ख्रीष्टियानहरू किन भेला हुनुपर्छ?

एक ख्रीष्टियानको रूपमा, तपाईं ख्रीष्टको बगालको अंश हुनुहुन्छ, जसलाई चर्च भनिन्छ। तपाईं उहाँको राज्यको प्रतिनिधि हुनुहुन्छ र उहाँको शरीरको एउटा अंग हुनुहुन्छ। त्यसैले, जब तपाईं चर्चमा भेला हुनुहुन्छ, परमेश्वरले तपाईंलाई र अरू सबैलाई त्यहाँ लैजान काम गरिरहनुभएको हुन्छ। उहाँले आफ्ना उद्धार गरिएका मानिसहरूलाई सामूहिक रूपमा भेला गराउनुहुन्छ।
चर्च एउटा सभा हो । यदि चर्च कहिल्यै पनि भेला हुँदैन भने, त्यो चर्च नै होइन। परमेश्वरले हामीलाई सामूहिक भेला हुने मानिसहरूको रूपमा उद्धार गर्नुभएको छ। यो सत्यता हामी पवित्रशास्त्रमा देख्छौँ। पुरानो करारमा इस्राएलीहरूलाई मिश्रबाट उद्धार गरिएपछि सीनै पहाडमा भेला गराइएको थियो, जसलाई सभाको दिनू भनिन्थ्यो। पुरानो करारमा सभा अर्थ दिने ग्रीक शब्द ‘एक्लेसिया’ नयाँ करारका लेखकहरूले स्थानीय चर्चलाई जनाउन प्रयोग गर्छन्।
नयाँ करारले हामीलाई स्थानीय चर्चको (भेला-सभा) बारे धेरै कुरा सिकाउँछ
चर्चहरू नियमित रूपमा भेला हुन्छन्। पावलले मण्डलीमा एकसाथ भेला हुँदा वा जम्मै मण्डली भेला भएर जस्ता वाक्यांशहरू प्रयोग गर्छन् (१ कोरिन्थी ११:१८, १४:२३)
चर्चको सभा एउटा छुट्टै कार्यक्रम हो। पावलले चर्चको सभामा विश्वासीहरूले के गर्नुपर्छ भन्ने बारेमा निर्देशनहरू दिएका छन् (१ कोरिन्थी १४:१९०)
नयाँ करारको युगमा हजारौं विश्वासीहरू भएको यरूशलेमको चर्च पनि एउटै झुण्डको रूपमा भेला हुन्थ्यो (प्रेरित ५:१२०)
नयाँ करारका लेखकहरूले चर्चहरूलाई यस्ता क्रियाकलापहरू गर्न निर्देशन दिन्छन् जुन एकसाथ भेला भएर मात्र पूरा गर्न सकिन्छ, जस्तै: एकअर्कालाई शिक्षा र अर्ती दिनु, भजन गाउनु, पवित्रशास्त्र पढ्नु र एकअर्कालाई हौसला दिनु (कलस्सी ३:१६; हिब्रू १०:२४–२५)
चर्च अनुशासन भेला भएको समूहको काम हो। येशूले पश्चात्ताप नगर्ने पापीको बारेमा बताउनुहुँदा चर्चलाई एक सिंगो निकायको रूपमा चित्रण गर्नुहुन्छ, जसको लागि उहाँको नाउँमा भेला हुनुपर्दछ (मत्ती १८:१७, २०)
चर्च एउटा भेलाभन्दा बढी हो। यो हप्ताभरि ख्रीष्टको प्रतिनिधित्व गर्ने मानिसहरूको समूह हो । तर चर्च भेलाभन्दा कम कहिल्यै हुँदैन। प्रसिद्ध पास्टर डब्लयू बी. जोन्सन्ले भनेझैँ, चर्च भनेको पाप र दण्डबाट मुक्त पारिएका चेलाहरूको एउटा समूह हो, जो केही कर्तव्यहरू पूरा गर्न र केही लक्ष्यहरू हासिल गर्न एकसाथ जोडिएका हुन्छन् ।
चर्चको भेला महत्त्वपूर्ण हुनुको मुख्य दुई कारणहरू
१. यसले चर्चलाई आफैले देख्न सक्ने बनाइदिन्छ जब चर्च सामूहिक आराधनाको लागि भेला हुन्छ, समूह आफ्नै लागि उपस्थित हुन्छ । यसले आफूलाई परमेश्वरको अनुग्रहद्वारा भेला गराइएको एउटा समुदाय भएको स्वीकार गर्दछ। जब हामी एकसाथ भेला हुन्छौं, हामी एकअर्काको लागि प्रेमभावले भरिन्छौँ । हामी देख्छौँ कि येशूले आफ्नै रगतले किन्नुभएको मानिसहरू हाम्रो वास्ता गर्न, हाम्रो कमजोरीहरूलाई सहन र हामीलाई बारम्बार ख्रीष्टतिर डोऱ्याउन समर्पित छन् ।
