आत्मिक खोराक

प्रार्थनाले चर्चको आत्मिक जीवनलाई पोषण दिन्छ
आत्मिक खोराकः एकसाथ भोजन लिनु
मेरो जीवनको सबैभन्दा ठुलो निराशामध्ये एक भनेको व्यावसायीकरण गरिएको खाना हो। एट्लान्टाको लगभग एक दशकको बसाइले म त्यहाँको बारेमा विशेषज्ञले जस्तै कुरा गर्न सक्छु । एट्लान्टामा यस्ता थुप्रै भोजनालयहरू छन्, जहाँ मानिसहरूलाई पर्खन नलगाई उनीहरूले चाहेको खाना छिटो प्रदान गर्ने प्रयास गरिन्छ । खानामा प्रयोग गरिने मरमसला सोही हुनसक्छ, तर यदि तपाईंले बिस्तारै पकाउने कुरालाई बेवास्ता गर्नुहुन्छ, र हतारमा पकाउनुहुन्छ भने, तपाईंले शरीरलाई चाहिँने पौष्टिक खानालाई नै परिवर्तन गर्नुहुन्छ । तपाईले यसलाई सस्तो तुल्याउनुहुन्छ ।
पर्खने कुरा नै पौष्टिक खानाको एउटा विशेषता हो, किनकि यो परिवार र इष्टमित्रको साथ खाने बारेमा हो। यो एकसाथ आउने र खाना तयारी हुँदै गर्दा एकअर्कासँग कुराकानी गर्दै रमाइलो गर्ने बारेमा हो। यो टन्न खाएपछि एकसाथ आराम गर्दै समय बिताउने बारेमा हो।
हामीले प्रार्थनाको बारेमा पनि यसरी नै सोच्नुपर्छ । येशूले प्रार्थनाको दोस्रो भाग प्रचार गर्नुहुँदा उहाँको उद्देश्य पनि यही थियो भनी म विश्वास गर्छु ।
प्रावधानको निम्ति प्रार्थनाः भौतिक खाँचोहरूभन्दा बढी नै
प्रार्थना परमेश्वरको प्रावधानभन्दा बढी उहाँको उपस्थितिको चाहसँगै सुरू हुन्छ । तर, प्रार्थना त्यतिमै टुङ्गिनुहुँदैन । हामीलाई परमेश्वरबाट अरू कुराको पनि खाँचो पर्दछ । उहाँले हामीलाई खाना र लुगाफाटालाई प्राथमिकता नदेऊ भन्नुको मतलब हामीलाई खाना र लुगाफाटाको खाँचो नै पर्दैन भन्ने होइन। येशूले हामीलाई विशेषगरी तीनवटा कुराको निम्ति प्रार्थना गर्न सिकाउनुहुन्छः प्रावधान, क्षमा र सुरक्षा । येशूले यति मात्र सिकाउनुभएको छैन, तर यिमध्ये कुनलाई प्राथमिकता दिने भन्ने पनि सिकाउनुभएको छ ।
प्रावधान
सर्वप्रथम, येशूले हामीलाई ‘हाम्रो दैनिक भोजन’ (मत्ति ६:११) को निम्ति प्रार्थना गर्न सिकाउनुहुन्छ । ध्यान दिनुहोस्, कि उहाँ हामीले साप्ताहिक वा मासिक भोजन वा सुरक्षा कोषको निम्ति होइन, तर दैनिक भोजनको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ । हामीले दैनिक रूपमा उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ । येशूको यो शिक्षा हितोपदेश ३०:८-९ मा भएको आगूरको प्रार्थनासँग मिल्दोजुल्दो छ । आगूर यसरी प्रार्थना गर्छन्ः
