बाइबलीय ईश्वरशास्त्र किन आवश्यक छ?

कथाको मूल विषयलाई बुझ्नु
मेरो नाम निक रोअर्क हो। म प्राथमिक विद्यालयमा पढ्दा, मेरो एकजना सहपाठी मित्रले, सी. एस. लुइसद्वारा लिखित कथाको विषयमा आधारित एउटा पुस्तक प्रतिवेदन (विवरण) मलाई दिनुभयो। उक्त कथामा चार नानीहरु, एउटा सिंह राजा, एक सेतो बोक्सी, र दराज खोलेर जानुपर्ने एउटा गुप्त र मनोहर भूमिको बारेमा प्रस्तुत गरिएको थियो। उक्त कथा सुनेर म मन्त्रमुग्ध भएँ। अनि मैले पनि आफ्नो लागि नार्नियाको इतिहास (Chronicles of Narnia) नामक कथा–पुस्तिका किनेँ र आनन्द लिई–लिई पढ्न सुरु गरेँ। तर, मैले ख्रीष्टलाई पाएको वर्षौँ पछि मात्र थाहा पाएँ, कि लेखकले आफ्ना पाठकहरुलाई येशूतर्फ देखाउन खोजेको स्पष्ट उद्देश्यलाई मैले बुझ्न चुकिरहेको रहेछु।
यदि यसरी कथा पढ्ने हो भने, कथा चाखलाग्दो पाएर पनि कथाको मूल विषयलाई छुटाउन सकिन्छ। बढी जसो तपाईंको ध्यान कथाको दृश्यहरु वा सहायक पात्रहरुतिर जान सक्छ। तपाईंले एक पटकमा एउटा मात्र अनुच्छेद पढ्न सक्नुहुन्छ, वा तपाईंलाई पढ्न मन नलागेको अनुच्छेद छोडेर अर्को अनुच्छेदमा जान सक्नुहुन्छ। तपाईंले
अनेकौँ असान्दर्भिक खण्डहरुलाई लिएर कथाको मुल विषय पनि बनाउन सक्नुहुन्छ। यदि यस्तो गर्नुभयो भने, तपाईंले कथाको मुख्य नायक र मूल विषयहरुलाई गलत बुझ्नुहुनेछ।
बाइबल, ईश्वरीय प्रेरणाद्वारा लेखिएको उहाँको कथा हो। बाइबलले आफ्नो कथाहरुलाई कथासंग्रह, भजनसंग्रह, हितोपदेश, सुसमाचारका पुस्तकहरु, पत्रहरु, र अपोकलाप्टीक साहित्यहरुको माध्यमद्वारा बताउँदछ। यी सबै किसिमका लेखन शैलीहरु सँगै मिलेर, बाइबलले इतिहासमा परमेश्वले गर्नुभएको उद्धारको कार्यको एउटा
कथा बताउँछ। बाइबलमा विभिन्न लेखकहरुद्वारा लेखिएका छैसट्ठी वटा पुस्तकहरु छन्। ती लेखकहरु पवित्र आत्माद्वारा प्रेरित थिए। तिनीहरुले आफ्ना विशिष्ट व्यक्तित्वहरु र परिवेशहरु प्रयोग गरेर हाम्रो लागि धर्मशास्त्रको पुस्तक–सूची (६६ वटा पुस्तकहरु) तय गरिदिए, जसको विषय र कहानी एउटै छ।
