष्ट हाम्रा मानवतामा हामी जस्तै हुनुभएका कुरालाई पनि जनाउँछ । तर, येशूले प्रयोग गर्नुभएको उपाधिको विशाल सन्दर्भ दानिएलको पुस्तकमा रहेका अगमवाणीबाट आउँछ । दानिएलको दर्शनमा, स्वर्गको भित्री कोठामा परमेश्वर आफ्नो न्यायको सिंहासनमा अति प्राचीनको रूपमा देखापर्नुभयो अनि उहाँले “मानिसको पुत्र” जस्तै देखिनुहुने, जो महिमाको बादलका साथ आइरहनुभएको थियो उहाँलाई आफ्नो उपस्थितिमा स्वागत गर्नुभयो र उहाँलाई संसारको न्याय गर्ने अधिकार दिनुभयो (दान ७ः१३–१४) । नयाँ करारमा यस उपाधिको प्रयोगले, मानिसको पुत्र एक स्वर्गीय व्यक्ति हुनुहुन्छ जो संसारमा ओर्ली आउनुभयो र उहाँले परमेश्वरको पूर्ण अधिकारको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ । उहाँ यस संसारको न्याय गर्नका लागि फेरी आउनुहुनेछ र परमप्रभुको महान् दिनलाई पूरा गर्नुहुनेछ । त्यसैकारण यो नयाँ करारमा ख्रीष्टलाई दिइएको “मानिसको पुत्र” एक अद्वितीय उच्च उपाधि हो ।
मानिसका पुत्र वैभव र शक्तिको प्रतिरूप हुनुहुन्छ भन्ने कुरालाई हामीले छुटाउनु हुँदैन । उहाँको ईश्वरत्व पुरानो करारमा मात्र नभएर ख्रीष्टबारे बुझाइमा पनि छ । येशूले मानिसको पुत्रलाई सृष्टिसँग जोड्नुभएको छ । “मानिसको पुत्र शबाथको पनि प्रभु हो” (मर्कुस २ः२८) । शबाथमाथि प्रभुत्व दाबी गर्नु भनेको सृष्टिमाथि नै प्रभुत्व दाबी गर्नु हो । कारण शबाथ, सिनै पर्वतमा प्रभुले दिनुभएको व्यवस्थाको एक टुक्रा मात्र थिएन तर संसारको सृष्टि गरिँदाको विधि थियो जुन सृष्टिकर्ता परमेश्वर आफैले पालना गर्नुभयो र मानिसहरूलाई पनि पालना गर्न लगाउनुभयो । येशूले यो पनि भन्नुभयो, “तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान” (लुका ५ः२४ ) । यहाँ येशूले त्यस अधिकारको दाबी गर्नुभयो जुन केवल परमेश्वरको लागि मात्र विशेषाधिकार हो भनेर यहूदी जातिहरूले विश्वास गर्थे । येशूले यस दाबी गर्नुको मुख्य उद्देश्यलाई यहुदीहरूले राम्रोसँग बुझेका थिए र यही दाबीका कारण तिनीहरूले येशूलाई मार्न चाहन्थे । हामी जान्दछौँ कि मानिसको पुत्र संसारको न्याय गर्नलाई स्वर्गबाट आउनुहुनेछ र उहाँले भेडाहरूलाई बाख्राहरूबाट छुटाउनु हुनेछ उहाँ युगको अन्त्यमा महिमाको बादलमा आउनुहुनेछ ।
परमेश्वरको पुत्र
नयाँ करारमा हामीले परमेश्वर स्वर्गबाट बोल्नुभएका केही उदाहरणहरू पाउँछौँ । जब परमेश्वर स्वर्गबाट बोल्नुभयो तब केही चकित पार्ने कुराहरू घोषणा गर्नुभयो । यस्ता दुई घटनाहरू छन् जसले हामीलाई येशू उहाँको पुत्र हुनुहुन्छ भनेर घोषणा गर्न परमेश्वर उत्साहित हुनुहुन्थ्यो भन्ने कुरा बताउँछ । येशूको बप्तिस्मामा स्वर्ग उघारियो र परमेश्वरले यसो भनिरहनुभएको आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु” (मत्ती ३ः१७) । त्यसैगरी येशूको रूप परिवर्तन हुँदा पनि, पिताले स्वर्गबाट घोषणा गर्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन” (मर्कुस ९ः७) । त्यसैकारण, परमेश्वरका पुत्र सर्वोच्चबाट येशूलाई प्रदान गरिएको उपाधि हो ।