न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई दिन-दिनको रोटी दिनुहोस्, अन्यथा मसँग धेरै भएकाले म तपाईंलाई इन्कार गरुँला, र ‘परमप्रभु को हो र ? भनूँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्वरको नाउँ अपमानित पारुँला “
के तपाईले येशूको शिक्षा र आगूरको प्रार्थना मिल्दोजुल्दो भएको देख्नुभयो ? आगूरले आफ्नो आवश्यकता पूरा भएको
कुरामा मात्र रूचि राख्दैनन् । तर, उनी चाहे प्रशस्ततामा होस्, चाहे अभावमा, परमेश्वरको नाउँ अपवित्र नहोस् भन्ने चाहन्छन् । प्रशस्तताले परमेश्वरको आवश्यकता छैन भनी भन्छ । अभावले परमेश्वरले बेवास्ता गर्नुहुन्छ भनी भन्छ । ‘त्यसैले, आज मलाई जे चाहिन्छ, त्यही मात्र दिनुहोस्, र भोलि पनि म तपाईंकहाँ आउन सकूँ। मलाई तपाईमा निरन्तर भरोसा गर्न सहायता गर्नुहोस्, ताकि हरेक दिन म तपाईंको प्रबन्धमा भर पर्दा, तपाई मेरो सबै आवश्यकता पूरा गर्न पर्याप्त हुनुहुन्छ भन्ने कुरा देख्न सकूँ । यसको मतलब हामीले अघिल्लो अध्यायमा छलफल गरेको ‘तपाईंको नाम पवित्र होस्’ भन्ने प्रार्थनालाई हाम्रा मागहरूले छायामा पार्नुपर्छ भन्ने होइन । भोजन र धनसम्पतिप्रतिको हाम्रो व्यवहारले हामीबाट प्रदर्शन हुने परमेश्वरको महिमालाई कि त अझ प्रष्ट देखाउँछ, कि त अझ मधुरो पार्छ । प्रबन्धको प्रार्थना र प्रशंसाको प्रार्थना अविभाज्य छन् र हाम्रो दैनिक निर्भरताको प्रकृतिले यसलाई स्पष्ट बनाउँछ ।
हामी खाना खानुअघि गरिने खानाको प्रार्थनासँग अभ्यस्त छौं। तर, हामी हरेक बिहान ओछ्यानबाट उठेर ‘हे परमेश्वर आज हामीलाई खुवाउनुहोस्’ भनी प्रार्थना गर्दैनौं। किन ? किनकि हामीसँग बैङ्क खाता छ, जागिर छ, र हामीलाई खाना दिने प्रेमिलो मानिसहरू पनि छन् । जसरी पनि खान्छौँ भन्ने कुरामा हामी विश्वस्त छौं। हामी बिरलै भोकमरीको बारेमा सोच्छौं। बिहान यसरी प्रार्थना गर्नु केवल औपचारिकता जस्तो मात्र देखिन्छ । हामी परमेश्वरको प्रबन्धलाई सस्तो ठान्छौं, किनकि हामी यसरी सोच्छौँ, हामीले यो हाम्रो परिश्रम र लगनशीलताबाट कमाएका हौं। र हामी फेरि यो पनि सोच्छौँ, कि हामीसँग कहिल्यै पुगीसरी छैन ।
यस प्रकारको घमण्डले हामीलाई कृतज्ञ हुनबाट रोक्छ । जब कृतज्ञताले ठाउँ छोड्छ, तब तुरून्तै लोभ भित्र पस्छ र अरू कुनै कुरालाई ठाउँ दिँदैन । लोभी मानिसले गर्वसाथ यसरी भन्छ ‘मसँग भएका कुराको निम्ति मैले धेरै परिश्रम गरेको छु, त्यसैले मैले यिनीहरूको भरपूर आनन्द लिनुपर्छ । मैले गैरजिम्मेवार व्यक्तिको किन वास्ता गर्न ? यदि हामी हाम्रो प्रावधान हाम्रो आफ्नै बलले आउँछ भनी सोच्छौं भने, हामीले यसलाई कसरी चलाउने भन्ने पनि आफैले निर्धारण गर्नुपर्छ भनी सोच्छौं ।