बाइबलको लेखक स्वयम् परमेश्वर हुनुहुन्छ भन्ने तथ्य हरेक ख्रीष्टियानहरुले स्वीकार गर्छन्। र तिनीहरुले वर्षौँसम्म दैनिक रुपमा बाइबल पढ्ने पनि गर्छन्। तरैपनि, धेरै जनाले बाइबल कसको विषयमा लेखिएको पुस्तक हो भनी बुझिरहेका हुँदैनन्। त्यस्ता मानिसहरुको विषयमा येशूले यूहन्ना ५ः३९–४० मा यसो भन्नुहुन्छः “तिमीहरु धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरु ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरु जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।” पवित्र धर्मशास्त्रलाई आदर गर्न सम्भव छ, र पनि परमेश्वरले बनाउनुभएको महान् योजनालाई देख्न चुकेर धर्मशास्त्रलाई गलत रुपमा पढ्न र प्रयोग गर्न सकिन्छ। तर परमेश्वरको महिमा होस्, कि बाइबलका लेखकहरुले आफ्नो कथाको मूल विषयबारे केही सङ्केतहरु हामीलाई छाडिदिएका छन्। येशू ख्रीष्ट आफैले दिनुभएको एउटा प्रमुख सङ्केत यसप्रकार छः
उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुसँग हुँदा मैले बोलेका
वचनहरु यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र
भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।”
तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरुको समझ खोलिदिनुभयो।
उहाँले तिनीहरुलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले
दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि
यरुशलेमबाट सुरु गरेर सबै जातिहरुलाई उहाँको नाउँमा
पश्चात्ताप र पाप–क्षमाको प्रचार हुनुपर्छ। तिमीहरु यी नै कुराका
साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरुकहाँ पठाउँछु, तर
माथिबाट शक्ति प्राप्त नगरुञ्जेल तिमीहरु यही सहरमा बसिरहो”
(लूका २४ः४४–४९)।
यस खण्डमा येशूले दुईवटा कुरालाई व्याख्या गर्नुहुन्छ। पहिलो, उहाँले एउटा स्तब्ध पार्ने सत्यता घोषणा गर्नुहुन्छ, कि
पुरानो करारको सम्पूर्ण पुस्तकहरु— व्यवस्था, अगमवक्ता, र भजनको पुस्तक— उहाँको विषयमा लेखिएको थियो। अर्को शब्दमा भन्नुपर्दा, येशूले आफैलाई प्रतिज्ञा गरिएको मसीहको रुपमा चिनाउनुहुन्छ। दोस्रो, उहाँ भन्नुहुन्छ किः उहाँका चेलाहरु सबै देशका जातिहरुकहाँ यी नै कुराको साक्षी हुनेछन्।
सरल भाषामा भन्नुपर्दा, जबसम्म तपाईंले सम्पूर्ण बाइबल येशूको बारेमा हो भनी देख्नुहुन्न, तबसम्म तपाईंले बाइबलको कथा बुझ्नुहुन्न! उत्पत्तिदेखि प्रकाशसम्म येशू नै कथाको मुख्य नायक र विषय हुनुहुन्छ। अझै भन्नुपर्दा, यदि तपाईंले बाइबलमा पाइने कथा सबै येशूको बारेमा हो भनी बुझ्नुभएन भने तपाईंले येशूको वास्तविक पहिचानलाई पनि बुझ्नुहुन्न। येशू बाइबलको अर्थ खोलिदिनुहुने साँचो (चाबी) हुनुहुन्छ। तसर्थ, बाइबललाई होसियारीपूर्वक अध्ययन गर्नेले उहाँलाई कथाको सुरु, बीच, र अन्त्यमा भेट्टाउनेछ। बाइबलमा परमेश्वरले हाम्रो लागि राजा येशूको उद्देश्य, योजना, र प्रतिज्ञाहरु प्रकट गरिदिनुभएको छ। यी कुराहरु इतिहासको कालखण्डमा पूरा हुँदै जाँदा हामीले मूल कथालाई ध्यान दिनुपर्छ, र येशूले हामीलाई सिकाउनुभए झैँ कथालाई पढ्नुपर्छ। परमेश्वरको कथा
सबैभन्दा महान् कथा हो। यो कथा येशू ख्रीष्टको व्यक्ति र काममा आधारित परमेश्वरको उद्धारको योजनामा केन्द्रित छ। तर, बाइबललाई यसरी विश्वासयोग्य भई पढ्नको निम्ति हामीलाई उचित सामग्रीहरु पनि चाहिन्छ। उचित सामग्रीहरुमध्ये बाइबलीय ईश्वरशास्त्र पनि एक हो।
१. बाइबलीय ईश्वरशास्त्रले हामीलाई बाइबलको मुख्य उद्देश्य पत्ता लगाउन सहायता गर्दछ। केही मानिसहरुले परमेश्वरको वचनलाई असल जीवनको लागि सुझाव र सल्लाह दिने पुस्तक जस्तो मानिलिन्छन्। अर्थात्, खानाको परिकार बनाउन साहयता पुर्याउने पुस्तक जस्तो। उनीहरुले बाइबलका कथाहरु बीचको सम्बन्ध नै देख्दैनन्। र यस्तो किसिमको दृष्टिकोणहरुले पवित्रशास्त्रको मुख्य उद्देश्यलाई प्रकाशमा ल्याउन सक्दैन।
बाइबलमा, त्रिएक परमेश्वरले उहाँ को हुनुहुन्छ, र कस्तो हुनुहुन्छ? उहाँले आफ्नो पुत्र, राजा येशू ख्रीष्टमा पवित्र आत्माद्वारा इतिहासभरि नै कसरी काम गरिरहनुभएको छ? र हामीले यस संसारमा उहाँको महिमा कसरी गर्नुपर्दछ? भन्ने कुरा बताउनुभएको छ। बाइबलीय ईश्वरशास्त्रले हामीलाई सम्पूर्ण बाइबलको प्रकाशमा प्रत्येक पाठलाई विचार गर्दै त्यो मुख्य उद्देश्य बुझ्न मद्दत गर्दछ, ताकी हामीले पवित्रशास्त्रको हरेक अंश कसरी येशू ख्रीष्टसँग सम्बन्धित छ भनी बुझ्न सकौँ।
२. बाइबलीय ईश्वरशास्त्रले हामीलाई चर्चको सुरक्षा र निर्देशन गर्न मद्दत गर्दछ। धर्मशास्त्रलाई ठिक तरिकाले पढ्नु भनेको बाइबलको महान् कथामा प्रत्येक पुस्तक कहाँनेर पर्छ भनी थाहा पाउनु हो। र महान् कथा सम्बन्धी बुझाइले प्रगतिशील रुपमा प्रकटित परमेश्वरको वचनको अंशको रुपमा दिइएको प्रत्येक घटना, पात्र, वा पाठलाई सही रुपमा पढ्न र बुझ्न साहयता गर्दछ। धर्मशास्त्रको सम्पूर्ण कथासम्बन्धी बुझाइले येशू को हुनुहुन्छ? र उहाँको सुसमाचार के हो? भन्ने स्पष्ट हुँदछ।
