झूटा सुसमाचारका मुख्य बुँदाहरू के के हुन्?

१) परमेश्वर हामीलाई धनी बनाउन चाहनुहुन्छ
वर्तमान समयका केही प्रचारकहरूले यसो भन्ने गर्छन्, असल समाचार भनेको यही हो कि परमेश्वरले हामीलाई प्रशस्तै रूपमा धन र सम्पत्तिद्वारा आशिष् दिन चाहनुहुन्छ– हामीले केवल माग्नु मात्र पर्छ । तर सुसमाचार त आत्मिक आशिष् को सन्देश हो, (एफिसी १ः३) । परमेश्वरले हाम्रो निम्ति येशू ख्रीष्टलाई मर्न र पुनः जीवित हुनलाई पठाउनु भयो, ताकि हामी धर्मी ठहरिऔँ र परमेश्वरसँग पुनर्मिलनमा आउन सकौँ र अनन्त जीवन पाउन सकौँ, (रोमी ३ः २५–२६, ६ः२३, २ कोरिन्थी ५ः१८–२१) । बाइबलले हामीलाई निर्दिष्ट रूपमा बताउँछ कि, ख्रीष्टियानहरू भौतिक सम्पन्नता नभएर कष्ट (प्रेरित १४ः२२), सतावट (२ तिमोथी ३ः१२) र दुःख (रोमी ८ः१७) भएर जानेछन् । तर यी सबै कुराहरूले तिनीहरूलाई अवर्णनीय महिमा तर्फ डोर्याउनेछ, (२ कोरिन्थी ४ः १७, रोमी ८ः १८ ) ।
२) परमेश्वर प्रेम हुनुहुन्छ र हामी ठिक छौँ
केही मानिसहरूले सोच्ने गर्छन्, सुसमाचार भनेको यही हो कि, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँले हामी जस्तो छौँ त्यस्तै स्विकार्नु हुन्छ । तर बाइबलीय सुसमाचारले हामीलाई प्रष्टै रूपमा बताउँछ कि, मानिसहरू परमेश्वरको क्रोधमुनि रहेका पापीहरू हुन्, (रोमी ३ः२३, यूहन्ना ३ः३६ ) । तर परमेश्वरले येशूको क्रूसको मृत्युद्वारा यस समस्याको समाधान गरिदिनुभएको छ । यस आमूल समाधानसँगै परमेश्वरले उतिकै आमूल प्रतिक्रियाको पनि माग गर्नुहुन्छ– आफ्ना पापहरूको प्रायश्चित र उद्धारको निम्ति ख्रीष्टमा भरोसा गर्नु ।
३) हामी ठिक जीवन जिउनुपर्छ
सुसमाचारले हामीलाई असल जीवन जिउन र परमेश्वरको अघि आफैलाई ठिक बनाउन भनी भन्दैन । तर वास्तवमा सुसमाचारले हामीलाई ठिक त्यसको विपरित भन्छ । परमेश्वरलाई प्रसन्न पार्न र उहाँमा ग्रहण गरिनको लागि हामीले केही पनि गर्न सक्दैनौ, (रोमी ८ः५– ८) । तर असल समाचार यो छ कि, हामीले आफ्नै सामर्थमा कहिल्यै गर्न नसक्ने काम येशूले गरिदिनु भएको छ । आफ्ना पापबाट फर्किएर उहाँ माथि भरोसा गर्ने सबैको निम्ति उहाँले सिद्ध जीवन जिएर, क्रूसमा परमेश्वरको क्रोधलाई सहेर उनीहरूको उद्धारलाई सुनिश्चित गरिदिनु भएको छ, (रोमी ५ः ६– ११, ८ः ३१– ३४ ) ।
४) येशू समाज परिवर्तन गर्न आउनु भयो
कोहीले यो पनि विश्वास गर्छन कि, येशू समाज परिवर्तन गर्न र राजनैतिक क्रान्तिद्वारा उत्पीडितहरूलाई न्याय दिलाउन आउनु भएको हो । तर बाइबलले सिकाउँछ कि यो संसार तब मात्र ठिक बनाइने छ, जब येशू फेरी आउनु हुनेछ र नयाँ स्वर्ग र पृथ्वी ल्याउनुहुनेछ, (२ थेसलोनिकी २ः९–१०, प्रकाश २१ः१–५) । आधारभूत रूपमा सुसमाचार यस युगमा समाज परिवर्तनको बारेमा नभइ परमेश्वरको क्रोधबाट ख्रीष्टमा गरिएको विश्वासद्वारा मुक्ति पाउने बारेमा हो ।