तर, येशूले यसो गर्ने अनुमति दिनुहुन्न । उहाँले हामीलाई दैनिक भोजनको निम्ति प्रार्थना गर्ने आज्ञा दिनुहुन्छ, ताकि हामीले उपभोग गर्ने हरेक कुरा परमेश्वरबाटको हो भनी हामी याद गर्न सकौं ।
क्षमा
येशूले हामीलाई यसो भनेर अर्को प्रार्थना गर्न सिकाउनुहुन्छ, ‘हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं’ (मत्ती ६:१२) । यो बिन्ती साँचो खीष्टियानमतको केन्द्र हो।
यसले हामीलाई यो याद दिलाउँछ, कि परमेश्वरसँगको शान्ती पाप क्षमाबाट मात्र हुँदछ, हाम्रो कामबाट होइन । येशूको प्रतिस्थापनको जीवन, मृत्यु र पुनरूत्थान हाम्रो पाप क्षमाको एक मात्र बिन्ती हो।
हामीले उहाँसँग हाम्रो ऋण मिनाहा गर्नेबारे पुनर्विचार गर्न बिन्ती गरिरहेका छैनौं, न त हामी ऋण तिर्न केही थप समयको माग नै गरिरहेका छौं। बरू, हामी त हाम्रा पाप क्षमाको निम्ति बिन्ती गरिरहेका छौं। हामीले यसलाई कमाउन सक्दैनौं । यसको निम्ति हामी परमेश्वरकहाँ जान्छौं । जसरी हामी भोजनको निम्ति प्रार्थना गर्छौं, त्यसरी नै पाप क्षमाको निम्ति पनि प्रार्थना गर्नुपर्छ । यसरी प्रार्थना गर्दा, हामीलाई दुई वटा कुराको दैनिक याद हुन्छः (१) हाम्रो निरन्तर असफलता र (२) परमेश्वरको क्षमा दिने तत्परता । यसरी प्रार्थना नगर्नु भनेको परमेश्वरसँग मेरो सम्बन्ध मेरो कामले गर्दा ठिक छ भनी सोच्नु हो। यसरी परमेश्वरसँग कहिल्यै सम्बन्ध स्थापित भएको छैन, न त हुने नै छ ।
जबसम्म हाम्रो हृदय हामी परमेश्वरबाट क्षमा गरिन खाँचो छ भनी विश्वस्त हुँदैन, तबसम्म हामी घमण्डको जालोमा नै हुन्छौं। हामी अरू मानिसहरूको ऋणमा बढी केन्द्रित हुन्छौं (मत्ती १८:२१-३५) । हामी क्षमा दिँदैनौं ।
के तपाईंले गम्भीर रूपमा हरेक दिन ‘हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं’ (मत्ती ६:१२) भनी प्रार्थना गर्नुको आवश्यकता देख्नुभयो ? येशू जान्नुहुन्छ, कि परमेश्वरको नाउँलाई आदर गर्नको लागि हामीलाई हाम्रो पाप र परमेश्वरको अनुग्रहको ताजा स्मरण चाहिन्छ ।
सुरक्षा
अन्तमा, येशूले हामीलाई यसरी प्रार्थना गर्न निर्देशन गर्नुहुन्छ, ‘हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् (मत्ती ६:१३) । हाम्रा विगतका पाप येशूमा क्षमा भएजस्तै, हाम्रा भविष्यका पापबाट हामी उहाँमा सुरक्षा पाउँछौं। तर, समस्याचाहिँ परीक्षाप्रति हामी कस्तो प्रतिक्रिया जनाउँछौं भन्ने हो। हामी कि परीक्षालाई कहिल्यै परिवर्तन गर्न सक्दैनौं भन्दै चिन्तित भएर प्रतिक्रिया दिन्छौं, कि त हामीसँग परीक्षालाई रोक्ने क्षमता छ भन्दै घमण्डका साथ प्रतिक्रिया दिन्छौँ ।