परमेश्वरले आफ्नै महिमाको निम्ति आफ्नो पुत्र र आत्माद्वारा हरेक कुल, जाति र भाषा बोल्नेबाट एउटा जातिको उद्धार गर्ने प्रतिज्ञा गर्नुभएको छ। यी उद्धार गरिएका मानिसहरु ख्रीष्टको शरीर, अर्थात्च र्चका सदस्यहरु हुन्। येशू ख्रीष्टको चर्च कस्तो देखिनुपर्छ? चर्चको काम के हो? आफ्ना पापहरु पश्चात्ताप गरी केवल उहाँमा भरोसा गर्ने आफ्ना चेलाहरुलाई येशूले भन्नुभयोः “अनि यरुशलेमबाट सुरु गरेर सबै जातिहरुलाई उहाँको नाउँमा पश्चात्ताप र पाप–क्षमाको प्रचार हुनुपर्छ” (लूका २४ः४७)। यसको अर्थ, येशू ख्रीष्टबारे गरिने घोषणा नै जातिहरुलाई चेला बनाउने चर्चको मिसनको केन्द्रमा हुनुपर्छ। यसरी, बाइबलीय ईश्वरशास्त्रले चर्चलाई झुटो सुसमाचार घोषणा गर्ने घातक त्रुटिबाट जोगाउँछ। साथै, परमेश्वरको महिमा र प्रशंसाको निम्ति चर्चको मिसनको केन्द्रमा साँचो सुसमाचारको घोषणालाई राख्ने बनाउँछ।
३. बाइबलीय ईश्वरशास्त्रले हामीलाई साँचो सुसमाचार प्रचार गर्न मद्दत गर्दछ। ख्रीष्टियान विश्वाससँग अपरिचित मानिसहरुलाई सुसमाचार सुनाउनको निम्ति “चार आत्मिक नियम” वा “रोम जाने बाटो’’ जस्ता सुसमाचारीय पर्चाहरु पर्याप्त हुँदैनन्। पहिले त ती मानिसहरुले ख्रीष्टियान दृष्टिकोण मानसिकताको पूर्ण रुपान्तरणको साथमा आउँदछ भनी बुझ्नु जरुरी हुन्छ। खास समस्या के हो सो बुझ्न हामीले परमेश्वर र उहाँको सृष्टिबाट सुरु गरेर सुसमाचार प्रचार गर्नुपर्छ। यसरी परमेश्वरले इतिहासभरि गरिरहनुभएको कामलाई हामी बुझ्न सक्छौँ, र त्यस बुझाइले हामीलाई उहाँले किन येशूलाई पठाउनुभयो, र आज त्यस कुराले किन महत्व राख्दछ भनी जान्न सहायता गर्छ। हामीले ती विगतका घटनाहरुलाई तिनीहरुको उचित सन्दर्भमा रहेर ठिकसँग नबुझेसम्म वर्तमानमा परमेश्वरले जे गरिरहनुभएको छ र भविष्यमा जे गर्नुहुनेछ त्यो कुरा बुझ्नलाई हामी तयार हुनेछैनौँ।
४. येशूले भन्नुभएअनुसार बाइबलीय ईश्वरशास्त्रले हामीलाई बाइबल पढ्न, बुझ्न, र सिकाउन मद्दत गर्दछ। लूका २४ अध्यायमा येशू आफैले भन्नुभयो, उहाँ धर्मशास्त्रको अर्थ खोलिदिने साँचो हुनुहुन्छ। त्यसैले यदि हामीले घुमिफिरी येशूकहाँ नटुङ्गिने तवरले धर्मशास्त्र पढ्यौँ र त्यसरी बुझ्यौँ भने, हामीले बाइबलको मुख्य विषय बुझ्न चुक्नेछौँ, र
फलस्वरुप हामी अरुहरुलाई पनि त्यही त्रुटि दोहोर्याउन सिकाउनेछौँ।
चर्चहरुले बाइबलको मूल विषय छुटाउँदा के हुन्छ?