२. यसले चर्चलाई संसारले पनि देख्न सक्ने बनाइदिन्छ । परमेश्वरले यहूदी र गैर-यहूदीलाई एउटै शरीरमा जोड्नुको कारण यसरी चर्चद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस् (एफिसी ३:१०)। चर्चको सभामा विभिन्न पृष्ठभूमिका मानिसहरू एकसाथ मिलेर एउटै त्रिएक परमेश्वरको प्रशंसा गर्छन्, एकअर्काका बोझहरू उठाउँछन् । यो भेलाले संसारलाई अचम्मित बनाउनुपर्छ।
परमेश्वरको अनुग्रहले भेला गरिएका
हामी आफ्नै पहल वा सामर्थ्यमा भेला हुँदैनौं। हामी परमेश्वरले हामीलाई एकसाथ भेला गराउनुहुने कारणले मात्र भेला हुन्छौँ । परमेश्वरले नै हामीलाई एउटा शरीर बनाउनुहुन्छ र उहाँले नै उक्त शरीरलाई साप्ताहिक सभामा भेला गराउनुहुन्छ। आराधनालाई परमेश्वरप्रतिको हाम्रो प्रतिक्रिया भनेर व्याख्या गर्नु सामान्य हो, तर यो पूर्ण सत्य होइन। हामीले परमेश्वरप्रति प्रतिक्रिया जनाउनुभन्दा पहिले उहाँले नै हामीमा काम गर्नुहुन्छ।
रोमी १२:१ मा पावलले परमेश्वरको कृपालाई ध्यानमा राखी आफ्ना शरीरलाई पवित्र र ग्रहणयोग्य बलिको रूपमा अर्पण गर्न आग्रह गर्छन् । हामीले आफैलाई परमेश्वरलाई अर्पण गर्न सक्नुको कारण भनेको ख्रीष्टले पहिला हाम्रो लागि आफैलाई अर्पण गर्नु हो । परमेश्वरले हाम्रो उद्धार गर्नुभएपछि, उहाँले सार्वभौमिक रूपमा हामीमा त्यो कुरा राखिदिनुहुन्छ, जुन उहाँले हामीबाट माग्नुहुन्छ ।
आराधना सर्वप्रथम परमेश्वरको काम हो, अनि मात्र हाम्रो । उहाँले नै हामीलाई आराधना गर्न सक्षम बनाउनुहुन्छ। पिता परमेश्वरले आफ्नै प्रेमिलो इच्छाको आधारमा आफ्नै निम्ति एउटा जाति अघिबाटै नियुक्त गर्नुभयो । पुत्र परमेश्वरले हाम्रो सट्टामा आफैलाई बलिदानको रूपमा अर्पण गर्नुभयो, जसले हाम्रो लागि परमेश्वरको नजिक जाने बाटो खोलिदिन्छ। पवित्र आत्मा परमेश्वरले हामीलाई पुत्रलाई जान्नको लागि हाम्रो हृदयमा प्रकाश दिनुहुन्छ।
हामी भेला हुँदा परमेश्वरले हाम्रो निम्ति सेवा गर्नुहुन्छ। उहाँले आफ्नो उपस्थिति हामीमाझ प्रकट गर्नुहुन्छ, आफ्नो वचनद्वारा आफैलाई प्रकट गर्नुहुन्छ, हामीलाई प्रभु-भोजमा सहभागी गराउनुहुन्छ, र अविश्वासीहरूलाई विश्वासमा ल्याउनुहुन्छ।
सामूहिक आराधनाको सुरु सुन्ने र ग्रहण गर्ने कार्यबाट हुन्छ । हामी अभावग्रस्त र भोका बालबालिकाको रूपमा भेला हुन्छौँ, जो हाम्रा पर्याप्त पितामा निर्भर हुन्छन् । हामी भेला हुँदा, परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ, बल दिनुहुन्छ, र पवित्र पार्नुहुन्छ। उहाँ बोल्नुहुन्छ र हामीलाई थामिराख्नुहुन्छ । हामीलाई सबैभन्दा धेरै खाँचो पर्ने कुरा, अर्थात् ख्रीष्ट, दिनको लागि परमेश्वरले हामीलाई भेला गराउनुहुन्छ ।
-म्याट मर्कर