हामीले ती पाउन सकौं भनेर मात्र होइन, बरू हाम्रो प्रार्थनाले हाम्रो जीवनलाई आकार दिएको होस् भनेर येशूले हामीलाई प्रावधान, क्षमा र सुरक्षाको लागि यसकारण प्रार्थना गर्न लगाउनुहुन्छ । हामी आफैले पाउन सक्छौं भनी परीक्षामा पार्ने कुराको निम्ति उहाँले हामीलाई प्रार्थना गर्ने आज्ञा दिनुहुन्छ, किनकि हामी आफैले पाउन सक्ने कुरालाई हामी सामान्य रूपमा लिन्छौं, जसले परमेश्वरको नाउँको अनादर गर्दछ ।
हाम्रो परिवारको लागि बहुवचन प्रयोग गरेर प्रार्थना गर्नु
जब येशूले चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभयो, उहाँले तिनीहरूले आफ्नो मात्र होइन, तर अरूहरूको आवश्यकतालाई पनि याद गरेको चाहनुहुन्थ्यो । त्यसैले उहाँले निरन्तर बहुवचन प्रयोग गर्नुभयो, जस्तै ‘हामीलाई दिनुहोस्… हाम्रा अपराध क्षमा गर्नुहोस् हामीलाई परीक्षामा पर्न नदिनुहोस्… यी कुरा सार्वजनिक रूपमा प्रार्थना गर्दा पनि केही हदसम्म लागुहुन्छ । जब हामी समूहमा प्रार्थना गछौँ, तब हामीले ‘हामी’ र ‘हाम्रो’ जस्ता बहुवचनद्वारा अरू व्यक्तिहरूलाई पनि प्रार्थनामा सहभागी गराउँछौं ।
यद्यपि, जब हामी एक्लै प्रार्थना गछौँ, हाम्रो मनमा हाम्रा छिमेकीहरू हुनुपर्छ । हामीले तिनीहरूलाई प्रेम गर्ने तरिकाहरू खोज्नुपर्छ । यदि हामीले हाम्रा आवश्यकताहरू पूरा गर्न येशू सक्षम हुनुहुन्छ भनी पक्का विश्वास गर्छौँ भने, हामीले यो पनि विश्वास गर्नुपर्छ, कि उहाँ अरूहरूको आवश्यकता पूरा गर्न पनि सक्षम हुनुहुन्छ । येशूले सिकाउनुभएको जसरी नै बहुवचनको प्रयोग गर्दै प्रार्थना गर्नु भनेको हाम्रो छिमेकीलाई प्रेम गर्ने एउटा असल तरिका हो । किनकि, उनीहरू हाम्रो सामुन्ने नभए तापनि, हाम्रो हृदय बाहिर हुँदैनन् ।
जब तपाईंले प्रावधान, पाप क्षमा, र सुरक्षाजस्ता असल कुराको निम्ति प्रार्थना गर्नुहुन्छ, तब तपाईंले ‘हामी” भन्ने सोच्नुहुँदा तपाईंको मनमा को आउँछ ? मलाई लाग्छ, कि तपाईंको मनमा तपाईंले माया गर्नुहुने र तपाईले मन पराउनुहुने मानिसहरू आउँछन् ।