निष्कर्ष यही होः चर्चहरुले बाइबलको कथाको मूल विषय छुटायो भने झुटा सुसमाचारहरु र झुटा चर्चहरु पैदा हुन्छन्। आउनुहोस्, केही यस्ता त्रुटिहरुको उदाहरणहरुलाई हेरौँ, जसबाट बाइबलीय ईश्वरशास्त्रले हामीलाई जोगाउँदछ।
समृद्धिको सुसमाचार प्रचार गर्ने चर्च
हामी तपाईंलाई जोनाथनसँग परिचय गराउँछौँ। जोनाथनले दिनहुँ आफ्नो बाइबल पढेर प्रायजसो प्रार्थना गर्ने गर्छ। तर, उसले अहिलेसम्म बाइबलको कुनै पनि पुस्तक पूरै पढेर सिध्याएको छैन। तपाईंले उसको बाइबल हेर्नुभयो भने रङ्गिचङ्गि पाउनुहुनेछ। उसले पुरानो करार र नयाँ करारका थुप्रै पदहरुमा चिनो पनि लगाएको पाइन्छ। जोनाथनको श्रीमती रेबिकाले पनि बाइबलका धेरै पदहरु कण्ठस्थ पारेकी छिन्, र ती पदहरु उनले आफ्ना नानीहरुलाई पनि पालै–पालो सिकाउने गर्छिन्। जोनाथन र उसको सपरिवार आफ्नै सहर अफ्रिकामा भएको एउटा स्थानीय चर्चको सदस्यतामा रहि सङ्गति गर्ने गर्छन्। मैले रेबिकालाई उनले कण्ठस्थ पारेका बाइबलको केही पदहरु सुनाउन आग्रह गरेँ, र उनले मलाई मर्कूस ११ः२४ पद वाचन गरेर सुनाइन्ः “यसकारण म तिमीहरुलाई भन्दछु, तिमीहरुले प्रार्थनामा
जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख, र त्यो तिमीहरुको हुनेछ।” त्यसपछि तिनले मलाई भनिन्, “अब्राहामले विश्वाससाथ मागे, र म पनि विश्वाससाथ माग्छु।”
उनको कुरा मलाई चित्तै बुझेन। त्यसैले, मैले उनको पास्टरसँग भेटेर कुरा गर्ने निर्णय गरेँ। र मैले पास्टरलाई भेटेर बाइबलको मुख्य सन्देश के हो भनी सोध्दा उनले यसरी जवाफ दिएः “ल, त्यति पनि थाहा छैन! विश्वास गर्ने जति सबैलाई प्रशस्त जीवन दिन परमेश्वरले येशूलाई पठाउनुभयो। यदि हामीसँग केवल विश्वास मात्र छ भने, यो जीवन परमेश्वरले हामीलाई येशूले पाउनुपर्ने सारा धन र आशिष्को साथमा अहिले नै दिनुहुनेछ। अब्राहामले जस्तै विश्वाससाथ प्रार्थना गरेर हामीले पनि आफ्नो निम्ति आशिष्हरु पैदा गर्न सक्छौँ।” परमेश्वर र राष्ट्रबीचको सम्बन्धको सुसमाचार प्रचार गर्ने चर्च यस पटकको भ्रमणमा मैले संयुक्त राज्य अमेरिकामा भएका अन्य ख्रीष्टियानहरुलाई बाइबलको मुख्य सन्देश के हो भनी सोधेँ। उनीहरुको उत्तर यसप्रकार थियोः
अमेरिका एक ख्रीष्टियान मुलुक हो। परमेश्वरले चुन्नुभएको इस्राएल
राष्ट्र जस्तै, अमेरिका डाँडामा बसालिएको सहर हो। परमेश्वरले
यस देशलाई आशिष् दिनुभएको छ। तर, २ इतिहास ७ः१४ ले
भनेझैँ “यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई
नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट
फर्कन्छ, तब म स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुका
पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वस्थ्य पार्नेछु।”
उनीहरुले आफ्नो कुरालाई निरन्तरता दिएः
मेरो लागि चर्च भनेको परमेश्वर र राष्ट्रहरुबीचको सम्बन्ध हो।
अमेरिका एक ख्रीष्टियान मुलुक हो जस्तो लाग्थ्यो, तर अब
त सार्वजनिक विद्यालयको पर्खालहरुमा पनि दश आज्ञा टाँस्न
नपाइने अरे। यदि अमेरिकीहरु अब्राहाम, मोशा, र दाऊद जस्तै
असल र नैतिकवान् भइदिने हो भने हामी सबैले उन्नति–प्रगति
गर्ने थियौँ र परमेश्वरबाटको आशिष् को सुरक्षा र सान्त्वना उपभोग
गर्न पाउने थियौँ।
सामाजिक सेवामा समर्पित चर्च
जोन हालसालै मात्र एउटा सहरमा बसाइँ सरे, र गरिबहरुको सेवा गर्ने लक्ष्य बोकेका चर्चहरुको सञ्जालमा रहेर काम गर्न सुरु गरे। जोनको मुख्य काम भनेको जम्मा भएको खाना व्यवस्थापन गर्नु थियो। जोनको चर्चले मीका ६ः८ मा पाइने ‘ठीकसित काम गर्नू, कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू’ भन्ने बाइबलको आज्ञा पालन गर्न चाहन्थ्यो। जोनले पनि यो स्वीकार गर्छन्, कि उनको चर्चले परमेश्वरले हाम्रो लागि ख्रीष्टमा के गर्नुभएको छ भन्दा पनि हामीले परमेश्वरको लागि के गर्नुपर्छ भन्ने शिक्षामा जोर दिन्छ। जोन भन्छन्, “हामी जहाँ भए पनि मानिसको पीडालाई कम गर्ने काममा लाग्छौँ। गरिबहरुलाई खुवाउने चर्चको रुपमा हामी परिचित छौँ। यसमा गलत के छ र?”