चर्च इतिहासमा यो उपाधिले ठुलो विवादलाई उत्प्रेरित गरेको थियो । विशेषगरी चौथो शताब्दीमा, जब आरियसले अगुवाइ गरेका आरियन अभियानले येशू एक सृष्टि गरिएको प्राणी हुनुहुन्छ भनेर त्रिएकत्वलाई इन्कार गरेका थिए । येशू “सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ” (कल १ः१५) र “परमेश्वरका एक मात्र पुत्र” (यूहन्ना १ः१४) । यी पदहरूलाई उदृत गर्दै आरियसले येशू एक सृष्टि गरेको मानिस हुनुहुन्छ र उहाँको सुरुवात थियो भन्ने कुराको बहस गरे ।
यदि येशू परमेश्वरका एक मात्र पुत्र हुनुहुन्छ भने, यसको अर्थ यही हुन्छ कि उहाँ अनन्त हुनुहुन्न । यदि उहाँ अनन्त हुनुहुन्न भने, उहाँ एक मानिस हुनुहुन्छ । यसैकारण, येशूलाई ईश्वर तुल्याउनु र एक सृष्टि गरिएका मानिसको आराधना गर्नु भनेको, ईश्वर निन्दा गर्नु हो भन्ने कुरा आरियसको दिमागमा थियो । यही कुरा अहिलेका ख्रीष्टियानहरू, मोरमोन र यहोवाका साक्षीहरूमा पनि विकराल छ । ती मानिसहरूमा पनि जसले येशूसम्बन्धी स्वर्गदुत र अरू प्राणीहरू भन्दा उच्च विचार त राख्छन् तर उहाँको पूर्ण ईश्वरीयतालाई भने इन्कार गर्छन् । यो विवादले सन् ३२५ मा विभिन्न चर्चहरूलाई नाइसिया परिषद्को भेलाको रूपमा एकतावद्द गरायो । जसले नाइसिन विश्वासको सारको मस्यौदालाई तयार पार्याे। यो विश्वासको सारले आरियावाद लगाएको आरोपहरूको चाखलाग्दो उत्तर दिन्छ । उक्त विस्वासको सारमा लेखिएको, “येशू एक मात्र पुत्र (जन्माइएको, बनाइएको हैन” भन्ने वक्तव्यमा हामी उत्तर पाउनसक्छौँ । ग्रीकहरूको लागि यस वक्तव्यका शब्दहरू आफैमा विरोधाभास थियो । साधारण रूपमा भन्नुपर्दा, जन्माइएका
भन्ने शब्दले जीवनको सुरुवातको सङ्केत गर्छ, तर येशूको सन्दर्भमा भने उहाँ “जन्माइएको” भन्नुको पछाडि एक अद्वितीय अर्थ छ जसले उहाँलाई सारा सृष्टि भन्दा फरक बनाँउछ । येशूलाई मोनोगेनिस अर्थात एक मात्र “परमेश्वरका पुत्र” भनिन्छ । केवल येशू मात्र परमेश्वरको अनन्त पुत्र हुनुको पछाडि यही अर्थ छ कि उहाँको कुनै सुरुवात छैन । येशू, परमेश्वरका एक मात्र अनन्तका पुत्र हुनुहुन्छ भनेर भनिरहँदा र्चचले बताउन चाहेको कुरा पनि यही
थियो कि, उहाँ जन्माइएको पुत्र हुनुहुन्छ, बनाइएको हैन ।
यो विशिष्टता केवल येशूको अनन्त चरित्रमा मात्र नभएर उहाँको आफ्नो पितासँगको आत्मियतामा पनि हामी पाउँछौँ । नयाँ करारमा परमेश्वरका पुत्र भन्ने कुराले परमेश्वरप्रति र उहाँको इच्छाप्रति आज्ञाकारी रहनुभन्ने एक अद्भूत सम्बन्धलाई जनाउँछ । यसैगरी, पहिले जन्मिएको भन्नुको मुख्य विचारले जन्म क्रमसँग नभएर ख्रीष्टको सर्वश्रेष्ठतासँग सरोकार राख्दछ । नाइसियाले, यो अर्थहीन झूटा तर्कहरूलाई हल्का रूपमा लिइरहेको थिएन तर “जन्माइएको, बनाइएको हैन” भन्ने सूत्रको प्रयोग गर्दै यी झूटलाई निस्क्रिय पार्न बडो गम्भीरतापूर्वक लागि परेकोथियो ।
नयाँ करारमा येशूलाई दिइएको सबै नाम र उपाधिको आफ्नै महत्व छ । प्रत्येकले उहाँ को हुनुहुन्छ र उहाँले के गर्नुभयो भन्ने विषयमा हामीलाई बताउँछ । ख्रीष्टको जीवनमा उहाँको “व्यक्ति” र उहाँको कार्य दुवै एकअर्कासँग मेल खान्छ ।
-आर.सी.स्प्रौल