तर, के तपाईंले कहिल्यै तपाईंलाई निराश बनाउने र रिस उठाउने मानिसहरूको लागि परमेश्वरको प्रावधान, क्षमा र सुरक्षाको निम्ति प्रार्थना गर्नुभएको छ ? तिनीहरूको निम्ति तपाईं कत्तिको प्रार्थना गर्नुहुन्छ ? कसैले तपाईंलाई नराम्रो गर्दागर्दै पनि के तपाईं उसलाई आफ्नो प्रार्थनाको सूचीमा राख्नुहुन्छ ? हाम्रा शत्रुहरूलाई ‘हामी’ शब्द भित्र अटाउन गाह्रो हुन्छ । हामी पक्कै उनीहरूको विनाश वा पतनको निम्ति प्रार्थना गर्दैनौँ, तर, हामी उनीहरूको उन्नतिप्रगतिको निम्ति पनि प्रार्थना गर्दैनौं, के गछौँ र ? हो, हामी उनीहरूसँग असल व्यवहार गर्न सकौं भनेर प्रार्थना गछौँ, तर त्यो प्रार्थना उनीहरूको भलाइको निम्ति प्रार्थना गर्नुजस्तो होइन ।
हामीले ‘हामी’ शब्द प्रयोग गरेर प्रार्थना गरिरहेको बेलामा हाम्रो दिमागमा निर्दिष्ट रूपमा कोही पनि नआउन सक्छ । तर, अस्पष्ट रूपमा गरिएको प्रार्थनाले हाम्रो दाजुभाइ र दिदीबहिनीलाई सहायता पुन्याउँदैन । यो बेवास्ता हो। यसले मानिसहरूलाई सहायता पुन्याउँदैन र परमेश्वरको आदर हुँदैन ।
जे. सी. रायलले यसरी लेख्नुहुन्छः
हामी पापी हौं भनी स्वीकार गर्नु मात्र पर्याप्त हुँदैन, हाम्रो विवेकले सबैभन्दा बढी दोष्याएको पापको नामै काढेर हामीले पाप स्वीकार गर्नुपर्छ । पवित्रताको निम्ति प्रार्थना गर्नु मात्र पर्याप्त हुँदैनः सबैभन्दा कमजोर महसुस गरेको क्षेत्रमा हामीले उहाँको अनुग्रह माग्नुपर्छ । हामी समस्यामा छौं भनी परमेश्वरसँग प्रार्थना गर्नु मात्र पर्याप्त हुँदैन; हामीले आफ्नो समस्या र त्यसको विशेषताहरूको वर्णन गर्नुपर्छडाक्टरलाई बिरामी छु भनी भन्ने, तर निर्दिष्ट रूपमा आफ्नो रोगको बारेमा नबताउने बिरामीको बारेमा हामी के सोच्छौं ? आफ्नो श्रीमानलाई आफू दुःखी भएको बताउने, तर त्यसको कारण नबताउने श्रीमतीको बारेमा हामी के सोच्छौं ? आफ्नो बुबालाई म समस्यामा परेको छु भनी भन्ने, तर त्यो बाहेक अरू केही नबताउने छोराको बारेमा हामी के सोच्छौँ ? खीष्ट हाम्रो प्राणको साँचो दुलाहा, हाम्रो हृदयको साँचो चिकित्सक,र उहाँका मानिसहरूको साँचो पिता हुनुहुन्छ । हामी जे महसुस गर्छौं, त्यो प्रार्थनामा नहिच्किचाइकन खुल्ला तरिकाले प्रकट गरौं।
रायलले भन्नुभएको कुरा व्यक्तिगत रूपमा मात्र लागु हुँदैन तर यो सामूहिक रूपमा पनि लागु हुन्छ । जब हामी अस्पष्ट मानिसहरूको निम्ति अस्पष्ट रूपमा प्रार्थना गछौं, तब हामीसँग प्रार्थना गर्ने विषयहरू नै सकिन्छन् । जसै हामी प्रार्थनामा आउँछौं, हामीलाई हाम्रा कमजोरीहरू ढाक्न सजिलो हुन्छ, र हामी परमेश्वरको उपस्थितिबाट जस्ताको त्यस्तै अप्रभावित रूपमा बाहिरीन सक्छौं । तर, यदि हाम्रा प्रार्थनाहरू निर्दिष्ट मानिसहरूको निम्ति विशेष अनुरोधहरूले भरिन थाल्छन् भने, हामी अस्पष्ट प्रार्थना गर्ने खतराहरूबाट जोगिन्छौं । तब हामीले निर्दिष्ट मानिसहरूको निम्ति विशेष आवश्यकताको लागि प्रार्थना गर्दा आउने आनन्द अनुभव गर्न थाल्छौं ।