पापमय कार्यहरुलाई समर्थन गर्ने चर्च
बाइबलीय ईश्वरशास्त्रले मूलभूतरुपमा विश्वासयोग्य ख्रीष्टका चेलाहरुलाई बाइबलको समग्र कथासँग बाझिने किसिमको धर्मशास्त्रको त्रुटिपूर्ण व्याख्यालाई पहिचान र खण्डन गर्न साहयता गर्दछ। सिदिया एक ख्रीष्टियान परिवारबाट आएकी जवान विद्यार्थी हुन्। उनलाई सानैदेखि बाइबल सिकाइएको कारण उनले बाइबलको मूल कथा बुझेकी छिन्। उनले नयाँ करारको ग्रीक भाषामा एक वर्षे अध्ययन पनि सिध्याएकी छिन्। उनले हरेक कुरालाई ख्रीष्टियान दृष्टिकोणबाट हेर्छिन्। तर, पछिल्ला दिनहरुमा आफूलाई ख्रीष्टियान दाबी गर्ने समलिङ्गीहरु भेटेको
कारण उनी अन्योलमा परेकी छिन्। तिनीहरु दयालु, उद्धारचित्तका, र प्रेमीलो पनि छन्।
“बाइबल त्यस्ता मानिसहरुको विरुद्धमा कसरी हुन सक्छ?” भनी उनी छक्क पर्छिन्।
उनले बाइबलका विद्वानहरुले लेखेका केही लेखहरु पढ्छिन्, जसले समलिङ्गी अभ्यास किन पाप हो भनी बताउन परम्परागत रुपमा प्रयोग गरिएका बाइबलका मुख्य खण्डहरुको अङ्ग्रेजी अनुवादमाथि प्रश्न उठाउँछिन्। तत्कालै उनले एउटा प्रश्न गरेकि छिन्, “बाइबलमा समलिङ्गी विवाहलाई स्पष्टरुपमा मनाही गर्ने कुनै पद छैन। त्यसकारण, यदि दुई स्त्रीले एकअर्कालाई साँच्चै प्रेम गर्छन् भने के हुन्छ?”
निष्कर्ष
बाइबलीय ईश्वरशास्त्रले ख्रीष्टियानहरु र स्थानीय चर्चहरुलाई सम्बोधन गर्न साहयता गर्ने केही समस्याहरु यी नै हुन्। बाइबलीय ईश्वरशास्त्रले सम्बोधन गर्न साहयता गर्ने अरु समस्याहरु पनि छन्। आउने अध्यायहरुमा बाइबलीय ईश्वरशास्त्रले कसरी हामीलाई बाइबलको एकमात्र सत्य कथाको सुरु, बीच, र अन्त्यमा राजा येशूलाई राखेर कथालाई सही रुपमा बुझ्न मद्दत गर्दछ भनी हेर्नेछौँ।
तर, हामी निकै अघि बढिसकेका छौँ। आउनुहोस्, एउटा प्रश्नसँगै सुरु गरौँ, बाइबलीय ईश्वरशास्त्र भनेको के हो?