रायल निरन्तर यसो भन्नुहुन्छः
स्वभावैले हामी सबैजना स्वार्थी छौं, र हामी परिवर्तन भएका भए तापनि, हामीमा स्वार्थ रहिरहन्छ । हामीमा एउटा यस्तो झुकाव छ, जसले हामीलाई हाम्रो आफ्नै प्राण, आफ्नै आत्मिक सङ्घर्ष, र आफू मात्र विश्वासमा वृद्धि हुने बारेमा सोच्ने बनाउँछ, र अरूहरूको वास्ता नगर्ने बनाउँछ । हामी सबैले यस्तो प्रवृत्तिको विरुद्धमा लड्नुपर्छ, विशेषगरी प्रार्थनाद्वारा हामीले यस विरुद्ध लड्ने कोसिस गर्नुपर्छ । हामीले अरूको खाँचोको वास्ता गर्नुपर्छ । अनुग्रहको सिंहासन अघि आफ्नो नाउँभन्दा अरूहरूको नाउँ राख्न हामीले आफूलाई अभिप्रेरित गर्नुपर्दछ । हामीले सारा संसार, अन्य जातिहरू, यहूदीहरू, रोमन क्याथोलिकहरू, साँचो चर्च, प्रोटेस्टेन्ट चर्च भनी दाबी गर्नेहरू, हामी बस्ने देश हामीसँग आबद्ध रहेका चर्चका विश्वासीहरू, आफ्नो घरपरिवार, सम्बन्धमा रहेका साथीभाइ र आफन्तहरूलाई आफ्नो हृदयमा राख्ने प्रयास गर्नुपर्छ । यी सबैको निम्ति हामीले बिन्ती गर्नुपर्छ । यो सबैभन्दा महान् परोपकार हो। जसले मेरो निम्ति प्रार्थना गर्नुहुन्छ, उहाँले मलाई धेरै माया गर्नुहुन्छ । यो हाम्रो प्राणको स्वास्थ्यको लागि हो। यसले हाम्रो सहानुभूति बढाउँछ र हृदयलाई ठुलो बनाउँछ । यो चर्चको फाइदाको निम्ति हो। सुसमाचार विस्तारको निम्ति हरेक कुरा प्रार्थनाद्वारा अगाडि बढ्छ । तिनीहरूले पनि मोशाले पवर्तमा परमेश्वरसँग बिन्ती गरेजस्तै बिन्ती गर्दछन्, र यहोशूले जस्तै लडाइँ लड्नेछन् । खीष्टजस्तै बन्दैजानु भनेको यही हो। पिताको सामु येशूले प्रधान पूहाजारीको रूपमा उहाँका मानिसहरूको नाम लिनुहुन्छ । आहा । येशू जस्तो बन्ने अवसर । यस्तो हुनुभनेको सेवकाइको सहायताको निम्ति तयारी हुनु हो। यदि मैले विश्वासीहरूलाई छान्नुपर्छ भने, मलाई प्रार्थना गर्ने विश्वासीहरू दिनुहोस् ।
रायलले ‘हामी’ भन्ने शब्दलाई परिभाषित नगरी छोड्न सन्तुष्ट भएनन्, र हामी पनि हुनुहुँदैन। स्थानीय चर्च एउटा यस्तो समुदाय हो जसलाई सामूहिक प्रार्थना राम्ररी सुहाउँछ । पक्कैपनि त्यहाँ सामूहिक प्रार्थना गर्न र यो आज्ञा पालन गर्नलाई स्थानीय चर्चबाहेक अरू धेरै तरिकाहरू पनि छन् । तर, म यो विश्वास गर्छु, कि स्थानीय चर्चले नै हाम्रो प्रार्थनामा ‘हामी’ भन्ने शब्दलाई राम्रोसँग परिभाषित गर्छ । स्थानीय चर्च हाम्रो प्रार्थनाको लागि हरितगृह (विरूवा जोगाउन बनाइएको न्यानो घर) जस्तै हो, जहाँ हाम्रो प्रार्थना फस्टाउँछ । स्थानीय चर्चले माथि वर्णन गरिएको स्वार्थ र गर्वको खतराहरूलाई कम गर्दै प्रार्थनाको फाइदाहरूलाई अधिकतम गर्ने वातावरण सिर्जना गर्दछ ।
सबै ख्रीष्टियानहरू स्थानीय चर्चको सदस्य भएकोमा लाभान्वित हुनुपर्दछ । स्थानीय चर्चले उत्पत्ति २:१८ को ‘मानिस एकलो रहन असल छैन । म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछ’ भन्ने वचन पूरा गर्दछ । खीष्टियानहरू संसारमा अनाथ हुनसक्छन् । उसले जीवनसाथी नपाउन सक्छ, वा उसले आफूले माया गरेको जीवनसाथी गुमाउन सक्छ । खीष्टमा विश्वास गरेको कारण समाजबाट बहिष्कृत हुनसक्छ । ऊ पूर्णरूपमा फरक सांस्कृतिक पृष्ठभूमि भएका मानिसहरूले घेरिनसक्छ । तर, स्थानीय चर्चसँग करारमा भएको खीष्टियान कहिल्यै एक्लो हुँदैन । जबसम्म चर्च रहन्छ, जुन अनन्तसम्मै रहन्छ, तबसम्म ख्रीष्टियान जहिल्यै ‘हामी’ भन्ने शब्दको हिस्सा हुन्छ । स्थानीय चर्चले खीष्टियानमतको सिद्धान्तलाई प्रेममा, काममा, र विशेषगरी प्रार्थनामा मूर्त बनाउँछ ।
सामूहिक प्रार्थनाको ‘हामी’ भन्ने धारणाले प्रावधानको सन्दर्भमा कसरी काम गर्छ भनी ध्यान दिनुहोस् । मानौँ, मैले ‘हाम्रो’ खाँचो पूरा गरिदिनुभएको होस् भनी परमेश्वरसँग प्रार्थना गर्छु, र अन्तमा कसैले आफ्नो जागिर गुमाएको थाहा पाउँछु, तब म उसलाई यसरी भन्न सक्दिनँ, ‘मैले तपाईंको न्यानोपन र भोजनको निम्ति प्रार्थना गरिरहेको छु’ (याकूब २:१५-१६) । होइन, मैले प्रार्थनामा भएको मेरो विश्वास काममा देखाउनुपर्छ। परमेश्वरले मलाई चाहिने भन्दा बढी र अरूलाई चाहिएको भन्दा कम दिनुभएर प्रबन्धसम्बन्धी हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भन्ने हामीले जान्नुपर्छ । यसरी परमेश्वरले मेरो प्रार्थनाद्वारा मलाई उहाँले दिनुभएको उपहार सित्तैमा अरूलाई दिने अवसर प्रदान गरेर मबाट लोभ हटाउँदै हुनुहुन्छ । साथै, एक भाइलाई अर्को भाइबाट परमेश्वरको असल उपहार स्वीकार गर्नुपर्ने स्थानमा राखेर परमेश्वरले त्यस भाइको घमण्ड हटाउँदै हुनुहुन्छ । यसरी ऊ एक परोपकारी मात्र होइन, तर प्रबन्धसम्बन्धी हाम्रो प्रार्थनाको प्रत्युत्तरमा परमेश्वरको बुद्धि र भलाइ देखाउने माध्यम पनि बन्छ ।
हाम्रो प्रार्थनामा ‘हामी’ भन्ने धारणाले क्षमा र सुरक्षाको सन्दर्भमा कसरी काम गर्दछ ? मानौ, म परमेश्वरले मेरो पाप क्षमा गरून् भनी प्रार्थना गर्छु । त्यसपछि, मेरो चर्चका निर्दिष्ट व्यक्तिहरूको लागि प्रार्थना गर्ने क्रममा, मलाई अपमान गर्ने व्यक्ति मेरो मनमा आउँछ । तर, म त्यो व्यक्तिलाई माफ गर्न तयार छैन । त्यसोभए के गर्ने ? मैले निर्णय गर्नुपर्छ । म कि मेरो पाखण्डीपनलाई क्षमा गर्नुहोस्, र क्षमा दिने कुरामा मलाई सहायता गर्नुहोस् भनी परमेश्वरसँग बिन्ती गरेर आफ्नो भाइसँगको पुनः स्थापित सम्बन्धमा आनन्दित हुनसक्छु, कि त म मेरो रिसलाई नै जायज ठहराएर ममा पाखण्डीपन छैन जस्तो बहाना गरेर क्षमा नगर्ने निर्णय गर्नसक्छु । म प्रथम पुरूष अथवा बहुवचनको प्रयोग गरेर प्रार्थना गर्नुपर्ने असहजतालाई बेवास्ता गर्न सक्छु, र भाइसँगको मेरो सम्बन्धले परमेश्वरसँग कुनै अर्थ राख्दैन भनी मानिलिन सक्छु ।
वास्तवमा, अरूको प्रावधान, क्षमा र सुरक्षाको लागि गरिने प्रार्थनाले हामीलाई अज्ञानतामा बिन्ती गरेर कपटलाई अँगाल्न अनुमति दिँदैन । बरू, यसले हामीलाई खीष्टको स्वरूपमा आकार दिन्छ र हाम्रो पाखण्डीपनलाई पर्दाफास गरी शुद्ध पार्छ । परमेश्वरले हामीलाई पासोमा पार्न खोज्नुभएको होइन । बरू, उहाँले हामीलाई धार्मिकताको बाटोमा लुकेका पासोहरूबाट मुक्त गर्न खोज्दै हुनुहुन्छ ।
यसले नै प्रभुको प्रार्थनालाई अलौकिक बनाउँछ । हामीसँग आफ्नै लागि जुटाउने बुद्धि र शक्ति छैन, अरूको लागि त झन् कुरै छोडौँ । हामीसँग भएको सबै कुरा परमेश्वरबाट आउँछ । अरूहरूले हाम्रो अपमान गर्दा, उनीहरूलाई क्षमा दिन आवश्यक पर्ने कुरा हामी हाम्रो आफ्नै अनुग्रहको इनारबाट निकाल्न सक्दैनौं । तर, परमेश्वरको अनुग्रहको कहिल्यै नसुक्ने इनारबाट मात्रै हामीले अरूलाई क्षमा दिन आवश्यक पर्ने कुरा निकाल्न सक्छौं । पापको सुखलाई अस्वीकार गर्न र परीक्षाको पासोबाट बच्न आवश्यक पर्ने आत्मिक बल हामीसँग छैन । हामीलाई सबै कुरा दिनुहुने, क्षमा गर्नुहुने र अनन्तसम्म सुरक्षित राख्नुहुनेको सहायता हामीलाई दैनिक चाहिन्छ । येशूले हामीलाई प्रभुको प्रार्थनाद्वारा हामी एकदमै खाँचोमा छौं र परमेश्वर असीम रूपमा उदार हुनुहुन्छ भनी सिकाउनुहुन्छ । जब हामी हाम्रो र एकअर्काको प्रावधान, क्षमा, र सुरक्षाको लागि प्रार्थना गछौँ, तब हामी सबैले परमेश्वरको प्रचुर भलाइको आनन्द लिन पाउँछौं, जुन बाँडचुँड गर्न उहाँ धेरै उत्सुक हुनुहुन्छ । उहाँको आत्मिक खोराक हामीले प्रार्थनाद्वारा परिवारको रूपमा एकसाथ रसास्वादन गर्नुपर्छ ।
-जोन ओन्वुचेक्वा